गजल- ३३२
बलि भट्टराई (माया), केन्टुकी-अमेरिका
पूर्व पश्चिम कति हिँडियो देश खोज्दै जाँदा
झरी बादल धेरै सहियो देश खोज्दै जाँदा,
मागी खानु पर्थ्यो सधैँ भिक्षु जस्तै गरी
खातेसम्म पनि भइयो देश खोज्दै जाँदा,
भौंतारियौं आकाशको कालो बादल जस्तो
इन्द्रेणी झैँ निलडाम थिए देश खोज्दै जाँदा,
देश रोयो, घरबार रोयो, हामी आफैँ रोयौँ
आँसु भेलले निभ्यो दीयो देश खोज्दै जाँदा,
देशको निम्ति ज्यान दिने वीर योद्धाको
निरंकुशले रगत पियो देश खोज्दै जाँदा…!