गजल-४१६
तिलारूपा आचार्य (अधिकारी)
ओहायो, अमेरिका
भाइ – भाइ यहाँ फाटेर के पायौ नेपाली
भातृत्वको नाता काटेर के पायौ नेपाली?
आफ्नो गौरव अनि महानता बेच्नेहरू हो
आज लालीगुराँस साटेर के पायौ नेपाली?
घर भित्रै नारी अस्मिता लुटिँदै छ आज
आदर्शका शब्द छाँटेर के पायौ नेपाली?
मुखमा रामनाम बगलीमा छुरा, तिम्रो सेवा
सोझा निम्झालाई ढाँटेर के पायौ नेपाली?
आँगन पुर्न आफ्नै मझेरी खन्ने वीरहरू हो
विदेशीको जिब्रो चाटेर के पायौ नेपाली?