गजल-११८

भक्त घिमिरे / अमेरिका

बिग्रिएको धून सुन ती गितारका चुड्केहरू
सुल्टो गए उल्टो पुग्छन् विचारका पुड्केहरू,

उँधो झरे उँभो गा’को कल्पनामा रमाउँछन्
उठ्न खोज्दा थेचारिन्छन् यी विचारका पुड्केहरू,

कल्पनामा आकाश छुन्छन् भाका फेर्दै सिद्धान्तको
कुवाभित्रै संसार खोज्छन् यी विचारका पुड्केहरू,

आफ्नोपन बिर्सिएर जिउनेहरू आफ्ना हुन्नन्
थिचिएर बस्नैपर्छ यी विचारका पुड्केहरू,

स्थिरताको प्रश्नै छैन आज रोपे आजै फल्ने
आशा पाल्छन् नहुने त्यो यी विचारका पुड्केहरू,

घाम अस्ताई बिस्कुन छर्छन् भविष्यलाई भूल्नेहरू
कहिले बुद्धि फर्काउलान् यी विचारका पुड्केहरू,

भोकै-नाङ्गै घरबारविहीन जब हुन्छन् यिनीहरू
तबचाहिं उठ्लान् कुन्नि यी विचारका पुड्केहरू !
रचनाः सन् २००५ दिसम्बर

Don't have a Facebook account? Please, use the form below with other options!