गजल – ३७०
माया भट्टराई
केन्टकी, अमेरिका
कुलागांग्री,जोमोल्हरी त्यही हो मेरो देश
फरफराउँने रेभन चरी त्यही हो मेरो देश ।
मगमगाउँछन् सुनाखरी, निलकमल यहाँ
लाग्छ मलाई स्वर्गैसरि त्यही हो मेरो देश ।
सपनामा देख्दा आफ्नै गाउँघर झल्झली
हुँदा साथीसंगी वरिपरि त्यही हो मेरो देश ।
हिमाली भेग,तराई अनि गाउँबेसीको छटा
उतारौँ कि म चित्रभरि त्यही हो मेरो देश ।
भन्नेहरू सानो भन्छन् स्वर्ग भन्दा कम छैन
‘माया’ साट्ने अजम्बरी त्यही हो मेरो देश।