गरिबी र कोरोना भाइरस

धर्मेन्द्र तिम्सिना “क्षितिज”
ओहायो, अमेरिका

Picture source: Google

घोटिँदा घोटिँदा पातलिएका पाङ्ग्राहरू, फाट्न लागेको बस्ने सिट, पुरानो भएर खिया लागेको रिङ, बिस्तारै हाँक्न मिल्ने रिक्सा लिएर हिँड्यो आज पनि दिनचर्याको लागि । कालो अक्षर भैँसी बराबर, उसको पिछडिएको समाजको दर्पण अनि गरिबीले दिएको दस ठाउँ टालेको लुगाको उपहार लिएर घरमा भरे खाने एक छाकको आशामा बसिरहेका बुढा बा आमा अनि छोराछोरीको लागि जोहो गर्न, निस्कियो ठुलो आशाको दियो बोकेर ।

अलिक पर पुग्यो, सुनसान सन्नाटा बाहेक केही देखेन । मानिसको आवतजावत पनि थिएन । एक छिन रोकियो अनि हेर्‍यो वरपर अनि चारैतिर आँखाले भ्याउने जति नियाल्यो । मात्र अलिअलि चलेको हावाको स्पर्श अनि उदाउँदै गरेको सूर्यको किरण उसको आँखामा परिरहेको थियो । एकछिन अचम्मित बन्यो । जीवनमा यति धेरै सुनसान पहिलो पटक देखेको थियो उसले ।

जे भए पनि पेट भर्नु थियो । अलिकति जोहो गरेर घरमा चुलो बाल्नु थियो ।

फेरि हिँड्यो बिस्तारै अगाडी ।

करिब दुई-तीन घण्टा रिक्सा दौडाएपछि देखियो उसको घरमा चुलो बालिदिने ठाउँ । उसलाई काम लगाइरहने सहर । मनमा आशाको दियो बालेर पुग्यो सहरको गेटमा अनि घुमायो नजर फेरि पनि चारैतिर । त्यही सन्नाटा, त्यही एक्लै भएको आभास । यही बेला उसको ढाडमा जोरसँग केही बजारिए जस्तो भयो । अनि फर्किएर हेर्‍यो । उसले मुण्टो घुमाउन्जेलमा अर्को पनि लाठी बज्रियो । यति बेला उसलाई धेरै पुलिसहरूले घेरिसकेका थिए । उसले के भएको सोध्ने मौका नपाउँदै शरीरभरि लाठीहरू बज्रिरहे । ऊ चलमलाउन नसक्ने गरी भुइँमा बजारियो । यति बेला उसको कानमा गुन्जिरहेको थियो ‘कोरोना भाइरस’, ‘लक-डाउन’ ।

उसले न कोरोना भाइरस बुझ्यो न त लक-डाउन नै । बेहोस भएर भुइँमा पल्टिरह्यो-पल्टिरह्यो ।

 

(मार्च २७/२०२० )शुक्रवार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *