गान्तोक शहरमा क्रान्तिका गीतहरू गनाउँदै छन् 

युवराज घलेभाइ
सिक्किम, भारत

विरासतमा पाएका क्रान्तिका
गीतहरू गाउनेलाई
मैले देखेको सत्य हो
किरायका अधरहरू चुम्दै गरेका
किरायका कोठाभित्र
फैलिएको खाट
कति मुखुण्डेेहरुले
ताण्डव नृत्य गरेका
हजारौँ कथाहरू
आफैमा समेटेर चुपचाप
सहिरहेको निरीह स्वादका खाट
तेर्सिएकी छे । भाडाकी…………
निरीह खाटमा लम्पसार
मानवता
उदाङ्गो पारेर
तेर्सिएर नाङ्गो
गान्तोक शहरको कोमल
हातको अङ्कमाल पर्खिएर
यस्तो बीभत्स दृश्यमा
प्रलयहरू खोइ कता छन् लुकेका ?
थाङ्नो भएर हावामा
गान्तोक शहरको क्षणिक अभिनयको
प्रारम्भ बिहान
मञ्चको अभिनय र
अहिलेको अभिनयमा
अन्तराल छ – टिस्टा रङ्गितको
चिन्डे-तालुमा
पसिनाहरू पिङ खेल्दैछन्
क्रान्तिका गीतहरू
गीतसँग – सँगै
वासनाको उखरमाउलो छ ।
यो बीभत्स परिवेशमा
सृष्टिकर्ता पनि चुपचाप छ
यो पनि एउटा
सृजनाभित्रको अङ्ग मानेर
गान्तोक शहर गजक्क छ
घमन्डमा………………..!
यो पनि एउटा सभ्यताको
सभ्य उपज
यसरी यहाँ क्रान्तिका गीतहरू
दिन – प्रतिदिन
फुस्स – फुस्स गनाइरहने गर्छन्
गीतहरू , क्रान्तिका गीतहरू  ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *