गोताखोर बाज

तुम्बेहाङ्ग लिम्बू
काठ्माण्डु, नेपाल

 

समय पोखिएर
जीवनको अँजुलीबाट चुहिरहेछ तप तप
प्रतिकुलताको सुख्खा बालुवामा ।

अभिलाषाको काकाकुल ओठहरू
चराको भोका बचेरा झैँ
मृगतृष्णाको मुख आँ…आँ गरेर
मागिरहेछन् तृप्तताको दुई-चार थोपा
जीवन जिउनुको म्याराथन दौडमा ।

नवउपनिवेसवादका खुंखार बाजहरू
गोतालाइरहेछन् तेस्रो-विश्वको खुल्ला आकाशमा
अनि पलकझपटी मारिरहेछन्
साना-साना चराहरूको मौलिक स्वतन्त्रतामा
बिचरा ती साना-साना जीवहरू
आत्ति रहेछन् खुनी बाजको तिखो गर्जनमा
निरीह बनिरहेछन् कर्पोरेट दुनियाँको वर्तमान जगतमा ।

भूमण्डलीकरणको भोको ह्वेल
मुख बाएर निस्केको छ राष्ट्रिय संस्कृतिको भुरा चपाउन
अनि एकक्षत्र ‘बडाह्वेल राज’ कायम गर्न,

क्षेत्रीय प्रभावको सार्कहरू अवरोध बनेपछि
मितेरी लाइरहेछ ती प्रभावशाली सार्कहरूसित
हिस्सेदारीमा सिकार बाँड्ने सर्तमा ।

होसियार ! तेस्रो विश्व !
गोता खाइरहेछन् नवउपनिवेसवादका खुंखार बाजहरू
हाम्रो सपनाको खुल्ला आकाशमा !
डुबुल्की मारिरहेछन् भूमण्डलीकरणका भोका ह्वेलहरू
हाम्रो पहिचानको मौलिक महासागरमा !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *