घर
यतिराज अजनबी
एड्लेड, अष्ट्रालिया
चारो चाहार्न चारतिर उड्ने चराले
अरुणोदयमै छोडेको शिशिरको
रित्तो र सुनसान रूख झैँ थियो घर
हिजोसम्म
अहिले घर भएको छ
प्रार्थनागृह, सम्मेलनगृह, आश्रयस्थल
चलचित्र-भवन, मन्दिर, विश्रामालय
व्यायामशाला, रङ्गशाला, पुस्तकालय
भोजनालय, भजनालय अनि
विद्यालय जहाँ सिक्दै छ मान्छे
विश्वविद्यालयमा नसिकेका कुरा
हिजोसम्म दिनभर मान्छे नआँट्ने
यति सानो घरमा
आँटेका छन् आज यति धेरै संरचनाहरू
बल्ल बनेको छ घर अहिले घरजस्तो
वसन्तको प्रत्यागमनसँगै फर्किएका छन् चरा
घर छेउको वन बनेको छ हराभरा
वसन्ती बतास बजाइरहेको छ पातहरू
गाइरहेका छन् पक्षीहरू
नाचिरहेका छन् पुतलीहरू
यो यौटा समध्वनिक दृश्यकाव्यको प्रदर्शन झैँ लाग्छ