चलिरहेकै छ देवासुर संग्राम
भक्त घिमिरे
पेन्सिलभेनियाँ/ अमेरिका
तपाईंलाई लाग्ला देवासुर संग्राम भन्नेबित्तिकै पौराणिक कालमा मात्र भएको थियो; अहिले भएको छैन अथवा अब हुँदैन । अहँ, त्यो होइन । देवासुर संग्राम अहिले पनि भइरहेको छ । यस्ता संग्रामहरु भविष्यमा पनि भइरहन्छन् । घर-घरमा, परिवार-नाता-गोता र कुल-कुटुम्बमा, समुदाय, समाज र राष्ट्रमा बारम्बार भइरहेको छ देवासुर संग्राम र भई रहनेछ । यो प्रकृति, यो चराचरमा प्राणीहरु जहिले पनि आफू सहज बाँच्ने होडबाजी गरिरहन्छन् । अनि यस्तै होडबाजीमा युद्ध भई नै रहनेछन् । मान्छे पनि एउटा प्राणी हो ।
मान्छेले आफूमात्र नबाँचेर आफ्नो विचार पनि बँचाउने चातुर्य चाल्दछ । मान्छेको विचारबाटै विभिन्न सिद्धान्त र मतहरु निर्मित हुन्छन् । ती सिद्धान्त र मतहरु जति धेरै मानिसको संख्याले स्वीकार तथा पालन गऱ्यो त्यति बलियो भएर रहन्छ । यसरी त्यो सिद्धान्तको स्थापनकर्ताले एउटा युद्ध जितेसरह गर्व गर्दछ । यसरी नयाँ सिद्धान्त र मतहरु स्थापना हुने क्रममा पुराना सिद्धान्त र मतहरु विलिन हुन्छन् । त्यसबेला पुरानो र नयाँबीचमा अन्तरसंघर्ष चल्छ । युद्ध हुन्छ र जित्ने पक्षलाई निर्मलीकरण गरिन्छ भने हार्ने पक्षलाई क्षेयकरण गरी दुष्ट साबित गरिन्छ ।
प्रसंगवश हाम्रो सामाजिक/धार्मिक, वंशाणुगत संरक्षणको अभियानमा कसले कसलाई जोगाउन र कसलाई मास्न/मसाउन अभियान चलाए भनेर अलिकति चर्चा गरौं ।
गौतमबुद्धलाई अहिले विश्वका अधिकांश मानिसहरू महाज्ञानी, तार्किक, मानवतावादी, सत्यका अन्वेशक, शान्तिका मार्गदर्शक, सुधारवादी दार्शनिकका रुपमा व्याख्या गर्दै सम्मान व्यक्त गर्दछन् । तर, एक समय थियो विभिन्न ‘धर्म-दर्शन’का अनुयायीहरूले उनलाई ‘वेदविरोधी, नास्तिक, पाखण्डी, भँडुवा’ भनेर विरोध गर्दथे । बुद्धका अनुयायीहरूमाथि ठूल्ठूला आक्रमण भएका थिए, भिक्षुहरू मारिएका थिए, गुम्बाहरू भत्काइएका थिए ! बौद्ध ग्रन्थहरु जलाइएका थिए र बौद्ध मतका थुप्रै अनुयायीहरु आफ्नो ज्ञान, आस्था र बौद्धग्रन्थहरूको सुरक्षाको आशामा उत्तरी भारतबाट भागेर नेपाल, श्रीलंका, तिब्बत लगायतका मुलुकमा पुगेका थिए । ‘कसैले हात्तीले कुल्चाएर मार्छ भने बरु मर्नु तर, बुद्ध र जैनका मन्दिरमा नजानु !’ त्यसबेलाका कट्टर पुरोहित-पण्डितहरूले भन्ने यो वाक्यले बुद्धत्वप्रतिको द्वेषभाव स्पष्ट जनाउँछ !
बुद्धको समयमा दक्षिण एसियामा उपनिवेशकाल हावी थियो । अध्यात्मवादी र भौतिकवादी दार्शनिकहरूमा तातो बहस चर्केको थियो । तर पनि वेदलाई मात्र ईश्वरवाणी, सर्वोच्च ज्ञान र परम प्रमाण मान्ने धार्मिक दर्शनका अनुयायीहरूले बौद्ध र जैनमार्गीहरुमाथि त्यस्तो व्यवहार गरेका थिए । त्यसयता अढाई हजार वर्ष बिते । धार्मिक क्षेत्रमा धेरै सुधारवादी आन्दोलन चलिसकेका छन् । दर्शन, धर्म र संस्कृतिहरुको विश्लेषणात्मक, तुलनात्मक अध्ययन भइरहेको छ । हरेक कुरालाई तर्क, तथ्य र विज्ञानको कसीमा प्रमाणित गर्ने चलन विकास भएको छ र आजको युगले ‘विज्ञानको युग’ भन्ने उपमा पनि पाएको छ ।
यद्यपि दुःखको कुरा; तर्क, चिन्तन, विज्ञान, अन्वेषण, तुलनात्मक अध्ययन र प्रयोग आदिको अभावमा आफूलाई महाज्ञानी ठान्ने हाम्रो गुरुकुलीन शिक्षा परम्पराका विद्वानहरु अझै आफ्ना एकोहोरा बहुलट्ठी सोचभन्दा फरक विचार, तर्क, विश्लेषण आदि सामु आउँदा बुद्धकालीन कट्टर ब्रहमणवादीहरु जस्तै अत्तालिएका देखिन्छन् । परम्पराका विसंगत पक्षहरू औल्याउन खोज्यो भने ‘धर्म, संस्कृतिलाई नै ध्वस्त पार्न खोजेको, धर्मशास्त्रका निस्कर्षलाई बंगाएर भ्रमित पार्ने काम गरेको’ आदिजस्ता अनर्गल आरोप ठाडै लगाइदिन्छन् । ‘लौ न नास्तिकहरुले सबै कुरा ध्वस्त पार्न लागे । ए ! गुरु पुरोहितहरु हो ! तिमीहरु किन चुप्प छौ? पाखण्डीहरुको खण्डनमा बोल न बोल ! अब हाम्रो पुर्ख्यौली संसार डुब्ने भो ! लौ न अब के गरौं, त्राहीमाम !’ यसो भन्दै हाम्रा धार्मिक मान्यजनहरु अत्तालिएका देखिन्छन् । आखिर बुद्ध पनि वैदिकहरुले मानेका विश्वामित्रकै शिष्य थिए । बुद्धको कुरा के थियो भने ‘पुस्तकको रूपमा लेखिएको वेदभन्दा ज्ञान मुख्य हो । त्यसर्थ, वेद, यज्ञ र होमको परम्परालाई भन्दा ज्ञान र परमार्थलाई मुख्य ठानौं ।’ यही निहुँमा तत्कालीन वैदिकहरुले वेदविरुद्ध समाज भड्कायो भनेर बुद्ध र बुद्धत्वको कालो विरोध गरेका थिए । शंकराचार्यको समय र त्यसपछिका केही दशकसम्म बुद्धको विरोध थामिएको थिएन भनेर हाम्रो सामाजिक, सांस्कृतिक इतिहासले स्पष्ट बताउँछ ।
पछि बुद्धदर्शनको प्रभाव फैलिँदै गयो । वैदिकहरुको विरोधले बुद्धत्वको तेजलाई थाम्न सकेन । बुद्ध प्रतिपादित चार आर्यसत्य र तिनको निवारणका लागि अष्टांगमार्गलाई कसैले पनि नकार्न सकेनन् । अनेक राजाहरु पनि बुद्धका अनुयायी बने । त्यसपछि वैदिकहरु अत्तालिएर ‘बुद्ध पनि विष्णुका नवौं अवतार थिए’ भन्दिए । बुद्धदर्शनलाई वैदिक परम्पराकै एउटा शाखाको रूपमा व्याख्या गरियो । श्रीमद्भागवत, अग्निपुराण, स्कन्ध पुराणजस्ता ग्रन्थहरुमा सोही अनुरुप लेखियो पनि । तर, बुद्धदर्शनका अन्वेषकहरुले आजसम्म यो कुरालाई स्वीकार गरेकै छैनन् । श्रीलंकामा अभ्यासरत ‘थेरावदी’ बौद्धमार्गीहरुले बुद्धको मूल ‘राजकीय सरकारमा वैदिक परम्पराका विष्णुलाई विदेशमन्त्री’को रूपमा मानेको कथन छ ।
त्यसो भए बुद्ध र बुद्धत्वका बारेमा, उनीहरुको दर्शनका बारेमा वैदिकहरुले व्याख्या गरेकै कुरालाई मान्नु कि उनीहरु स्वयंले व्याख्या गरेको कुरालाई सत्य ठान्नु ? हामी वैदिक भनी माग्नेहरुको एउटा दुर्गुण कस्तो छ भने हामी संसारका जति पनि भाषा छन्, दर्शन र संस्कृति छन् ती सबैको व्याख्या आफ्नो पाराले गरिदिन्छौं अनि त्यो सबैले पत्याउनै पर्छ भन्ने मान्यता राख्छौं । तर, आफ्नो बारेमा अरुले अलिकति संकेतसम्म गऱ्यो भने विरोधको झण्डा बोकेर कराउन थालिहाल्छौं । भौतिकरूपमा आक्रमण गर्ने इस्लामिक जिहादीको रूपमा कठोरता नभए पनि कूटनीतिक/वैचारिक मान्यताको हिसाबले हाम्रो परम्परा पनि जिहादी प्रवृत्तिकै छ । बहुमत संख्या र परिस्थिति अनुकूल भएमा कताकता भौतिक आक्रमण पनि हुने गरेकै छन् ।
हाम्रो अध्यात्म दर्शनले भनेको छ सबैले कर्मानुसारको नतिजा फल भोग्नैपर्छ ! हामीले (पुर्खादेखि आजसम्म) अरुप्रति गरेको अन्याय कहिलेकाहीं आफू वा आफ्नो आस्थामाथि पनि आइलाग्नु स्वाभाविक हो । अहिले हिन्दूत्व अथवा वैदिक परम्परामाथि जति बज्रपात भएको छ, त्यो अरु परचक्रीबाट भन्दा आफ्नै भित्रबाट भएको हो भनेर किन बुझ्न नसकेको ? आफ्नै समाजका मुखिया र काजीहरुले स्थापित मूल्य मान्यताका विपक्षमा कसैले विचार अभिव्यक्त गऱ्यो भने सजिलै ‘विदेशीको वहकाउमा परेको’ आरोप लगाउनुभन्दा पहिले त्यस्तो किन भयो होला भनेर सोच्नुपर्ने हो ! एउटा समाजभित्र सबैले समानताको भाव ग्रहण गर्नपाए, उच-निचको तीतो अनुभूति लिन नपरे विदेशी प्रभावसित हाम्रो समाज किन ग्रसित हुन्थ्यो र ? समाजमा एकता भए अरुले बरालेको भरमा किन भाँडिन्थ्यो र ? यसर्थ कडा प्रश्न आएमा हतार हतार ‘विदेशी बहकाउ’को अभियोग लगाउनेहरु आफ्नै अर्गेलोलाई छोप्न खोज्नेहरु हुन् भनेर चिन्दा हुन्छ ।
कुरो आजको मात्र होइन, हाम्रो समाज उहिलेदेखि, पुर्ख्यौलीदेखि आफ्नैभित्र अन्तरद्वन्दमा रुमलिएको छ । परायले मात्र अतिक्रमण गरेको होइन, आफैंमा द्वन्दले ग्रसित छ । परायले पनि लपेट्यो होला तर, त्योभन्दा पहिले आफ्नै समाज त्यसको कारक बनेको छ । विरोधी शक्तिसित आफ्नैहरुले गरेको गोप्य सम्झौता, चाप्लुसी, चाकरी नभई चाणक्यको समयमा यवणहरुले पनि आक्रमण गरेका थिएनन् । पौराणिककालको कुरा नगरौं, ब्रिटिशहरुले भारतमा अधिनायकत्व कायम गर्दासम्म भारतीयलाई दमन गर्नेहरु गोरा थिएनन् । भारतीयहरु नै थिए । कैसेले भन्ला, मुगलहरुले दमन गरे । तर, मुगलहरु पनि पराय थिएनन् । अरुलाई दोष लगाएर हामीभित्रको कालो-मैलो जाँदैन । हाम्रो समाजले सधैं भाइ-भाइमा युद्ध गरेको छ अनि जित्नेहरुको मात्र इतिहास लेखेका/लेखाएका छन् ।
- को थिए त मुगलहरु ?
अति सरल अर्थमा नेपालीहरुले जुन जुन ठाउँमा परदेश जाँदा ‘मुग्लान’ गएको भन्थे ती ठाउँहरु मुगल साम्राज्यमा भएकाले त्यसो भनिन्थ्यो । पहिले परदेशको नाममा मुग्लानबाहेक अर्को शब्द थिएन । मुगलहरुको साम्राज्य कमजोर हुँदै जाँदा बेलायतीहरुको साम्राज्य विश्वभरि प्रभावी हुँदै थियो । वर्तमान भारतीय क्षेत्र पनि बेलायतीहरुको अधीनमा पऱ्यो । विश्वयुद्धको वरिपरि र अझ पछि बेलायतीहरुले नेपालीहरुलाई लाहोरस्थित आफ्नो सैनिक छाउनीमा लगेर भर्ती शुरु गरेपछि लाहुर, लाहुरेजस्ता शब्दहरु बनेका थिए । यी भए व्यावहारिक अभ्यासका कुरा । अब मुगलहरुको प्रसंगमा जाऔं ।
इतिहासले भन्छ मुगल भनेका तुर्कीय- मंगोल क्षेत्रका युद्धप्रेमी राजाहरुको एउटा शाखा थियो जसलाई मुसलमान भनेर चिनिन्थ्यो । त्यो राजवंशलाई तैमुरी राजवंश भनिन्थ्यो । तैमुरी वंशका राजकुमार बाबरले सन् १५०० को आसपासमा दिल्लीमा आएर त्यहाँका पुराना राजाहरुलाई सिध्याएर आफ्नो साम्राज्य विस्तार गरे । पश्चिमोत्तर मंगोल साम्राज्यबाट आएका भनेर संकेत गर्न उनीहरुलाई मुगल नाम दिइएको थियो । खासमा शास्त्रीय हिसाबले व्याख्या गर्ने हो भने वैदिकहरुका लागि मुगलहरु असुरका सन्तान थिए । को थिए त असुर ?
- असुरका बारे के भन्छ हाम्रो शास्त्रीय इतिहास ?
वेद, महाभारत लगायतका पुस्तकहरुका अनुसार समाज निर्माणको प्रारम्भिककालमा देवता, दैंत्य, दानव, राक्षस, यक्ष, गन्धर्व, किन्नर, नागहरु पृथ्वीका प्रमुख जाति थिए । देवतालाई सुर अनि अन्यलाई असुर भनिन्थ्यो । ऋषि कश्यपका अनेक पत्नीबाट सुर-असुर दुवै पैदा भएका थिए । जस्तै अदितिबाट देवता, दितिबाट दैंत्य, दनुबाट दानव, सुरसाबाट राक्षस, अरिष्टाबाट गन्धर्व आदि आदि !
यसरी नै अन्य पत्नीहरुबाट यक्ष, किन्नर, नागहरुको उत्पति भएको बताइएको छ । सृष्टिको विकासक्रममा ऋषि कश्यपले नै कुलको विस्तार गरेका थिए भनिएको छ ।
ब्रह्माजीका मानसपुत्र मरिचीका विद्वान पुत्र ऋषि कश्यपलाई अनिष्टनेमी पनि भनिन्छ । उनकी माता कला थिइन् । कला कर्दम ऋषिकी छोरी तथा कपिलदेव ऋषिकी बहिनी थिइन् ।
पुराणहरुमा उल्लेख भए अनुसार सुर-असुरहरुका मूल पूरुष कश्यपको आश्रम मेरुपर्वतको शिखरमा थियो जहाँ उनी सधैं परब्रह्मको तपस्यामा लीन रहन्थे । कश्यप सागर, कश्पियन सी, कश्यप मेरुप्रदेश, कश्मीर प्रदेश जस्ता स्थानका नामहरु उनकै नामबाट बनेका हुन् भनिन्छ । प्रारम्भिककालमा देव, दानव सबैले ऋषि कश्यपलाई आदरणीय मानेर उनका आज्ञाहरुको परिपालन गर्थे । ऋषि कश्यपले अनेकौं स्मृति-ग्रन्थहरु रचेका छन् जसमा ती कुरा समेटिएका छन् भने पुराणहरुमा पनि सो कुरा उल्लेख छ ।
शुरुमा सबै महाद्वीपहरु आपसमा जोडिएका थिए । यो पृथ्वीलाई प्राचीनकालको क्षेत्रविभाजन अनुसार सातवटा द्वीपहरुमा बाँडिएको थियो । जसमा जम्बू द्वीप, प्लक्ष द्वीप, शाल्मली द्वीप, कुश द्वीप, क्रौञ्च द्वीप, शाक द्वीप र पुष्कर द्वीप थिए भनिएको छ । जम्बूद्वीप सबै द्वीपहरुको बीचमा अवस्थित थियो । जम्बू द्वीपका पनि नौवटा खण्डहरु विभाजित थिए जसमा इलावृत, भद्राश्व, किपुरुष, भारत (पुरोहितहरुले संकल्प पढ्दा भारत खण्डे भन्छन्), हरिवर्ष, केतुमाल, रम्यक, कुरु र हिरण्यमय पर्दछन् । यिनै खण्डहरुमा सुर तथा असुरहरुको साम्राज्य रहेको बताइन्छ ।
एउटा समाजभित्र सबैले समानताको भाव ग्रहण गर्नपाए, उच-निचको तीतो अनुभूति लिन नपरे विदेशी प्रभावसित हाम्रो समाज किन ग्रसित हुन्थ्यो र ? समाजमा एकता भए अरुले बरालेको भरमा किन भाँडिन्थ्यो र ? यसर्थ कडा प्रश्न आएमा हतार हतार ‘विदेशी बहकाउ’को अभियोग लगाउनेहरु आफ्नै अर्गेलोलाई छोप्न खोज्नेहरु हुन् भनेर चिन्दा हुन्छ ।
विस्तारै असुरहरु सुर (देवता) का लागि प्रबल शत्रुका रुपमा गनिन थाले । पौराणिक ग्रन्थ र वैदिक मान्यताका अनुसार असुर र देवताहरुबीचमा सधैं युद्धहरु भइरहे । एकै पितामह ‘सृष्टिकर्ता’ ब्रह्मा र एक पिता कश्यप ऋषिका सन्तान, सहोद्दर दाजु-भाइ भएर पनि ठूला दाजु भइखाएका दैंत्य र दानवहरुले आफ्ना अनुज देवताहरुका विरुद्धमा वैरभाव साधन गर्नथाले । पहिले त युद्धहरु पनि प्रतियोगिताको रूपमा साहसिलो, कुनै छलबिना वीरतापूर्वक हुन्थ्यो । तर पछि भौतिक उन्नति र सुखलिप्साका लागि अत्याचार वा छलकपट पनि हुनथाल्यो । गुरु भृगुका पुत्र शुक्राचार्यको नेतृत्वमा शक्तिशाली भएर देवताहरुका विरुद्धमा असुरहरु लगातार जाइलाग्न थाले । यस्ता तमाम युद्धहरु आ-आफ्ना छुट्टै पहिचानको संस्कृति, धन-सम्पत्ति र वैचारिक वर्चस्वका लागि भएका थिए ।
केही मानिसहरुको विचार यस्तो पनि पाइएको छ जसमा ब्रह्माजी र उनको कुलकाहरु यस धर्तीका थिएनन् । उनीहरुले धर्तीमाथि आक्रमण गरे र मधु-कैटभलाई मारेर पृथ्वीमा आफ्नो कुल-वंशको विस्तार गराए । यही विन्दुबाट धरतीका दैंत्य र स्वर्गका देवताबीचमा अविराम युद्धको शृंखला शुरु भएको हो ।
देव-दानवको युद्ध युगौंसम्म चलिरह्यो । जम्बूद्वीपको इलावर्त क्षेत्र (अहिलेको रुश) वरिपरि १२ पटकसम्म देवासुर संग्राम भएको कथन छ । आ-आफ्नो वर्चस्वका लागि लडिरहेका सुर-असुरमध्ये कैयौंपटक असुरहरु विजयी पनि भए । असुरहरुमध्ये पनि बडा बडा प्रसिद्ध विद्वान, राष्ट्राध्यक्ष, बलवान, शक्तिशाली, वीर, भक्त तथा समाजसेवीहरु थिए । इन्द्र, शिव र विष्णु मिलेर सर्वनाश नगरेसम्म असुरहरु सारा विश्वमा चक्रवर्ती सम्राट पनि बनेका थिए ।
खास गरी राजा इन्द्रको राजकीय यशका विरुद्धमा लागेका कारण असुरहरुलाई दुष्ट, अपराधी भनियो तर, सामान्यरूपमा उनीहरु सबै दुष्ट थिएनन् । आखिर इन्द्रको राजकीय अहंकार तोड्न कृष्णले पनि गोवर्धन पर्वतको पूजा शुरु गराएका थिए । तर, शक्तिशाली कृष्णलाई कसैले पनि दैंत्यको पक्षधर भनेनन् ! दैंत्य, दानवहरुका पनि गुरु शुक्राचार्य थिए जो देवकुलकै गुरु भृगुका छोरा थिए जो देवताहरुका गुरु बृहस्पतिको तुलनामा कम ज्ञानी र कूटनीतिज्ञ थिएनन् ।
इन्द्रको चाप्लुसीमा परेर विष्णुले असुरहरुमाथि निक्कै कठोरता दर्शाए । तर महादेव भने सुर र असुर दुवैप्रति समभाव राख्थे । तथापि, दैंत्यहरुको अति-भौतिक लिप्सा र देवताहरुको शुख-सम्पतिप्रतिको आशक्तिबाट विरक्तिएर महादेव वन्यप्रकृतिको जीवनशैलीको समर्थक बने । वनजंगल र हिमपर्वतहरु महावेदका प्यारा बासस्थल थिए । असुरहरु पनि प्रायसः प्रकृतिपूजक नै थिए । बृहस्पतिका भाइ दैंत्यहरुका गुरु शुक्राचार्य स्वयं महादेसका शिष्य, भक्त वा उपासक थिए । उनी उशना नामले पनि प्रख्यात थिए जो एक धुरन्धर कवि समेत थिए । मृतकलाई पुनर्जीवन दिने सञ्जीवनी विद्याका ज्ञाता थिए जुन विद्या समुद्रमन्थनपछि देवताहरुले अमृत पिएर पाएको अमरत्वको दाँजोमा असुरहरुलाई बराबर गराउनका लागि महादेवले नै शुक्राचार्यलाई वरदानस्वरूप दिएका थिए । देवता र दैंत्य समुदायमा समानुपातिक, समन्वय वा शक्तिसन्तुलनको पक्षमा महादेव थिए ।
विभिन्न प्रवृत्ति र विचारधारामा देव-दानवबीच फरक मत भए पनि दुवैपक्षमा प्रेम, विवाह आदि अन्तर्सम्बन्धहरु प्रतिबन्धित थिएनन् । उशना वा शुक्राचार्यले इन्द्रका लागि बज्र निर्माण गरिदिएका थिए । दैंत्यकुलमै भक्तप्रह्लादको पहिचान भएको थियो । शंखचूर्ण दैंत्यकी स्वास्नी विष्णुभक्त बनेकी थिइन् । मथुराका दैंत्य राजा मधु थिए जसको धार्मिक गुणगान र न्यायप्रियताको ख्याति संसारभरि फैलिएको थियो । मधुका छोरा लवण राजा भएपछि अत्याचारी बने र उनको नाम लवणासुर राखियो ।
दैंत्यराज हिरण्यकश्यपुको छोरो प्रह्लाद विष्णुभक्त भएपछि असुरहरुमा पनि भक्तिभावयुक्त विद्याधर व्यक्तित्वको विकास हुनसक्छ भन्ने विचारको विकास हुँदै गयो । यसरी दैंत्यकुलमा देवता र देवकुलमा पनि दैंत्यहरुको प्रशंसा, समभावको बढोत्तरी हुँदै थियो ।
देव-दानवको वर्चस्वको खिचातानीमा अन्तिमपटक प्रह्लादको नाति, विरोचनपुत्र बलि र इन्द्रका बीचमा फेरि युद्धको सिलसिला चल्यो । यस युद्धमा देवता पक्ष हाऱ्यो । इन्द्रको घमण्ड चूर भयो । सम्पूर्ण जम्बू द्वीप असुरहरुको कब्जामा पऱ्यो । जम्बूद्वीपको बीचमा इलावर्त क्षेत्र पर्थ्यो जो आजको सम्पूर्ण एशिया र यूरोपका केही भाग पनि पर्छन्, देवताहरु त्यसभित्रको पनि एउटा सानो क्षेत्रमा सीमित भएका थिए । त्यो सानो क्षेत्रलाई स्वर्ग, देवलोक, भरत खण्ड, उत्तरापथ, उत्तराखण्ड, भारत वर्ष, ब्रह्मावर्त आदि नामले पनि चिनिन्थ्यो जसको आधुनिक नाम मध्य एशियाको रूपमा स्थापित छ । असुरहरुले सुर अनि उनीहरुका राजा इन्द्रको रवाफ खरानी बनाइदिएपछि बुनिएका हुन् ‘अमृत मन्थन’-‘समुद्र मन्थन’ आदि गाथाहरु जसलाई महादेवले नै दुवैपक्षमा समन्वय गराउन रचेका थिए ।
समुद्र मन्थनबाट निस्किएको वारुणी (मद वा जहर) असुरहरुलाई दिएर अमृत देवतालाई मात्र भाग लगाइयो । तर, असुरहरुले बल प्रयोग गरी अमृतको घडा पनि जफत गरे । दैंत्य-दानवहरुबीचमा पनि पहिले कसले अमृत पिउने भनेर आपसमा झगडा हुनथाल्यो । समुद्र मन्थनमा दुवैपक्षले बराबर परिश्रम गरेका कारण दुवै वर्गले समानरुमा अमृतको भाग पाउनुपर्ने भनेर न्यायको दुहाई लगाइयो । केही दुर्बल दैंत्यहरुले बलवान दैंत्यका विरुद्धमा इर्ष्यावश षड्यन्त्र गरेर अमृतघडा देवताहरुलाई देखाइदिए । त्यसपछि अमृतको घडा फिर्ता लिन असुरहरुले धावा बोल्दिए । पुनः देवासुर संग्राम भयो । यसपटक असुरराज मुर्छित भए तर, शुक्राचार्यले सञ्जीवनी विद्यामार्फत उनीहरुलाई फेरि उठाए । यता अमृतघडा आफ्नो हात लागिसकेकाले युद्ध रोक्न नारदजीले अनुरोध गरेपछि युद्ध थामियो, दुवैपक्ष आ-आफ्नो दर्गादिशा लागे ।
त्यसपछि पनि त्यस्ता भाइबन्धुबीचका युद्धहरु कति भए कति ! हैह्य र परशुरामबीचको युद्ध, राम-रावणको युद्ध, कृष्ण-कंशबीचको युद्ध आदि आदि ! राजा रामको जन्मभन्दा सयौं वर्ष अघि नै हैह्यवंशजहरुको परशुरामसित युद्ध भएको थियो । यो युद्ध पनि सामाजिक इतिहासमा महत्वपूर्ण रूपले अंकित भएको छ । ती युद्धनायक जमदग्नि परशुरामको समय राजा हरिशचन्द्रकालीन विश्वामित्रभन्दा एक-दुइ पुस्तापछि मानिएको छ ।
हैह्य र परशुराम युद्धकालीन समयलाई प्राचीन ग्रन्थहरुमा ‘अष्टादश परिवर्तन युग’ को नाम दिइएको छ । यस युगमा एकातिर उत्तर भारतमा वशिष्ठ र विश्वामित्रबीच द्वन्द चलिरहेको थियो भने पश्चिममा हैह्य तथा भार्गवहरुका बीचमा पनि युद्धको स्थिति पैदा भइसकेको थियो ।
विश्वामित्र र वशिष्ठबीचको मनोमालिन्यको प्रसंग यस्तो छ । तत्कालीन अयोध्याका राजा त्रिशंकु अर्थात सत्यव्रत सबै राजाभन्दा शक्तिशाली थिए । के सनक चढ्यो कुन्नि एकदिन उनले आफू सशरीर स्वर्ग जाने उद्देश्यका लागि यज्ञ गर्ने सोच बनाए । आफ्ना कुलगुरु ऋषि वशिष्ठलाई सो यज्ञ पूरा गरिदिन उनले अनुरोध गरे । यस्तो प्रकृतिविपरीत यज्ञ गर्न नमिल्ने भनेर वशिष्ठले इन्कार गरिदिए । राजाको आज्ञा नमानेको भनेर त्रिशंकुले वशिष्ठमाथि धेरै रोषप्रकट गरे । त्यसपछि राजा गुरु वशिष्ठका पुत्रहरुलाई गुहार्न पुगे । वशिष्ठ पुत्रहरुले पनि आफ्ना पिताप्रति राजाका कटुवचन सुनेपछि उल्टै राजालाई चण्डाल बन्ने श्राप दिए । राजा यतिमा पनि हारेनन् । उनी गुरु विश्वामित्रकोमा पुगे । श्रापित राजालाई कान्तिविहीन देखेर विश्वामित्रलाई दया जाग्यो । राजाको यज्ञ पूरा गर्ने स्वीकृति दिए । यसरी पूर्ण हुन लागेको यज्ञमा उपस्थित हुन सारा जम्बूद्वीपका ब्राह्मणहरुलाई निम्ता गरियो । गुरु वशिष्ठ र उनका छोराहरुलाई पनि निम्ता पुग्यो । तर, उनीहरुले पहिले नै राजालाई चण्डाल हुने श्राप दिइसकेकाले गर्दा ‘आफू ब्राह्मण वंश भएर चण्डालको यज्ञमा आउनै नसक्ने अनि सो यज्ञका हर्ताकर्ता विश्वामित्र पनि ब्राह्मण नभएर क्षेत्री भएका’ले उपस्थिति अस्वीकार गरे । आफूप्रति यस्तो दुर्वाच्य सुनेर विश्वामित्र क्रोधित हुँदै वशिष्ठ र उनको कुल भष्म हुने श्राप दिँदै आफ्नो तपोबलद्वारा राजा त्रिशंकुको यज्ञा पूरा गरी उनलाई सशरीर स्वर्ग पठाइदिए ।
वशिष्ठ र विश्वामित्रबीचको द्वन्दपछि अरु राजाका कथाहरु उस्तै छन् । त्यसबेलाको आनर्त, अहिलेको गुजरात क्षेत्रमा कार्तवीर्य भन्ने राजावंशले तहल्का मच्चाइरहेको थियो । यो कुरा परशुरामलाई पचिरहेको थिएन । हैह्य राजवंशका विरुद्ध परशुरामले शुरु गरेको यो युद्ध कृतयुग (सत्ययुग) को अन्त्यमा भएको कथन छ । हैह्य राजवंशलाई परशुरामले यस युद्धमा एकपटक होइन, जम्म २१ पटक हराएको कथन छ । परशुराम भृगुवंशका थिए भने परम्परागत रुपमा उनी नैमिषारण्य (नर्मदा) नदी किनारमा बस्थे ।
जति युद्धहरु भए पनि महादेवको समन्वयकारी भूमिका रोकिएको थिएन । फेरि पनि महादेव र शुक्राचार्यको पहलमा पुनः एउटा सिंगो राष्ट्रिय जीवनको खोज शुरु भयो । खेती-किसानी र पशुपालनको अभ्यास शुरु भयो । यसरी सामाजिकताको श्रेष्ठ भावना विकास हुँदै गयो भने भौतिक उन्नति पनि प्रशस्त भयो । यसरी विकसित सभ्यतामार्फत सबैमा समन्वय, सहिष्णुता र सामाजिक एकताको निर्माण भएपछि समाजले स्थायित्व तथा अमरत्व हासिल गऱ्यो ।
समुद्र मन्थनको प्रसंग माथि नै उल्लेख गरिएको छ । समुद्र मन्थनबाट समाजको उपभोगका लागि ऐश्वर्य, सम्पदा र वारुणी पनि प्राप्त भएको थियो । स्थानीय प्राकृतिक सम्पदाहरुको बारेमा यथेष्ट ज्ञान भए पनि असुरहरु ‘रजोगुण’ र ‘तमोगुण’ प्रधान भएकाले वारुणी पिएर उनीहरु मदहोस् भइदिए । बेहोस् भएकै कारण अमृतको प्याला उनीहरुको भागमा परेन । उनीहरु रसिलो सांस्कृतिक जीवनको अंग बन्न सकेनन् । यद्यपि, सबै प्रकारका मनुष्यहरु मिलेर गरिएको अभियान सार्थक हुन्छ, उन्नतशील हुन्छ भन्ने ज्ञानका साथै प्राचीन समृद्धि, सामर्थ्य र भौतिक उन्नति त्यतिबेलाको सभ्यताले समाजलाई दिनसकेको थियो ।
अझ पछि गएर ब्रह्मा र शिवसमेतको आज्ञा लिएर विष्णुले वामन रूप लिई बलिराजलाई वाचा बन्धन गरी उनका समर्थकहरुसहित ‘पाताल’-विपरित ध्रुवमा रहेका स्थलहरु जस्तै अमेरिका, अष्ट्रेलिया हुनसक्छन्-तिर पठाएका थिए । यसरी मनुष्य, असुर, दैंत्य, नाग, किन्नर तथा अन्यजातिहरु युरेशिया, अफ्रिका आदि वर्तमान देशहरुमा फैलिएका शास्त्रहरुको कथन छ । यसै समयमा असुरहरुका साथै देवताबाहेकका जातिमध्येबाट पनि सामर्थ्यवान, वीर, योद्धा, देवपूजक तथा अन्य महान कार्य गर्ने व्यक्तित्वहरुलाई ससम्मान अर्ध-देवताको श्रेणी (आज-भोलिको सन्दर्भमा ब्राह्मणको श्रेणी) मा उकास्ने चलन विकसित भइसकेको थियो । अब्जक वृषाकपि, बलि आदिलाई इन्द्रको पदप्राप्तिको प्रसंग लिन सकिन्छ; हनुमानलाई पूज्य देवताको रूपमा मानिएको प्रसंग पनि यसमा उदाहरणस्वरूप लिन सकिन्छ ।
- सुर-असुरको अर्थ र ग्रन्थहरुमा तिनको उल्लेख
सामान्य अर्थमा सुर भनेको मिलेको भन्ने बुझिन्छ । सुर, ताल मिलेको संगीत, कविता बन्छ भने जिन्दगीको लयबद्धता मिल्यो भने सामाजिक जीवन पनि सहज बन्दछ । यो अर्थमा सुर भनेको सुहाउँदिलो, मिलेको, सजिलो हो भने असुर भनेको अमिल्दो, तडक-भडकवाला, उवड-खावड, भाँडभैलो भन्ने अर्थ दिइएको छ । तर, यो नै अन्तिम सत्य भने होइन रहेछ ।
पुरानो ऋग्वेदका सूक्त मण्डलहरुमा सृष्टिको उत्पतिबारे सुर शब्दको तात्विक अर्थ पदार्थरचनाको सृजनामा मूल प्राकृतिक सृष्टिकण (शक्ति) बताइएको थियो । यसरी सृजनामा बाधा उत्पन्न गराउने कठोर रासायनिक बन्धनयुक्त कणहरुलाई असुर भनिएको थियो । अर्थात् सरल अर्थमा निर्माण वा आविष्कारको सन्दर्भमा सहयोगी कण सुर अनि बाधक कणहरुलाई असुर भनिएको थियो ।
“तदिष्णो परमं पदं सदा पश्यति सूरयःदिबीव चक्षराततम ।” सूरयः (सुर)-विद्वान, ज्ञानीजन आफ्ना सामान्य नेत्रले पनि अदृश्य देवेश्वर विष्णुलाई देख्तछन् । -ऋग्वेद १/२२/२२६ । “मद्देवाना सुरत्वेकम !” अर्थात् सबै महान देवताहरुको सुरत्व वा उचित कार्य सम्पन्न गर्ने शक्ति एउटै हो । ऋग्वेद ३/५५ । अदितिका प्रतापी जेठो छोरो सूर्यदेव भएका कारण पनि देवताहरुलाई सुर भनिएको कथन छ ।
असुर शब्द ‘असु’ (प्राण) अनि ‘र’ (वाला, वारिस अथवा युक्त) तात्पर्यमा मिलेर बनेको छ । जस्तै प्राणवान्, शक्तिवान्, ज्ञानवान्, विद्वान, धनवान्, बलवान् आदि । विस्तारै विस्तारै यो असुर शब्द भौतिक शक्तिमा मात्र सीमित भएर ध्वंशात्मक अर्थको प्रतीक बन्यो । कुनै रहस्यमयी गुणहरुको विम्बस्वरूप प्रयोग हुने भएकै कारण वरुण तथा अन्य केही देवताहरुलाई पनि ऋग्वेदमा असुर भनिएको छ । जसो भए पनि असुरहरु देवताका दाजुहरु हुन् जो सबै प्रजापतिका सन्तान थिए ।
आर्यहरुको प्राचीन संस्कृतिमा सर्वशक्तिमान भगवानका अंशस्वरुप प्राकृतिक शक्तिहरुकै उपासना हुन्थ्यो । ऋग्वेदमा सूर्य, वायु, अग्नि, आकाश र इन्द्रसँग ऋद्धि-सिद्धि माग गरिएको छ । यिनीहरु नै देवता थिए । यी देवताभन्दा माथि विष्णु र विष्णुभन्दा पनि माथि ब्रह्मलाई सत्य मानिन्थ्यो !
कालान्तरमा अनेक अमूर्त देवताहरुको कल्पना गरियो जसलाई ‘असुर’ नै भनिएको थियो । यी देवताहरु मानवकल्याण, सांसारिक हित एवं भौतिकप्राप्ति हेतु प्रकृतिको नियमविपरीत पनि जान सक्छन् भन्ने अर्थमा उनीहरुलाई असुर भनिएको हुनुपर्छ । देव तथा असुर यी दुवै शब्दहरु प्राचीनकालमा देवताकै अर्थमा प्रयोग गरिन्थ्यो । ऋग्वेदका प्राचीनतम अंशहरुमा ‘असुर’ यसै अर्थमा प्रयुक्त भएको छ । वेदमा वरुणलाई असुर भनिएको छ भने जीवनदाता भनेर व्याख्या गरिएका सूर्यलाई पनि सुर-असुर दुवैमा गणना गरिएको छ । ऋग्वेदमा एक ठाउँ कृष्णलाई पनि असुर भनिएको छ ।
एकठाउँमा इन्द्रको कथन यस्तो छ, “द्रप्सम पश्यंविषुयोचरस्तमुपह्वरे नद्यो अन्शुमत्याः । भो त कृष्णमवत स्थिवांस मिस्यामि वो वृषणो ।।” ऋग्वेद ८/९६/९५८४ । यसको तात्पर्य हो, ‘मैले अंशुमती तट (यमुना किनार) का गुफाहरुमा घुम्दै गरेका कृष्णासुरलाई सूर्यको समान भइरहेको देखेको छु । हे मरुतहरु हो ! म युद्धमा तपाईंहरुको सहयोगको अपेक्षा राख्तछु !’
यो प्रसंग इन्द्र र कृष्णका बीच युद्ध हुने तरखर चलिरहेका बेलाको हुनुपर्छ ।
त्यसपछि कर्मको नियमानुशासनमा प्रतिबद्धता हेरेर पीरो-नूनिलो, रसिलो-स्वादिलो खाने, भौतिकतामा रमाउनेहरुलाई असुर अनि ‘सदाचरण’ को गुणधारीहरुलाई सुर भन्न थालियो । यसरी देव शब्दका लागि सुर प्रयुक्त गर्न लागियो भने असुर शब्दलाई राक्षस भनेर अर्थ लगाउन थालियो । त्यसभन्दा पहिले असुर भनेको दुष्ट, राक्षस हो भनेर अर्थ लगाइएको थिएन भन्ने उदाहरण निम्न कथनबाट पनि पाइन्छ । ऋग्वेदमा यम आफ्नी बहिनीसित उनको कामेच्छा जनित मागलाई अनुचित बताउँदै सल्लाह दिन्छन्-
“न ते सखा सख्यं वष्टये वत्सलक्ष्यामद्वि पुरुषा भवति । महष्पुमान्सो असुरस्य वीरा दिवोध्वरि उर्विया परिख्यानि ।।” ऋग १०/१०/८८६७ ।
यसको तात्पर्य के हुन्छ भने, ‘हे सखी ! तिम्रो यो भ्राता तिम्रा साथमा यस्तो प्रकारको सम्पर्क गर्न राजी छैन किनकि तिमी मेरी सहोद्दर बहिनी हौ । म यो कार्यका लागि कदापि इच्छुक छैन । तिमी वीर असुर महापुरुषहरुको संगत गर ।’ तर, विडम्बना त्यसपछिका युगहरुमा असुर शब्दको अर्थ सुर (देवता) हरुका शत्रुका रूपमा प्रसिद्ध हुँदै गयो ।
-असुर शब्दका अन्य अर्थहरुःवैदिककालमा जो देवता बाहेकका थिए, स्थापित सत्ता-व्यवस्थाका विरोधी थिए । ईशोपनिषदमा एउटा श्लोक छ, “आसुर्यानाम ते लोका अन्धे तमावृता…।” यसको तात्पर्य हो, अन्धकार वा अज्ञानमा रहनेहरु नै असुर हुन् ।
-प्राचीन पौराणिक कथाहरु अनुसार केवल प्राण/ज्यान रक्षाको लागि लिप्त रहनेहरु असुर हुन् । जसलाई दैंत्य वा राक्षस भनियो ।
-इतिहास र पुरातत्वको जानकारी अनुसार आधुनिक असीरिया (सिरिया) का प्राचीन निवासीहरुलाई दिइने संज्ञा । उनीहरु आफैंलाई असुर भन्दथे भने उनीहरुको क्षेत्रलाई असुरिया भनिन्थ्यो । यिनीहरु नै ईरानमा अहुर भनिन्थे ।
-खराब वृत्तिवाला अथवा असंस्कृत पुरुष ।
भारतमा रामायणकालसम्म दुइ किसिमका मनुष्यहरु थिए भनिएको छ । एकपक्ष सुरहरुलाई मान्थे भने अर्को पक्ष असुरहरुलाई मान्थे । अथवा एउटा पक्ष ऋग्वेदलाई मान्द’थ्यो भने अर्को पक्ष अथर्ववेदलाई मान्द’थ्यो । ऋग्वेद मान्नेहरु सुर बने र अथर्ववेद मान्नेहरु असुर बने भनिएको छ ।
महाभारतलगायतका केही ग्रन्थहरुले असुरका गुणहरुबारे पनि प्रकाश गरेका छन् । सामान्यतः असुरहरु भनेका मानवभन्दा पनि उच्च गुणहरुले युक्त विद्याधरहरुको तहमा आउँथे । वस्तुतः रामायणकालसम्म असुरलगायत अन्य जातिका सामर्थ्यवान् योद्धाहरु, देवताका सहयोगीहरु, मित्रहरु वा भक्तिपरक व्यक्तित्वहरुलाई ससम्मान देवताको पद दिने चलन शुरु भएको थियो । हनुमान र वृषाकपिको प्रसंग माथि नै उल्लेख गरिएको छ ।
पुराणहरुमा उल्लेख भए अनुसार श्रीकृष्णको उदय हुनुपूर्व यादव गणतन्त्रका प्रमुख, मुथराका तत्कालीन राजा अथवा आफ्नै पिता उग्रसेनलाई बन्दी बनाएर कंशले आफ्नो एकल निरंकुश राज्यव्यवस्था कायम गर्दै आफैंलाई सम्राट घोषित गरेको थियो । कंशले आभीर तथा यादवहरुलाई दवाबमा राख्ने उद्देश्यले ठूलो संख्यामा असुरहरुलाई बोलाएर त्यहाँ बसाएको थियो भनिन्छ । कंशले आभीर र यादवकुलका प्रजाहरुलाई उत्पीडित बनाएर राखेको थियो । कृष्णले बाल्यकालमै आभीर युवाहरुलाई संगठित गरेर कंशको दुरुत्साहनविरुद्ध टक्कर लिएका थिए । कंशले असुरहरुलाई सम्मानपूर्वक ब्रजका विभिन्न भागमा जागीर दिएर तैनाथ गरेको थियो । कथाका अनुसार मथुराकै नजिक दहिता क्षेत्रमा दन्तक्रको छाउनी थियो । खेंचरीमा पुतना बस्थी । अरोठमा अरिष्टासुर बस्थ्यो भने कामवनमा व्योमासुर बस्थ्यो । परंतु कृष्णद्वारा कंशको बध भएपछि ती असुरहरु पनि मारिए वा सो क्षेत्रबाट भागेर गए ।
कथासरित्सागरमा एउटा प्रेमकथा छ जसमा कथाका नायकको रूपमा कुनै असुरको वर्णन छ । आधुनिक संस्कृत ग्रन्थहरुमा असुर, दैंत्य र दानवमा कुनै अन्तर देखाइएको छैन तर, प्राचीन अवस्थामा दैंत्य, दानव र असुरलाई भिन्ना भिन्नै वर्गमा व्याख्या गरिएको थियो । अतः जता जता घुमे पनि निष्कर्ष के आउँछ भने सुर वा असुर जो भए पनि आर्यहरु नै थिए ।
यसरी भन्नसकिन्छ शुरुमा देवतामध्ये सुर र असुर आर्यहरुकै दुइ शाखा थिए । पछि सुर र असुरहरुलाई आर्य र अनार्य भन्न थालियो । आधुनिकालमा आर्यहरु कुनै अन्य मुलुकबाट जम्बूद्वीपतिर सरेका थिए पनि भनियो । तर, प्राचीन ग्रन्थहरुमा त्यस्तो उल्लेख भेटिँदैन । आर्य र अनार्यहरुको युद्ध भएका कुरा ती ग्रन्थमा वर्णन भएकै छैनन् । अधिकांश युद्ध भएका छन् त आर्य-आर्यबीचमै आपसी द्वन्दबाट निर्मित युद्धहरु भएका छन् ।
कुनै पनि समुदायको दुर्गतिका लागि मुख्य कारण भनेको मोजमस्तीको जीवन, स्त्री लोलुप्ता, अतिशय भोगविलास नै हुने गर्दछन् । देव-असुरहरुको सभ्य संस्कृतिमा पनि यिनै त्रुटीहरु आए । देवताले सोमरस र असुरहरुले सुरा (मद) पिएर उन्मत्त हुनथाले, दुवैतिर व्यभिचार बढ्न थाल्यो । सुर-असुर दुवै शाखाका आर्यहरुका यस्ता व्यभिचारलाई मासेर सामाजिक सभ्यता पुनर्स्थापित गर्ने लक्ष्यमा वैवस्वत मनुले निष्ठा र अनुशासनको विधान बनाएका थिए जो आज पनि (४० पटक संशोधित, अनेक थपघट र परिमार्जन गरिएको) मनुस्मृतिका रूपमा चिनिन्छ ।
विद्रोह गर्नु मानवीय प्रवृत्ति नै हो । युगौंदेखि यस्तै हुँदै आएको छ । युगौंसम्म सुर-असुरहरुको आपसी विद्रोहपछि जब महर्षि अत्रिले वैवस्वत मनु र आफ्नै शिष्य उतथ्यका साथ मिलेर मानवीय सभ्यताको पुनर्स्थापना गर्नखोजे, त्यतिबेला पनि धुरन्धर विद्वान पण्डितहरुले नै विरोध गरे । पुलस्त्य र विश्रवा मिलेर आफ्नो पूरा शक्ति खर्च गरी अत्रि र उतथ्यको अभियान खारेज गर्दै ‘रक्ष’ नामको संस्कृति स्थापित गराए । उनीहरुका शेखपछि रावणले रक्ष संस्कृतिको विकास गरेका थिए भनिएको छ । खासगरी रावण देवता अथवा आर्यहरुको शत्रु थिँदै थिएन । उसले पुलस्त्यको नाति, विश्रवाजस्ता महान पण्डितको पुत्र भएर पनि आफूलाई आर्यसमाजमा सम्मान दिइएन भनेर त्यस समाजको चिन्तनविरुद्ध जाने अठोट लिएको थियो । यता मूल आर्यसमाजले चाहिं विश्रवा पुत्र भए पनि सुमाली दैंत्यकी छोरी कैकसीको सन्तान भएका कारण रावणलाई आर्य पद नदिने जिद्धि कसेको थियो । यसर्थ रावण रुष्ट भएर त्यो समाजका विरुद्धमा लागेको विश्वास गरिन्छ ।
यो रक्ष संस्कृति नै पछि गएर आर्य संस्कृतिको लागि बाधक बन्यो । कुनै ग्रन्थहरुमा यही रक्ष संस्कृति मान्नेहरु पछि गएर राक्षस बनेका हुन् भन्ने कथन पनि पाइन्छ । आजभोलि हिन्दू वा सनातनी भनिने अधिकांशले मान्ने गरेको संस्कृति खास आर्य संस्कृति नभएर रक्ष संस्कृति मिसिएको बताइएको छ । कुबेरले स्थापना गरेको यक्ष संस्कृति र रावणको नायकत्वमा विकसित भएको रक्ष संस्कृतिका केही अंश मिलाएर तिनको स्थानीयकरण हुँदै जाँदा आर्य संस्कृति पनि अपभ्रंशित, संक्रमित भएको विद्वानहरुको मत छ । अतः शास्त्रहरुको संकेत र केही विद्वानहरुको भनाइमा आजको सनातन संस्कृति न संस्कारिक रूपमा शुद्ध छ, न त शास्त्रहरु नै शुद्ध र पूर्ण छन् ! न समाजमा बन्धुत्व छ; मिलाप र एकरुपता छ ! दया, करुणा, परहित र परोपकार कतै छैन । त्यसो भए हिन्दू संस्कृतिको नाममा हामी के मानिरहेका छौं ? किन मानिरहेका छौं ? प्रश्न खडा हुन्छ ।
- देवासुर संग्राम वास्तवमा कसको लडाईं थियो ?
शिव अथवा पशुपतिनाथका अनुयायी, कैलाशवासी, हिमस्थानी, वनबासी, बोन, थाई-बर्मेली वा चिनियाँ मूलका अर्धविकसित आदि मानवहरु अथवा आधुनिक मानव विकासक्रमको इतिहासका आधारमा प्रोटो-अष्ट्रेलाइड र नियंदर्थल समूहलाई शास्त्रीय हिसाबले असुर मानिएको छ भने मैदान, गर्मी वातानुकूल ठाउँका वासिन्दा, विकसित नगरका रुप-पक्षमा सभ्य देखिने मनुष्यहरु, जसलाई आधुनिक मानव विकासक्रमको इतिहासमा होमो सेपियन्स भनिन्छ-लाई सुर अथवा देवता ठानेर यिनै दुइपक्षका बीचमा हुने वर्गभेद, विभाजन एवं द्वन्दलाई शायद प्रारम्भिक देवासुर संग्राम मानिएको हुनुपर्छ । जुन द्वन्द शिव-सती प्रकरण, दक्षप्रजापति शिरोच्छेदन, त्रिपुर विनाश हुँदै पृथ्वीमा गंगाको अवतरण अनि शिवलाई ‘देवादिदेव’ (मुख्य देवता) को पद र अन्यलाई सामान्य देवताको तहमा राख्तै शम्भू-भोलेलाई थुम्थुम्याएपछि मात्र साम्य भएको मान्न सकिन्छ । शिवको ताण्डव नृत्यदेखि सबै देवता थरथर हुन्थे भने हरेक असुरहरुले त्राहीमाम पारेका बेला इन्द्रादि देवताहरु शिवकै शरणमा गुहार माग्न पुग्थे भन्ने त हामीले प्रायः सबै शास्त्रमा पढेकै छौं ।
त्यो समयमा समस्त सुमेरु वा जम्बूद्वीप देवताको प्रदेश थियो । यही स्वर्ग थियो जहाँ गंगा नदीको बहाव चल्थ्यो भने ब्रह्मा, विष्णु, शिव, इन्द्र आदिका लोकहरु यहीँ थिए । शिवको कैलाश-मानसरोवर, इन्द्रको इन्द्रप्रस्थ, कश्यपको स्नानाशय क्याश्पियन सागर, कृष्णको द्वारिका आदिम सभ्यताका केन्द्र थिए ।
कश्यप (जसलाई श्वयंभू मनु पनि भनिन्थ्यो) कै सन्तान भएर पनि सुर र असुरहरु स्वभाव र आचरणमा भिन्न थिए । यो सामान्य मनोविज्ञान हो । आज पनि संसारका सबै दाजु-भाइ, दिदी-बहिनीहरु वैचारिक रूपमा मिलेर एउटै काम गर्छन् भन्ने छैन । शास्त्रले बताए अनुसार समाज विकासको शुरुमा देव, असुर, मानव वा मानवको स्तरमा विकासशील अन्य जातिहरु पनि सँगै बस्थे भनिएको छ । आधुनिक विकासवादको सिद्धान्त अनुसार नियंदर्थल म्यान जो वैदिक संस्कृतिको स्थापना हुनुभन्दा पहिलेको सभ्यताका सृष्टिकर्ता थिए, आदि मानव थिए जो हिमालयको उद्भव तथा महाजलप्रलय भन्दा पहिलेको समग्र जम्बूद्वीपमा फैलिएका थिए । यिनकै संस्कृतिबाट क्रोमेग्नन र होमोसेपियन्स मानवको विकास भएको ऐतिहासिक तथ्यांकहरुले देखाएका छन् । यिनीहरुलाई नै शास्त्रीय हिसाबमा सुर र असुर भनिएको छ । यिनीहरु साथ साथ रहने, सहकार्य गर्ने अनि कहिलेकाहीं संघर्ष, युद्ध पनि गर्थे जुन कुरा मानवीय आचरणको सामान्य ज्ञानले पनि बुझ्नसक्छ । त्यस्तै युद्धहरुलाई देवासुर संग्राम भनिएको हुनुपर्छ । गाउँघरमा बसेका छिमेकी, एउटै परिवारबाट छुट्टिएका दाजु, अंशको सम्पत्ति, जमीनको सिमाना, खेतमा पानी लाउने कुलोको पालो आदिमा झगडा गरेका, पानी बाराबर गरेका कथाहरु हामीसितै छन् भने युगौं पुरानो समाज कस्तो थियो होला, कल्पना गर्नसकिन्छ ।
शास्त्रीय परिकल्पनामा के कुरो उल्लेख छ भने जम्बूद्वीपभित्रको भारतीय उपखण्डमा रहने विकसित मानवहरु इन्द्रलोक, शिवलोक आउने जाने गर्थे । देवताहरुसँग सहवास, सहभोज, सम्मिलन गर्दथे । तर, अन्य सुदूर एशियाली क्षेत्र, अफ्रिका र अमेरिकी भूखण्डतिर रहनेहरुलाई असुर अथवा अविकसित मानव अथवा म्लेक्ष, यवण आदि नामले सम्बोधन गरिएको छ भने उनीहरुलाई अधर्मी विशेषण दिइएको छ ।
अन्तिम हिमयुगको प्रभावमा टेथिस सागर (Tethys Ocean) विलय हुनेगरी जलप्रलय भयो । सो प्रलयमा अधिकांश आदि मानवहरु डुबेर नष्ट भए अथवा आफ्नो इलाकाबाट छरिए । सोही क्रममा हिमालय शृङ्खलाको उत्पति भएको इतिहास छ । त्यसपछि वैवस्वत मनुले पुनः नवीन मानववंश (होमो सेपिन्यस) को उत्पति गराएर समग्र विश्वमा विस्तार गरेपछि नियंदर्थल मानवहरुको अस्तित्व विलीन भएको अनुमान इतिहासमा गरिएको छ । तथापि, नियंदर्थल मानवको वंशपरम्परा वैवस्वत मनुकालीन जलप्रलय (करु हिमयुग तथा क्वार्टनरी हिमयुग) भन्दा पछिसम्म चलिरहेको बताइन्छ । तात्पर्य के भने नियंदर्थल वंश (असुर) र होमोसेपियन्स, क्रोमेग्नन वंश (सुर) बीचमा द्वन्द तथा साझा समझ्दारी स्थापनाको समन्वयकारी अभियान पनि साथ साथै चलिरहेको थियो । तिनीहरु बीचको अन्तरद्वन्दलाई नै देवासुर संग्राम भनिएको हुनुपर्छ ।
कालान्तरमा फेरि देवता र देवसमर्थक असुरहरुबीचमा सांस्कृतिक मतभेदहरु पैदा भए । अति भौतिकता र आचरणहीनताको प्रचलनका कारण नयाँ नयाँ असुरवर्ग निर्माण हुँदै गए भने देवहरुमै पनि आसुरी प्रवृत्ति हाबी भयो अनि असुर समर्थक देवहरुको संख्या पनि ह्वात्तै बढेर गयो । यसले फेरि दोहोरो संघर्षको रुप धारण गऱ्यो । प्राचीन तथा मध्यकालमा देवहरुलाई हराएर उनीहरुकै समर्थक असुरहरुले जम्बूद्वीपमा अनेकौं शताब्दिसम्म शासन गरेका थिए । यी देव संस्कृति मान्ने असुरहरु पछि गएर मुख्यरूपमा ईरानमा विलीन भएको छनक ऋग्वेद र ‘अवेस्ता’ मिहिन ढंगले तुलनात्मक अध्ययन गरेमा पाइने छ ।
तिनीहरुले ईरानका निकटवर्ती राज्यहरु कब्जा गरेर आफ्नो साम्राज्य बसाले । इशाई बाइबलमा पनि यहुदीहरुलाई बन्दी दास बनाइएको प्रसंगमा असुर राजाहरुबारे उल्लेख गरिएको छ । भारतमा जातिप्रथा र विभेदकारी समाजव्यवस्था स्थापना गराउने असुरहरु नै थिए भनिएको छ । यसरी बुझ्ने हो भने जातीय विभेद र छुवाछूतको प्रथा चलाउनेहरु असुरका सन्तान हुन् । आर्य संस्कारको विरुद्धमा रहेका असुरहरुले नै निरंकुश राज्यव्यवस्थाको पक्षमा वकालत गर्दछन् । वर्ण र वर्ग जुनसुकै होस्, आज पनि समाजमा प्रवृत्तिगत रूपले असुरहरुको बीज सजिलै चिन्न सकिन्छ ।
रुपपक्षले मात्र हेर्दा असुरहरु विशेषतः प्रोटो-अष्ट्रेलाइड समूहमा पर्दछन् । ऋग्वेद, ब्राह्मण सूत्रहरु, अरण्यक, उपनिषद, महाभारत आदि ग्रन्थका अनेक पानाहरुमा असुर शब्दको उल्लेख भएको छ । विभिन्न स्थानमा असुरहरुको वीरताको वर्णन गरिएको छ जसमा प्राचीन वैदिककालदेखि अर्वाचीन वैदिककालसम्म असुरहरु अत्यन्त शक्तिशाली/पौरखी समुदायका रूपमा प्रतिष्ठित थिए भन्ने स्पष्ट बुझाइएको छ । शायद आर्यहरुसितको अन्तरद्वन्दकै कारण असुर साम्राज्यको अन्त्य भयो ।
प्रागैतिहासिक सन्दर्भमा असुरहरुलाई असीरिया नगरका निवासीहरुको रूपमा वर्ण गरियो जसले मिश्र र बेबीलोनको संस्कृति अपनाएका थिए र पछि त्यो संस्कृतिलाई भारत र ईरानसम्म फैलाइदिए जसलाई ईरानतिर अहुर संस्कृति भनियो । भारतमा पनि सिन्धुसभ्यताका प्रतिष्ठापकका रूपमा असुरहरुलाई मानिएको छ । महेञ्जोदडो र हडप्पाको सभ्यतामा पनि असुर (द्रविड) हरुको हात रहेको छनक पाइन्छ । यसरी असुरहरुको प्रभाव लौहयुगसम्म सशक्त रूपमा स्थापित थियो भनेर मान्न सकिन्छ ।
ईरान र पारसमा असुरहरुलाई अहुर भनियो । ईरानका अहुर र पारसहरु एक ईश्वर मान्थे जसलाई अहुरा मज्दा (संस्कृतमा असुर मेधा) भनिन्छ । अहुर मज्दाको वर्ण वैदिक देवता वरुणसित सम्बन्धित मानिएको छ । ‘अहुरा’ शब्दलाई संस्कृतको असुर अनि ‘मज्दा’ शब्दलाई संस्कृतको मेधा शब्दसित सम्बन्धित मानिन्छ । ऋग्वेदमा वरुण र अन्य कैयौं देवताहरुलाई असुरको उपाधि दिएको छ । प्राचीन ईरानीहरु असुरहरुको पूजा गर्दथे जसमा केही देवताहरु पनि सामेल थिए । यता भारतीय आर्यहरु देवहरुको पूजा गर्दथे जसमा केही असुरहरु पनि सामेल थिए । पारसी धार्मिक संस्कृति जिन्द-अवेस्ता भन्ने ग्रन्थमा आधारित छ । वैदिकहरुलाई वेदलाई मानेसरह नै पारसी (ईरानी) हरु जिन्द-अवेस्तालाई मान्दछन् । तिनको कुरान त पछि आएको परिमार्जित पुस्तकमात्र हो । विभिन्न खोज अनुसन्धानमा जिन्द- अवेस्ता (जेन्द र जन्द पनि भनिएको छ) का केही अंशमात्र प्राप्त भएका छन्, पुरै पुस्तक फेला परेको छैन भनिन्छ । अवेस्ताको सर्वप्राचीन अंश ऋग्वेदकै समकालीन मानिन्छ । अवेस्ताका प्रस्थापक महात्मा जरथुष्ट्रलाई मानिएको छ । त्यसकारण यो संस्कृतिलाई नै जरथुष्ट्रियन धर्म भनिएको छ । अवेस्ताको भाषा वैदिक संस्कृतसित दुरुस्तै छ ।
यसर्थ, अहुरहरु नै असुर थिए जसमा वैदिक संस्कृतिका केही सिद्धान्तमा विपरीत विचार राख्तथे र यही नै सुर र असुरहरुबीचको भिन्नता साबित भएको थियो भनेर मान्न सकिन्छ । भारतीय क्षेत्रमा बलि-वामन सन्धीका उपरान्त सुर –असुर वा देव-दानवको सह-अस्तित्वको प्रयासलाई यसको मूल नमूनाका रूपमा लिन सकिन्छ भने पछि ठूल्ठूला मतभिन्नता सृजना भएपछि असुरहरु छुटिएर ईरानतिर लागेका मान्न सकिन्छ ।
प्राचीनकालमा पारसमा पनि अनेकौं देवी-देवताको पूजा गरिन्थ्यो जुन कुरा अवेस्ताले प्रमाणित गरेको छ । उनीहरु प्रकृतिपूजक पनि थिए । तर, जरथुष्ट्रको मतमा ईश्वर सबैका लागि एक छ । जरथुष्ट्रले आफ्नो मतका ईश्वरलाई अहुरा मज्दा नाम दिए जसको अर्थ हो ‘महान जीवनदाता’ । जरथुष्ट्रको आकांक्षा थियो सबै व्यक्तिहरु ईश्वरतुल्य बनुन्; जीवनदायी ऊर्जालाई आफूमा समाहित गर्न सकुन् र निर्माण, संवर्द्ध तथा प्रगतिका संवाहक बन्न सकुन् । जरथुष्ट्रियन विचारमा मठाधिशवाद, ब्रह्मचार्य, व्रत-उपवास, आत्मदमन अस्वीकृत छ । यस्ता गतिविधिले मनुष्य कमजोर हुन्छ र खराबतत्वहरुसित लड्न नसक्ने हुन्छ ।
मनुष्यले यो विश्वब्रह्माण्डबाट पूरा आनन्द लिउन् र सधैं खुशी रहुन् । उनीहरु जे पनि गरुन् तर, एउटै कुरामा ध्यान राखुन् कि आफ्नो सदाचारको मार्गबाट कहिल्यै विचलित नहुन् । सदाचारपूर्ण आनन्द नै टिकाऊ आनन्द हुन्छ-व्यभिचारी आनन्द क्षणिक हुन्छ भन्ने जरथुष्ट्रियन मत हो । जो अर्वाचीन संस्कृतिका बुद्ध, जैन, चार्वाक र केही केही वैदिकहरुसित पनि मिल्दछ । जरथुष्ट्रियन मतमा भौतिक सुख-सुविधा वर्जित छैन तर, कसैको हक दबाएर, शोषण गरेर केही पाउनु दुराचार मानिएको छ । जो आफूभन्दा विपन्न छ उसलाई सहयोग गर्नुपर्छ । देहको समाप्ति अर्थात् मृत्युलाई पनि विजय मानिएको छ । विश्वको अन्तिम उद्देश्य निर्मल, स्वच्छ र उन्नत तथा सकारात्मक पक्षको जीतलाई मानिएको छ । अतः दुःख, पीडा र व्यथाहरुको समाप्ति र समाधानको खोजी सबै संस्कृतिले गरेकाले यसलाई पनि अरु धर्म-संस्कृतिकै समान भनेर उदाहरणका रूपमा लिन सकिन्छ । यस मतमा शरीरले सरलता र स्वच्छता अँगाल्दासम्म सो सुखी रहने अनि खराबीपन अनुभूत गर्नथालेपछि सो देहको विलय हुने बताइएको छ । पुरानो देहको विलयपछि आत्माले पुनः निर्णय लिएर अर्को नयाँ देहधारण गर्दै पुनर्जीवन, पुनरोत्थान लिने बताइन्छ जो वर्तमान हिन्दू र वौद्धिहरुमा रहेको पुनर्जन्मको परम्परासित ठ्याक्कै मिल्दछ ।
प्राचीन अद्वैतवादका प्रचारक जरथुष्ट्रकै मतले प्रथमतहमा तत्काल विद्यमान यहुदी संस्कृतिलाई प्रभावित गऱ्यो भने इशाई र इस्लाम संस्कृतिको प्रभाव पनि विश्वभरि निस्तेज गरिदियो । एकबेला यही संस्कृतिले हिमालय पारिदेखि ग्रीक, रोमन साम्राज्यसम्म प्रभाव जमाएको विभिन्न ग्रन्थमा हामी पढ्न सक्छौं । तथापि, समाजका विभिन्न फेरबदल, युद्धका कारण हुने भौगोलिक अधीनको सिमान्तरण आदिले यो संस्कृतिको प्रभाव पनि विभिन्न समयमा फेरिँदै गयो; नयाँ संस्कृतिको पुनरुत्थान हुँदै गयो । यसरी ईश्वी सन् ६०० तिर नयाँ रुप लिएर इस्लाम फेरि उदायो । सनातन वैदिकहरुको संस्कृतिमा पनि क्रमिक विकृतीकरण हँदै गयो । यसरी वैदिकहरुमा सुर, असुर, ब्रह्म, ईश्वर, प्रमात्मा, दैव आदिको अतिशयोक्ति काल्पनिक अलौकिकता निर्माण हुनथाल्यो भने सांसारिक संस्कृतिमा पनि पारसी, जरथुष्ट्र, अहुरा मज्दा, अहुर, यहोबा, यहुदी, इशाई, बाइबल, मोहम्मद, इस्लाम आदिमा कति हो कति भंगालाहरु निर्माण हुँदै गए ।
अत्यन्तै सरल हिसाबमा बुझ्दा हुने कुरो के हो भने अहुरा मज्दाको सिद्धान्त प्राचीन असुरहरुको भौतिकता परस्त मनोवृत्ति र मनुष्यको निरीहतालाई केन्द्रमा राखेर निर्माण भएको सांस्कृतिक मत थियो । अतः आजको परिवेशमा हामी के भन्न सक्छौं भने अहुरा मज्दाको संस्कृति वेद वा दैविक सभ्यता अथवा आर्यमतसित मूलरूपमा समानान्तर हुँदा हुँदै पनि अपभ्रंशित भएर भिन्न बनेको हो । नत्र, त्यही पारसी सिद्धान्त पछि गएर केही सामान्य फेरबदल गर्दै क्रमिक अपभ्रष्टता मिसाएर यहुदी, इशाई वा इस्लाम संस्कृतिको मूल बन्ने थिएन ।
- आधुनिक कालका असुरहरु
विश्वरभरिका कबीलाहरु, जनजाति तथा वनवासी जातिहरु, सबै वैरी देशका नागरिकहरु, उनीहरुको शत्रुतापूर्ण आचरण, विश्वासहीन व्यवहार र संस्कृतिका कारण तिनीहरुलाई अनार्य वा असुर भनिएको स्पष्ट बुझ्न सकिन्छ । एक जमानामा पारसी संस्कृतिलाई ईरानको राजधर्म मानिन्थ्यो । इस्लामको उदयपछि एक ईश्वर अहुरा मज्दा मान्ने ईऱानी अहुरहरु संकटमा परे । आफ्नो संस्कृतिको बचाउ गर्न उनीहरु बाह्रौं शताब्दिमा भागेर भारतमा पसे । भारतमा उनीहरुले शरण लिएका थिए । आधुनिक भारत देशको उदयमा उनीहरुको ठूलो योगदान रहेको बताइऩ्छ । आजसम्म पनि उनीहरुमा त्यो ‘महान प्रभू’ (अहुरा मज्दा) को वाणी जीवित छ भनेर विश्वास रहेको छ जो उनीहरुका घर र उपासनागृहहरुमा हामी अझै सुन्न सक्छौं । उनीहरुको सामुदायिक संस्कृतिमा तत्कालीन अफ्गान शासकका रूपमा स्थापित विष्णुलाई पनि उनीहरुले त्यो अलौकिक पुरुष वा प्रभूकै रूपमा मान्दछन् । गाथा नामबाट प्रचलित उनीहरुको श्रुतीग्रन्थ गीतका रूपमा छ जसको सारांशमा उत्तम विचार, रसपूर्ण वाणी र उत्तम कार्य गर्न मनुष्यहरुलाई उत्प्रेरित गर्ने उपदेशहरु समेटिएका छन् । अहुरहरुको मतमा श्रीविष्णु पौराणिक कालमा अफ्गानका राजा थिए ।
अब भारतवर्षको मात्र कुरा गर्दा, वैदिक संस्कृतिको आधारमा असुर भनिएका जातिहरु यसै त देशैभरि फैलिएका छन् । प्रायः जनजातिहरु, आदिवासीहरु, वनवासीहरु, गौड, भील्ल आदिलाई शास्त्रीय हिसाबले अनार्य वा असुर भनिएको छ । अहिले उनीहरु स्वयं पनि संगठीत बन्दै आफैंलाई आर्यहरुले असुर वा अनार्य बनाएका भनेर सभ्यजाति भनिएका आर्यविरुद्ध आवाज उठाउन थालेका छन् । उत्तरी भारतको झारखण्ड इलाकामा हजारौं वर्षदेखि ‘असुर’हरुको बसोवास रहेको ऐतिहासिक तथ्य पाइन्छ । मुण्डा भनिने जातीय समुदायको लोकगाथा ‘सोसोबोंगा’ मा असुरबारे उल्लेख छ जसमा मुण्डाहरु ६०० ईशापूर्व झरखण्डमा आएर बसेका बताइएको छ ।
आदिम जनजाति असुरको भाषा मुण्डारी थियो जो प्राचीन भाषिकवर्गको आधारमा आग्नेय (अष्ट्रो-एशियाटिक) भाषिक परिवारसित सम्बद्ध छ । तथापि, असुर जनजातिहरुले आफ्नो भाषालाई आसुरी भाषा भनेर नयाँ संज्ञा दिनथाले । भारतमा उनीहरुले आफ्नो भाषाका साथै नागपुरी र हिन्दीको पनि प्रयोग गर्नथाले । असुर जनजातिमा पारम्परिक शिक्षा विस्तार गर्न युवागृहको परम्परा कायम थियो जसलाई ‘गीति ओडा’ भनिन्थ्यो । असुरका बालबालिकाहरु आफ्नो प्रारम्भिक शिक्षा परिवारबाटै शुरु गर्थे र ८/१० वर्ष पुगेपछि ‘गीति ओडा’ मा सदस्य बन्दथे । जहाँ उनीहरु आफ्नो मातृभाषामा जीवनका विभिन्न भूमिकामा सम्बन्धित लोकपरम्परा र विभिन्न किंवदन्तीबाट शिक्षा लिन्थे । शिक्षाग्रहणकै उद्देश्यमा उनीहरु विभिन्न उत्सव र पर्वमा पनि भाग लिन्थे । अति सहज तौरतरिकाको शिक्षापद्धति भएकोले उनीहरुलाई कुनै कठीनाई थिएन, त्यसर्थ उनीहरु खुशीसाथ यो प्रणालीमा भाग लिन्थे । सन् १९६० सम्म नै असुर समुदायमा ‘गीति ओडा’ शिक्षा प्रणाली प्रचलित थियो तर, विस्तारै त्यसमा ह्रास आयो र हाल त्यो पूर्णतः समाप्त भइसकेको छ । असुर भाषाको व्याकरण र शब्दकोश पनि अहिलेसम्म बन्नसकेको थिएन । असुर भाषाको एकमात्र प्रकाशित साहित्यिक पुस्तक ‘असुर सिरिंग’-लाई मानिएको छ जुन पुस्तक सुषमा असुर तथा वन्दना टेटेको सम्पादनमा सन् २०१० मा प्रकाशित भएको थियो । यस पुस्तकमा असुर जातीय पारम्परिक लोगसंस्कृति र गीतहरुको समावेश छन् ।
सो पुस्तकका अनुसार असुरहरु प्रकृतिपूजक हुन्छन् । ‘सिंगबोंगा’ उनीहरुको प्रमुख देवता हो । ‘सडसी कुटासी’ तिनीहरुको प्रमुख पर्व हो जुन पर्वमा यिनीहरु आफ्ना हात-हतियार तथा फलाम पगाल्ने भट्टिहरुको पूजा गर्दछन् । असुरहरु मैषासुरलाई आफ्नो पुर्खा मान्दछन् । हालचालै केही वर्षदेखि एउटा आदिवासी संगठनले ‘महिषासुर शहीद दिवस’ पनि मनाउन थालेको छ । वैदिक संस्कृतिमा महिषासुरलाई एउटा दुष्ट राक्षसको रुपमा देखाइएको कुराप्रति उनीहरु रुष्ट छन् । पौराणिक कथानुसार महिषासुरको हत्या दुर्गादेवीले गरेकी थिइन् । पश्चिम बंगाल र झारखण्ड इलाकामा दुर्गापूजाको बेला असुर समुदायले शोक मनाउने गर्दछन् ।
असुरहरुकै एउटा उपजाति गोंड समुदायको अर्को किंवदन्ती छ जसअनुसार उनीहरुका देउता शम्भू सेक (वैदिक महादेव)-लाई आर्यहरुले पार्वतीमार्फत छल गरी पराजित गरिदिए । पार्वतीको रूपजालमा फँसेर शंभू सेक हारेपछि उनका अनुयायी भक्तहरु आर्यहरुको गुलामीमा परेका थिए । यद्यपि, यो किंवदन्तीमा तथ्यभन्दा पनि राजनीतिक गन्ध बढी झल्किन्छ । यो पौराणिक मिथ्याकरण अथवा शास्त्रीय विकृतीकरणको राजनीतिक दुष्प्रयास हुनुपर्छ । किनभने दक्षिणी जम्बूद्वीप (श्रीलंकामा सुनको दरवार महादेवले बनाएको कथन छ) का देउता शिव वा शंभूले समुद्रमन्थनबाट निस्किएको कालकुट विषपान गरेका, स्वर्गबाट गंगालाई पृथ्वीमा झारेका, ब्रह्मा, विष्णुसित मित्रता गर्दै देवलोक, जम्बूद्वीपका साथै विश्वका अन्य सबै खण्डहरुमा सामाजिक अमन-चैन कायम गर्दै सुर-असुर सबैलाई एकताबद्ध हुन उत्प्रेरित गरेका थिए भनिएको छ । आफू दक्षिणी जम्बूद्वीपीय भएर पनि समुद्रमा वास नगरी उत्तरी कैलाशमा आवास बनाएका शिवले दक्षप्रजापतिकी पुत्री सतीसित विवाह गर्दै कालान्तरमा ‘देवादिदेव महादेव’ कहलाएका थिए । सती आर्यवर्तकी वासिन्दा नभएर देवभूमि-हिमप्रदेशकी निवासी थिइन् । त्यसबेलासम्म आर्य जाति नाम वा आर्यवर्त क्षेत्र बनेकै थिएन ।
माथिल्लो अनुच्छेदमा शास्त्रीय विकृतीकरणको प्रसंग उठाइएको थियो । शास्त्रीय विकृतीकरण कस्तो हुन्छ भने एकातिर सोही पात्रलाई एक ढंगले प्रस्तुत गरिन्छ भने अर्कातिर अर्को ढंगले । कुनै प्रसंगहरु तथ्य र घटनाक्रम एउटै भएर पनि पात्रहरु अलग अलग हुन्छन् । शास्त्रीय विकृतीकरणको नमूना प्रस्तुत गर्न यहाँनेर कतै पनि शिवको बारेमा उल्लेख नभएका केही सन्दर्भहरु उठाउन मन लाग्यो । सबै यज्ञ, अनुष्ठान, युद्ध र तिनको समाधानमा आउने शिवको नाम एकबेला कतै पनि उल्लेख गरिँदैन ’थ्यो ! शिवको अनुपस्थिति रहेका निम्न कथा सन्दर्भमा हयग्रिवबधको नमूना हेरौं ।
केही पुराण र महाभारतमा हयशिर अथवा हयग्रिवको बारेमा भिन्न भिन्न व्याख्या पाइएको छ । आदिपर्वमा भनिएको छ,“ऋषि कश्यप र उनकी पत्नी दनुबाट घोडाको शिर भएको एउटा दानवले जन्म लियो ।” उद्योग पर्वमा भनिएको छ, “हयग्रिव दैंत्य थियो जसलाई विष्णुले एउटा अवतारमा मारिदिएका थिए ।” कतै ‘हयग्रिव विदेह राज्यका दुष्ट राजा थिए र उनकै भाइहरुले हत्या गरिदिएका थिए’ पनि भनिएको छ । तर महाभारतकै शान्तिपर्वमा फेरि “हयग्रिव एकजना अनेकौं यज्ञ गरेर सिद्धि हासिल गरेका राजा थिए, उनी युद्ध लड्दा लड्दै आफ्नै सेनाले एक्लै रणमैदान छोडेर गएपछि शत्रुद्वारा मारिएका वीरयोद्ध थिए” पनि भनिएको छ । शान्तिपर्वमै एकठाउँमा हयग्रिवलाई स्वयं विष्णुको एक अवतार बताइएको छ । कथा अनुसार मधु र कैटभ नामक दैंत्यले वेद चोरेर समुद्रमा लगेको कुरा ब्रह्माजीले विष्णुलाई उजुर गरे ।
त्यसपछि विष्णुले हयग्रिवको रूप लिएर ती दैंत्यहरुलाई मारी वेद ल्याएर ब्रह्माजीलाई बुझाइदिए । त्यसपछि विष्णुले त्यो हय (घोडा) को शिर झिकेर समुद्रमा फ्याँकिदिए र आफ्नै पूर्वरूपमा आए । अर्को एक ठाउँमा असुर हयग्रिवलाई प्रागज्योतिषपुरका भौमवंशीय दैंत्यराज नारकासुरको ढोके भएको बताइन्छ । कथा अनुसार जसलाई कृष्णले लोहितगंगाको किनारनिकट औद्दाक भन्ने स्थानमा बध गरिदिएका थिए । नरसिंह पुराणमा बताइएको छ,“नरसिंह भगवानकै त्रिकालशक्ति अंश कृष्णले प्रागज्योषिपुरका -नारकासुर, हयग्रिव र अन्य दैंत्यहरुलाई मारिदिए ।”
त्यही कथाको अर्को अध्यायमा ‘विराट पुरुष नारायणको आज्ञामा ब्रह्माजीले सृष्टिको अभ्यास गरिरहेका बेला घमण्डले चूर भएका दैंत्यहरु मधु र कैटभले ब्रह्माजीलाई चुनौती दिएपछि भीषण युद्ध भयो र नारायणद्वारा ती दैंत्यहरु मारिए’ भनिएको छ । यो सन्दर्भमा विष्णु र हयग्रिवको प्रसंग कतै आउँदैन । यसैगरी भागवतपुराण र अग्निपुराणमा पनि यो प्रसंगमा तथ्यान्तर गरिएको छ । यहाँ मधु र कैटभको स्थानमा दानव हयग्रिवमात्र उल्लेख छ ।
कथाले उल्लेख गरे अनुसार हयग्रिवले ब्रह्माजीबाट वेदहरु लुटेर लग्यो । त्यहीबेला कल्पको अन्त्यकाल भएकाले पृथ्वीमा जलप्रलय भयो । वेदहरु समुद्रतलमा लुकाएर हयग्रिव प्रलयकालभरि सुत्यो । सो क्रममा विष्णुले मत्स्यावतार लिएर वेदहरुको पत्तो लगाए भने दैंत्य हयग्रिवको बध पनि गरे ।
यद्यपि, देवीभागवतमा यही कथा निक्कै परिमार्जित किसिमले बुनिएको छ । कथा अनुसार विष्णुपत्नी महालक्ष्मीको कुनै श्रापका कारण उनको धनुको ताँदोले आफ्नै शिर काटियो । विश्वकर्माले सूर्यका रथको घोडाको शिर काटेर विष्णुको धडमा जोडिदिए । त्यसपछि उनको नाम हयशिर राखियो । हयशिरले गएर दानव हयग्रिवको बध गरिदिए ।
यता हरिवंश पुराणमा भने हयग्रिवको अर्कोखाले वर्णन छ । कथा अनुसार यज्ञामा बाधा दिएको भन्दै ब्रह्मा र अन्य देवताहरुका विरुद्ध युद्ध गर्न आएको मधु नामक दैंत्यलाई विष्णु स्वयंले घोडाको शिर भएको (हयशिर) अवतार लिई मारिदिएर देवता तथा ब्रह्माजीको रक्षा गरे । त्यसपछि फेरि हयग्रिवलाई विद्याधरको रूपमा मान्न थालियो । यतिबेला विभिन्न सम्प्रदायहरुले हयग्रिवलाई विष्णुकै अवतारको रूपमा मान्दछन् । शास्त्रीय ग्रन्थहरुमा यस्ता बेमेल वर्णनहरु कति छन् कति !
शास्त्रीय विकृतीकरणकै अर्को नमूना पनि हेरिहालौं । रावणले देवलोकमा विजय हासिल गरेपछि यमलोकमा पनि आक्रमण गरे । ब्रह्माजीबाट पाएको वरदानका कारण रावणले यमराजलाई पराजित गरी यमलोकमा अधिकार जमाए र नर्क भोग गरिरहेका आत्महरुलाई आफ्नो सेनामा सामेल गरे ।
देवताहरुका खजाञ्ची (अहिलेको व्यावहारिक भाषामा ब्यांकर) ‘भगवान कुबेर’ रावणकै भाइ थिए । रावणले नै कुबेरलाई राजपाटबाट लखेटेर लंकामाथि आफ्नो अधीन जमाउँदै कुबेरको पुष्पक विमान पनि खोसेर लिएका थिए । रावण आफैंमा ज्योतिषशास्त्रको प्रकाण्ड विद्वान थिए । युद्धको समय आफ्नो पुत्र मेघनादलाई अजेय बनाउने उद्देश्यमा रावणले नवग्रहहरुलाई मेघनादको कुण्डलीमा ठीक ठीक ठाउँमा आएर बस्न आदेश दिएका थिए । शनिग्रहले रावणको आदेश पालन नगरेको कारण मेघनाद युद्धमा हाऱ्यो भने रावणले शनिलाई बन्दी बनाए । रावणले यसरी शनिलाई बन्दी बनाएपछि सारा देवता र दिग्पालहरु जम्ले हात गरेर वर्षौसम्म लंका दरबारमा रहेका थिए । जब रावणले सीतालाई हरेर लंका ल्याएपछि हनुमानको आगमन भयो तबमात्र हनुमानले शनिलाई बन्धनमुक्त बनाइदिए भन्ने कथन छ । रावणको नाभीमा अमृत सञ्जिवनी जडित थियो । त्यसकै कारण उनको एउटा शिर छिन्दा अर्को नयाँ शिर पह्लाएर जीवित हुन्थ्यो भनिएको छ । रावणका दश शिर र २० वटा भुजा पनि देखाइएको छ । रावण यति धेरै शक्तिशाली थिए त ?
भारतीय मुण्डा र गोंडहरुको पुर्ख्यौली इतिहासमा रावणका दशशिर र २० भुजा थिए भन्ने लेखिएको छैन । उनीहरुको दाबी के छ भने वाल्मिकी रामायणमा रावणको वर्णन आंशिक रूपमा सत्य छ । तर, तुलसीदासले रामचरित मानस लेखेर त्यसमा दशशिर र बीसहातको रावण बनाइदिएका थिए । गोंड र मुण्डाहरुको कथन छ; राम र रामको पक्षमा हिंसाको वकालत गर्नेहरुले त्यस्ता उधुम शक्तिशाली वीरलाई पनि हाम्रो पक्षले जितेको थियो भनेर घमण्ड देखाउनलाई त्यसरी रावणलाई अस्वाभाविक रुपमा देखाइएको थियो । वर्तमानमा भारतीय उत्पीडित हिन्दू समाजको वकालत गरिरहेका राजरत्न अम्बेदकर, लेखिका सुषमा असुरहरुसित कुनै समय तपाईंले पनि कुरा गर्ने अवसर लिन सक्नुहुनेछ । यस्ता तमाम धार्मिक, ऐतिहासिक द्विविधादेखि वर्तमान भारतको संविधान तयार हुँदासम्मको भारतीय गाथाबारे तपाईंले राजपत्न र सुष्माबाट धेरै तथ्यहरु पाउनुहुनेछ ।
समष्टि निष्कर्षमा हामी के भन्नसक्छौं भने विभिन्न कथा र किंवदन्तीहरुको ताँदो लगाएर आफ्नो वंशज समाजलाई नैतिकता र अनुशासन सिकाउने उद्देश्य शास्त्रहरुले राखेका थिए । त्यतिबेला राज्यप्रशासनहरु यिनै शास्त्रीय नीतिबाट सञ्चालित थिए । राजाहरु थिए तर, अहिलेको झैं कानून र नियमहरु थिएनन् । नियम थिए त सबै शास्त्रमा थिए । पुराना शास्त्र मान्नेहरुले तिनै नियम पालन गरे, नमान्नेहरुले आ-आफ्ना नयाँ नियमहरु बनाउँदै लगे । पछि गएर ती नयाँ नियम, दरबारिया परम्परा पनि हाम्रा लागि शास्त्र बने । यही क्रम आजसम्म चलिरहेको छ ।
अतः शास्त्रहरुले अनेकानेक व्याख्या गरे पनि निश्चय नै देव-दानव, असुर-असुर जे भने पनि हामी मानवहरु एक वंशीय सन्तान हौं । प्रागैतिहासिक युगका विभिन्न चरणमा समाजलाई बाँडेर, भाँडेर आफ्नो राजनीतिक द्वेषशक्तिको वर्चस्व कायम गराउन चाहनेहरुले एउटै समाजलाई आपसमा भिडाएका हुन् । हामीले बाँड्ने-भाँड्ने शक्तिहरुलाई चिनेर तिनबाट जोगिँदै सम्मिलन, सहसंस्कृति, सहकार्यको माध्यमबाट आफ्नो समुदाय र समाजको उन्नतिका लागि योगदान गर्नुपर्छ । सबै मानवहरुको हातेमालोले नै समाजको सुकीर्ति रहन्छ भने हामी बस्ने यो विश्वब्रह्माण्डको रक्षा पनि सम्भव हुन्छ । यसैलाई ‘बसुधैव कुटुम्बकम्’ भनिन्छ । ‘अहं ब्रह्माष्मी’ यसैलाई भनिन्छ । ‘अप्प दीपो भव’ को दीव्य महावाणी यसैमा सिद्ध हुन्छ ।
सन्दर्भ स्रोतहरु
१. प्रश्रितः मोदनाथ- धर्म र दर्शनको विश्लेषणमूलक अध्ययनको आवश्यकता / स्रोत : हाँक साप्ताहिक – वर्ष २८, अंक २२ – २०६७ बैशाख ७ गते, बुधबार
२. http://bhutaneseliterature.com/archives/19850
३. ऋग्वेद तथा ब्राह्मण, अरण्यक, उपनिषद्, महाभारत
४. कथासरित्सागर
५.भारत कोष, भारत खोज ६.के के ल्युबा को ‘द असुर’, Verrier Elwin को ‘अगरिया’ तथा ट्राईबल रिसर्च इंस्टीच्युट, रांचीद्वारा प्रकाशित पुस्तक ‘बिहार के असुर’
७. Neanderthals interbred with anatomically modern men. –by Brian Thomas
८. सुभाष काक, “Vedic elements in the ancient Iranian religion of Zarathustra.” Adyar Library Bulletin, 2003
९.Jivanji Jamshedji Modi: The Religious System of the Parsis.
१०. J. C. Tavadia: The Zoroastrian Religion in the Avesta.
११. सुर असुर , आर्य-अनार्य व देवासुर संग्राम-डाः श्याम गुप्त
१२. (The Buddhist Vishnu, Religious Transformation, politics and culture-by John Clifford Holt, Columbia University Press, New York)
१३. असुर : जीवन से मरण तक, सुरेश जगन्नाथम, फरवर्ड प्रेस (मासिक), नयाँ दिल्ली, अप्रिल 2016, पृष्ठ – 57-62