चिट्ठी आदान-प्रदान

तुम्बेहाङ लिम्बू

सुन है वीरे ! मेरो हृदयको राजा !
हिजोसम्म नङ-मासुसरह मिलेको हाम्रो अस्तित्व
आज जोङ्खा र नेपाली – दुई किनार भयो
तोदे र धनसिरीमाझ अँटाएको हाम्रो पूण्यभूमि
यहाँ धर्म-वर्ग र सम्प्रदायको कुरुक्षेत्र भयो
तिमीले त हाम्रो प्रीत लत्याएर पनि उता शरण पायौ
सुन ! उदास, अकेली म कसरी बस्न सक्छु?
हिजोसम्म प्रेमालाप गरिबस्ने हाम्रो देउरालीमा
आजभोलि राघे-पाङ्ग्रे नरभक्षीहरु दौडँदैछन्
तिमी र मैले रोपिराखेका आशाका बिरुवाहरु पनि
विप्लवी काइँलाका घोडा-खच्चडहरुले खाँदैछन्
भन वीरे ! म कसरी सहन सकूँ यहाँको अत्याचार ?
अनाथ नारीले कसरी ढाक्न सकूँ मनमा सल्केको हाहाकार ?
आज-भोलि त लामा र पण्डितको स्तोत्र पनि मेघ झैं गर्जन थाले
साङ्गे र धर्मेले सटाएर बना’को गुम्बा-मन्दिर पनि
नब्बे सालको ‘भूकम्प’ले पट्ट फोरेर पृथक पारिहाल्यो
तिमीले दे’को फरिया-चौबन्दी पनि, कस्तो दुर्भाग्य मेरो !
सुका’कैबाट हिजो कर्नेलको कुकुरले कहाँ लग्यो कहाँ !
साँची, …औ ! मैले चिनो सुम्पेको बक्खु छ तिमीसँग ?
छ भने गल्छेंडोमा नफालेस् है ।
तिमी र मैले पात बजाएर खेलिहिँड्ने गोचरमा पनि
अचेल त सुँगुर जस्ता पशुहरु खर्कने गर्छन्
विषालु चीजहरु गर्जने गर्छन्
अम्बल-डम्बल खेल्दै हामीले भेडा-बाख्रा लघारेको
भीर-पहराको नागबेली गोरेटोभरि
डिकी, ठूल्बैनी र एतवारीहरु
बलात्कृत हुन्छन्
कति सारो चर्केछ परिस्थिथतिको यो चट्टान पनि
हिजाज त उहिले जस्तो चाँप,
सिमल र सुनाखरी पनि ठ्याम्मै फुल्दैनन्
धेरै दिन भयो, यताका कुसुमकलिले यौवन देख्नै पाएनन्
बारी कान्लाका नेभारा, डुम्रिसे पनि ढलिसके
माले-पुँडे मासियो– अब त तानाशाह दलालहरुले
कलौरी र गोरीलाई पनि जोत्न थाले
देउ-धामलाई त रक्तिम भेलले ढाले-ढाले
मान्छेले पनि मान्छेलाई नै पशु जस्तो व्यवहार गर्न थालिहाले
यसै र वीरे, मेरो राजा !
मलाई पनि अब त झापातिरै लम्किने इच्छा लागेको छ
म डुक्पेनी भएँ त के भयो ? हाम्रो जीवन त एकै प्रेमसूत्रले बाँधेको छ
किन कि, अचेल यहाँ नारीत्वको सुरक्षा छैन
मानवताको अस्तित्व छैन-एकरुपताको मान्यता छैन
जहीँ तहीँ अनगिन्ती कोखमा बिना बाबुका सन्तान हुर्कन लागेका छन्
हिजै त हो च्याङ्खुरीले त्यस्तो एक अभिशाप जन्माई- समाज हटक् भई,
अविवाहित एतवारीले छोरी पाएर वेश्या हुनु पऱ्यो,
पहिलो किताबसँगै आमा बन्ने पाठ पनि पढ्नु पर्दैछ अचेल
र…म के गरुँ वीरे ?
गुम्बा-धामको कसम !! मेरो मन त पटक्कै बस्दैन यहाँ
मलाई झट्टै लिन आऊ है, झट्टै आऊ !!
  
(बलवीरेको पत्रोत्तर)

ए…नि मेरो वाङमो लै लै !
तिमी त नआऊ है यहाँ नआऊ !
हाम्रो शिविरमा त यहाँ पोथी चल्ला सबै उदेकिन थालेका छन्
दिउँसै रात पर्न थालेकोछ-भँडारमै डढेलो सल्कन थालेको छ;
हाम्रो शिविरमा त अचेल भालेले पनि ओथ्रा बस्न थालेकोछ ।
यस्तो थाहा भए त म किन आउँथें र यता ?
कतै न्याय पो होला कि, अधिकार पो पाइएला कि भनेको त
दाज्यू-भाइमै काटाकाट छ यहाँ, दिदी-बहिनीमै मारामार छ यहाँ
एउटै आमाका सन्ततिहरु चुचे र थेप्चेमा विभाजित छन् यहाँ ।
हिजो पूर्वेली साथीबाट एक चिट्ठी आयो
अझ अण्डा र डिमको मामला काँचै छ ’रे वहाँ’
दक्षिणको समाचार त उति लेखेनछ उसले
तर, जलधि तटको महासमर त निखारिएको छ नै कहाँ ?…
यहाँ विधाताको आफ्नै छाप्रो उजाडिएको छ
हाम्रो पछ्यौरी कसले स्याहारिदिने ?
संसारका अग्रज महाशक्तिले न्यूक्लियर पावर प्रदर्शन गर्ने ’रे
कतै हाम्रै थाप्लो पो तेस्रो विश्व युद्घको हिरोशिमा÷नागासाकी हुने हो कि !
सुन्यौ के वाङमो तिमीले ?
शान्ति पदयात्रीहरु हजारचोटि कारागारमा परिसके
उनीहरुको “सत्याग्रह” कसैको आँखाको कसिंगर बनेछ क्यार
यस्तै छ है शरणार्थी समस्याको सन्देश पनि आपसमा ।
अफ्रिका र यूरोपेली कुरा त के लेखूँ तिमीलाई !
यहाँ आफ्नै आँगनमा दोस्रो हिटलर, नेपोलियनहरु जन्मन थालेका छन्
खाडी युद्घको कुरै छोड…
मूल खम्बामै नरसिंह अवतारसित युद्घतोपहरु पड्कन थालेका छन्
अनुदानको रासनले पेट भरेपछि आजकल स्वदेशको छाप्रोहरु बिर्सिएर
अट्टालिका-इमारतमाथि बस्न शरणार्थी सबैले प्रवास नै रुचाउन थालेका छन् !
शहीद धने र मनेको रगतले धिक्कार्ला अब हामीलाई
हाम्रै खातिर कैद परेकी बुढी आमाको विश्वासले श्राप देला हामीलाई
यहाँका हाम्रा क्रान्तिकारीहरुले आफ्नो लक्ष्य र कर्तव्यै भूलिसके
किंकर्तव्यविमुढ रिजाल दाइले पनि रोलान् हाम्रो नामर्दपनमाथि
किनकि- शिविरमा त बिहे र पूजाको मात्र सम्मान छ ।
मानवाधिकारको होइन, धर्म, वर्ग र प्रजातिवादको मात्र भण्डार छ
“तेह्रसूत्री” भित्र शायद, यही पो एउटा माग थियो कि हाम्रो !
उफ ! यस स्थितिमा हामी कसरी स्वदेश फिर्न सक्छौं, वाङमो ?
यो भन्दा त बरु मैदानमै गोली थापेको राम्रो
पिठ्यूँ देखाएर बैरी हँसाउनु भन्दा रगतले आफ्नो देश धुनै राम्रो
कायर भई शताब्दी जिउनु भन्दा राँको भई पलकमा निभ्नै राम्रो
विश्व थर्काउनेका सन्तति बन्नै राम्रो ।
यसैले वाङमो ! तिमी नआऊ है यहाँ नआऊ
शनैः शनैः म त उतै पो आउन खोज्दैछु
हाम्रो प्रेमसूत्रले खिंचिरहेछ मलाई स्वदेशतर्फ
एक्लो भए पनि म त देशभित्रै लड्ने विचार गर्दैछु,
हिजोको बलवीरेले आज कलमवीर पनि बन्नु परेको छ;
मेरो यही खबर सुनाइदिनु गाउँ-घर, छर-छिमेकलाई
शिविरको यस्तै व्यथा भनिदिनु भूटानी हाम्रा सबै दाज्यू-भाइ
दिदी–बहिनीलाई !
(“भग्न पर्खालको सयपत्री” कविता संग्रहमा प्रकाशित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *