चोरेको ऐना

सञ्चमान खालिङ
पीए, अमेरिका

मैले
एउटा ऐना चोरेको छु
त्यो अनौठो ऐनासामु जब उभिन्छु,
देख्छु विभिन्न झलक–
पत्र–क, राम
सुनको मृग समाउन नसकेर
गुहार्छ मलाई
धनुष बाण, डोरी बोकेर दौडन्छु
त्यो मृगतिर हाम्फाल्दै।

पात्र–ख, सीता
दोजिया शरीर घिसार्दै
अलापविलाप गर्दै
रातबीच घनघोर जगंलको
मेरो कुटीमा आइपुग्छिन्
म उसको पीडा सुनेर विक्षिप्त हन्छु।

पात्र–ग कृष्ण
सोह्रसय गोपिनीसंग
प्रणयलाप गर्न डिस्को जाँउ भन्छ
पुरुषको कमजोरी सुरा र सुन्दरी
म उसको पछि पछि लाग्छु।

पात्र–घ, पाण्डव र सयकुमारहरु
त्रिपासा खेलाँउ भन्छन् मलाई
हौसिँदै तम्सिन्छु
अनि मेरो राज्य जुवामा खर्लप्पै हार्छु।

पात्र–ङ, म
एउटा सिंगो नाटक
बाँचेको पाउँछु आफूलाई
परिस्थितिले खनेका डोबहरुमा
हो, मैले ऐना चोरेको छु

(२०६५/०६/१५)
धरान
श्री खालिङको ‘धनेहरु निरन्तर हिँडिरहे’ कविता संग्रहबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *