जब सृजनाले रस घोल्न थाल्छ
मचिन्द्र खत्री
हाल धरान, नेपाल
जब सृजनाले रस घोल्न थाल्छ
ढुङ्गो र माटो पनि बोल्न थाल्छ।
आगोले पनि शीत भर्छ थाल्छ
चिसो हिउँले तब अग्नि बाल्छ।।१
बोल्छन् बिरुवा सबै वनवृक्ष
खोल्छन् लुकेका सबै रहस्य
सारा शैल तुङ्ङ झुक्न थाल्छन्
काला मेघ पनि लुक्न थाल्छन् ।।२
सङ्लिन्छ धमिलो नीरगंगा
उड्दछ कमिलो सागर चङ्गा।
व्योमले थाल्दछ बादल ठेल्न
बादल थाल्दछ यो खेल खेल्न।।३
कल्पना कविको शक्ति बिचित्र
घुम्छ यो जगको ब्रमाण्ड भित्र।
घोल्दछ पीयूष बाड्दछ मिठो
आफू छ बूढो बन्दछ ठिटो।।४
सजिलै बिष यो पीयूष भन्छ
झलल दिउँसै तारागण गन्छ।
झल्मल झल्मल सब दीप बाल्छ
जब सृजनाले रस घोल्न थाल्छ।।५
दिव्य चक्षुले बादल देख्दै
यसमा तुरुन्त कविता लेख्दै
जलका रूपमा नै कवि ढल्छ
धप्धप धप्धप यसैमा बल्छ।।६
प्रहार वज्रको छेल्दछ वीर
तुरुन्त गम्भीर बन्दछ धीर।
स्वर्ग र नर्क के वास्ता फेरि
गर्दछ सृजना यो सब हेरी।।७
निर्जीव जीवका बुझेर मन
भीर र पाखा ती घुमेर वन।
आफूमा सहज यसले ढाल्छ
जब सृजनाले रस घोल्न थाल्छ।।८
ज्वाला बिद्रोह बनी बल्दै
कहिले मग्मग सुवास चल्दै।
कविले कविता तब खोल्न थाल्छ
जब सृजनाले रस घोल्न थाल्छ।।९
छन्द- पादाकुलक