डट्कमको एकदशक यात्रा
शिवलाल दाहाल
केन्टकी, अमेरिका
Bhutaneseliterature.comले आजआफ्नो एक दशकको यात्रा पुरा गरेको छ । सर्वप्रथम त सन् २००९ मा स्थापित डट्कम भूटानको साहित्यमा एउटा नयाँ अध्यय र नवीन सम्भावनाको खोजी थियो । त्यो नयाँ बाटो र सम्भावनाको खोजी क्रमिकरुपमा विकासित भएको भन्दा पनि एउटा आकासमिक परिघटनाको परिणति थियो । जब नेपालस्थित शरणार्थी क्याम्पबाट भूटानीहरु विश्वका विभिन्न मुलुकहरुमा पुनस्थापना हुन उड्न थाले, साहित्यले परम्परागत रुपमा सरीसर्प जस्तो घस्रेर हिँड्ने स्थिति रहेन । त्यही आवश्यकता र समाजको परिवर्तित आकांक्षलाई सम्बोधन गर्न र विश्वभूगोलका अनेक ठाउँमा बसोबास गर्न पुगेका भूटानीहरुलाई एउटै साझा मञ्चमार्फत लेखनमा अभिप्रेरित गर्ने हेतुले डट्कमको उदय हुन पुग्यो । यस संकथनमा डट्कममा प्रकाशित रचनाहरुको केही तथ्याङ्क विश्लेषणसहित उसले एकदशकको समयमा गरेका उपलव्धि, समाज र साहित्यमा पारेको प्रभाव अनि उसका सफलता र विफलताका बारेमा परिचर्चा गर्ने जमर्को गरिन्छ । यहाँ डट्कममा प्रकाशित हरेक रचनाहरु, तिनका लेखन्ते तथा वैयक्तिक रचनाहरुको छुट्टाछुटै परिचर्चा गरिने उद्देश्य छैन बरु सारमा तिनले प्रस्तुत गरेको स्वरुप, साहित्यिक प्रवृत्ति र स्थापना गरेका मुल्यहरुको विवेचना गरिने छ ।
साइबर स्पेशमा लेखिने साहित्य
साइबर स्पेशमा लेखिने साहित्यको एउटा विशेषता हो– भौतिक व्यवधानहीनता । भौतिक व्यवधानहीनताका कारणले यसलाई जहाँबाट पनि उद्भरण (अपलोड) गर्न, डाउनलोड गर्न र पढ्न सकिन्छ । यसमा समयको अभिलेख हुन्छ । कुन रचना कुन समयमा प्रकाशित भयो र कतिपटक उक्त रचना हेरियो वा पढियो भनेर अवलोकन गर्न सकिन्छ । वास्तविक समयमा यसलाई नियाल्न, परिमार्जन गर्न वा हटाउन पनि सकिन्छ । कति पाठकले एकै साथ एउटा रचना हेरिरहेका छन् वा पढिरहेका छन् भनेर गणना पनि गर्न सकिन्छ । यो वास्तविक समयमा विश्वभूगोलका अनेक ठाउँबाट लेखिँदै र पढिँदै गरिने साहित्य हो । त्यसो भएको हुँदा लेखनका दृष्टिले मात्रै होइन पाठकले पढ्ने हिसाबले पनि साइबरयुगीन साहित्य परम्परागत शैलीको साहित्य होइन । यसभित्र तात्कालिकता र द्रुतगामीता हुन्छ । एउटा रचना धेरैपटक भ्रमण गरियो भन्दैमा त्यो रचना पाठकले पूरा पढ्यो कि पढेन भनेर भन्न सकिने अवस्था हुँदैन । फरक बौद्धिक स्तर, शिक्षा, चेतना र रुचिका पाठक हुन्छन् । रचनाभन्दा शीर्षकप्रतिको पाठक आकर्षणले पनि रचना–भ्रमण प्रवाभित हुनसक्छ । फरक भाषाहरुमा रचना छापिन्छन् भने भाषाले पनि रचना–भ्रमणलाई प्रभाव पार्न सक्छ । दशवर्षको अवधिमा डट्कममा प्रकाशित रचनाहरु मध्ये कुन चाहिँ सबैभन्दा धेरै भ्रमण गरियो भनेर पाठक वा लेखकलाई जिज्ञासा हुनसक्छ । त्यो जिज्ञासालाई पूरा गर्न धेरै भ्रमण गरिएका केही रचना तल राखिएको छ ।
माथि उद्धृत रचनाहरुलाई हेर्ने हो भने पाठकहरुको रुचि हाम्रो साहित्यमा धेरै लेखिने गरेका कविता वा गजलतिर होइन बरु आख्यानतिर भएको पुष्टि हुन्छ । हुन त यति थोरै रचनाका आधारमा निस्कर्ष निकालिनु दोषरहित नहोला । आख्यानको जस्तो कविताका पाठक हुँदैनन् । आख्यनमा घटना, विचार, भावनाहरुको विस्तार हुन्छ, कवितामा त्यो साङ्केतिक र संश्लेषित रुपमा प्रकटित हुन्छ । कविता वा गजलमा भन्दा आख्यानमा कता हो कता मानव जीवनका, समाजका क्रियाप्रक्रियाहरुको, भोगाइहरुको, चरित्र, प्रवृत्ति र अन्तर्क्रियाहरुको विस्तारपूर्वक चित्रण हुनसक्छ जसले गर्दा पाठकहरुको रुचि प्रभावित हुनपुग्दछ । जनसाधरणका लागि कविताभन्दा आख्यान बढी बोधगम्य र ग्रहणीय हुने कुराले पनि यस किसिमको स्थिति निर्माण भएको हुनसक्छ ।
प्रकाशनको झुकाव
वेवसाइटको आधिकारिक जानकारी अनुसार दशवर्षको अवधिमा प्रकाशित रचनाहरुको कुलसंख्या २५५५ रहेको छ । वेवसाइटमा आरकाइब गरेको मासिक विवरणलाई आधार मान्ने हो भने त्यो संख्या २४२६ मात्र हुनआउँदछ । प्राविधिक कारणले (वा अन्य कुनै कारणले) उत्पन्न यो अन्तरलाई, थातीमा राखेर उपलब्ध मासिक विवरणलाई नै यहाँ विश्लेषणको आधार बनाइएको छ ।
माथिको रेखाचित्रमा रचना प्रकाशनको संख्यामा आएको उत्तर–चडाबको गतिलाई देख्न सकिन्छ । स्थापनाको दोस्रो वर्ष डट्कमले जम्मा ४९७ रचना प्रकाशित गरेको थियो । त्यसपछिका वर्षहरुमा रचना प्रकाशनको संख्यामा गिरावट हुँदै, सन् २०१७ मा १०० को हाराहारी न्यूनविन्दुमा पुग्छ र सन् २०१८ मा त्यसमा सुधार आई ३०३ हुनजान्छ । दशवर्षे अवधिको वार्षिक औसत भने २४२ रहेको छ । यसरी रचना प्रकाशनको संख्यामा उतर–चडाब आउनुमा अनेक कारणहरु जिम्मेवार छन् । सन् १०११ मा Bhutaneseliterature.com साहित्य परिषद भूटानमा गाभियो । स्वतन्त्र रुपमा गठन भएर सञ्चालन भएपनि Bhutaneseliterature.com साहित्यिक पत्रकारिताका हिसाबले साहित्य परिषद्, भूटानले सन् १९९५बाट प्रकाशन गर्दै आएको वार्षिक पत्रिका “भूटानी कोपिलाको” निरन्तरता थियो । कोपिलाले प्रतिनिधित्व गरेको समाज र ‘स्पेश’ नै डट्कमको समाज र स्पेश थियो (हो) । पुनर्वासको कार्यक्रम आरम्भ भएपछि मरणासन्न अवस्थामा पुगेको तत्कालीन नेपाली साहित्य परिषद्को इतिहासको रक्षा गर्दै नयाँ परिस्थितिमा अगाडी बढाउन त्यसलाई साहित्य परिषद, भूटानका रुपमा विकासित गरियो । सन् २०११ देखि सन् २०१७ मा आइपुग्दा मात्रै साहित्य परिषद्, भूटानले अमेरिकाको ओहायोमा दर्ता भई वैधानिक हैसियत प्राप्त गर्यो । यसबिचमा अन्य साहित्यिक संघसंस्था र साहित्यिक झुण्डहरुको पनि उदय भयो । साहित्य परिषद् विरुद्ध व्यक्तिगत र सामूहिक दुस्प्रचार गरियो । यस समयको परिषदको एउटा प्रमुख लक्ष्य अमेरिकामा दर्ता गुर्न थियो त्यसकारण प्रकाशनको कामभन्दा संस्थालाई वैधानिकता, प्राथमिकतामा पर्यो । सन् २०१८को आरम्भमा डट्कमले सम्पादन समितिको विस्तार गर्यो र पछि जून महिनामा साहित्य परिषदको सम्मेलन सम्पन्न भयो । सम्मेलनमा एकै चोटी आठ साहित्यिक कृति र दुई गीति एल्वम विमोचित भए, केही कार्यपत्रहरु पनि प्रस्तुत हुनपुगे । सम्मेलनले भूटानी समाज र साहित्यिक वृत्तमा एककिसिमको ऊर्जा प्रधान गर्यो जसले गर्दा सन् २०१८ मा रचना प्रकाशनमा अभिवृद्धि हुन पुग्यो । माथि उल्लेखित सांक्यिकीय प्रवाहसूचक रेखा (ट्रेन्ड लाइन) को समीकरणको झुकाव ऋणात्मक (-19.782) रहेको छ ।
समीकरण, y = -19.782x + 348.51
पुनर्वासपछिको समाज र साहित्य
Bhutaneseliterature.com को स्थापनासँगै भूटानको साहित्यले नयाँ स्वरुप ग्रहण गर्यो किन भने यो भौतिक किताब वा पत्रिकाभन्दा फरक प्रकाशन माध्यबाट छापिएको सामाग्री हो, साहित्य हो । प्रकाशनकादृष्टिले मात्रै होइन पठनकादृष्टिले पनि साइबर स्पेशमा लेखिने साहित्य परंपरागतरुपमा लेखिँदै र छापिँदै आएको साहित्यभन्दा भिन्न हुन्छ । यसले पाठकहरुको रुचि मात्रै होइन प्रविधिको उपलब्धता, प्रयोग क्षमता र पहुँचको पनि माग गर्दछ । पुनर्वासको क्रमसँगै भूटानीहरुको सुचना–प्रविधिसँग अभूतपूर्व साक्षात्कार भयो, सर्वसुलभरुपमा प्रयोग गर्ने अवसर प्राप्त भयो । यसका अतिरिक्त सामाजिक सञ्जालको बढ्दो प्रयोगले भूटानी समाज र साहित्यमा उल्लेखनीय प्रभाव पारेको सहजै देख्न सकिन्छ । पुनर्वासले भूटानी समाजमा फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालको प्रयोगमा असिमित पहुँच बढ्यो । हुन त विश्वमा नै सामाजिक सञ्जालहरुको प्रयोग भएको धेरै भएको थिएन तर भूटानीहरुमा त्यसको उपलब्धता चाँढै नै प्राप्त भयो भन्ने मात्र हो । पुनर्वासकाक्रममा विश्वभरि छरिएको भूटानी समाजलाई यातायात, सुचना–सञ्चार र सामाजिक सञ्जालहरुले यसरी जोडि दिएको हजारौ–हजार कोशको भौतिक दुरी, दुरी नै रहेन । अनेक भूगोलमा छरिएको समाज, कतै नछरिएको जस्तो, कतै नभत्किए जस्तो, एउटै भूगोलमा वल्लोघर पल्लोघरमा बसिरहे कि जस्तो अनुभूति दियो । यसलाई कृतिम यथार्थ भनेर मात्रै हुँदैन, वर्तमान समयको विशेषताका रुपमा अर्थ्याउनु उपयुक्त हुन्छ । सामाजिक सञ्जाल फेसबुक अभिव्यक्तिको सरल माध्यम भइदिएपछि कतिपय भूटानी सर्जकहरुले त्यसैलाई अचेल रचना पस्किने माध्यम बनाएका छन् ।
जब एउटा समाज भत्किन्छ र अर्को ठाउमा गएर पुनस्थापित हुन्छ, उसको सामाजिक स्वरुप बदलिन्छ । भूटानीहरुको बसाइँ सराइ समूहको हो, एक–दुई व्यक्तिको होइन । नयाँ ठाउँमा पुगेपछि एकातिर त्यहाँको समाज र परिवेश सुहाउँदो चरित्र निर्माण गर्न आवश्यक हुन्छ भने अर्कातिर अघिदेखि रहिआएको सामुदायिक व्यक्तित्व (कम्युनिटी आइडेन्टिटी)लाई अक्षुण्ण राख्ने दायित्व पनि रहन्छ । यो एक प्रकारको ‘देऊ र ल्याउ’को अवस्था हो । सन् २००७ देखि सुरुभएको बसाइँ सराइले निम्त्याएको सङ्क्रमणकालीन अवस्थाको अझै अन्त भएको छैन (हुने क्रममा छ) । बसाइँ सरिगएका गन्तव्य मुलुकहरुमा महिलाहरु अधिकरुपमा रोजगार भएपछि, चलिआएको पुरुषले घर–बाहिरको काम गर्ने र महिलाले घरभित्रको काम गर्ने सामाजिक परिपाठीको अन्त हुन्छ जसले गर्दा परिवारिक संरचना र आर्थिक व्यवहारमा परिवर्तन निम्त्याउँछ । भिन्न ठाउँमा पुगेपछि धेरै कुरा नौला र अपरिचित हुन्छन्, काम गर्ने, जीवन जीउने र व्यवहार गर्ने शैली पृथक हुन्छ । त्यसले गर्दा व्यक्ति र समाजको जीवनमा एक किसिमको फरक मनोविज्ञानको प्रादुर्भाव हुन्छ । त्यो मनोविज्ञान ऊर्जाशील, प्रगतिगामी र प्रेरणापद भइदियो भने व्यक्ति र समाजले उन्नति हाँसिल गर्छ । परिवर्तनले नकारात्मक ऊर्जा प्रवाह गर्यो भने त्यसतो मनोविज्ञानले व्यक्तिलाई नष्ट गरिदिन्छ । एकातिर बदिँलो जीवनशैली, पारिवारिक र सामाजिक संरचनामा भएको परिवर्तन, अपरिचित समस्याहरुसँगको साक्षत्कार, देशबहिरगमन र बसाइँ सराइले उत्पन्न गरेको आघात जस्ता कुराले पुनर्वासित भूटानी समाजमा घातक मनोविज्ञानको सिर्जना गरेको छ । अर्कोतिर परिवर्तनलाई अवसर र महान सम्भावनाको स्रोत मान्नेहरुले धेरै फट्को मारिसकेका छन् । बल्ल दशकौसम्म देश र घरवार विहीन भएका भूटानीहरुले गन्तव्य मुलुकको नागरिकता प्राप्त गरेका छन्(प्राप्त गर्ने क्रममा छन्), निजी निवास निर्माण गरेका छन् । ठाउँ–ठाउँमा समाजिक संगठनहरु स्थापित छन् । अनेकौ सामाजिक, सांस्कृतिक र साहित्यिक गतिविधि तथा धार्मिक अनुष्ठानहरुको आयोजन भइरहेका छन् । सारमा भन्ने हो भने गन्तव्य मुलुकहरुमा भूटानी समाजले स्थाइयीत्व र अपनत्व ग्रहण गर्दैछ । धेरैको जिन्दगीको मुहार फेरिएको छ । हिजोको चरम अभाव, गरिवी र राष्ट्रियताविहीनताको स्थितिको एकप्रकारले अन्त्य भएको छ । समाजको आकांक्षा र गन्तव्य नै बदलिएकोछ । यद्यपि नयाँ ठाउँमा सम्भावनाहरुसँगै फरक किसिमका चुनौति र समस्याहरु उत्पन्न भएका छन् ।
साहित्य व्यक्ति–चेतना, चिन्तन र बौधिक्तामा निर्भर रहेपनि त्यसमा समय र समाजको प्रभाव प्रत्यारोपित हुन्छ । भूटानको साहित्य विभिन्न ‘स्पेश’मा लेखिँदै आएको छ । एकसमय देशको भूगोलभित्र लेखियो (लेखिँदैछ छुटफुट) त्यसको लक्ष्य फरक थियो–राष्ट्रिय जागरण, आध्यत्मचिन्तन र नैतिक शिक्षा । दोस्रो, निर्वासनबाट लेखियो (लेखिँदैछ) त्यसको चिन्तनको कसी थियो– क्रान्ति, विद्रोह र स्वतन्त्रताको चाहना । तेस्रो, पुनर्वासितभूमिबाट लेखिँदै गरेको साहित्यमा जो विस्थापन र विच्छेदनको भावनाले प्रलिप्त छ । त्यसकारण साहित्यको आत्मा समाज, बसाइ, राजनीतिक अवस्थिति र परिवर्तनको मोडले प्रभावित हुन्छ । यो मुलभूत चिन्तन कता केन्द्रित थियो (रह्यो) भन्ने मात्र हो । खास गरी भूटानको नेपाली साहित्यमा कुनै पनि कालखण्डको एउटा विशिष्ट साहित्यिक धार वा चिन्तन छैन भने पनि हुन्छ । बसाइँसराइ र फरक फरक भूगोल र अवस्थाको बसाइ, स्थिति र भोगाइले लेखनमा प्रभाव नपारिरहन सक्तैन । पाश्चात्य मुलुकमा पुगेका भूटानीहरुले भौतिक सुविधा र सम्पन्नताको अनुभूत गरे पनि धेरैले ‘बिरानुपनको बोध’ यथेष्ठ गरेका छन् । यो ‘बिरानुपनको बोध’ लेखाइहरु यत्रतत्र आएको छ ।
भूटानको साहित्यमा, लेखनलाई नै जीवनको कर्म बनाउने केही साहित्यिक भएनन् । एकदुई रचना वा एकदुई कृतिमा धेरै लेखकहरु सिमित भएका छन् । पुनर्वासपछि साहित्यमा नव प्रवेशीहरु प्रायजसो गजल लेखनमा केन्द्रित छन् । डट्कमका छापिएका रचना मात्र हर्ने हो भने सबभन्दा बढी सिर्जनाको संख्या कविताको छ । वास्तवमा, पुनर्वासपछि तुलनात्मक रुपमा अघिल्लो कालखण्डमाभन्दा कथा लेखनमा प्रगति भएको छ । त्यसको संकेत साहित्य परिषदले सन् २०१८ मा प्रकाशित गरेको ‘समकालीन भूटानी नेपाली कथा’ बाट पाउन सकिन्छ । सोह्र जना कथाकारका भिन्न भिन्न कथा भएपनि अधिकांश कथामा विस्थापन, परिचहीयनताको पीडा, पुरानो र नयाँ पुस्ताबीचको फरक मनोवृत्ति, पुनर्वासपछि समाजमा व्यप्त आत्माहत्यको समस्या, बसाइँ सराइले निम्त्याएको आघात र पाश्चात्य जगतको यान्त्रिक जीवनको चित्रण छ । थोरै केही कथाले भूटानी निरङ्कुश राज्यव्यस्थाले जनता माथि गरेको अत्याचार र परिवर्तनको चाहनालाई मुखरित गरेका छन् । यहाँ कथाको प्रसंग कोट्याउनुको कारण के हो भने यी कथाहरुमा पुनर्वासपछिको भूटानी समाजका केही पाटाहरुको उत्घाटन भएको छ, तिनका समस्या र भोगाइहरुको चित्रण छ । कथाकारहरुको जोड भूटानीहरुको विगतसँग वर्तमानलाई जोड्नमा गएको देखिन्छ ।
वर्तमानमा एकथरि लेखकहरु छन् जो विषयवस्तुको नूतनता खोज्नभन्दा पनि पुरानै गुनासो, दुःखेसो र निरङ्कुश राज्यव्यवस्थाबाट अन्यायपूर्वक देश निकाला हुनुपर्दाको पीडावोध र विद्रोह बोलिरहेका छन् । उनीहरु छायामा रहेको गुमेको देशको सम्झना र मायावी स्मृतिमा काल्पनिक आर्दशको महल बनाउँदै पाश्चात्य मुलुकहरुमा रमाइरहेका छन् । अर्को एकथरि लेखकहरु छन् जो विगतलाईभन्दा वर्तमानको यथार्थता, युगिनता र समसामायिक विश्वपरिस्थितिलाई आत्मसात गरी सिर्जनामा क्रियाशील छन् ।
लेखक
वेवसाइटको जानकारी अनुसार डट्कममा रचना प्रकाशन गर्नेको संख्या २५० रहेको छ । यो संख्या निकै ठूलो भएपनि अधिकांश लेखकहरु एक–दुईवटा रचनामा सिमित छन् । कुल प्रकाशित रचना र लेखकहरुको अनुपात (१०:१)लाई हेर्ने हो भने एकजना लेखकका सरदर १० थान रचना प्रकाशित छन् । पुनर्वासपछि लेख्नेहरुको साख्यामा वृद्धि भएको छ, कृति निकाल्नेहरुको संख्या थपिएको छ । यसरी वृद्धि हुनको कारण सरल प्रकाशन माध्यम, सामाजिक सञ्जाल र अनलाइन पत्रपत्रिकाको विकास, सञ्चार माध्यम मार्फत लेखकहरु बीच बढेको सम्पर्क र अन्तर्कृया हो । अर्को कुरा पाश्चात्य मुलुकहरुमा पुगेपछि भूटानी समाजमा आफ्ना नवसन्ततिले नेपाली भाषा बिर्सिने चिन्ता बढेको छ । त्यो चिन्ताले धेरैलाई आफ्नो भाषाका लागि केही गर्न पर्ने रहेछ भन्ने जागरुकता ल्याएको छ । पुनर्वासपछि, शरणार्थी क्याम्पमा रहँदाको विपन्न अवस्थाले प्रकाशनमा आउन नसकेका लेखकहरुको आर्थिक स्थितिमा सुधार भयो जसले गर्दा कृति प्रकाशन गर्ने श्रृंखलामा वृद्धि भयो । हतार–हतार एकाध कृति प्रकाशन गरेर, लेखक बन्ने महत्वकाक्षांले धेरैलाई लेखक त बनायो तर गुणस्तरीय साहित्यको विकासमा भने अपेक्षित प्रगति हुनसकिरहेको छैन । एकदशकमा डट्कममा अधिक रचना पस्किने केही लेखक र तिनको रचना संख्या तल प्रस्तुत छ ।
विधाका आधारमा रचना
डट्कमले रचनालाई विभिन्न विधामा छुट्याएर प्रकाशन गर्ने गरेको छ । डट्कम स्थापनाको वर्षगाठ तथा भानु जयान्ति, देवकोटा जयान्ति र मोति जयान्ति जस्ता अवसरहरुलाई सन्दर्भ पारेर केही विशेषाङ्कहरु निस्किएका छन् । भाषाका आधारमा अंग्रेजी र नेपाली भनेर फरक वर्गीकरण गरिएको छ । विभिन्न समयमा फरक शीर्षकमा वर्गीकरण गरिएको हुनाले यकिन रुपमा तिनको संख्या निरुपण गर्न सम्भव भएन । सबैभन्दा बढी रचना कविता अन्तर्गत प्रकाशित छन् त्यसपछि गजल । पुनर्वासपछि गजल र कथा लेख्नेको संख्या बढेको छ । यद्यपि ४३२ गजल प्रकाशन हुँदा कथा भने ११६ मात्र प्रकाशित भएको देखिन्छ । निबन्ध, संस्मरण जस्ता विधामा प्रगति नभए पनि समालोचना/समीक्षाको क्षेत्रमा भने कही प्रगति भएको देख्न सकिन्छ ।
निस्कर्ष
भूटानीहरुको पाश्चात्य मुलुकहरुमा पुनस्थापनापछि भाषा र साहित्यको अवस्था के हुन्छ भन्ने चिन्ता सर्वत्र छाएको थियो । भाषा–साहित्यलाई जीवन्त राख्ने सवालमा विभन्न सामाजिक अभियान, साङ्गठानिक र व्यक्तिगत प्रयत्नहरु भएका छन्, हुँदै छन् । तथापि नयाँ पुस्तामा जातीय भाषा नेपालीको प्रयोग र प्रभावमा कम हुँदै गइरहेको छ । भाषाप्रति धेरैको चिन्ता छ तर त्यसलाई जिउँदो जाग्दो राख्ने अभियानमा लगानी गर्ने सवालमा भाषा चासोको विषय छैन । नवपुस्तामा नेपालीभाषाको प्रयोग त घट्ने नै भयो, निरन्तर शिक्षा र प्रयोगको अभावले उतैबाट नेपालीभाषा केही अध्ययन गरेर आएकाहरुको भासिक ज्ञान र शीपमा पनि ह्रास आउने कुरा निश्चितप्रायः छ । डट्कममा प्रकाशनकादृष्टिले तुलनात्मक रुपमा अंग्रेजी रचनाहरुको संख्या नेपाली रचनाहरुको संख्याभन्दा अत्यान्तै कम देखिन्छ । यसले नव पुस्ताले अंग्रेजीमा प्रभाव राखे पनि साहित्य सिर्जनाप्रति उदासिन रहेको पुष्टि गर्दछ । भूटानदेखि नै अंग्रेजी शिक्षामा हुर्केको अघिल्लो पुस्ता पनि सिर्जनात्मक रुपमा अगाडी आएको देखिँदैन ।
डट्कमले दसवर्षसम्म प्रकाशनलाई निरन्तरता दिएर, छरिएर रहेको भूटानी साहित्यिक समाजलाई लेखनको एउटा साझा सेतुमा बाँधेको छ । अन्तराष्ट्रिय बसाइँ सराईले उत्पन्न गरेको संक्रमणकालीन समयमा विगतको हाम्रो भाषा–साहित्यक अभ्यास, आन्दोलन र अभियानलाई निरन्तरता दिँदै नेपाली साहित्यमा फरक मूल्य र पहिचान स्थापित गर्नमा डट्कमले खेलेको भूमिका उल्लेखनीय छ ।
Bhutaneseliterature.com सन् २००९मा, रमेश गौतम, यतिराज अजनवी, रुप पोख्रेल, दोना आयार्य र सञ्चामन खालिङ्ले स्थापना गरेका थिए । Bhutaneseliterature.com हाल साहित्य परिषद, भूटानको मातहतमा रहेको छ ।
सन्दर्भ सामाग्री:
अजनवी यतिराज र दाहाल शिवालाल; समकालीन भूटानी नेपाली कथाः साहित्य परिषद्, भूटान,२०१८.
अजनवी यतिराज, गौतम रमेश र अन्य; साहित्य परिषद्,भूटान,७ मर्इ २००९.www.bhutaneselitere.com/archievies.उद्धृत ५ मर्इ२०१९.
गौतम,रमेश.व्याक्तिगत अन्तवार्ताः मर्इ ५,२०१९.
दाहाल, शिवलाल.अलबिदा बेलडाँगी. काठमाडौः डिस्कोर्स पब्लिकेसन,२०१३.