तिमी प्रत्येक दिन जन्मनुपर्छ

कवि

सञ्चमान खालिङ
पी.ए, अमेरिका

माकुराको जालभित्र एउटा अनुहार
मान्छेको जस्तो देखियो
प्रश्न सोधेँ – तिमी को हौ ?
उसले उत्तर दियो ……….
तर मैँले राघेपाटे मात्र बुझेँ उसको भाषा
किन कि उसले थोरै मात्र
मान्छेको भाषा बोल्छ
आकृति मान्छे नै हो
भाषा छ-
म्यासिनको
कम्प्युटरको
आइपोडको
थ्री डी प्रविधिको
तिम्रो कुरा म बुझ्दिन
मेरो कुरा तिमी बुझ्दैनौ

मान्छेका विभाजन त देखेकै हो
कारण हुन्थे-
भाषा, धर्म, रङ्ग, भूगोल आदि
तर आज
प्रविधिले पनि मान्छेलाई
विभाजित पारिछाड्यो

कुनै ज्योतिषशास्त्रको सुत्रले
वा वैज्ञानिक सिद्धान्तले
जाच्न सक्दैन, नाप्न सक्दैन
रेखाहरुको जटिल जाल
जसभित्र मान्छे बेरिदै, बेरिदै गैरहेछ
आजका मान्छे
आ-आफ्नै दिशामा कुदेका छन्, कुदेका छन्
नयाँ, नयाँ प्रविधि थप्न
रातारात कम्प्युटर सोफ्टवेर फेरिन्छ
बजारी समानका बट्टा, लेवल, रंग आदि फेरिन्छ

तिमी
आजको युग बाँच्न
एक चोटी मात्र होइन
प्रत्येक दिन जन्मनुपर्छ

भदौ१५, २०६८

One Reply to “तिमी प्रत्येक दिन जन्मनुपर्छ”

  1. Vikash Pranjal

    कविता पढ्न पाउनु त यस्तो पो पाउनु | सन्चमानजीको कलम बाट थप सृजनाको आशा गरौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *