त्यही दमित जनता
तुम्बेहाङ लिम्बू
तिमी जस्तै, अन्यायले पिल्सिएको
अत्याचारले लत्किएको
म पनि चाकको पिलो त हूँ,
दुनियाँ जतै थिचिएको
स्वार्थै स्वार्थले मिचिएको
म पनि त्यही निम्न वर्गको जनता त हूँ ।
कहिले झण्डा र खण्ड–अखण्डको नारा लिएर
गाउँको सेरोफेरो चहार्ने
कहिले बमजस्तो पड्किएर राष्ट्रमा
एउटा नवीन प्रसङ्ग जन्माउने
कतै “कालो गयो गोरो आयो” को भाषण सुनेर
बुद्घको प्रतिमा झैं शान्त रहने
भावी–पीढीको भविष्य जस्तोसुकै होस्
दुइ बोतल ठाडोघाँटी लाउन पाए, परिवारको पनि वास्ता नगर्ने
सभा-समारोहमा “नयाँ महानुभवको” आश्वासन पाउँदा
ठूलो कुर्सी ओगट्न पाएको अनुभव गर्ने…
हो, नयाँ कुचोले त राम्रै बडार्छ,
यद्यपिः भोलिको पर्वाह नराखी
आजमै सन्तुष्ट रहने सोझोपनाको
म पनि “उत्तिस वृक्ष” भन्दा उच्छेदित जनता त हूँ ।
ऊँटले छातीभित्र पानी बोकेसरह
मनमा हजारौं विलौनाहरु लुकाईराख्ने
“अन्तर्राट्रिय ढ्वाङ्ग” (१) भर्नलाई नमस्तेको दान गरेर
अधिकार नखोजी, जन्मसिद्घ वर्तन अञ्जुली थाप्ने
राष्ट्र निर्माणको स्वप्न पुनर्जन्मलाई साँचेर
स्वयं निर्माणदेखि पनि तल रहने
एक जोर अदुवापाने हातमा भिक्षा (२) बटुलेर
शोषकहरुको जय–जयकार गर्नमै वाध्य रहने
जनपातले थिचेको-वर्ग–संघर्षले मिचेको
म पनि त्यही दमित जनता त हूँ ।
१. पेट
२. हात फैलाएर मागेको घुस