त्यो कालो फागु पुर्णिमा

कथाकार
कथाकार

दिपक थापा  
भर्जिनिया, अमेरिका 

माघ, फागुन महिनाको न्यानो घामको रोशनीभित्र हराएर गमक्क परेको छेपारोझैँ अटल साथी भाइ र बुढापाकाहरुको भिड माझ हो मा हो मिलाउँदैमा फुर्सद नमिल्दो हो खुल्ला प्रांगणमा गफ्फिरहँदा । “धन सम्पति जोडिन्छ भन्छन्”,  ज्योतिशे पारामा अन्धविश्वासको खुसीको पोकाहरु म माथि खन्याउँदै बोले सुबेदी बाबै । ” हैन हैन फलिफाप पो हुन्छ रे ” घिमिरे दाइ बोलिरहँदा पाठक अङ्कल बिचमै बोल्नु भयो, “कुरा एउटै त हो नि हात्ती र हात्ती छाप चापल ।” गलल हाँसो गुञ्जियो…अफ्ठ्यारो गरी उभिँदा तिघ्रामा निक्लिएको पिलोको दुखाइभित्र हाँस्तै थिएँ म पनि खित्का छोडी छोडी ।

“हैन यी बोके केटाहरुको हुल हान्ने गोरुको रूप धरेर यतै पो आउँदै छ त ”
” भाँङ्को नशाभित्र झुमेर हिँडेका कुपुत्रहरु”
“सक्ने भए रङ्ग दलेर अब”
एउटै प्रसङ्गभित्र बितर्कको बोली अनि आवेग खनिँदै थियो सबैका मुखबाट पालै पालो । दौडने आँट बिलाएर जाँदा बाटो एक्कासि लम्बिएर तन्कियो भने जुक्तिको ढोका सुस्तरी ढप्किँदै थियो मेरो दिमकको होलीको बिरंगी रंगहरुले पोतिने नमिठो सपना भित्र आफ्नै साथीभाईहरुको जिद्दीसँगै ।

“हैन काका एउटा स्यानो टिका मात्र के ”
” हुन्न जुठो परेको छ मेरो परिवारमा”
“आजको दिनमा पनि रित्तो निधार बस्ने ”
“केही हुन्न लगाइदिहाल न”
“कस्तो मूर्ख केटाहरु”
शिकारीको पन्जाबाट उम्किएर आफ्नो ज्यान जोगाउने अठोटमा बसेको घाएल मृगझैँ मगर बाजेको घर भित्रबाटै सुनिरहेँ एउटा टिकाको लागि गरिएको दलाली ” टिका त फेरि बहाना मात्र, पोतिने भए आज सबै ” मुसुमुसु हाँसिरहेँ अध्यारो कुनामा एक्लै।

“कहाँ भाग्यो दिपक?”
“कता लुक्यो?”
“ऐले यहीँ उभिएको दिपक हैन अङ्कल?”
” खोजौँ त केटा हो ”
एउटा अपराधीको खोजमा निस्किएको सिपाहीहरुको बटालियन त्यहीँ खडा भयो मेरो लागि । “आफ्नै बाटो जानुहोस् गणेश भगवान्” हात्तीको आवाजमा त्रसित पुकार बिना अर्थ मचिँदै पिङ्ग खेलिरह्यो मेरो दिमागमा । यता जोड जोडले धड्किएको मुटुको कम्पनलाई चिर्दै घर्याक्क उग्रिएको ढोकाको आवाजसँगै शंकास्पद चालहरु कालो गोमन बनी डस्न तत्पर परेको छ मेरै सामु । जादुगरको टोकरीबाट पसेर कसैको बगलीमा छिप्ने दुई रुपैयाँको सिक्काभन्दा सस्तो बन्यो आफ्नो ज्यान आफैँलाई सो बखत ।

टाउकोमा बज्रिएको लोलाको पोका सँगै गुहारमा बत्तीस कोटी देवताको प्रार्थना पनि प्यट्टै फुट्यो। राक्षसी हाँसो छिचोल्दै पिच्किरीको सर्काबाट सास नै रोकिने गरी नाईग्रा फल्सको विकराल रूप धरेर रंगिन पानी ऐँठन पर्दै खनियो। “मुला हो के गरे को यो ?” आत्तिएको मेरो बोली अबोध बनी बामे मात्र सरिरहँदा आँखै आगाडी ताण्डव नाच नाँचिरहेथे गाँजाको नशामा ढुबेर शिवजीको भक्त भनउँदाहरु आफ्नै साथीको पिरमा धज्जी उडाउँदै।

दिनभरि पाखा चरेर आएको गाईको अगाडी परालको त्यान्द्रा माथि बाछाको मोह बडेसरि लालच नटिके सरि हातमा फुको रङ्ग बोकी एउटा सानो नालाको रूपझैँ गड्गडिएको खहरे सँग मिसिएँ खुट्टा खोच्याउँदै म पनि ।

“सबै तयारी भयो त?”
“हल्का सपिङ्ग मात्र गरियो”
“हामीलाई चैँ नाभुल्लु है”
“पुग्ने बित्तिकै फन गर्छु नि ”
“साँची तपाईँको याहू आइडी के रे ”
तेस्रो देश पुनर्बासका लागि खुट्टा उचाली केवल एक भालेको डाक पर्खेर बसेका नेउपाने काकाको आँगनीका सबै गफहरु गोलामा धुवा परेको मौरीहरूझैँ तितर बितर छरिए हाम्रो उपस्थितिमा। “मलाई पनि अलकति रङ्ग दिनुहोस् न दा” हातैमा झुन्डिएर खोस्यो बिपनले फुको निलो रङ्गको सकिनै लागेको पोका अनि छेवैमा हुनु भएकी आफ्नी आमाको टाउको भरि छर्कियो अबिर जात्राझैँ। “एस्लाई त ” आमाको दुर्दशा भित्र आबेगमा उसको दाजुको हातको झटारो अपरणकारीले बदलेको प्लेनको दिशाझैँ घुमेर आई पिलामै लागेर भुइँमा झर्यो, थाक्न लागेको घाउबाट बगेको रगत भन्दा छिटो।

टाउकाको रङ्ग उडाउँदै काकी बोल्नु भयो, “मारे यी दाजु भाइले बिचरा दीपकलाई ।” ” केही हुन्न काकी नानीहरू हुन छोडिदिनुहोस् ।” रुन्चे हाँसो बोलीमा नजानिँदो रूपले आँखाका आँसुहरु पुस्दै गर्दा दौडँदै थियो बिपन हाँस्तै मेरो पिर माथि रमिते मेरा साथीहरूको तमासा बन्दै उफ्री उफ्री। रातो पिरो हुनुभएको काकाको अनुहार हेर्दै बोल्नु भयो काकी, “जानुहोस् भाइ घरमा गएर आराम गर्नुहोस् । भोलि आइ ओ एम(IOM) को गाडीमा भेटुँला । काठमाडौँसम्म सँगै होइन्छ । बिरानो ठाउँमा तपाईँ नै नभै हुँदैन यी पिशाचहरुलाई ……।” काकी बोली रहनुहुँदा मनमा कुरा खेलिरह्यो मेरो “कस्तो झुर अन्तिम बेखुसी कालो फागु पुर्णिमा !”

Leave a Reply

Your email address will not be published. Required fields are marked *