त्यो रात

कवि

विशु निछा
अस्ट्रलिया

पसिना पुछ्दै दिनभरि
चर्को घाममा मकै पोल्दै बेचेर
सानुले जोहो गरेकी आनासुकी
ऊ आफूले हेर्नसम्म नपाउँदै उसको पोल्टोदेखि खोस्छु
र,त्यो साँझ म रक्सी र वेश्यासँग जमेर बिताउँछु।

आधारातमा घर फर्किँदा पनि
मलाई भोकै पर्खेर बसेकी सानुले मायालु स्वरमा भन्छिन्-
आउनुस्! सँगै भान्सा गरौँ
यहीँनिर मभित्रको ढुङ्गाले मुटुको अस्तित्व ग्रहण गर्छ।
म अनि देख्छु-
मकै पोल्दापोल्दै डामिएर घाउ भएका सानुका हातहरू
घामले डढ़ेर जवानीमा नै कुरूप भएको सानुको अनुहार
स्याहार गर्न नभ्याएको सानुको लथालिङ्ग केशराशी
मबाट पीड़ाहरु लुकाउन खोजिरहेका सानुका स्निग्ध नयनहरू।

मेरो गला भरिएर आउँछ म बोल्न सक्दिनँ
आँखाहरू केवल सजल हुन्छन्
म सानुलाई अङ्कमाल गर्छु र भक्कानिन्छु।

त्यो रात
मेरो दृष्टि खुल्छ
र आफ्नो घरमा बलिरहेको दियोलाई बल्ल देख्छु।
हो,त्यो रात बल्ल म सानुलाई चिन्छु।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *