दशैं

यतिराज अजनबी
एडलेड, अस्ट्रालिया

यही जीवनको कुनै कालखण्डमा
पर्याप्त बेला हुन्थ्यो यौटा मेला हुन्थ्यो
जहाँ एकै ठाउँ संसार भेला हुन्थ्यो
दशैं चुस्त केटाकेटी जस्तै
गर्दै हल्लीखल्ली आउँथ्यो
बजार, चोकचोक, गल्लीगल्ली आउँथ्यो
बाटामा गाग्री बजाउँदै पँधेरोमा आउँथ्यो
माटामा रातो
सेतो कमेरोमा आउँथ्यो
घरघरका घैंटा र घडाभरि आउँथ्यो
खेतका गराभरि आउँथ्यो
पुतलीसँगै नाँच्दै आलीआली आउँथ्यो
फूलका डालीडाली आउँथ्यो
गाउँ-बस्तीभरि आउँथ्यो
मान्छेको मस्तीभरि आउँथ्यो
पाखाभरि आउँथ्यो
यौटै समयमा सबै सबै आँखाभरि आउँथ्यो
मनभरि आउँथ्यो तनभरि आउँथ्यो
खित्काभरि आउँथ्यो भित्ताभरि आउँथ्यो
घरको निदालमा आउँथ्यो
अनि मात्र मेरो निधार
त्यसपछि अनुहारमा आउँथ्यो
सुटुक्क क्याल्याण्डरमा आउँछ अचेल
या त सिधै निधारमा आउँछ
अनुहारमा आउँदैन
आउँदैन अचेल चाडपर्व
अँहँ…….
अँहँ……
आउँदैन अचेल चाडपर्व
मात्र आउँछ जाँडपर्व
त्यसैले अरू सँगसँगै हिँड्न नसक्ने गरी
मातेर लर्बराउँदै, बर्बराउँदै आफैँ लडेको छ
सुस्त, लुलो र बुढो भएको छ दशैं
अनि कसरी भ्याउँथ्यो र सक्थ्यो
समयमै सबैकोमा आउन दशैं?

श्रष्ठाको आवाजमा यो कविता यहाँ सुन्न सकिन्छ

 

Don't have a Facebook account? Please, use the form below with other options!