गजल ७७: दोबाटोमा ?
होमनाथ सुवेदी
वुडब्रिज, भर्जिनिया
साँध छैन जिन्दगीको दोबाटोमा सुलेको छु
जति धेरै घुमे पनि बिगल्लीमै खुलेको छु ।
हिजो पनि यही बाटो आज पनि उही टाटो
अग्रगामी छँदैछैन फूलमाथि फुलेको छु !
दोबाटोमा हिडेको छु देख्छु त्यही चौबाटो हो
हिजो पनि त्यही थियो आज त्यहीँ घुलेको छु ।
हिँडे पनि छाया जस्तो बसे यौटा यही चोक
स्थायित्वको भेला मानी स्वयम् आफै डुलेको छु ।
हिज पनि यही गल्ली आज पनि उही गल्ली
व्यायामको भ्रमणमा प्यारसितै भुलेको छु ।
विकासको नाम राखी विदेशमा आएको हुँ
पराइको बिगल्लीमा फिका हाँसो हुलेको छु ।
०९/०१/२०१०
- गजलकार अन्तराष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष हुन् |