नाग टाँस्ने दिन

हरि पी. चम्लागाई Hari P. Chamlagai

लगभग १५ वर्षको थिएँ होला म त्यसबेला । नाग पञ्चमीको दिन थियो । मेरा उमेरका अरु साथीहरु भने नाग बनाएर घर-घरमा टाँस्ने अनि पैसा कमाउने गर्थे । तर मलाई भने त्यसरी हिँड्न खासै रहर लाग्दैन थियो ।

धेरै जसो केटाहरु तिहारमा देउसी खेलेर पनि हिँड्थे । म भने रमिता मात्र हेर्ने गर्थेँ । शरणार्थी शिविर नै उज्यालो हुने गरी हरेक घर बाहिर बालिएका मैनबत्ती र दीयोको रमाइलो दृश्य, अनि घरभित्रै सुनिने ‘देउसिरे’को भाकामै मक्ख थिएँ म ।

बिहानको समय थियो । हाम्रै सेक्टरको पुरेतको छोरो मेरो घरमा नाग टाँस्न आयो । आमाले झर्के थालमा, दीयो बालेर घण्टी, फूल अनि चामलको साथमा एक रुपैयाँको नोट पनि राखिदिनु भयो । म हेरिरहेको थिएँ । उसले दक्षिणा झोलामा हालेर गयो । मलाई भने आफ्नो घरबाट उसले मेरै अगाडि पैसा लिएर गएको मन परेन । मेरो केटाकेटी मनमा किन हो किन त्यो पैसाको लोभ लाग्यो । मैले सोचेँ, “किन म पनि उसको घरमा नाग टाँसेर उसले लगेको पैसा फिर्ता नल्याउने ?” मैले जीवनमा पहिलो पल्ट नाग टाँस्ने निधो गरें ।

मैले हतार हतार एउटा नाग कोरेँ अनि झोला बोकेर उसको घरतिर लागेँ । घरभित्र, दैलोको नजिकै खबरी कागज टालेको भित्तामा गोबर दलेर नाग टाँस्न लागेको मात्र के थिएँ, पुरेतनी आमै कराउँदै चुल्हाबाट निस्किइन् र भनिन्, “हुँदैन, हुँदैन, हुँदैन, हाम्रोमा नाग टाल्न हुदैन ।” म झसङ्ग भएँ । सुतक लाग्दा वा जुठो पर्दा त्यो घरमा नाग टाँस्नु हुँदैन भनेको त सुनेको थिएँ तर, पुरेत बा’को घरमा त्यस्तो केही पनि भएको थाहा थिएन मलाई । फेरि भित्तामा पहिलै अरु कसैले नाग टाँसिसकेको पनि थियो । मैले अलमल्ल परेर सोधें, “किन हुँदैन ?”

“जैसीले उपाध्धेको घरमा टाँस्नु हुँदैन । तिमीहरु जैसी बाहुन हो नि त ! हामी तिमेरु भन्दा ठूलो जात हो । हामीले चैँ तिमेर्कोमा टाँस्नु हुन्छ तर, तिमेर्ले हाम्रोमा हुँदैन ।”

म छक्क परेँ अनि अक्क न बक्क भएर आफ्नो घरतिर लागेँ । पैसा फिर्ता लिन गएको तर, नाग नटाली ‘फ्लप’ खाएर फर्कनु परेकोमा शरमले मेरो मुख रातो भएको थियो । साथै, आज पहिलो पल्ट आफू कोही भन्दा सानो र कम महत्वको भएको महसुस भयो । मैले आज आफू हारेर घुँडा टेकेको जस्तो कमजोर अनुभव गरेँ । कताकता आफैँलाई पत्यार लागिरहेको थिएन । एउटा मनले भन्दै थियो, ‘पैसा दिनुपर्छ भनेर पुरेतनी आमैले मलाई ढाँटेर पठाइन् ।’

बाटामा मलाई मेरो एउटा मिल्ने साथीको याद आयो । ऊ कामीको छोरो थियो । मैले सोचेँ, “मलाई त यति सानो घटनाले यस्तो नराम्रो महसुस भयो भनेँ मेरो साथी जोसँग छुवाछूत गरिन्छ अनि घरमा र सार्वजनिक ठाउँमा समेत पस्न दिइँदैन, उसलाई त झन कति धेरै नराम्रो लाग्दो होला ! के उसले त्यो परिवारमा जन्म लिनु नै अपराध हो ?” आखिर ठूलो र सानो जात हुन्छ वा छुवाछूत गर्नुपर्छ भन्ने कुरा कुनचाहिं वेदमा लेखिएको रहेछ, कुनै विज्ञले बताइदिए हुन्थ्यो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *