नारी

कवयित्री
कवयित्री

हेमन्ता आचार्य
सिड्नी, अस्ट्रलिया

जन्म दिन्छिन् यिनै नारी
जन्मदेखि नै अस्तित्वहीन किन ?
सारा जगतकै रक्षक उनी
फेरि बाध्यताले घेरिएकी किन ?

उनकै पुकार थरीथरीवाट आउँछ भने
उनको सौर्यको छैन चर्चा किन?
नारी र पुरुष दुवैको सृष्टिमा आवश्यक छ भने
आजसम्म नारीको हकका लागि लड्न बाध्य किन ?

विकसित देशमा त भेदभाव छैन भन्थे
फेरि पुरुष दिवस छोडी नारी दिवस कै मात्र आवश्यकता किन?
लिखित रुप अनि वाणीमा त परिवर्तन आएछ क्यारे
ब्यवहारमा परिवर्तन महसुस हुन्न किन ?

उनीबिना कसैको जीवन सुरु हुन्न भने
उनकै भविष्य अरूले लेखिदिएको किन ?
उनकै गर्भमा ८-९ महिना पालिन्छौ भने
उनकै बलात्कार हुन्छ किन ?

मान्छे भएर मान्छेको हौसला बढाउनु पर्ने
पखेटा काट्न मात्र खोजिन्छ किन ?
यो नारी पुरुषको वकालत छोडी एकजुट हुनु पर्ने
विश्वमा सिर्फ मानवताको भाषा सम्झिन्न किन ?

भो कति बस्छौ लुकीछिपी
आफ्नो अस्तित्व तिमी आफैँ बनाऊ।
हरेक बाध्यताका रेखा तोडी
आफूलाई तिमी नै स्वावलम्बी बनाऊ।

भो कति सुन्छ्यौ अरूको पुकार अनि गर्छ्यौ सेवा
आफ्नो लागि पनि समय आफैँ बचाऊ ।
पतिको टाई र परिवारको पेट मात्र हैन जिन्दगी
आफ्ना इच्छा र चाहना आँफै साकार बनाऊ ।।

भो नबस तिमी परिवर्तनलाई पर्खी यहाँ
बन परिवर्तनको आकार अनि यही विश्वमा फैलाऊ।
नपर्ख तिमी कानुनलाई न्याय माग्न
आफ्नो समाजका लागि जनचेतना आफैँ फैलाऊ ।।

भो हिँड्न कर छैन तिमीलाई अरूले बनाएका बाटाहरू
तर स्वतन्त्रताले कसैलाई हानी नपुर्याऊ ।
सिकाउ छोरा छोरीलाई मानवताको भाषा अनि भेदभावहीनता
आफ्ना छोरी अनि छोरालाई कुकर्मको विरुद्ध लड्न सिकाऊ ।।

भो कति लड्नु नारी र पुरुषका विषय लिई
इतिहासका पाना बारबार पल्टाऊ।
हेर कैयौँ नारीहरुको सफल्तालाई
अनि आफ्नो भाग्यलाई आफैँ कोरिदेऊ।।

भो कति बस्छ्यौ छिपेर
आफ्नो अस्तित्व तिमी आफैँ बनाऊ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *