नाल गाडेको आँगन

गङ्गा लामिटारे
अाेहायाे, अमेरिका

उत्तरतिर चाँचे खोला पूर्वतिर डम्फू
पश्चिम तिर सुनकोस छ दक्षिणपट्टि मिथुन
सिरिरिकी त्यो हावा सम्झेर मन रुन्छ विदेशमा बसेर ।
उत्तरतिर चिराङ डाँडो दक्षिणतिर पाखे
सम्झनाले आँसु झर्दा नयन मेरा थाके
पारिपटी सल्लेरी सुसायो सम्झनाले आँसुनै सुकायो ।।
पूर्वतिर पाथीभरा पश्चिममा छ घोप्टे
त्यसै बिच अवस्थित छ मेरो लप्सीबोटे !
कति सुन्दर त्यो मेरो जन्मगाउँ बारम्बार गाइरहन्छु गुणगान !
पूर्वमा छ देवीथान आलेखेत छ दक्षिण
बिचमा थियो मेरो घर अहिले छु म पश्चिम
बाल्यकालका ती दिन सम्झेर रुन्छु अहिले विदेशमा बसेर !
जन्मदेश जस्तो सुन्दर अरू हुन्न ठाउँ
स्वर्गभन्दा उच्च छ त्यो सुन्दर मेरो गाउँ
चाँचेको कलकललाई सम्झेर रुन्छु अहिले विदेशमा बसेर
वर्ष ३० पुगिसक्यो दर्शन तिम्रो पाइन्न
दर्शन तिम्रो गर्नलाई कति पटक धाएँ म
चौतारीका वरपीपल सम्झेर रुन्छु अहिले विदेशमा बसेर
घरमाथि ठूलो खेत बारीमाथि घर
जन्मभूमि दर्शन गर्ने यही छ मेरो रहर
टारीखेतमा ३ तले घर थियो आँसु आउँछ सम्झेर अहिले त्यो
सम्झनाले पिर्छ सधैँ तृषणनाले तान्छ
उडौँ भने पङ्खा छैन खुट्टा मेरो काम छ
जन्मघरको महिमालाई सम्झेर झार्छु आँसु विदेशमा बसेर
घरमाथि बरको रूख थ्यो घरमुनि बगान
जीवनमा कसले भुल्छ नाल गाडेको आँगन
आँगनका तीन कुना सम्झेर रुन्छु अहिले विदेशमा बसेर
कालो धानको मिठो चामल माली गाईको दूध
कहिले पनि बिर्सिन्न म दाल मीठो मुँगीको
कटेराको माली गाई सम्झेर रुन्छु आज विदेशमा बसेर
आँगनको सिरानमा थ्यो फूलबारी टम्म
तुलसीको मोठ थियो खेतका गरासम्म
बाल्यकालमा खेलेको सम्झेर सधैँ रुन्छु विदेशमा बसेर

One Reply to “नाल गाडेको आँगन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *