पिलो
तुम्बेहाङ्ग लिम्बो
नेपाल
सुन्यौ साथी !
मेरो देशको अप्ठ्यारो ठाउँमा निस्किएको छ
एउटा अन्तरविरोधको पिलो ।
अरूले देख्छ कि भनेर
मेरो देश छलछामको धोतीले छोपी बस्छ
असहाय कष्टले हिँड्न गाह्रो हुँदापनि
यता-उता टोलाउँदै पेङ्ग्विन जस्तो ढक्लक-ढक्लक हिँड्छ
तर भन्दैन ऊ समस्याको रेतीले मुटु रेटिएको कुरा
बन्दै देखाउँदैन ऊ दम्भको औडाहाले मन डढेको कुरा ।
वर्षौँ बितिसक्यो
तर पाक्ने छाँटकाँटमा छैन यो पिलो
वार्ता र छलफलको लेप लायी पकाउनपनि मानहानी ठान्छ
घरको समस्या घरमै मिलाउने सल्लाह दिँदापनि
छिमेकीसँग दुधेआन्द्रा गाँसेर ऊसितै सती जान्छ
कतिदिन बोक्ने हो टनटन खाने समस्यापरक पीपको भारी
कसरी लाने हो राष्ट्रलाई यस अशान्तिको खहरे खोला तारी ?
यसरी राष्ट्र कुँजे भएपछि
नब्बेमा जनताले फुटाउन खोजे विद्रोहको सुइरोले पिलो
तर उसले विचारको भन्दापनि बन्दुकको पर्खाल उठायो
साम्प्रदायिक फ्युजमा आगो झोसेर हिंसाको बम पड्कायो
यसरी सुन्दर विचारहरूको फूल मारेपछि
राज्य आतङ्कको साँडबाट जनताका सपना बलात्कृत भए
अनि जन्मेका हुन् लाखौँ माकुरी बच्चा, माऊँ माकुरी खानलाई ।
अन्तर्विरोध भनेको माखेसाङ्लो रहेछ जिलिगाँठी परेको
एउटा फुकेपछि क्रमशः अर्को, अर्को, अर्को आउँछ प्रधान पक्ष बनेर ।
आज निरङ्कुश सत्ता बुढी माकुरा भएको छ
अनि सृजनशील विचारका धारहरू माकुराको स्याउँ स्याउँ बच्चा ।
अब हेर्नु छ, अन्तरविरोधको पिलो फुट्ने हो कि गाडे पल्टिने हो ।।