पुरानै भएर नआऊ है

ए! नयाँ वर्ष
तिमी हिजो जस्तै भएर नआऊ है
मेरो शरीरले ती रोगहरू झेल्न सक्दैन
यी आँखाले आँसुको भेल थेग्न सक्दैन
पटक पटक दिएको चोटले आज
न कतै शान्तिको सपना देख्न सक्छु
केवल पिडामा छटपटिएर
कहिले बिछ्यौनामा कोल्टे फेर्छु
आँखाबाट झरेको बर्सातले
आफ्नै शिरमा बिछ्याएको सिरानी धुन्छु
बर्षौ भई सक्यो तिमीले सताएको
त्यसैले त म नयाँ दिनहरू खोजी रहेको छु
भो अब तिमी पुरानै भएर नआऊ है

तिमीले भत्काएका सपनाका इँटाहरू
आज यो पहिचान हराएको सहरमा
टुक्रा टुक्रा खोज्दै सानो झोलामा बटुली रहेको छु
यी हातहरूमा ठेला उठी सकेका छन्
आफ्नै शरीर पराई जस्तो लाग्न थाली सक्यो
आफन्तहरू मेरो घरको बार्दली सम्म
अझै पनि आउन सकेका छैनन्
तर पनि फेरि एकचोटी सपनाको महल बनाउने
अनि आफन्तहरू बार्दलीसम्म आई पुग्ने
एउटा सुन्दर गोरेटो खन्ने हिम्मत गरिरहेको छु
त्यसैले त म नयाँ सपना देखिरहेको छु
भो तिमी अब पुरानै भएर नआऊ है

अस्पतालको बिछ्यौनामा छट्पटिदै
पल पल मृत्युसँग लड्ने
ती अनगिन्ती निर्दोष अनुहारहरू
आफ्नै घर फर्कने बाटो खोजी रहेका छन्
बाँच्ने रहरमा पल पल मर्नेहरू
आफ्नै अस्तित्व र पहिचान खोजी रहेका छन्
माया गर्नेहरूका लागि धोकामा बद्लिएका छन् दिनहरू
हिमाल चढ्ने ती पाइलाहरू
आज महामारीको अनौठो दलदलमा फसिरहेका छन्
उठ्न खोज्ने यहाँ कयौँ पटक लडी रहेका छन्
लाखौँ सपना देख्ने आँखाहरू अन्धा भैसकेका छन्
सद्भाव साट्नेहरूको मन जली सकेको छ
तर पनि एकचोटी दियो जलाउने आशा बोकेको छु
मृत्युलाई एक पटक जित्ने प्रण लिएको छु
दलदल बाट पाइला उठाएर
त्यो उच्च सगरमाथा चढ्ने हिम्मत जगाएको छु
जलेको यो मनलाई
सुनकोसीको पानीले चिच्याउने योजना बुनेको छु
त्यसैले त ए नयाँ वर्ष
भो तिमी पुरानै भएर नआऊ है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *