पुरानै सम्झनामा
गङ्गाराम रिजाल
टेनिसी ,अमेरिका
अग्ला छन् हिम शैलका सँगसँगै ती युग्म जोडी जहाँ।
सम्झिन्छु मनले पुगेर सहजै माया बसालौँ त्यहाँ।।
तुर्साकाे जल सेचनै गरिदिऔँ सुन्कोस कै कल्कल
प्युँदै मानसको सदा हृदयमा होला त्यहीँ अल्मल।।
साम्सु मोछु बगे सुशीतल हुँदै तुर्षामहाँ गैगए।
मिल्दा आखिरमा त्रिवेणी जलका ठूला तिनै भैगए।।
डाँफे ढुक्कुरले सधैँ वरिपरी त्यो आँगनि रोज्दछन् ।
आऊ है नबसी पराई घरमा भन्दै त्यहाँ खोज्दछन्।।
झर्नाका रसिला सँगै धनसिरी बग्दा सधैँ शीतल ।
ढुङ्गाको रस स्वादमा नदीहरू पाईन्छ मीठो जल।।
थिम्फूको मनउच्च नै नगरी हो पारो पुनाखा पनि ।
छुक्का हाट बजारमा नजरहोस् ती बुद्धमा मन् अनि।।
झन्डाका बिचमा छ जीव बलियो चट्याङकै आखिर ।
नाना रत्न जडान छन् पयरमा बन्थ्यो कहाँ मन स्थिर।।
मिल्थ्यो शान्ति र बुद्धको नजरमा आदर्शता बाहिर !
उच्चा टापू कतै झिलिक्क सँगले बल्दै थिए आखिर !!
कालो बज्र सरी बनेर मुटुमा तोडी दियो बेगले !
देखेनौँ जब त्यो बिपत्ति सहँदा ढाकीदियो मेघले !!
आयो बाडी बगाई मानव सिला पारी तटैमा थिए !
भोकोपेट भरेर वस्रपनि लौ जो ईश्वरैले दिए !
देखिन्थे घरभित्रबाट सहजै तारा अनि चाँदनी !
ठूलो छादन त्यो चिटिक्क सँगको नीलो गहीरो अनि !!
होला त्याग कतै अनेक सुखको सर्वस्व मन्मा लिँदै !
भाग्यैको परी चक्रमा यसरी नै आयौँ यहाँ सम्झिँदै !!
मान्छे हो ! जब प्यार मिल्छ दुनियाँ देखिन्न भिन्नै कति !
भिन्नै त्यो गुणको छ आदर लिने संसारमा जे जति !!
होला रङ्ग र रूपमा फरक नै मन्मा उज्यालो अति !
मीठो श्रीफल मा बुझौँ बयरमा त्यो भिन्नता के कति !!