प्रकृति
धर्मेन्द्र तिम्सिना “क्षितिज”
ओहायो, अमेरिका
तिम्रो सुन्दरताभित्र
रमाउँदै
हाँस्दै
लुकामारी खेल्दै
तिमीलाई नै सिरानी लगाएर
लमतन्न
निदाइदिऊँ लाग्छ
तर हठात् ! तिमी कहिलेकाहीँ
शान्त सीताको रूप भुलेर
भद्रकाली बनिदिन्छौ
अनि डरले ढोका थुनिदिन्छु
सधैँ ढोका थुनेर तिमीलाई
एक्लै बाहिर छोडिदिन्छु ।।
सुन्दर देखिन्छन् समुद्रका छालहरू
सुन्दर देखिन्छन् कलकल बगेका खोलाहरू
खोल्साहरू अनि नदीहरू
हेरिरहुँ जस्तै देखिन्छन्
सेता हिमालहरू
अँगालो हालेर चुम्बन गरिदिऊँ जस्तै लाग्छन्
हरिया पहाडहरू
त्यही सुन्दरताभित्र
त्यही मनमोहक दृश्यभित्र
अचम्म हुन्छ कहिलेकाहीँ
पीडाले छाती फुटाउने
ताण्डव मच्चिन्छ कहिलेकाहीँ
सुनामी भएर
बाढी, पहिरो, भूकम्प भएर
तिमीले हज्जारौंको जीवन
एकछाक पारिदिन्छौ
आमाको कोख रित्याइदिन्छौ
छोरालाई टुहुरो बनाइदिन्छौ
बाबालाई अपाङ्ग बनाइदिन्छौ
भाउजूको सिँदुर पुछिदिन्छौ
दिदीको जिन्दगी नरक बनाइदिन्छौ
अनि
कसरी विश्वास गरौँ तिम्रो सुन्दरतामा
कसरी खुसी भएर बाचौँ तिम्रो सुन्दरतामा?
सोच्दछु एकान्तमा बसेर
मनमा हज्जारौं कुराहरू खेलिरहन्छन्
कहिले तिम्रो माया लागेर आउँछ
कहिले तिमीप्रति द्वेष जागेर आउँछ
अनि फेरि सम्झन्छु
भोलि तिमीलाई सम्मान गर्नेहरु
तिम्रा दुश्मन बन्न सक्नेछन्
तिमीलाई,
तिम्रो सुन्दरतालाई
सुनामी मात्र सम्झन सक्नेछन्
ज्वारभाटा, चट्याङ अनि भूकम्पको
नजरले हेर्न सक्नेछन्
अनि,
तिम्रो सम्मान कहिलेसम्म रहला
तिम्रो सुन्दरताको बयान कहिलेसम्म रहला