फुईयाँ
डिल्लु चम्लागाई
ओहायो, अमेरिका
जब जब यो तिहार नजिक आउँथ्यो
मङ्गलवारे हाटमा चहल पहल बढ्थ्यो
आमा झोला बोकेर निस्किनु हुन्थ्यो
म र भाइ दैलोमा बसेर बाटोछेक्थेयौं
आमा भन्नु हुन्थ्यो ! बाबु घर रूगेँस् है
म तिमीहरूलाई फुईयाँ लिएर आउँछु
फुईयाँ को प्रतीक्षामा आँगन नाघिएन
गोधुली सँगै आमा घर फर्कनु हुन्थ्यो
हामी आमालाई त्यो फुईयाँ माग्थ्यौँ
किनमेलबाट जोहो गरेर आमाले
अलिकति मिस्री ल्याइदिनु हुन्थ्यो
बाबु फुईयाँ सकिएछ यही खाऊ है
त्यो दिन यो दिमागमा कालझैँ छन्
हटेको छैन फुईयाँको पर्खाई अझै
जब यो फुईयाँको सम्झना आउँदैन
लाग्छ यो तिहार, तिहार जस्तो लाग्दैन
तर आजसम्म मैले फुईयाँ देखिन
बेला बेला छोरीले यही प्रश्न गर्छिन्
बाबा कता जानु भएको? म हाँस्छु
त्यो दिन सम्झन्छु, त्यो समय सम्झन्छु
छोरी म फुईयाँ लिन बजार गएको !