बगैंचामा फूल फुल्यो

मोतीराम रिजाल
ओहायो, अमेरिका

बगैँचामा रहरै रहरका फूलहरु हामीले फुलायौँ
बेसी खेतमा धानका बाला हामीले झुलायौँ ।

लुगा फाटा अक्सर रास लाग्ने गर्थे पसिनाले हाम्रा
तरै पनि खुसी थियो भोको नाङ्गो जिन्दगी हाम्रो ।

बनायौँ हामीले विशाल विशाल सुनका दरबार
तर पाएनौँ हामीले कतै ओत लाग्ने सानो घर ।

आधी रातमा आँधी बेमौसमको तुफान चल्दा खेरि
सपनाहरू भताभुङ्ग भएर कहाँ कहाँ पुग्ने हुन फेरि ।

सिमलको भुवा जस्तो हुरुरु उड्छ त्यसै मेरो मन
जानिराख्नु यो आमा जस्तो पक्कै सानिमा हुँदैनन् ।

श्रावणको बाढी जस्तो क्षणिक भयो यो हाम्रो मन ।
जति रोक्न खोज्यो उति बढ्छ उर्लिएर झन् झन् ।

हिउँदको चिसो  घाम छाया बर्सादको झरी र पानी
सधैँ भरी भोग्नु पर्ने दुखै दु:ख यो कस्तो जिन्दगानी ।

भारी बोक्ने थकित भरियाको जस्तो बोझै बोझको जिन्दगानी
गाह्रो भयो यो जीवन बिताउन छैनन् कोही सहारा दिलाउनी ।

(नोट: आजीवन स्कुल र पाठशाला नदेखेका कवि मोतीराम रिजाल भूटानको दागापेलाको गोसीमा जन्मेर हाल सिन्सिनाटी ओहायो अमेरिकामा बसोबास गर्दै आएका छन् । साथी भाइसँग गाईगोडे क ख लेख्न र पढ्न सिकेका उनी आफ्नै मेहनत र सङ्घर्षले गर्दा नेपालीमा लेख्न र पढ्न सक्छन् । उनमा अद्भुत कवित्व शक्ति निहित छ । उनको “वेदनाका लहरहरू: सपनाका शहरहरु” नामक कविता सङ्ग्रह प्रकाशित भइसकेको छ भने अर्को कविता सङ्ग्रह “भावनाका छालहरू” चाँडै प्रकाशन हुँदैछ ।) 

One Reply to “बगैंचामा फूल फुल्यो”

  1. जे एन दाहाल

    मेरो बुवाको उमेरका देखीने कविलाई नमन गरें।साथै
    उहाँको स्वअध्ययनकै भरमा लेख्ने अभ्यासको पनि तारीफ गर्छु।निरन्तर पढ्न मिली रहोस् ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *