बधाई, स्वागत तथा शुभकामना

अध्यक्ष

 

साहित्य परिषद्को अध्यक्षमा निर्वाचित श्री गङ्गा लामिटारे र अन्य निर्देशकज्यूहरूमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु ।
इतिहासका अनेक अप्ठ्याराहरू पार गर्दै भूटानीहरुको भाषा–साहित्यिक आन्दोलनमा निरन्तर समर्पित साहित्य परिषद् भूटानको नयाँ नेतृत्व आगामी दिनमा, भाषा–साहित्यको सेवामा कटिबद्ध भएर लाग्ने कुरामा विश्वास राख्दछु । कुनै पनि संस्थालाई पदप्राप्तिको माध्यम बनाउन खोजियो भने संस्था,संस्था रहन रक्तैन । नेतृत्व भनेको पदभन्दा बढ्ता हो, अझ साहित्यिक नेतृत्वले लेखक, पाठक र समाजसँग प्रगाढ सम्बन्ध स्थापना गर्दै सिर्जानात्मक र रचनात्मक कार्यमा लाग्नु पर्ने हुन्छ । आजको हाम्रो जस्तो छरिएको भूगोल, छरिएको समाज र सङ्क्रमणकालीन अवस्थामा समय, साधन र ऊर्जा जुटाउन कम चुनौतीपूर्ण छैन ।

आगामी दिनमा परिषद्ले साहित्य लेखनमा लागेका व्यक्ति–व्यक्तित्व मात्रै होइन सामाजिक नेतृत्व गर्ने व्यक्ति–व्यक्तिव्य, कानुन, प्रविधिजस्ता सम्बन्धित क्षेत्रका विज्ञहरुहरुलाई पनि संस्थामा सामेल गर्दै जानु पर्ने आवश्यकता टड्कारो रूपमा देखिएको छ । विभिन्न क्षेत्रको विज्ञता र विशिष्टता भएका व्यक्तित्वहरूको सहकार्यले संस्थाले लिएको लक्ष, नीति–निर्माण र सम्भावित चुनौतीहरूको सामना गर्न सहज हुने कुरामा जोड दिन चाहन्छु ।
यस चुनावमार्फत पुनर्वासपछि नेपाली पाठ्यक्रम निर्माणमा निरन्तर लागिरहनु भएका श्री खिम खतिवडाज्यू परिषद्सँग सम्बद्ध हुन आइपुग्नु भएको छ । उहाँको नेतृत्वमा पाठ्यक्रम निर्माण कार्य अझ गतिमान हुने छ र हाम्रो समाज त्यसबाट लाभान्वित हुनेछ भन्ने लागेको छ ।
सबै पदहरूमा उमेद्वारी नपरेको हुँदा बाँकी रहेका पदहरू परिषदभित्र आन्तरिक छलफल र सम्वाद मार्फत परिपूर्ति गर्न नयाँ नेतृत्वसँग आग्रह गर्दछु । नयाँ नेतृत्वले संस्थाको गरिमालाई उच्च पार्दै, नयाँ योजना, ऊर्जा र कार्यदिशासहित अघि बढ्ने छ, आशा गर्दछु । यहाँहरूको नेतृत्वमा साहित्य परिषद्, भुटान साहित्य लेखन, अन्धययन–अनुसन्धान, शिक्षण र प्राज्ञिक कार्यमा अझ बढी क्रियाशील भएर लाग्ने छ भन्ने दृढ विश्वास छ ।

आजसम्म विभिन्न पद र जिम्मेवारी सम्हाल्दै आउनुभएका परिषद्का निर्देशक, कार्यकर्ता, सदस्याज्यूहरु तथा शुभचिन्तकहरूमा परिषद्का तर्फबाट म हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
परिदषको चुनावका लागि नारायण शर्माको अध्यक्षतामा गठित विशिष्ट व्यक्तित्वहरू सम्मेलित आयोगले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै हार्दिक आभार प्रकट गर्दछु ।
अन्त्यमा, अध्यक्षको भूमिका निर्वाह गर्ने क्रममा साथ, सहयोग र सद्भाव पुर्‍याउनु हुने सबैमा धन्यवाद टक्र्याउँदछु ।
सबैमा क्रिस्मस तथा नयाँ वर्ष २०१९ को अग्रिम शुभकामना ।
यहाँहरूको दिन मङ्गलमय रहोस् ।

शिवलाल दाहाल
केन्टकी, अमेरिका
१२—१६—२०१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *