बाँचौं  

यतिराज अजनबी
एड्लेड, अष्ट्रालिया 

मुकुटभित्र लुकेको
शक्तिले फुलेको र बाक्लिएको टाउको
हावा नभइदिए हुन्थ्यो भन्ने चाहन्छ
उसलाई थाह छ
हावा आँधी बन्न सक्छ
त्यसका औँलाले उसको
श्रीपेच उठाउन सक्छ
छातीमा मुक्का हान्न सक्छ
त्यसका विनाशकारी हातले
उसको किल्लाका भित्ता भत्काउन सक्छ
उसको शान्ति खलबल्याउन सक्छ र
त्यसका प्रचण्ड पैतालाले कुल्चेर इँटा धूलो पार्न सक्छ
शक्तिले उसलाई यति बेसूर बनाएको छ कि उसले
बाँच्नलाई हावा चाहिन्छ भन्ने पनि बिर्सिएको छ
हावाको ऊ न सर्जक हो न स्वामी
प्रकृति नै हुन् त्यसको ईश्वर अनि जननी
त्यसैले फेरौं सास र रमाऔं
चाहे जोसुकै हौं 
चाहे जेसुकै हौं
चाहे जहाँसुकै हौं
चाहे जस्तोसुकै हौं 
चाहे जहाँसुकैबाट आऔं
चाहे जहाँसुकै जाऔं
आफैँमा विश्वास गरौं
र सधैँ भनौं, “श्वास फेरौं।”
तर कैल्यै नभनौं, “श्वास फेर्न देऊ।”
त्यसो भन्नुभन्दा बरु रगत बगाऔं
शोकाऔं र विलाप गरौं
तर यो पिशाचलाई हाम्रो रगत चुसेर
बढ्न र बाँच्न नदिऔं
हामीले चाहेको जस्तो घृणामुक्त होस् यो संसार
हामीलाई नियमले शासन गरोस्
पक्षपाती र क्रूर शासकले हैन
शासक नहून्
सबैलाई बरोबर शासन गर्ने शासन मात्र हून्
यौटा मान्छेले अर्कोलाई हानेको घृणाको छडीको चोट
भाग्यको चड्कनभन्दा धेरै चोटिलो हुन्छ
प्रगत प्रियको सन्तापभन्दा तापिलो हुन्छ
यति तापिलो कि चिरनिद्रामा नपरुन्जेल निदाउनै सकिन्न
त्यसैले बाँचौं
बाँचौं
बाँचौं

Don't have a Facebook account? Please, use the form below with other options!