बासदेखि पुनर्वाससम्ममाथि केही परिचर्चा
शिवलाल दाहाल
केन्टकी, अमेरिका
बासदेखि पुनर्वाससम्म संस्मरणकेन्द्रित तर मिश्रित आलेखहरू समाविष्ट कृति हो । संस्मरण भएको नाताले यसको केन्द्र स्वयम लेखक हो, उसको भोगाइ र अनुभूतिको क्यानभास नै लेखनको मूल आधार हो । यद्धापि यसमा लेखक एक्लो रविनसन क्रुसो छैन, ऊसँग परिवार छ, समाज छ, देश छ, भूगोल छ र परिवेश छ । अझ यस कृतिमा उभिएको लेखकसँग एउटा फरक पृष्ठभूमि र सङ्घर्षको कथा छ – एउटा थातथलोदेखि उखेलिएर अर्को थातथलोमा ठेगान लाग्दासम्मको पीडा, दर्द र मर्मले भरिएको सीमान्त आवाज छ । हिजोकोभन्दा नितान्त पृथक् भूमिमा उभिएर लेखक आफ्ना विगतका दिनहरू सम्झन्छ, अतीतका सङ्घर्षहरूको उत्खनन गर्दछ, आफ्नो जाती र इतिहासको खोजी गर्दछ अनि भविताको चिन्ताले व्याग्र हुन्छ । वासदेखि पुनर्वाससम्म, पुनर्वासपछि लेखिएको यस रीतको पहिलो कृति हो जसले लेखकको मात्रै होइन हजारौँ भूटानीहरुको कथालाई प्रतिनिधित्व गर्दछ । एउटा देशको राजनीतिक व्यवस्थाले जन्माएको मानवीय समस्या, देशबाट निष्कासित मानिसहरूले भोग्नु परेको दर्दनाक पीडा, अस्थिरता र निकासहीनता अनि दुई दशकपछिको पाश्चात्य मुलुकतिरको यात्रा र त्यसमा ठेगान लाग्न, जीविकोपार्जन गर्न, नागरिक अधिकार प्राप्त गर्न, गर्नु परेको कठिन संघर्ष, भोगाइ र समस्याहरूको अभिलेख छ –यस कृतिमा ।
संस्मरण कस्तो हुन्छ, हुनुपर्छ भन्ने मानक छैन । संस्मरणमा आफ्ना कथाको नायक स्वयाम लेखक हो । त्यो नायकत्व लेखनमा उसले कसरी निर्वाह गर्छ, आरम्भदेखि अन्त्यसम्म, त्यो महत्त्वपूर्ण हुन्छ । त्यस कारण लेखकको व्यक्तित्व, उसले गरेको कर्म, उसले वैयक्तिक र सामाजिक जीवनमा निर्वाह गरेका भूमिका र संघर्षहरु, वैचारिक दृष्टिकोण अनि लेखकीय अन्तर्दृष्टि र प्रस्तुतिकरणको शिल्पकारिताले यस किसिमका लेखनको उचाइ र गरिमालाई स्थापित गर्दछ । एउटा लेखकका जीवनमा घटेका सबै घटनाहरू लेख्न योग्य हुँदैनन्, ती घटनाहरूको सूक्ष्म मनन–चिन्तन गरेर, उपयुक्त लागेका प्रसङ्ग र दृष्टिकोणहरू उसले पाठक समक्ष प्रस्तुत गर्नुपर्छ जसले पाठकलाई प्रेरित र प्रभावित गर्न सकोस्, जसले पाठकमा ज्ञान, चेतना र शिक्षा प्रवाह गर्न सकोस् । (यस मानेमा बासदेखि पुनर्वाससम्मलाई जाँच्ने काम पाठकहरूको) ।
यो लेखनमा तीन किसिमको परिदृश्य छ –भौगोलिक रूपले, बसाइ र भोगाइको हिसाबले, राजनीतिक–सामाजिक दृष्टिले अनि विचार, चेतना र परिवर्तनका दृष्टिले पनि ।
परिदृश्य एक : बाल्यकाल र भूटान
वासदेखि पुनर्वाससम्मको पहिलो परिदृश्यमा लेखकको बाल्यकाल, त्यसको सुमधुर स्मृति र इतिहासको पुनस्मरण, राज्यबाट भएको दमन अनि मातृभूमिबाट बहिर्गमन हुँदाको पीडादायी क्षणको चित्रण छ । शैशवस्मृतिका पानाहरू र स्मृतिपथको मातृभूमि यस वर्गका लेखोटहरु हुन् । यी लेखहरूमा लेखकले भुटानको इतिहास, त्यसका केही पात्र तथा नेपालीभाषीहरु भुटान प्रवेश, तिनको राष्ट्र निर्माणमा योगदान र कालान्तरमा उनीहरू माथि राज्यको दमन, मानवअधिकार र प्रजातन्त्रका निम्ति चालिएका अभियानहरू, आन्दोलनका क्रममा शाहदात प्राप्त गरेका शहीदहरू र देश निष्कासन बारेमा विस्तृत चर्चा गरिएको छ । नेपाली भाषीहरूको भुटानमा प्रवेश, भुटानमा उनीहरूको सांस्कृतिक र भाषिक प्रभावको विश्लेषण गर्ने क्रममा लेखकले तत्कालीन भुटानमा रहेका संस्कृत पाठशाला, अन्य शैक्षिक संस्था र नेपाली पत्रपत्रिको प्रकाशनबारेको नालीबेली पनि प्रस्तुत गरेका छन् । यसबाट निकाल्न सकिने सार के हो भने भूटान आप्रवासीको मुलुक हो । अन्य जातिको जस्तै नेपालीभाषीहरुको बसोबासको लामो इतिहास र राष्ट्रनिर्माणमा महत्त्वपूर्ण योगदान छ तर राज्यले नेपालीभाषीहरुलाई राजनीतिक रूपमा किनारीकरण गर्न र तिनको संस्कृति मास्न षद्यान्त्रका अनेक जालझेल रच्यो र कालान्तरमा देशबाट लखेट्नकालागि, लागि प¥यो ।
परिदृश्य दुई : निर्वासन र लेखकको भारत–शैक्षिक यात्रा
यस परिदृश्यमा लेखक परिवारको निर्वासन, नेपालमा शरणागत जीवन र भारततर्फको उच्च शिक्षा आर्जन गर्न जाँदाको मार्मिक संस्मरण छ । मानवअधिकारका निम्ति भएका अभियानहरू एउटै लेखभित्र अनेक थरी कुराहरू थुपारेर गन्जागोल बनाइएको यो आलेखमा शरणार्थी समस्या, त्यसमा भारतको रणनीतिक स्वार्थ, माइबगरको आरम्भिक शरणार्थी शिविरको कहाली लाग्दो चित्रण, शरणार्थीको रेखदेखमा संलग्न सङ्घसंस्था,क्याम्पमा भएका भाषा-साहित्यिक अभियानहरू र लेखकले भारतमा गएर उच्च शिक्षा आर्जन गर्न जाँदा भोगेका कठिनाइको मार्मिक अभिलेख छ । भुटानमा आन्दोलनका क्रममा धेरै स्कूलहरु बन्द भए । नेपालमा आएपछि आर्थिक कठिनाइका कारण धेरैले उच्च शिक्षालाई निरन्तरता दिन सकेनन् । विद्यालय स्तरको शिक्षामा चाहिँ सबैको पहुँच रह्यो । भुटानबाट भारतको बनारसतर्फ संस्कृत शिक्षा आर्जन गर्न जाने परम्परा लामो समयदेखि चलिआएको हो । यद्यपि बनारसतिर जानेहरू धेरै चाहिँ परम्परा धान्न कर्मकाण्डमा सीमित रहन्थे, रहन्छन् । एकाध विद्यार्थी मात्रै बिएचयु जस्ता विश्वविद्यालयमा उच्च शिक्षाका लागि जाने गर्दछन् । आर्थिक समस्याले पिसोल्टिएका विद्यार्थीहरूले कसरी भारतीय मठमन्दिरमा रातोदिन भोजन बनाउने र गरुहरुको सेवा गर्ने जस्ता काम गरेर आफ्नो शिक्षालाई अघि बढाउन बाध्य हुँदा रहेछन् भन्ने कुरा यस कृतिले उजागर गरेको छ । डा. ढकालले शिक्षा आर्जनमा जाँदा पाएका दुःख, भोगेको विभेद र बनारसको उसासिँदो वातावरणमा बिताएका कठिन दिनहरूको कथा पढ्दा संवेदना र सहानुभूतिको भावनाले पाठ द्रवीभूत हुन्छ । शरणार्थी अवस्थामा बनारसमा जानेहरूको मात्रै होइन अन्य शैक्षिक सङ्घसंस्थाहरूमा पढ्न जानेहरूले भोगेको आर्थिक समस्या पनि उस्तै दुःखलाग्यो छ ।
परिदृश्य तीन : पुनर्वासको भोगाइ र समस्याहरू
दुई दशकसम्म नेपालको शरणार्थी शिविरमा बसिसकेपछि पनि स्वदेश फर्किने कुनै सम्भावना नभएपछि अधिकांश भूटानीहरुले तेस्रो देश पुनर्वासको विकल्पलाई रोज्न पुगे । पुनवार्सकोक्रममा लेखक ढकाल अमेरिकाको केन्टकी आइपुग्दछन् । पुनर्वासपछिको जीवन भोगाइका अनुभूति र नवीन परिवेशमा उत्पन्न भाषिक,सांस्कृतिक समस्या तथा समाजमा देखापरेका सङ्गति–विसङ्गति, जीवन–शैली र सामाजिक मनोविज्ञानमा आएको परिवर्तनका सम्बन्धमा तीनवटा आलेखहरू प्रस्तुत छन् । त्यसमा पाक्कथनमा लेखकले आफूले अमेरिकाको नागरिकता लिँदा नरमाइलो लागेको अनुभूति प्रकट गरेका छन् । पुनर्वास : विगतदेखि वर्तमानसम्म र पुनर्वासका जटिल समस्याहरूमा चाहिँ संस्मरण छैन, पुनर्वाससित भुटानी समाजमा देखा परेका समस्याहरूको विश्लेषण गरिएको छ । यी लेखकहरूमा लेखकको समाजप्रतिको सरोकार र चिन्ता छ । पुनर्वासमा धेरै किसिमका अवसरहरू छन् – गर्न सक्ने र चाहनेका लागि । आर्थिक रूपमा पुनर्वासित समाज हिजोकोभन्दा सबल भएको छ, राज्यविहीनताको अवस्थाबाट माथि उठेको छ । यद्यपि अवसर र सम्भावनाहरूसँगै नयाँ किसिमका समस्याहरू पनि जन्मिएका छन् । समाज मनोविज्ञानमा परिवर्तन आएको छ । खानपानमा परिवर्तन भएको छ । मानसिक रोगले धेरैलाई गाँजेको छ । युवापुस्तामा लागुऔषदको प्रयोग बढेको छ । अघिका सांस्कृतिक मूल्यहरू स्खलन भएका छन् । भिन्न किसिमको सामाजिक मूल्य, शैक्षिक पद्धति र भाषिक अन्तर तथा चिन्तनगत पृथकताले गर्दा परिवारमा पुस्ता–अन्तरको (जेनेरेसन ग्याप) समस्या सिर्जना भएको छ । समाज समूहवाद(कलेक्टिभिजम्)बाट व्यक्तिवाद उन्मुख हुँदै छ । यी विषयहरूलाई डा. ढकालले गहन छलफल र विश्लेषणको विषय बनाएर समाजको ध्यान आकर्षण गरेका छन्, सजकता अपनाउन आग्रह गरेका छन् ।
थप केही कुरा र कृतिमा देखिएका कमजोरीहरू
प्रस्तुतिका हिसाबले यो कृति एक प्रकारले फ्यासब्याक शैलीमा छ । त्यो के भने तात्कालिक घटनाहरूलाई पहिले प्रस्तुत गरेर, अघि भएका घटनाहरूलाई पछिल्तिर चित्रण गर्ने । जस्तो कि लेखकले अमेरिकामा आएर नागरिकता लिँदाको अनुभूतिलाई आरम्भमै उल्लेख गरेका छन् तर भूटानबाट बहिर्गमन हुँदाका घटना, भारतमा अध्ययन गर्न जाँदाका सिलसिला निकै पछाडि पुगेर उल्लेख हुन्छ । त्यसो गर्दा एकै प्रकारको स्थिति, वर्णन र चित्रणबाट पाठक मुक्त हुन्छ र पढ्ने रुचि बढ्छ अथवा पढ्दा पाठकलाई पट्यार लाग्दैन ।
समग्र विषयवस्तुको व्यवस्थापन र प्रस्तुति चाहिँ परम्परागत छ । पूर्वरार्द्ध, प्राक्कथन, उत्तरार्द्ध, उपसंहार जस्ता प्रयोगहरूले यसको पुष्टि गर्दछ । लेखनमा आत्मविश्वासको अभाव, स्थिरता र परिपक्वताको कमी जताततै देखिन्छ । आरम्भमा आफ्ना भनाइ राखिसकेपछि पनि प्राक्कथनका अन्त्यमा गएर त्यसलाई थप पुष्टि गर्न खोजिनु यसको एउटा उदाहरण हो । लेखनमा शब्दहरू कसरी प्रयोग भएका छन्, तिनको प्रयोजन के छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । यसमा वस्तुतः, किनकि, यद्यापि जस्ता शब्दहरूको अत्यधिक प्रयोग छ, यस्तो प्रयोगले पढ्नेहरूको रुचिमा ऋणात्मक प्रभाव पार्दछ । यस्ता कुरामा लेखकको ध्यान पुगेको छैन ।
यस किताबमा इतिहासका प्रसङ्ग, घटना र पात्रहरू आएका छन् । चाहे त्यो पद्धसम्भव, साब्ड्रङ्,नेहरु, भुटानी शहीदहरू वा आन्दोलनको नालीबेली, तिनको प्रमाणिक स्रोतहरू उद्धृत नगरिकाले लेखनको आधार र आधिकारिकतालाई फितलो बनाइदिएको छ । कृतिमा राखिएका चित्रहरू निकै उपयोगी छन् तर तिनको स्रोत खुलाइएको छैन । लेखनको अन्त्यमा राखिएको सन्दर्भ सामाग्री हेर्दा अनुसन्धानमा चाहिने कुराप्रति लेखकको अनभिज्ञता वा बेवास्तालाई देखाउँदछ । लेखकले आफ्ना शैक्षिक यात्राका हरेक मोडहरूलाई उच्च महत्त्वका साथ प्रस्तुत गरेका छन् तर विद्यावारिधि जस्तो उपल्लो शैक्षिक उपलब्धिको कतै चर्चा गरिएको छैन । त्यस्तै भारतका विभिन्न शिक्षण केन्द्रमा अध्यापन गराउँदाका अनुभूति र अनुभवहरू पनि कृतिमा आएको भए उपयोगी हुने थियो । जीवन चिन्तन र दर्शनका कुरा धेरै ठाउँमा आएका छन् तर संस्कृत र दर्शनको विशद् अध्ययन गरेका व्यक्तिबाट त्यसफाँटका गहन आलेखहरू पुस्तकमा आएको देखिँदैन ।
उपसंहार
यो कृतिले लेखकको निजी जीवन अनि उसले समाज र समयसँग गरेका अन्तरक्रियासँगै, नेपाली भाषी भूटानीहरुको विगत,इतिहासमा अभिलिखित र अनअभिलेखित घटना, राज्यबाट भएको उत्पीडन र उत्छेदन, निर्वासनको कहाली लाग्दो अवस्था, स्वदेश फिर्तीका अभियान र अभियन्ता तथा परवर्तिकालको पुनर्वास अनि बदलिँदो जीवन शैली, समाज र परम्परागत मूल्यको क्षयवोधका प्रसङ्गहरूको लामो नालीबेली प्रस्तुत गरेको छ । यो नालीबेलीमा धेरै भूटानीहरुको समानान्तर कथा छ, भोगाइ छ, अनुभूति छ अनि भविष्यप्रतिको चिन्ता र दृष्टि पनि छ ।