बिदाईको हात हल्लाएको फूल !!!
अनन्त आचार्य
अष्ट्रेलिया
मलाई विवश भएर
बिदाईको हात हल्लाएको फूल ।
मलाई सम्झना छ भँवराले गरेको भूल,
साँझ नपर्दै ओइलिनु परेको फूल ।
भँवराको गीतपछि
मसानघाट ब्यूँझिन्छ
गीतको संगीतपछि
फलामको मान्छे उभिन्छ
टाउकोमा अनायसै बज्र पर्छ ।
कास ! फूल, कस्तो गर्यौ भूल ?
तिम्रो जीवनमा रात पर्यो ।
उदाएको घाम फेरि अस्तायो ।
बगैंचामा फुलेकी फूल,
बासनाले अलंकारयुक्त भएकी
सर्वस्व हरण भएर,
म कहाँ छु, कहाँ छु
मलाई भन्न मन लाग्दैन,
म गौरवको गीत गाउन सक्दिनँ,
मसँग च्यातिएको अस्तित्व
फाटेको संस्कृति र लुटिएको गौरवता छ
मेरो आफ्नो नै रहेन,
जब हृदयको फुलबारी लुटिएपछि
मेरो कुनै बगैंचा छैन
विवश !
बिदाईको हात हल्लाएको फुलबारी ।।