भानुलाई पुकार
हरिप्रसाद सापकोटा,
एन् एस् डब्लू अस्ट्रेलिया
हे भानु भन्छु सुनिदेऊ मेरो रोदन र पुकार ।
सम्बन्ध हाम्रो युगान्तरसम्म रहोस् अपार । ।
भन्दै छु हाम्रा मनका कुरा हे भानु तिमीलाई ।
सुनिदेऊ हाम्रा झ्याउरे भाका बिन्ती छ तिमीलाई ।
भानु!! पुकार छ तिमीलाई ।।१।।
सुरिला रुख सिरिरी हावा रुख्पात हल्लाउने।
क्या राम्रो थियो प्रकृति त्यहाँ दुनियाँ हँसाउने ।।
हिमालको फेदी सितलु छायाँ त्यो भीर पहरा।
लहरा घाँस पाउलो अनि सुन्दर छहरा ।।२।।
बिहानी त्यहाँ सीतको थोपा सूर्यको किरणमा ।
मोतीका दाना चम्केझैं हुन्थ्यो स्वमातृभूमिमा ।।
सुन्कोस र मानस बग्दछन् नित्य माताको सेवामा ।
सम्झना आउँछ के गर्नु भानु ! बिन्ति छ सेवामा ।।३।।
हिंउद, बर्खा, लेक र बेंसी जङ्गल पाहाड ।
रमाइलो हुन्थ्यो हामीलाई त्यहाँ तँछाड मछाड ।।
त्यो कुलागाङ्ग्री, त्यो छोमोल्हारी एकै स्वर मिलाई ।
काँतर भनी धिकार्छन् आज पर्देशी हामीलाई ।।४।।
धिक्कार धिक्कार गरेर मादल हामीलाई धिकारछ ।
खैंजडी, च्याब्रुङ्, बिनायो भन्छन् “तिमीलाई धिक्कार छ” । ।
रसिया, रोदी, सोरठी भाका बिराना भैगए ।
सङ्गिनी, बालून हुण्डरी सङ्गै उडेर गैगए ।।५।।
ती मेलापात्मा सुसेली मार्दै हाक्पारे गाएको ।
देउसी र भैलो तिहारमा सबै मिलेर खेलेको । ।
तिमीले छोडी गएको भाका रामायाण घर-घरघरमा ।
मधूरो स्वरमा गुञ्जन्थ्यो तर बिर्सियो परदेशमा ।।६।।
धिक्कार धिक्कार भनेर आज डम्फुले धिक्कारछ।
पहाडी पाखा हालेर भाका परदेशी पुकारछ ।।
चैतको घाम दाउराको भारी शिरैमा नाम्लाले ।
सल्लेरी चड्थ्यौं पसिना काडी यो आफ्नै बलले ।।७।।
गाइको चरन त्यो रानी बन न्याउली कराउने ।
डाँफे र मुनाल नाचेको बेला मनलार्इ हराउने ।।
हिमालको फेदी शितलु बनको माझमा चऊर ।
भाले र पोथी मिलेर क्रीडा गर्दथे मयूर ।।८।।
काहीं त थियो रातमाटे डाँडा काँहीं त मलिलो ।
काँहीं त फेरि सुकाउरो थियो काँहीं त झन् हिलो ।।
त्यो ठूलो बेंशी पाहाडी खेत भैंसीको चरन ।
के गर्नु भानु! स्वदेश सम्झी होइन्छ हैरान ।।९।।
सेलो, नौमती बाजा दोहोरी सकिए ।
जुहारी खेल्दै घासँ-दाउरा गर्ने ती दिन सकिए । ।
“ॐआ हू बाचा गुरु र पेमा शिध्दी हू” बिर्सियो ।
ॐ नमो नारायणाय पनि भुसुक्कै बिर्सियो
भानु!! सर्बस्व भैगयो ।।१०।।
हे पशुपति! हे गुह्येश्वरी!! दयाका सागर ।
दुःखले रुँदा आँशुले भिज्यो यो सुक्खा बगर ।।
एक् ठाँऊ जन्म अर्को ठाँऊ मृत्यु के भोग्नु परेको ।
को देख्ने हरे!! आमाका शोकले टुहुरा मरेको ।।११।।
जति छौं आज टुहुरा हामी पर्देशी भएका ।
ए आमा! आमा !! भनेर धेरै रोहेर बसेका ।।
जान मन लग्छ आमाको काख सक्दैनौं बिर्सन ।
भयोनि भयो चाहिंदैन अब प्रवाशी जीवन
भानु!! पर्देशी जीवन ।।१२।।