मनको लिङ्गो
तुम्बेहाङ लिम्बू
नेपाल
अक्षरहरुको फूल टिपेर
शब्दहरुको सुन्दर हार गुथ्न खोज्छु
तर द्वीविधाको हुरीले हल्लाइरहन्छ मनको लिङ्गो ।
चाहानाका पातहरु सुकेर झर्छन् आँखाको डिलभरि
जसरी सालको पात झर्छ पतझडमा भुइँभरि
अनि एउटा हावाको झोँक्काले बडारेर लान्छ मेरो रहर
र जान्छ रहर पनि बेहुली झैं विवशताको डोली चढेर
आखिर भेट्नु भनेको छुट्नु त रहेछ, सम्झिदिन्छु मै पनि ।
आखिर स्वार्थ पनि त एउटा सवारी साधन रहेछ
कहीँ पुग्नलाई मान्छे स्वार्थको सवारी चढ्दो रहेछ
घृणाको पछाडि मात्र कहाँ हो र !
मायाँको पछाडि पनि स्वार्थको गोजी हुँदारहेछन्
ती गोजीहरुमा आवश्यकताका अनेक आयम भर्न चहान्छ मान्छे
अनि जित्न चहान्छ लोकाचारको कुस्ति ।
भोकको फूल देख्नु भा छ ॽ
त्यो निराकार हुन्छ तर सन्तुष्टीको फूल भन्दा धेरै सुन्दर हुन्छ
सुन्दर यस मानेमा कि- त्यो भयानक हुन्छ तर सिर्जनशील हुन्छ
आक्रमक हुन्छ तर खोला जस्तो गतिशील हुन्छ
सन्तुष्टीको आडम्बरी फोहोर झैं आहाल जम्दैन त्यो
त्यसले त अनिकालको क्षेत्रफल लिलाम गर्छ
अनि एउटा नवीन चेतको शिशुलाई जन्म दिन्छ।
हो, त्यस्कै कविता लेख्नलाई
असन्तुष्ट अक्षरहरुको फूल टिप्न खोज्छु
निरीह शब्दहरुको सुन्दर हार गुथ्न खोज्छु
तर कुन्नि के को हुरीले हल्लाइरहन्छ मनको लिङ्गो ।