माया यस्तो हुनुपर्छ

नैनसिङ मगर्
न्यू योर्क, अमेरिका

गोरे र गोरीका जीवनचक्र जेनेतेने चल्दै थिए । केही कालपछि न्यूयोर्कमा आइपुगे । एक वर्षपछि ग्रीनकार्डको लागि दुवैजना बफेलो ईमिग्रेशन कार्यलयमा पुगे । त्यहाँ केही मित्रहरु भेटाए, कोही टिमाईबाट कोही गोल्धापबाट आएका रहेछन् । उनीहरू पनि त्यही ग्रीनकार्डकै लागि आएका थिए । केही गफगाफ गरेपछि फोन नम्बरहरू साटासाट गरे । अभरमा शत्रु पनि बोल्छ भने झैँ एक आपसमा भेट हुँदा कहिल्यै नदेखेका तर एकै स्थानमा एकै मुहारको संयोग हुँदा सबै एकै परिवारका भए । आ-आफ्ना कामहरू समाप्त: पारेर सबै जना घर फर्किए ।

एक हप्तापछि बिहानै फोन आयो गोरेको मोबाइलमा । गोरे प्रौढ़ स्कूलमा जान हतार गर्दैथ्यो र पनि कस्को हो फोन आएको भन्दै फोन उठायो ।
“हल्लो, हल्लो…..को बोल्नु भएको ?”
“म दाइ ! प्रिया, अस्ति क्याहो त ….बफेलो ईमिग्रेशन अफिसमा ग्रीनकार्डको लागि जाँदा हाम्रो भेट अनि गफगाफ भएको थियो नि बिर्सनु भयो कि !”
“ए,….अँअँ भन त, मैले त नाम पनि सेप गर्नै बिर्सेछु नि बहिनी ! त्यसैले गर्दा म झुकिएको हुँ अहिले । मलाई स्कूल जान अबेर भइरहेको छ र पनि केही छैन बसमा जाने हो आफूले कार किनेकै छैन भनन केही कुराहरू छन् भने ।”

“म तपाइँलाई माया गर्छु, त्यो भेटदेखि मेरो जीवनमा नयाँ बसन्त आएको छ । म विवाहित हुँ तर मेरो त्यो पति भनाउदा अति सोझो छ, केही गर्ने आँटै छैन सबै मैले नै गर्नुपर्छ । सुगर, पेसर, बादरोग आदिले ग्रस्त छ त्यो, त्यसैले तपाइँलाई बिन्ति बिसाएको हुँ । यहाँ काम गर्न नसक्नेहरूका लागि जीवन अन्धकारमय छ । तपाइँलाई पनि कति गाह्रो भइरहेको होला, किन कि तपाइँको पत्निपनि रुग्ण देखे अस्ति । त्यो अवस्थामा पुगेपछि एक पाखे भइन्छ अनि अति दु:ख बेहोर्नुपर्छ । त्यसैले दाइ ! एक बारको जीवन सुखमयमा बिताउनुपर्छ । मेरो कार लगायत केही रकम पनि संकलन गरेर राखेकी छु, घर किन्दा डाउनपेमेन्ट गर्न पुग्छ । मैले तपाइँ जस्तै पुरूषको अन्वेषण गर्न थालेकी मेरो उमेर सोह्रमा टेकेपछि हो । फेरि यहाँ अँग्रेजी बाहेक अरू भाषाको खैरातै छैन, त्यसले अँग्रेजी त के नेपाली पनि जान्दैन त्यसले । रातदिन औषधिको ख्याल गर्नुपर्छ सुकेको थाङग्रो जस्तो छ त्यसको शरीर पनि । जहिल्यै मेरा लक्ष्यहरू अपूरा नै छन् मेरो विनय स्वीकारी दिनुहोस दाइ ! हल मिलेन भने हल्लुँडो बलियातिर सारी दिन्छन् । म्याच नै भएन भने सँगै हिड्न पनि नसुहाउदो रहेछ । मलाई सबैले कुरीकुरी गर्छन् सँगै हिड्दा पनि अनि म मुख छोपेर हिड्ने गर्छु कहिले छुट्टाछुट्टै बसमा हिड्छौँ ।”

“बहिनी प्रिया ! म पनि स्कूलमा आइपुगे तिम्रो बिन्ति पनि सुने अति पबित्र छन् अनि एकले अर्कालाई माया गर्नु स्वाभाविक नै हो । हो, अहिले मलाई तिमीले हट्टकट्ट देखेर न्यानो कमल ओढाउदै छौ तर भोलि मपनि त त्यो अवस्थामा पुग्न सक्छु त्यतिखेर पुन: तिम्रो चाला त्यही हुनेछ अहिले जुन्छ अनि मैले के गर्नु प्रिया ! मैले पत्निलाई रोग्याहा देखेर चटक्कै बिर्सनु महा पाप हो । तिमीले पनि त्यसरी घृणा नगर विचारलाई ! तिम्रै आशामा ऊ बाचेको छ, रोग सबैलाई लाग्न सक्छ दीन सबैलाई आउन सक्छ । आगो पनि मैहुँ भन्छ सुकेको जंगल देख्दा तर जंगल सकिएको दिन तल माटो मै विलीन हुन पुग्छ निन्याउँरो भएर । भोलि कसैले पनि देखेका हुँदैनन्, एकदिन बाँचियो भने नौ लाख ताराहरू देख्न पाइन्छन् भने झैँ मैले गोरीलाई बचाउनुपर्छ जसरी भएपनि । म बाग्लुङतिर, सिक्किमतिर, गुजुराततिर काम गर्न जान्थे शिविरमा हुँदा तर मैले भन्दा पनि बेसी पैसा बनाउथी ऊन र टोपी बुनेर । म घरमा नहुँदा एक छाक पनि मीठो बनाएर खादैन थिइँ ।

एकचोटि म साह्रै बिरामी भएँ आम्दा, बिराटनगर र घोपा अस्पतालले बिदा दिए पैसा पनि थिएन त्यतिखेर तिनै गोरीको पैसाले उपचार गरेँ भारतमा गएर । अरू सबै परपरै सर्थे गन्ध भयो भनेर तर गोरीले आमाले भन्दा पनि अधिक माया गरिन । हिन्दी नजाने पनि केही मीठा-मीठा खाने कुराहरू बजारबाट किनेर ल्याउथिन । अहिले गोरी रोगी छे तर मैले माछो देख्दा भित्र हात सर्प देख्दा बाहिर हात गर्नु हुँदैन । त्यसैले बहिनी म तिम्रो अनुरोधबाट पर छु । मेरो उद्देश्य यही छ कि, हाम्रो प्राणपनि एकैदिनमा जाओस् भन्ने कामना भगवानसँग गरिरहन्छु । अँह गोरीलाई छोड्दिन म त । ल बहिनी ! बोल्दाबोल्दै बेसी नै पो बोलिएछ कि क्याहो ! दस मिनेट पनि बितेछ कलासमा पस्नलाई । ल त बहिनी आजलाई राखौँ होला फोन पनि ।

बहिनी…….! हल्लो…….. बहिनी ! बहिनी ! बहिनी ….! हल्लो ……ए…….फोन कहिले राखेछ, राखेछ ।”

One Reply to “माया यस्तो हुनुपर्छ”

  1. जे एन दाहाल

    मैले कथा पढें। एकदम सरल। सललल ऽऽ बगेको छ। तर प्रिया नाम गरेकी केटीले एकदिन ईमीग्रेसन अफिसमा ग्रीन कार्डका लागी जाँदै भएको चिनजानको भरमा यतिका यौनकुण्ठा फोनमा खोल्ने अलि सान्दर्भिक भएन कि?
    गोरेको आफ्नी पत्नी गोरी प्रतिको ईमान्दारीता एकदम सहिछ।उसको भावना कदर योग्य छ। मेरो विचारमा कथा अली लम्ब्याएर भेट अरु एकदुई पल्ट भए पछि उसले सो कुरा राख्दा कथा अलि सान्दर्भिक होला कि?

    प्रिया श्रीमान भएकी एउटी स्री।विवाहीत गोरेसंगको पहिले भेट पछि नै खर्रर आफ्ना कुरा कसरी भन्न सक्छे?
    कि ऊ फ्याले स्वभावकी आईमाई, जसले जिवनलाई हलुका सित लिने देखाउनु पर्यो। कि गोरे र प्रियाको नेपाल देखीनै पुरानो चिनजान हुनु पर्यो।

    विवाहित व्यतीसंग पहिलो टेलीफोन वार्तामा यतिका कुरा कसरी भन्न सक्छिन्? फेरी गोरेको पनि त्यस्तो सोच विचार छ या आफ्नी श्रीमती हुँदा हुँदै दोश्री हेरीरहेको एकखाले चरित्र उतार्नु पर्छ कि? यो सुझाव लेखकको भलो चाहाने शुभचिन्तकको मात्र हो। एक समिक्षकको हो। अन्यथा नलिनु होला!

Leave a Reply

Your email address will not be published. Required fields are marked *