म, तारा, ताराहरू

कवि
कवि

‘क्षितिजको मित्र’ प्रकाश धमला
एडलेड, अस्ट्रेलिया

औँसीको रात
फगत ताराहरू आकाशमा
चम्किरहन्छन्
सायद
मैँले देखेको त्यो पिलिक पिलिक
टाढा टाढा ताराहरूको चम्कावट
हजार वर्ष पहिलेको पनि त हुनसक्छ
अहिले ती ताराहरू नहुन पनि सक्छन्
मेरो प्यारो दाजु ‘तारा’ जस्तै
त्यो भूमंडल मात्र खाली खाली छ होला
शून्य शून्य छ होला
म जस्तै;
पूर्ण रित्तो दाजुको बिछोडमा

प्रिय साथीहरू
बिर्सियौ तिमीहरूले नि
ती भैलेनी रातहरू
बिर्सियौ तिमीहरूले
ती देउसुरे दिनहरू
सम्झना आउन छोडेछ क्यार!
आँगन भरी आशिष् लटरम्म फुलेको
हजुरआमाले दिएको सेलरोटि
बुढी होक्तो मिसाएको लालचिया
रात भरी बडेमाको हाफपेन्टको गोजीमा
मज्जाले चेपेर बोकेको
एक रुपियाँको ढक्की
र त
मलाई एक कल फोन गर्न सम्मको
सम्झना छैन
एउटा गोजी चिठी (एस एम एस ) सम्मको
सम्झना छैन
सायद तिमीहरू पनि तारा जस्तै भयौ होला
उहिले नै अस्ताइसकेका
जे होस् म भने तिनै पिलिक पिलिक हेर्दै
अहिलेसम्म बाचेको छु

साँच्चि
प्रिय साथीहरू,
वारि र पारिका, पूर्व र पश्चिमका
हिजो काग तिहार खबर आयो
सम्झनाको ढुङ्गा अझै हराएको छैन रे
त्यसैले म अझै जम्मा गर्दैछु
आँखामा आँसुको तलाउ
ता कि
कुनै दिन तिमीहरूको सम्झना डुबेछ भने
मेरा नानीहरू आउनेछन्
मेगा सर्चको लागि
अनि
म बनुँला तारा
औँसीको रातमा `तारा´ जस्तै
तिमीहरू बाँच्नु म जस्तै
यो कविताको हरफ जस्तै I

Leave a Reply

Your email address will not be published. Required fields are marked *