म शरणार्थीले “शरणार्थी” पढ्दाको बिचार
प्रतिमान सिवा
ओहायो, अमेरिका
२०५६ सालमा प्रकाशित कृष्ण धराबासीको उपन्यास “शरणार्थी ” सायद मेरै जीवन कहाँनिले भरिएको उपन्यास होला भन्ठानी मैँले त्यसलाई कहिल्यै पढ्ने जमर्को सम्म गरिन त्यस बेला । साँचै भन्नु हो भने जाँगर नै चलेन । आफूले दु:ख पाएको कथा, कुम्लो-कुटुरो च्यापेर राता-रात सिमाना काट्नु परेको कथा, आफ्नो भेष-भूषा लगाउन बन्देज गराइएको कथा, धर्म-संस्कृति मान्न नपाइएको कथा र पुस्तौंदेखि रगत र पसिनाले सिन्चिएको माटोबाट विदेशीको आभुषण पाएको कथा सुरु-सुरुमा त सोध्ने जति सबैलाई बेलि-विस्तार लगाएर सुनाउथेँ । आनन्द लाग्थ्यो आखिर कसैले मेरो व्यथा सुनिदियो भनेर । छाती हलुका हुन्थ्यो । त्यसमाथि सहानुभूतिका दुई शब्द कसैले बोल्दिए ठुलो ढाडस लाग्थ्यो । तर बिस्तारै यस प्रक्रियामा ह्रास आउँन थाल्यो । माईधार शरणार्थी शिविरका ती विकट दिनहरूमा कस्ता परिस्थितिबाट गुज्रेर आइयो भन्दा पनि अब कसरी जिउने, प्राण कसरी धान्ने, दुई छाक कसरी जुटाउने भन्ने कुरातिर ध्यान केन्द्रित गर्न बाध्य बनायो परिस्थितिले । न भूत न भविष्य नियाल्न सकेको थिएँ मैँले ती माईधारको शुरुवाती शरणार्थी जीवनमा । जयमाया जस्तो पटक पटक नभै जीवनमा पहिलो चोटि आफू बिल्लिबाठ भएको; शरणार्थी भएको अनुभव गर्दै थिएँ । सुरु-सुरुमा त कुनै नौलो, सुकिलो अनि हृष्ट-पुष्ट मानिसहरू देख्दा आफ्नो कथा-व्यथा सुनाउँ सुनाउँ जस्तो लाग्थ्यो कतै दुई छाक टार्ने स्रोत मिलिहाल्थ्यो कि भनेर । बिस्तारै परिस्थिति बिग्रँदै जाँदा र छाप्रै पिच्छे आँऊ-मासी र झाडा-पखालाले दिनानुदिन शरणार्थीहरु लासमा परिणत हुन थालेपछि, माई-बगरका प्रतेक छाप्रामा बियोगको बिलाप र रोदनले गुन्जायमान हुन थालेपछी अत्यन्तै बिरक्तिएको थिएँ म । यस्तो अवस्थामा एउटै कथा बारम्बार दोहोर्याउनु/तेहेर्याउनु पर्ने अनि त्यस बिच-बिचमा आउँने प्रश्नहरूको पनि सामना गर्नु पर्ने । सारै दिक्क लाग्थ्यो । बिस्तारै, शिविर बिभाजन भई सातवटा शिबिरहरुमा (केही मात्रमा ब्यवस्थित) स्थापित त भए तर कहीँबाट चार-आना आउँने स्रोत थिएन । उपन्यास किनेर पढ्नु त आकाशको फल आँखा तरी मर भने जस्तै थियो।
शरणार्थी उपन्यासमा पनि तिनै मैँले दोहोर्याई-तेहेर्याई भन्ने कथाहरुले नै भरिएको होला भनी अहिलेसम्म यो उपन्यास पढ्ने जाँगर चलेको थिएन । आज यो पुस्तक प्रकाशित भएर तेस्रो संस्करणसम्म आइपुग्दा लगभग १५-१७ वर्षपछि अमेरिका प्रवेश गरेपछि म शरणार्थीले यो ‘शरणार्थी’ पढ्ने सौभाज्ञ मिल्यो । त्यही पनि धराबासी सर यतै अमेरिकामै हुनुहुन्थ्यो र पुस्तक मगाउँन सजिलो भयो ।
अमेरिकाको व्यस्तता यस्तै हो । नियमित रूपमा काममा जानु पर्ने, केटा-केटीहरुलाई समयमा स्कूल ओसार-पसार गर्नु पर्ने अनि त्यसमाथि यो बुढेस्कालको पढाई धान्नै पर्ने । एक दिन धराबासी सरले एक्कासि टेक्स्ट (text) गर्नु भो, “भाइ, किताब पढेर सक्यौ?” अहो, म त झस्कें । किस्ताबन्दी हिसाबमा भए पनि कम्मर कसेर लागिपरें किताब पढ्नमा । मैँले सोचे जस्तो भूटानी शरणार्थीमाथि मात्र केन्द्रित नभएर सम्पूर्ण आम नेपालीहरू (हिमालका सन्तानहरु) विश्व भूगोलको विभिन्न देश, प्रान्त र क्षेत्रहरुबाट विस्थापित भई शरणार्थी भइरहेछन् भन्ने विषय-वस्तुलाई केन्द्रविन्दु बनाएर बडो कुसलताका साथ घटना र पात्रहरुको सम्योजन गरी बुनिएको विशाल कृति रहेछ यो ‘शरणार्थी’ उपन्यास । म नेपाली साहित्यमा रुचि राख्ने एक सामान्य पाठक अनि म स्वयम् शरणार्थी भएको हैसियतले यो ‘शरणार्थी’ पढिसकेपछि केही लेखौं जस्तो घमण्डी भावना ममा जाग्यो तर के लेखौं ? दश कक्षामा पढ्दा सामान्य विवेचना र सारंश अनिपछि दुई-चार फुटकर कविताहरू कोरे बाहेक लेखन विधामा/शैलीमा खासै कुनै विषयगत अनुभव र दख्खल नभएको हुँदा यो लेख कुनै समालोचना वा समीक्षा नभई म शरणार्थीले यो ‘शरणार्थी’ पढ्दा उत्पन्न विचारहरू लिपिबद्ध रूपमा तपाईँहरु माझ प्रस्तुत गर्ने जामर्को मात्र गरेको हुँ ।
सर्वप्रथम त यो विषय नै बृहत् छ । “शरणार्थी’ शब्द आफैमा विशाल र शक्तिशाली छ । यो शब्दले मान्छेको हैसियत, अस्तित्व अनि विश्वका राष्ट्रहरूको भूगोल, इतिहास र रणनीति/राजनीतिमा बेग्ला-बेग्लै हिसाबले प्रभाव पारेको छ । संसारका कुना-कुनामा, विभिन्न देश-महादेशमा, विभिन्न जात-जातिमा, विभिन्न कारण र परिस्थितिले मानिसहरू बाध्यतावश आफ्नो थातथलो, घरबार सबै छोडेर नाङ्गेझार भई शरणार्थी बन्नु परिरहेको छ म जस्तै । त्यहीमाथि नेपाली साहित्यको शिखर पुरुष कृष्ण धराबासी जस्तो प्राज्ञ व्यक्तिको कृति (जसले अठ्ठाइसौं कृति बजारमा ल्याइसक्नु भएको छ) । हात हाल्दै पोल्छ जस्तो ।
लेख्ने जमर्को गरी कापी-कलम लिएर दुई-तीन चोटि घोत्लिहेरेँ, केही फुर्दैन । कहाँबाट सुरु गर्ने अनि कहाँ अन्त्य गर्ने अन्योलले सताउन लागेको थियो । त्यसै बखत श्रीमती गनगन् गर्न थालिन् । “हैन, लेख्छु भनेर घोत्लेको तीनदिन भैसक्यो, केही लेख्नु हुन्न । लौ ! बरु यो नानी समाइदिनुहोस्, म खाना बनाँउछु । ” उनीले मभन्दा पहिले नै पढिसकेकी थिइन् ‘शरणार्थी’ अनि ‘ग्रेटफल्स्’ पनि । नानी समाउँदै मैँले भनेँ, ‘तिमीलाई म एउटा प्रश्न सोधौं ? यो उपन्यासको एक मुख्य पात्र जयबहादुरले किन विवाह गरेन ?’ उनी पनि छक्क परिन् ।
सुरुमै रामप्रसाद खनाल र उनको परिवारको दयनिय अवस्था र नेपाल प्रतिको प्रगाढ माया, श्रद्धा र गौरवले भरिपूर्ण अध्याय भित्र पसें । पहिलो अध्यायको पहिलो हरफ नै बडो शक्तिशाली लाग्यो । सम्पूर्ण उपन्यास नै बोले जस्तो भान भयो । उपन्यासको नाम आफैँ सारर्थक भएको ज्ञान भयो । उपन्यासकारको सरल प्रस्तुति, सरल भाषा, छोटा-छोटा वाक्यंश आदिले गर्दा कृति सबै स्तरका पाठकहरुले पढेर बुझ्न सक्ने खालको पाएँ । अझ यसमा धेरै दार्शनिक विश्लेषण, पट्यारलाग्दा विवरण र सम्वादहरु नभएका कारण पठनिय र रोचक पनि छ । सुरुमै भूमिकामा दान खालिङ्ज्युले उपन्यासका सबै पाटाहरुलाई केलाई-केलाई लेखिदिनु भएको हुँदा र उपन्यासकार स्वयमले उपन्यासको बनोट, पात्रहरुको परिचय, छनोट र स्रोतहरू सबै सबिस्तार लेखिदिनु भएको हुँदा पुरा नपढिकनै उपन्यास सबै बुझे जस्तो लाग्यो । त्यहाँ खुलाइएका स्रोतहरू मध्य तीनवटा बाहेक (तुराका नेपालीहरू, विगतका स्मृतिहरु र गङ्गा) अरू सबै पढिसकेको हुँदा पात्रहरु सबै चिनजान भित्रकै रहेछन्, झन् सजिलो भयो उनीहरूलाई पढ्न अनि बुझ्न । उपन्यास पढ्न सुरु गर्ने बित्तिकै मलाई एउटा घमण्डले सतायो । ‘ए ! यतिको त म पनि लेख्न सक्छु नि’, भन्ने सोच पलायो । तर जति पढ्ने क्रम बढ्दै गयो, त्यति अचम्म लाग्दै गयो । धराबासी त एक विशाल कम्प्युटर जस्तै लाग्न थाल्यो । विभिन्न लेखकहरुले भिन्ना-भिन्नै काल-खण्डमा एक-अर्का कृतिमा कुनै ताल-मेल र तादात्म्य नराखी लेखेर आफ्नो उद्देश्य पुरा गरी त्यतिकै बिल्लिबाठ पारेर छोडिदिएका पात्रहरुलाई टपक-टपक टिपेर ल्याई उनीहरूलाई भूमिका दिनुभएको छ । आफ्नो भूमिका पुरा गर्नका लागि उनीहरूलाई पूर्वाधारहरु तयार गर्दिनु भएको छ र सबै पात्रलाई ‘शरणार्थी’को कथा-वस्तुको मूलधारमा डोर्याउनु भएको छ । सायद यो मेरो पहिलो अनुभूति हो (पढाई हो) जहाँ पात्रहरु एउटा कृतिबाट जुरुक्क उठेर सोझै अर्को कृतिमा पस्छन् । कति ठाउँमा त पात्रहरु आफूलाई दिएको भूमिकाको घोर विरोध गर्दै लेखकसँग प्रतिवाद पनि गर्छन् । धराबासीजीले केही पात्रहरुलाई (जस्तै जयमाया, न्यासुरहरुलाई ) डोर्याउँदै अझ अर्को कृति ‘ग्रेटफल्स्’सम्म पुर्याउँनु भएको छ । यो एउटा नौलो लेखन प्रयोग जस्तो लाग्यो । रोचक पनि लाग्यो ।
आफ्नो देशको माटो छुँदा, त्यही पनि पितृभूमि नेपालको माटो छुँदा खुसीले छाती फुल्नु, माटोको सुगन्ध आउनु, लडिबडी गर्नु, माटो चाट्नु र आँखा रसाउँनु भनेको एकदम विशेष अनुभूति हुनु हो ।सबैलाई यस्तो अनुभूति हुँदैन । कुनै पनि चिज वा वस्तु जब आफूसङ्ग हुँदैन अथवा गुम्दछ तब मात्र त्यसको विशेष महत्त्व वा चाहना प्रकट हुन्छ । रामप्रसाद्ले पुस्तौंदेखि बर्मालाई आफ्नो देश ठानी रगत र पसिनाले सिन्चिए । त्यसको सुखानुभूति लिने बेलामा सारा सम्पति, घर-बार छोडेर नाङ्गेझार भई हिँड्नु पर्यो । तेसैले उनीमा नेपाल प्रति यति धेरै प्रेम जाग्नु स्वभाविक हो । यही अनुभूति नेपालमा भएका रैथाने मानिसले कदाचित अनुभव गर्न सक्दैनन् । किनभने उसले नेपाललाई गुमाएको छैन । एउटै काल खण्डमा उस्तै परिस्थितिबाट भएर गुँज्रदा पनि फरक-फरक व्यक्तिमा, व्यक्ति र उसको चेतना अनुसार यो अनुभूति फरक पर्दछ । सङ्गै आएको हरिले माटो जहाँको पनि उस्तै हुँदा पनि उनीहरू बर्माको नागरिक बन्न नसकेको प्रश्नले के बुझाउँछ भने जति रामप्रशाद भावनात्मक रूपमा नेपालप्रति गाँसिएका छन् त्यति हरि गाँसिएको छैन । नेपालमा शान्ति छ; नेपाल बाबु-बराजु जन्मेको ठाँऊ हो; नेपालबाट अब फेरि कहिल्यै भाग्नु नपर्ने जस्ता आदि-इत्यादि कुराहरू बाबु रामप्रसादको मुखबाट बारम्बार सुन्दा हरिलाई नेपाल एक परिलोक जस्तो, स्वर्ग जस्तो लाग्न स्वभाविक हो ।
भूटानमा पुस्तौंदेखि झाडी-जङ्गललाई फाँडेर हराभरा बनाई पसिनाको मूल फुटाएर सिन्चिएको माटोबाट त्यहाँको निरङ्कुश शाषकले गैर नागरिकको दर्जा दिएर देश छोड्न बाध्य बनाएपछि मेरा बुवाको हृदयमा जति घात भएको थियो त्यति मलाई भएन । मलाई अहिले आफ्नो मातृभूमि भूटानप्रति जति श्रद्धा छ त्यति मेरा छोरीहरुलाई छैन, कारण उनीहरूले भूटानको माटोलाई छुन, सुँघ्न र खेलाउन पाएनन् । त्यहाँको चौतारी-भन्ज्याङ्गसङ्ग मेरो जति आत्मियता छ त्यति उनीहरूमा छैन किनभने तिनीहरूको स्पर्श पाएनन् । यस्तै परिस्थिति र अनुभूतिले शरणार्थी शब्द बोल्दछ र व्यक्ति व्यक्ति पिच्छे शरणार्थी शब्दको गहनता फरक पर्दछ । उपन्यासमा मूल पात्र जयमायाले बर्माको जन्मभूमिबाट उखेलिएर विस्थापित भई शरणार्थी हुनुको चरम पीडा भोगेकी छन् । उनले जसरी बर्मालाई आफ्नो देश भन्न सकिनन्, त्यसरी नै भूटानलाई अनि नेपालालाई पनि आफ्नो देश भन्न सकिनन् । जयमाया त बर्माबाट विस्थापित भएर ज्यानलाई बचाउँने क्रममा र आफ्नो हृदयको राजा जयबहादुरलाई प्राप्त गर्ने उत्कट चाहना लिएर बग्दै जाँदा भूटान भूमिमा पुगेकी हुन्, तर ईस्वी सम्बत् १६१६ तिर गोरखाका राजा राम शाह र भूटानका जाब्ड्रुङ्ग दुवै पक्षबाट, ताम्रपत्रमा हस्ताक्षर गरी ससम्मान भूटान लागिएका हिमालका सन्तानहरु पनि शरणार्थी बन्न पुगेका छन् ।
रामप्रसाद खनाल र जयमाया-जयबहादुर आफ्नो देश नेपाल नै हो, अब नेपाल मात्र एक यस्तो ठाउँ हो जहाँबाट फेरि कहिल्यै देश छोडेर भाग्नु पर्दैन, शरणार्थी बन्नु पर्दैन र उनीहरूको एक मात्र लक्ष्य नेपाल हो; नेपाल प्रवेश गर्दा उनीहरूको सम्पूर्ण समस्याको समाधान हुन्छ भन्ने विश्वास लिएर हिँडेका छन् भने म लगायत सम्पूर्ण भूटानी शरणार्थीहरु भूटान नै मेरो देश हो, मेरा सम्पूर्ण अधिकारहरू पुनर्बहाली गरी एक दिन अवश्य भूटान फर्किनेछु भन्ने सङ्कल्प बोकेर शरणार्थी जीवनको सुरुवात गरेका थियौँ ।
पूर्वी-एसिया महाद्विप भरी नेपालीहरूको दुर्दशा यस्तै नाजुक रहेको कुरा र सम्पूर्ण नेपाली जातिहरु विविध कारणले प्रवासमा छरिएर रहेता पनि, जति नै प्रगति गरे ता पनि केवल नेपाल उनीहरूको सुरक्षा-स्थल हो, मातृभूमि हो, देश हो र सबैले नेपाल प्रवेश गरेपछि मात्रै यस्ता समस्याहरूको समाधान हुन्छ भन्ने चेतना लेखक लिलबहादुर छेत्री र ईन्द्रबहादुर राईले उनीहरू स्वयम पात्र भएर अन्य मूल पात्रहरुसँग सम्बाद गरी हामी पाठक बिच अर्जी गरेका छन् ।
यस उपन्यासमा दु:ख-कष्टहरु सङ्गै निस्स्वार्थ प्रेम र त्यागको अनुपम नमूना पनि छ । जयमाया, बार्था र जयबहादुरबिच त्रिकोणात्मक प्रेमको सन्जाल बनेको छ तर प्रेमिल तरङ्गहरु भने कति खेर त्रिकोणको कुन सतहमा कुन दिशातिर बहन्छ भन्ने कुरा समय र परिस्थिति सङ्गै तल-माथि भएको देखिन्छ । यो त्रिकोणमा बेला-बेला धक्का लगाउँने कार्य अर्का पात्र चन्द्रप्रकाशले गरेका छन् तर उनको प्रेममा त्यति धेरै घनत्व देखिएको छैन । जयमायाले कलिलो उमेरमै बर्मा छोडेदेखि लिएर खुदुनाबारीको भूटानी शरणार्थी शिविरसम्म नै उसको जीवनको उत्तरार्धका दिनहरुसम्म एकदम निस्स्वार्थ भावले जयबहादुरलाई प्रेम गरेकी छ । जयबहादुर पनि बेला-बेला दोधारमा देखिएता पनि आफ्नो सम्पूर्ण जीवनभरि जयमायालाई नै कुरेर उच्चकोटिको त्यागको नमूना बनेका छन् । सामाजिक रूपमा बार्थालाई नै श्रीमती स्विकारेर भूटानको साम्चीमा घरायासी जीवन व्यतित गरेका छन् तर हृदयले, मनले जयमायालाई नै चाहेका छन् भन्ने कुरो चन्द्रप्रकाशको प्रवेशपछि स्पष्ट हुन्छ । अहिलेको अत्याधुनिक समयमा हरेक घटनाहरू एकदम द्रुत गतिमा घट्छन् । झन् युवाहरुमा यौवन सम्बन्धी मामिलामा सेकेण्ड भरमा शारीरिक सम्बन्धमा पुग्छन तर यो शरणार्थी भित्र कस्ता कस्ता अनकण्टार अवस्थामा पनि उनीहरू शारीरिक रूपमा नजिकिएको देखिएको छैन । यौवन मानिसको जीवनको एक सबल र अपरिहार्य पाटो हो भन्ने जान्दा-जान्दै पनि यस विषयलाई यहाँ उठान गर्न जरुरत लाग्छ मलाई । उनीहरूले आफ्नो शारीरिक तृष्णालाई संयमले जिते कि ? आखिर पात्रहरु न हुन्, लेखकलाई पत्तै नदिई शारीरिक तृष्णाका तृप्तीहरु लिए कि भन्ने कुरामा कुनै अड्कलबाजी गर्न त्यति उपयुक्त नहोला । तर चन्द्रप्रकाश भने यौवन मामिलामा एकदम कम्जोर थिए भन्ने कुरा स्पष्ट उल्लेख छ ।
आयामेली साहित्य लेखनका कान्छा प्रबर्तकहरु ईन्द्रबहादुर राई, ईश्वरबल्लभ बराल र बैरागी काँईला द्वारा प्रतिपादित तेस्रो आयमबाट निखारिएर निस्केको अर्को विधा हो ‘लीला-लेखन’ । यस लीला-लेखनका प्रवर्तक ईन्द्रबहादुर राई हुन् । मलाई याद छ । सन् २००१ तिर हुनुपर्छ । म भद्रपुरको मेची बहुमुखी क्याम्पसमा विज्ञान विषय लिएर वि०एस्सी० गर्दै थिँए । त्यसताका श्री रत्नमणी नेपाल केमेस्ट्रीको ल्याब असिस्ट्यान्ट हुनुहुन्थ्यो । वहाँले एक दिन भाइहरुसँग कुरा गर्नुछ भनी चौरीमा हामी दुई-चार जनालाई जम्मा गरी यही लीला-लेखन बारे केही ज्ञान दिनु भएको थियो । पछि धराबासीजी द्वारा लेखिएको पुस्तक ‘लील-लेखन’ पढ्ने मौका मिलेको थियो ।
यस ब्रम्हाण्डमा जति पनि घटनाहरू घट्छन् सबै पूर्व निर्धारित हुन् । दोहोरिएर घट्छन् । हामीले कुनै कुरो पूर्ण रूपमा जान्दैनौं । सबै लीला हो, भ्रम हो । हामी सबै कसैद्वारा सन्चालित छौँ भन्ने कुरामा यस शरणार्थीका पात्रहरु आफैँ सचेत छन् । उनीहरू कसैद्वारा लेखिइरहेका छन् भन्ने कुरामा ज्ञात छन् । यो नेपाली साहित्य लेखनको पछिल्ला दिनहरूमा कृष्ण धराबासी नै यो लीला-लेखनका मुख्य योद्धा हुन् । यही लीला-लेखनका दर्शनले थिचिएर यस उपन्यासका कति पात्रहरु ग्रस्त छन् । प्राय अनिश्चितता बोल्छन् उनीहरू । दोधारहरु बोल्छन् । सायद यही लीला-लेखनको भारले थिचिएर होला जयबहादुरले विवाह गर्न नसकेका । एक ठाउँमा जयमाया भन्छिन्, “उनका कुरा मलाई दिग्दार लाग्दा खालका हुन्थे । तर किनकिन म जयलाई कुनै ज्ञानी जस्तो देख्थें । उनका बोलीमा कुनै गहिरो अर्थ र ध्वनी भए जस्तो लाग्थ्यो ।”
यसरी नै धर्मे भुजेल र गुमाने पनि लेखक लिलबहादुर छेत्रीसँग असहमत भएर प्रतिवाद गर्न पुग्छन् । मालतिलाई अनुचित अन्त्य गरेको आरोप लगाउँछन् । धर्मे भुजेललाई लिलबहादुर छेत्रीले बिस वर्ष अघि नै नेपाल जानु भनी लेखेका तर अहिले सम्म यतै भारतमै अल्मल्लिरहेको गुनासो गर्छन् छेत्री सर । उता न्यासुर, उनी र ईन्द्रबहादुर राई दुवै जना धराबासीद्वारा लेखिइरहेको कुरो बताउँछन् । । यही ढङ्गले शरणार्थीको अन्तिम भाग तिर पेलेको छ । प्राय जसो पात्रहरु लीला-लेखनको दर्शनलाई प्रस्तुत गर्छन् र यसैले उपन्यासलाई रोचक , जीवन्त र विशाल बनाएको छ । एउटा अद्वितीय कृति र प्रयोग जन्मेको छ । यस लीला-लेखन विषयलाई अझ तिखार्दै धराबासीजी नयाँ कृति ‘लीला-बोध’ लिएर बजारमा आइसक्नु भएको छ । लीला-लेखनका विधि, नियमहरू र अन्य ज्ञानले भरिपूर्ण ‘लीला-बोध’ पढिसकेपछि सायद यहाँ मैँले लेखेका कति कुराहरू गलत साबित हुनसक्छन्, ती सबै मेरा अल्प-ज्ञानका कारण हुनेछन् । अहिले नै क्षमाप्रार्थी छु ।
यस्तै नयाँ नयाँ ‘वादहरु’ वा विधाहरु/प्रयोगहरु दिनानुदिन लेखकहरुले पस्किरहेका छन् । ती मध्ये केही मैँले सुनेकाहरु हुन्:-
१) डेन्जोम साम्पाङ राईद्वारा प्रतिपादित ‘स्विकारोक्ति’
२) देश सुब्बाद्वारा प्रतिपादित ‘भयवाद’
३) (बैरागी काँईला/ राजा पुनियानी) ?? द्वारा प्रतिपादित (नेपाली साहित्यमा) ‘हस्तक्षेप लेखन’
यी विषयहरूमा मेरो कुनै विषयगत ज्ञान र अध्ययन नभएको हुँदा यस बारे म केही बकबास लेख्न सक्दिन ।
अन्तमा यो उपन्यास ‘शरणार्थी’ म शरणार्थीको कथा होइन भन्दा-भन्दै पनि, जयमाया र उनका पिता शिवजित राईले बर्मा छोड्ने बेलामा भएको सम्बादले, ती घटनाक्रमले र उनीहरूले रगत र पसिनाले सिन्चिएको ठाउँको वर्णन गर्दा म मेरै दैफाममा पुगेको छु । यदि मेरा बुवाले यो शरणार्थी पढ्नु हो भने उनकै चिराङ्ग पुग्ने थिए होला । पोका-पन्तरा कस्दा मेरी आमाले आदिसरो सामानहरू फालेको याद आयो । रामप्रसाद खनालको परिवार काँकढभिट्टाको बजारमा बिस्कुन झैँ फिँजिइँदा मेरै परिवार काँकढभिट्टाको सडक किनारमा बसी किक्लिक किक्लिक सुख्खा चिउरा निलेको याद आयो । यो पुस्तक पढिन्जेल सन् १९९० देखि सन् १९९२ सम्मको ; दैफाम भूटान देखि माईधार हुँदै बेल्डाँगीसम्मको याद आयो । यो मेरै उपन्यास, मेरै कथा रहेछ भनी स्वीकार गरेँ ।
पढ्ने क्रममा म स्वयम धने, धर्मे, न्यासुर, जयमाया, लिलबहादुर छेत्रीहरु सङ्गै साक्षात्कार भएर पात्रको भूमिका निर्वाह गरेझैं अनुभूति भयो । म आफैँ उपन्यास भित्र कतै बिलाए झैँ भयो ।