म हराएँ ‘इबरा’भित्रै

Pennsylvania, America

Bhakta Ghimire is one of the editors of Bhutaneseliterature.com.

भक्त घिमिरे
ओहायो, अमेरिका

 

मलाई थाहा छ, पाठकहरुले यो शीर्षक हेर्ने बित्तिकै ‘इबरा भनेको के चाहिं रहेछ ?’ भनेर आफ्नो मथिंगल हल्लाउने छन् । म पाठकहरुलाई त्यो दुःख दिन चाहन्न । इबरा भनेको नेपाली साहित्यको धरोहर बनेर गएका इन्द्रबहादुर राई हुन् ।

सन् १९२७ को फेब्रुवरी ३ का दिन खर्साङ नजिकै बालासन खोलाको बगरमा जन्मिएका इन्द्रबहादुर चाम्लिङ जसलाई संसारले इन्द्रबहादुर राई नामले चिन्यो, ती हामीलाई धर्ती जिम्मा लाएर गइसके । उनको नाम र व्यक्तित्वले दिएको अमूर्त छवि अब हाम्रा लागि विचार, मान्यता वा आदर्शको रूप लिएर बाँच्नेछन् । इन्द्रबहादुर राई, आई.बी. राईका अतिरिक्त शब्दशिल्पीहरुको एउटा जमातले उनलाई इबरा नाम पनि दिएको हो । यो इन्द्रबहादुर राई पूरा नामकै संक्षेपीकृत रूप हो । नेपाली साहित्यको सेरोफेरोमा उनी इन्द्रबहादुर राईको नामले प्रख्यातिमा आएका छन् भने अंग्रेजी साहित्यका साथै दार्जीलिङको स्थानीय परिबन्दमा उनी  आई.बी.राईको नामले चिनिएका थिए । तर, शब्दशिल्पी युवाहरुको घेरामा चाहिं उनी इन्बरा वा इबरा भनेर चिनिन्छन् । मैले यस लेखभरि आफ्नै सजिलोका लागि इबरा नै प्रयोग गरेको छु ।

इबरा जसरी जिये, जस्तो जीवन भोगेर गए पनि उनलाई हेर्नेहरुले अनेक रूपमा देखे । कतिले उनलाई बुझ्दै नबुझेर बीच बाटोमै छोडिदिए, कतिले बुझ्न खोजे र अलिअलि बुझे अनि कतिले उनलाई उनी स्वयंले भन्दा पनि अधिक बुझेर अतिरञ्जित व्याख्या गरे । इबराले जीवनको अन्तिम समयतिर हामीलाई दिएको साहित्यिक सन्देश पनि त्यही थियो, “बुझ्नै नखोज्नु, खोजेर पनि बुझ्दै नबुझ्नु, अलि अलि बुझ्नु अनि भएको भन्दा पनि धेरै बुझ्नु, सबै ‘लीला’ हुन् ।”

नेपाली साहित्यको एउटा विशेष कालखण्डको इतिहास- पुलिन्दा, उमेरको हिसाबले लगभग इबराकै समकक्षी नरबहादुर दाहालको भनाइमा इबराको साहित्यिक व्यक्तित्व दुइ भागमा विभाजित थियो, एउटा सबैले बुझ्ने इन्द्रबहादुर राई र अर्को, कसैले पनि नबुझ्ने आइबी राई । “अरु धेरैले इन्द्रबहादुर राईले लेखेको बुझ्दैन थे, मैलेचाहिं जीवनभरि इन्द्रबहादुर राईलाई नै बुझ्न सकिनँ”-इबराका हितैषी साहित्यकर्मी नरबहादुर दाहालको भनाइ हो यो ।  दाहाल सरसित पनि वर्षौं पहिले सिलगढीमै मेरो साक्षातकार भएको हो । त्यो संगत, सल्लाह र सहकार्यको मिठास जीवनमा फेरि अर्को स्रोतबाट पाइएला भन्ने पनि छैन । नेपालमा मविवि शाह र बी.पी. कोइरालाको पालादेखि हाम्रो पालासम्म आएर नयाँ पुस्ताका साहित्यिक गतिविधि हेर्न भ्याएका दाहाल सर अझै पनि चेतनाले तन्देरी नै छन् । इबरा निधनको लगत्तै सिलगढीबाट प्रकाशित हिमालय दर्पण दैनिकको मार्च १० अंक, पृष्ठ ६ मा ‘बुझिने इन्द्रबहादुर राई, नबुझिने आइबी राई’ शीर्षक दिएर छपाएको लामो लेखमा कथाकार तथा विश्लेषक नरबहादुर दाहालले यसो भनेका हुन् ।

साहित्यकार स्व० इन्द्रबहादुर राई
साहित्यकार स्व० इन्द्रबहादुर राई

सो लेखमा इबराको ‘आज रमिता छ’ उपन्यास कसरी जन्मिएको थियो भन्ने सविस्तार बयान पनि गरिएको छ । इबराका ‘आज रमिता छ’ उपन्यास र ‘विपना कतिपय’ कथासंग्रह दुवै सामाजिक यथार्थबोधमा केन्द्रित थिए । इबराले साहित्यमा सामाजिक यथार्थ चित्रण गरुञ्जेल उनी बुझिने खाले साहित्यकार इन्द्रबहादुर राई थिए । तर त्यसपछि तेस्रो आयामको ध्वजा लिएर हिँड्न थाले अनि अन्तिम चरणमा लीलालेखनमा आइपुग्दा उनी बुझ्दै नबुझिने आइबी राई बनेको लाक्षणिक व्यंग्यवाण कथाकार दाहालको लेखमा समेटिएको छ । इबराकै समक्षी कथाकार दाहालका अनुसार त्यतिबेलाकै नेपाली पत्रिका ‘अञ्जली’ मा ‘आज रमिता छ’ उपन्यास खण्ड खण्ड गरी छापिन्थ्यो । तर, तेस्रो अंकपछि अञ्जलीको प्रकाशन बन्द भयो । त्यसपछि कालेबुङ क्षेत्रको चियाकमान गोरुबथानस्थित ‘नवयुग नेपाली पुस्तक मन्दिर’ का अध्यक्ष हायमनदास राई र कथाकार दाहालको अगुवाइमा अञ्जलीमार्फत पाठकप्रियता कमाइसकेको उपन्यास ‘आज रमिता छ’, सन् १९६४ मा  पुस्तकको रूपमा पहिलो संस्करण छापिएको थियो ।

‘विपना कतिपय’ र ‘आज रमिता छ’ बाट सामाजिक यथार्थवादी धारको साहित्य बोकेर हिँडेका इबरा सन् १९७२ मा प्रकाशित उनको कृति ‘कथास्था’ (कथासंग्रह) मा आइपुग्दा आयामेली बनिसकेका थिए भने सन् १९८९ मा प्रकाशित उनको अर्को कृति ‘कठपुतलीको मन’ (निवन्ध संग्रह) मा आइपुग्दा आफू लीलाबोधको संवाहक भइसकेको कुरा इबरा स्वयंले बताएका छन् ।

सन् १९३५ मा दार्जीलिङस्थित सेन्ट रोबर्ट्स हाई-स्कूलमा शिक्षाग्रहणका लागि जीवनको पहिलो पाइला टेकेका इन्द्रबहादुर चाम्लिङ आजसम्म आइपुग्दा इबरा बनेर हाम्रो साहित्यको आधारभूमि तय गर्दै आकाशका तारा पनि बनिसके । ‘चाखलाग्दो हुनु कसरी?’ भन्ने भारती पत्रिकामा प्रकाशित लेखबाट साहित्यको यात्रा शुरु गरेका इबराले सामाजिक यथार्थवाद हुँदै तेस्रो आयाम र लीलालेखनसम्मको गन्तव्य तय गर्दै हामीलाई अध्ययनको क्षेत्रफल विशाल बनाइदिएर गए । भारतको नेपालीभाषी इतिहासमा इबरा लरतरा साहित्यकार होइनन् । सरकारी तौरमा दिल्लीमा साहित्य एकाडेमी स्थापित भएपछि नेपालीभाषीका सर्वप्रथम एकाडेमी अवार्ड पाउने इबरा नै हुन् । ‘नेपाली उपन्यासका आधारहरु’ नामक समालोचनामा उनले सन् १९७७ को सो सम्मान पुरस्कार पाएका थिए । तर, त्यही वर्ष तत्कालीन भारतीय प्रधानमन्त्री मोरारजी देसाईले नेपाली बोली र अक्षरलाई ‘विदेशी भाषा’ भन्दिएपछि आक्रोशित इबराले एकाडेमी अवार्ड सरकारलाई फिर्ता गरेका थिए । उनको यो कदमले भारतबासी सारा नेपालीभाषीहरुमा हलचल ल्याइयो । इबराको त्यही कदमले सन् १९९२ मा आएर नेपाली भाषाले संवैधानिक मान्यता पाएको थियो । हुन त इबरा नै भारतमा नेपाली भाषाको मान्यताको माग गर्ने प्रथम व्यक्ति होइनन् । तर, धेरैवटा कालखण्डहरु पार गर्दै जाँदा इबराकै लेखन, प्रकाशनको क्रमसँग विकसित संघर्षले आफ्नो न्यायिक आधारभूमि बढाउँदै गयो र माइला बाजे (रतनलाल ब्राह्मण)-देखि दिलकुमारी तथा नरबहादुर भण्डारीसम्मका सहयोद्धाहरु यो संघर्ष अभियानले प्राप्त गरेको थियो । आज नरबहादुर भण्डारी बितेको पनि केही वर्ष बितिसक्यो तर, नेपाली भाषाको भारतीय इतिहासले दिलकुमारी भण्डारी र नरबहादुर भण्डारी, इबराहरुलाई कहिल्यै पनि बिर्सने छैन ।

यसरी इतिहासमा विलिन भइसकेका इबरालाई स्मरणमा समेट्तै गर्दा मलाई नेपाली साहित्यकै अर्का होनहार हस्ती दान खालिङको पनि झल्झली याद आयो । सन् २००५, जून महिनाको ५ तारिख । आदरणीय गुरुवर दान खालिङले मलाई सिलगढीस्थित मेरै डेरामा फोन गरी भने,“भाइ, म इन्द्रबाहादुर राईलाई भेट्न जाँदैछु । तिमी जान्छौ भने तयार भएर मलाई खबर गर है ।” खालिङ सरको फोन आउनासाथै ‘हुन्छ’ भनिराखेर म इबराकै बारेमा सोचमग्न भइहालें । प्रकाश कोविदका अनेक बजारु उपन्यासहरु मैले पढेकै हुँ । सुवास घिसिङको सिगमण्ड फ्रायड मार्का ‘निलो चोली’ पनि पढ्न भ्याएकै हुँ । ती कतिपय पुस्तक पढेर कसैले पनि नेपाली साहित्यको वजन तौलने क्षमता हासिल गर्ने कुरै भएन । तर, मजस्तो सामान्य पाठकलाई पनि इबराको ‘आज रमिता छ’ उपन्यासले साहित्यको धरातल घिसिङको निलो चोली र प्रकाश कोविदका उपन्यासभन्दा धेरै अग्लो, चौडो र फराकिलो छ भन्ने निष्कर्षमा पुऱ्याइसकेको थियो । त्यस्ता लेखक तथा विचारकलाई भेट्न पाउने लालसाले मेरो मथिंगल हल्लाइरहेको थियो । हिउँदको बेला भए इबरा-लाई भेट्न सिलगढीकै सालबारी वा मेथीबारी पुगे भइहाल्थ्यो । तर जून महिना गर्मीयाम भएकोले हामी दार्जीलिङको लोचनगरस्थित इबराकै कान्छी छोरीपटिकी नातिनीको घरमा पुग्नुपर्ने थियो । खालिङ सर पनि कहिले नेपालको झापा र कहिले सिलगढीमै आफ्नी बहिनी नवमी खालिङको घरमा बस्थे । कहिले आफ्नै दाजुको घरमा रहन्थे ।

खालिङ सरले भनेजस्तै गरी म तयार भएर उनलाई सूचित गरें । हामी दार्जीलिङ मोडमा भेट भएर एउटा मिनिबसमा दार्जीलिङको बाटो लाग्यौं ।

बाटोभरि म इबराकै बारेमा सोचमग्न भएँ । त्यसो त मैले ‘जयमाया आफूमात्र लिखापानी आइपुगी’, कथाका सर्जक इबरालाई पहिले देख्तै नदेखेको भने होइन । सन् १९९६ तिर भूटानी शरणार्थीहरुले गरेको स्वदेशफिर्ती अभियानमा सहयोग गर्ने भारतीयहरुको समूहमा इबराको परोक्ष सहभागिता रहने गरेकै थियो । दार्जीलिङमा केन्द्र बनाएर भारतभरिका नेपालीभाषीहरुको अस्तित्व पहिचानका लागि गरिने हरेक संघर्षका वैचारिक सूत्रधारका रूपमा चिनिएका इबरालाई आजचाहिं म पनि, ‘जयमायालाई लिखापानीसम्म ल्याएर किन एक्लै छोड्नु भो’, भनेर प्रश्न गर्नेछु भन्ने सोच्तै रहें बाटोभरि । बर्माबाट आफूमात्र लिखापानी आइपुगेकी इबराकी जयमायालाई लीलालेखनका प्रखर उत्तराधिकारी कृष्ण धराबासीले आफ्नो कृति ‘शरणार्थी’ मार्फत लिखापानी (आसाम) बाट भूटान हुँदै झापाको शरणार्थी शिविर खुदुनाबारीसम्म ल्याइपुऱ्याएका थिए ।  त्यसपछि भर्खरै उनैले  ‘ग्रेट फल्स’ मार्फत जयमायालाई अमेरिका पनि ल्याइपुऱ्याएका छन् । यही क्रममा अनेक कृति, स्रष्टा र तिनका पात्रहरु सम्झिँदा सम्झिँदै साथमै बसेका खालिङ सरसित म बोल्न बिर्सिरहेको थिएँ । दार्जीलिङको मोटरस्ट्याण्ड पुगुञ्जेल खालिङ सर र म गाडीले घच्याक घुचुक गर्दा एकार्कालाई पुलुक्क हेर्नबाहेक केही पनि बोलेनौं ।

इबराको निबासमा पुग्नासाथ घर बाहिरको फाटकसम्म हामीलाई स्वागत जनाउन आइपुगे हाम्रो आस्थाका ती हिमाल पुरुष ! भित्र पस्तै गर्दा गुरुमा (इबरा दार्जीलिङका स्कूल र कलेजहरुमा शिक्षण गरिरहेका हुँदा उनलाई सर अनि श्रीमती मायादेवी रायालाई गुरुमा उनीहरु दुइलाई सबैले बोलाउने उपमा थिए) भित्र भान्सामा थिइन् । कुनाको टी टेबल छेउतिर संकेत गर्दै हामीलाई बस्ने अनुरोध भएपछि म र खालिङ सर बस्यौं । इबरा भान्सातिर यसो तन्किँदै कुन्नि के भनिराखेर हाम्रै छेउमा आई बसे ।

पुलुक्क खालिङ सरको अनुहारतिर हेरेको, उनले आँखैको चालले ‘कुरा शुरु गरौं’ भन्ने संकेत गरे । मैले पहिलो जिज्ञासा राखें,“खालिङ सर र तपाईं को जेठो ?” दुवैको चेहरा हेर्दैमा लाग्थ्यो उनीहरु उमेरको हिसाबले समकक्षी हुन् । वास्तवमा एकै महिनाले मात्र खालिङ सर इबराभन्दा पाका भएको तथ्य पनि त्यहीँ खुल्यो ।

इबराले मुस्कुराउँदै भने,“ऊ पारीको राई, म यता वारिको राई ।” सबै हास्यौं ।

इबराले प्रसंग तन्काउँदै भने,“मभन्दा पाको राईले खटेको कारण नेपालमा धेरै परिवर्तनहरु आइसके । सात साल, सत्र साल, छत्तिस साल र छ्यालिस साल ! केही अतिवाद, केही अन्योल हुँदा हुँदै पनि नेपालले सधैं प्रगतिकै दिशा समातेको छ । तर, उनीभन्दा कम उमेरको राई म भएको ठाउँ दार्जीलिङमा अझै स्वशासनको अधिकार स्थापित भएको छैन ।” यो इबराको हँस्यौली ठट्टा थियो तर, उतिकै गम्भीर पनि । वास्तवमा विसं २००७ मा बीपी कोइराला नेतृत्वको कंग्रेस परिचालित सशस्त्रविद्रोहमा बन्दुक भिरेरै दार्जीलिङको सुकेपोखरीबाट खालिङ सर पूर्वी नेपाल पसेका रे !  राणाविरोधी कंग्रेसको विद्रोह सफल भएपछि झापामा दान खालिङलाई कोइराला नेतृत्वको दलले प्रचार विभाग सुम्पेको कुरा इतिहासमा छ । ‘झापा दिग्दर्शन’ मा दान खालिङ सरको नेपालप्रतिको योगदान उल्लेख छ । यसका साथै सन् २०१६  मा खालिङ सरको निधनको लगत्तै डा.गोबिन्दराज भट्टराईद्वारा ‘मेरो गुरुका नाममा’ शीर्षक दिएर विसं २०७३ शनिवार, भदौ २५ को अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित लेखमा पनि खालिङ सरको जीवनीबारे विवरणहरु छन् ।

दार्जीलिङमा बसेर ‘पारीको’ भन्नाले नेपालको भन्ने बुझिन्थ्यो । तर, खालिङ सर नेपालमा बसेर पनि कहिल्यै असली हकवाला नेपाली बन्नै सकेनन् । खालिङ सरले नेपालमा इमानको जीवन जिउन नपाई अपमानित भएर मेचीपुल तर्दै गर्दा भनेका थिए रे,“मलाई मेरो शेषपछि मेची खोलामा ल्याएर जलाइदिनु, ताकि मेरो चिताको धुवाँ भारत र नेपाल दुवैतिर उडोस् ।” तर उनको निधनपछि दार्जीलिङमै उनको दाहसंस्कार गरियो । मरणोप्रान्त उनको अन्तिम इच्छा पनि पूरा हुन पाएन ।

इबरासँग साहित्यको विषय चर्चा गर्न गएको म कता खालिङ सरको जीवनीबारे पो घोर्रिन थालेंछु । खैर केही छैन, दान खालिङ सर पनि नेपाली साहित्यका लागि शिखर पुरुष नै हुन् । उनको जीवनी पनि छुट्टै अनुसन्धानको विषय बन्नेछ । अहिलेलाई इबरातिरै केन्द्रित बनौं ।

उताको राई र यताको राई भन्ने इबराको हँस्यौलीपछि जीवन र जगतका कुरा शुरु भए । त्यही बेला गुरुमा आफैंले भान्साबाट चियाको पेला ल्याएर टेबलमा राखीसकेकी थिइन् । खालिङ सर सदाझैं सामान्य भेटघाटका लागि गएका तर, म भने पहिलोचोटि इबरालाई भेटिरहेको हुँदा धेरै उत्सुकता ममै हुनु स्वाभाविक थियो । चियाको पेला समातेर कुरा खोतल्दै लगें । दुवैको पारिवारिक जीवनबारे कोट्याएँ । इबराले सहजै भने, “मैले २३ वर्षको उमेरमा बिहे गरें । हाम्रा दुइ छोरी र एक छोरा छन् । आज म जसरी इन्द्रबहादुर राई बनेको छु, यो सबै मायादेवी रायाको देन हो । उनी मेरो जीवनमा नआएकी भए म लेखक, समालोचक, कथाकार, सिद्धान्तकार इन्द्रबहादुर राई हुने नै थिइनँ ।” मैले पुलुक्क खालिङ सरको अनुहारतिर हेरें र भने,“एउटा कुरा भन्न चाहन्छु, गुरुमालाई मनमा चोट नपरोस्, नभई नभई भएको बुझ्नुपर्ने, भई भई पनि नभएको ठान्नुपर्ने लीला चेतनाका तपाईं आविष्कारक । लीलाबोधले भने अनुसार तपाईंको वैवाहिक जीवनमा पनि भ्रम छैन र ?” इबरा मज्जाले मुस्कुराउँदै बोले,“हुनु त हो, भाइले साँच्चै भन्नु’भो । दान खालिङले आजीवन सन्यासी भएर पनि मैलेजतिकै साहित्यको बिरुवा रोपेको छ ।” इबराले यसो भनिरहँदा मलाई के कुरामा अचम्म लाग्यो भने, मेरो मनमा खालिङ सरको अविवाहित जीवनकै विषयको कुराले चिमोटेर मैले उनको अनुहारतिर हेरेको थिएँ भन्ने कुरा ठ्याक्कै कसरी इबराले अनुमानको निशाना साधे ?

त्यसपछि मैले अर्को प्रश्न राखें । ‘लीलाबोध’ झल्काउने गरी लेख्ता कसरी लेख्ने ? यो लेखनधाराको आधार के हो ? मेरो प्रश्नपछि इबराले घोरिँदै झिम्झिम आँखा झिम्क्याए अनि विस्तारै बोल्न थाले । “मैले यो कुरा अरु पनि धेरैलाई भनेको छु । दार्जीलिङमा नेपाली भाषाको ऐच्छिक पढाइ हुन्छ । ऐच्छिक विषयको रूपमा आठ कक्षाको परीक्षा आउनै लाग्दा एक दिन मेरो नातिले उसको गृहकार्यमा सहयोग गर्न अनुरोध गऱ्यो । गृहकार्यमा मैले नै लेखेको ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ कथाबाट प्रश्न सोधिएको रहेछ । उसलाई त्यो कथा मैले लेखेको भन्ने पहिलेदेखि नै थाहा थियो । स्कूलका अरू विद्यार्थीले भन्दा राम्रो लेखेर मास्टरको स्याब्बासी पाउन हतारिएको मेरो नाति उत्सुक भएर मलाई हेरिरह्यो । मैले पनि निकै मिहिनेत गरी उत्तर लेखिदिएँ । मैले लेखेको दुरुस्तै सारेर नाति भोलिपल्ट बिहान हौसिँदै स्कूल गयो । उसले मास्टरलाई गृहकार्य देखाएछ । मज्जाले हेरेपछि मास्टरले ‘राइट’को सट्टा ‘क्रश’ दिएछन् । नाति मसँग खूब रिसायो । आफैंले लेखेको कथामाथि आफैंले उत्तर दिँदा त म ‘फेल’ भएँ । अब लीला-सिर्जना वा लीला लेखन यस्तै हुन्छ भनेर त्यसको आधार मैले तपाईंलाई कसरी दिउँ ? वास्तवमा लीला भनेकै यही हो ।” इबराको उत्तर पाएर म एक अंशमा नबुझ्नु पनि ‘लीला नै रहेछ’ भन्नेमा स्पष्ट भएँ अनि अर्को अंशमा थप प्रश्न सोध्ने ठाउँ नपाएर विलखबन्द पनि परें ।

प्रश्न सोध्ने सन्दर्भ र प्रसंगहरु नमिल्दा नमिल्दै पनि मैले धेरै जिद्धि गरी इबरालाई दिक्क लगाइरहें । ‘जयमायालाई आफू जन्मिएको देशमा बस्न पनि दिनुभएन; देश छोडेपछि एउटा टुंगोमा पुऱ्याएर थान्को पनि लाउनु भएन ! यो त कथाकारले नै अन्याय गरेको भएन र ?” यसो भन्दै मैले जिज्ञासु नजरले उनको अनुहारमा हेरिरहें । उनले त जयमायाका बारेमा कुरै नगरी कति सहजै भन्दिए,“जन्मथलो छोडेर भाग्नु भनेको पनि संसार चिन्नु हो । एकै ठाउँमा रहनेहरुले संसार बुझेका हुँदैनन् । संसार नबुझेकाहरुले मानवता पनि बुझ्दैनन् । देश छोड्नु भनेको घर छोड्नु जस्तै हो । हामी नोकरीको लागि कोही सेनामा जान्छौं, कोही अरु काम गरी कमाउन परदेश जान्छौं । परदेश भनेकै आफ्नो क्षेत्रफलभन्दा बाहिर हो । त्यो पनि कुनै न कुनै तरिकाले भागेकै हो । भाग्नु भनेको अध्ययन गर्ने अवसर हो । हुन त देश छोड्नु परेकोमा तपाईंहरुलाई दुःख लागेको छ, मलाई पनि थाहा छ । तर, भूटान देशमा रहिरहनेहरु भन्दा तपाईंहरुको केही पुस्ताभित्रै पुरानो जीवनस्तर फेरिनेछ, हेर्दै जानुहोला भाइ, तपाईंहरु पछिको पुस्ताले कहाँ हो कहाँ फड्को मार्नेछ अनि त्यसबेला पनि भूटानमै रहिरहेका हरुचाहिं चेतनाको हिसाबले तपाईंहरुसम्म पनि आइपुगेका हुने छैनन् ।” मैले जयमायाको बारेमा कुरा उठाएको थिएँ तर, यसरी आफ्नैं समाज र आफैंबारेमा भविष्यसम्म पुग्ने  हिमालजत्रो उत्तर पाएपछि चुप लागें । यस्तै कुरा गर्दा गर्दै कसरी कसरी विस्तारै म हराएँ इबराभित्रै !

भूगोलको सिमाना र राजनीतिको क्षुद्र छेकाबारले हामीलाई जहाँसुकै बाँडोस्, जतिसुकै वर्गीकृत गोलार्दहरुमा विभक्त गरोस्, इबरा र खालिङ सर दुवै हाम्रो साहित्यका महारथी थिए, हाम्रो मनकै धरोहर थिए । इबरा सामाजिक यथार्थवादी लेखनधारबाट विस्तारै उठेर आयामेली प्रवर्तक हुँदै लीलालेखनका स्रोत बनेका थिए भने खालिङ सरचाहिं मुख्यगरी शैक्षिक र अनुवाद साहित्यतर्फ  केन्द्रित थिए । आज हाम्रो साहित्यका  यी दुवै शिखरपुरुषहरु हामीबीच रहेनन् । सन् २०१६ को सेप्टेम्बरमा दार्जीलिङमै खालिङ सरको निधन भयो भने सन् २०१८ मार्च महिनाले इबरालाई पनि हाम्रा बीचबाटै चुँडेर लगिदियो ।

मार्च महिनाको ६ तारिखका दिन इबराको निधन हुँदा संसारीभरिको नेपाली जगत शोकमग्न त बनेकै थियो, इबराकै ‘तेस्रो आयाम’ साहित्यधाराका सहयात्री कवि वैरागी काइँलाले मार्च ९ मा भएको इबराको दाहसंस्कारमा आफूले जीवनभरि गलामा बाँधेर पहिचान प्रतीक बनाएको गलबन्दी उनको शवमाथि अर्पण गरेर दृश्यलाई अझ भावविह्वल बनाइदिए । साहित्यमा तेस्रो आयाम अभियानका तीनजना सहयोद्धा ईश्वरबल्लभ भट्टराई त पहिले नै बितेका थिए । अब रहेका इबराले पनि आफूलाई एक्लै पारेर गएपछि आफ्नो जीवनभरिको साथी बनेको गलबन्दी वैरागी काइँलाका लागि ठूलो भार साबित भएकोले त्यो पनि इबरालाई नै सुम्पिदिएको अड्कल धेरैले काटे । इबराको सो अन्त्येष्टिमा भूटानका नेपाली स्रष्टाहरुको तर्फबाट कवि तथा गजलकार याम थुलुङ पनि पुग्न भ्याएछन् । इबरालाई अलविदा भन्न संसारभरि छरिएका हामी सबैको प्रतिनिधि बनिदिएकोमा याम थुलुङलाई धन्यवाद दिन चाहन्छु । त्यहाँ उपस्थित थुलुङले कवि वैरागी काइँलाको गलबन्दी प्रकरणबारे कतिको बुझे, त्यो त हामीले बुझ्न भ्याएका छैनौं । तर, त्यसको खास रहस्य ‘मातेको मान्छेको भाषण’ कवितामार्फत आयामेली विचार पोख्ने कवि काइँलाले नै जानून् । वास्तवमा नेपाली साहित्यमा तेस्रो आयाम ल्याउने सूत्रधार वैरागी काइँला नै थिए । एक दिन अंग्रेजी कवि टिएस एलियटको कवितात्मक विचारमाछि छलफल गर्दै तीनजना आयामेलीहरुले तत्कालीन नेपाली साहित्य चेप्टो खाले भएको निष्कर्ष निकालेका थिए । त्यसपछि साहित्यमा लम्बाई, चौडाई आयतनसहितको सविस्तार व्याख्या जरुरी छ भन्ने आयामेलीहरुको एकमत निर्माण भयो । त्यस अभियानका अगुवा थिए इबरा । तेस्रो आयाम पनि ‘निर्थक नै रहेछ’ भनेर पछिल्लो समय उनी साहित्यमा ‘मिथ’ लेख्नथाले जसको नाम लीलालेखनले प्रख्यात बन्यो ।

मार्च ६ को दिन इबराको देहान्त हुनासाथ नेपालबाट लेखक तथा राजनीतिकर्मी विश्वभक्त दुलाल ‘आहुति’ले फेसबुकमा लेखेछन्,“राई नेपालका धेरै साहित्यकार, बौद्धिक र शासकहरूमाझ पनि चर्चित थिए, तर शोषित-शासित श्रमजीविको मुक्तिका सन्दर्भमा उनी कहिले पनि विषय, विचार र पात्रका रूपमा अगाडि आएनन् । गज्जब प्रतिभा, तर गलत विश्वदृष्टिकोणवाला लामो लस्करका एक यात्री- इन्द्रबहादुर राई ! उनीबाट शिल्प र प्रयोग सिकौँ तर, विचार हैन ।” लेखक आहुतिको इबरा उपरको टिप्पणीमाथि धेरै बहस भएका छन्, हुँदैछन्, अझै हुनेछन् । त्यसै पनि इबरा मार्क्सवादी लेखनधाराका आलोचक थिए । उनी साहित्य प्रगतिशील र अप्रगतिशील हुन्छ भन्ने कुरा सुन्नै नमान्ने । सन् १९८४ तिर ‘साहित्यको अपहरणः मार्क्सवादी प्रतिबद्धता’ पुस्तक लेखेर मार्क्सवादीहरुबीच खैलाबैला उठाइदिएका थिए । त्यो विचारोत्तेजक समालोचना पुस्तक हो, जसमा इबराले साहित्यलाई मार्क्सवादीहरुले एक पाखे बनाएर व्याख्या गरेको भन्दै आलोचना गरेका छन् । त्यसपछि नै मार्क्सेली लेखकहरूले इबराको खरो आलोचना गर्न थालेका हुन् । त्यसकै निरन्तरताको रूपमा आहुतिको फेसबुक स्टाटसलाई लिनसकिने लीलाचेतनाको उत्तराधिकारीका रूपमा उदाइरहेका आख्यानकार कृष्ण धरावासीले मसितको फोन वार्तामा बताए ।

इबराले ‘साहित्यको अपहरणः मार्क्सवादी प्रतिबद्धता’ पुस्तकमा लेखेका छन्,“प्रगतिवादले उत्तरोत्तर प्रगति गऱ्यो भने त्यो पार्टी कार्यालयमा छिर्छ, प्रगतिशीलले उत्तरोत्तर प्रगति गऱ्यो भने जनताको जीवनस्तर अध्ययन गर्नपुग्छ ।” तर, मार्क्सवादी नभई प्रगतिशील बन्नै सकिँदैन भन्ने बुझाइलाई इबराले ‘ठूलो भ्रम’ बताएका छन् । यद्यपि, समष्टिमा भन्नैपर्ने कुरोचाहिं के छ भने, सो पुस्तकमा आफैंले उठाएका सवालहरुमा इबरा अडिएका छैनन् भनेर धेरैतिर उनको आलोचना हुने गरेको छ । तर, आलोचकहरुले इबराको “कुनै सत्य पनि स्थायी छैन”, भन्ने लीलाबोधको मूल सार नै एक ठाउँमा वा एउटै विचारमा अडिग नहुनु हो भन्ने कुरातर्फ कतिको ध्यान दिए भन्नेचाहिं उनीहरु आफैं जानून् । यही चिन्तनधाराका प्रवर्तक इबरामा पनि त्यो सिद्धान्त लागू भयो त कुन अचम्मको कुरो भयो र?

अतः उनका आलोचकहरुले जेसुकै भन्दै गरे पनि मैलेचाहिं मेरो सारा चातुर्य खर्च गरेर घुमाइफिराइ मूल्यांकन गर्दा इबरामा सन् १९६० देखि २००५ सम्म एउटै स्थायी मूल विचारचेतना पाएको छु । एक क्षण इबराको वैचारिक स्थिरता वा निरन्तरता बारेको प्रसंग पनि उठाउँ है त !

सन् १९६० तिरै शिक्षक बनेका इबराले पढाउने विद्यार्थीहरुसित गरेका तर्कप्रसंगहरुबारे पिटर जे कार्थकले आफ्नो पुस्तक ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ मा लेखेका छन् । तत्कालीन नेपालको राजनीतिक उतार चढावमा मातृकाप्रसाद कोइराला, बीपी कोइराला र राजा महेन्द्रबीच घच्चा घच्ची चलेको कुरालाई इबराले कसरी व्याख्या गर्थे भन्ने कार्थकले यति धेरै मिठासपूर्ण तरिकाले प्रस्तुत गरेका छन्; पढिरहुँ लाग्छ । कार्थकका अनुसार त्यसबेला दार्जीलिङस्थित टर्नबुल हाइस्कूलमा इबरा कक्षा ९ र १० मा नेपाली पढाउँथे । नेपाली संगीतका अजम्बरी हस्ती अम्बर गुरुङ पनि त्यहीँका शिक्षक थिए । ईश्वरबल्लभ पनि त्यही स्कूलमा संस्कृत पढाउँथे । इबराले कक्षामा मातृका प्र. कोइरालाको कविता ‘ढुंगाको आत्मकहानी’ र बीपी कोइरालाको कथा ‘पवित्रा’ पढाउँदा नेपालबारे खूब जोसिएर टिप्पणी गर्थे । इबराको नामूद कृति ‘विपना कतिपय’ र इबराकै कतिपय वैचारिक प्रवृत्तिबारे आफ्ना भनाइहरु जोड्दै कार्थकले लेखेका छन्,“टर्नबुलमा हाइस्कूलमा पढ्न आएका नेपालका तीनजना विद्यार्थीहरु थिए । तर, हामीलाई नेपालबारे केही पनि थाहा थिएन । राई सरले नेपालको स्थितिबारे टिप्पणी गर्दै भन्थे,‘त्यहाँका राजा महेन्द्र गीतकार हुन् । अनि कवि र कथाकार कोइरालाहरु दाजु-भाइ हुन् । तर, यिनीहरु कहिल्यै मिल्दैनन् । पोएट्री पनि लेख्ने, पोलिटिक्स पनि गर्ने, यो सँगसँगै जाँदैन, मिल्दैन केटा हो ।”  धेरै लेख्नेहरु मिलेर चलाएको शासन झन् संसारमै नमूना हुनुपर्ने लाग्छ हामीलाई । तर, इबराको के बुझाइ थियो भन्नै सकिँदैन । नभन्दै इबराले त्यसो भनेको केही महिनाभित्र राजा महेन्द्रले नेपालको प्रजातन्त्रमा ‘कू’ गरेका थिए अनि कोइरालाहरु सुन्दरीजलको जेलमा पुगेका थिए । पिटर कार्थक टर्नबुल हाईस्कूलमा इबराकै विद्यार्थी थिए भने सन् १९६१ मा प्रकाशित इबराको कथासंग्रह ‘विपना कतिपय’ को प्रकाशन तयरीमा महत्वपूर्ण सहयोगी पनि थिए ।

कार्थकको भनाइबाहेक भारतमा बसेर नेपालको राणाशासन ढाल्न राजनीतिक अभियान सुचारु गर्ने साहित्यिक राजनीतिज्ञहरु सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा कोइराला र पारसमणि प्रधानको संसर्गमा आफू रहेको इबराले आफैं पनि स्वीकार गरेका छन् । यी तीनजनाको छोटकरी समूह नाम थियो ‘सूधपा’ । राणाशासनको अन्त्यपछि धरणीधर विसं २०१२ मा र सूर्यविक्रम विसं २०१३ मा नेपाल फिर्ता गए । दुइजनाको नेपाल फिर्तीसवारी सँगै समूह नामको ‘सू’ र ‘ध’ पनि सकियो, पा मात्र रह्यो । त्यसपछि पारसमणि प्रधान एक्लै भारत, भूटान र पूर्वतिरका अनेक क्षेत्रमा नेपालीभाषीका प्रेरक गुरु बनेर आजीवन कालेबुङमा बिताए ।

खालिङ सरसित  म गएकै बेलाको भेटघाटमा इबराले सुधपा समूह फुटेर सकिनुको सन्दर्भ भूटानसित तुलना गर्दै भूटानभित्र र शरणार्थी शिविरमा हुने संगीतकला, पत्रकारिता र व्यापार-वाणिज्य तथा विज्ञानको चर्चा मिसाएर भूटानी शरणार्थी नेतृत्वमा पनि कोही पुराना सरकारी कर्मचारी, कोही विद्यार्थी, कोही लेखक, कोही गीतकार र गायकहरु, उपन्यास लेख्ने र कथा लेख्नेहरु अगुवा भएकाले यसरी ‘सक्सेसफूल’ आन्दोलन गर्नै नसक्ने ठोकुवा गरेका थिए । यो प्रसंगमा उनले बोलेको वाक्य मलाई अहिले पनि झल्झली आइरहेको छ, “पढ्ने-पढाउने, गाउने र लेख्नेहरुबीच ‘अनकण्डिशनल’ सहकार्य हुनै सक्तैन । यी सबै विधाहरु एकले अर्कोलाई उछिन्नकै लागि हुन् । त्यसकारण यी तीन गुण भएकाहरु सँगै मिलेर दीगो तग्दै तग्दैनन् ।” उनको यो वाक्य र राजा महेन्द्र, मातृका प्र. कोइराला, बी.पी.कोइरालाबीचको माथापच्ची प्रसंगमा के अन्तर होला त ? अहँ, मलाई त केही पनि फरक लाग्दैन ।

त्यो त भयो पुरानो कुरो । अब नयाँ समयका पनि केही कुरा गरौं । सन् २००९ मा इबराले आफ्नो लेखनको अनुदित पुस्तक ‘गोर्खाज् इमाजिन्डः इन्द्रबहादुर राई ईन ट्रान्स्लेशन’ को विमोचन कार्यक्रममा बोल्दा, ‘अब हाम्रो साहित्यमा पनि प्रजातन्त्र आउनुपर्ने’ बताएका थिए । राजा, शामन्त, पूँजीपति शासक हुँदै सामाजिक चेतनाको विकासक्रममा लोकतन्त्र आइसकेको तर, साहित्यमा भने हामी अझै पनि राजा शासनकै जस्तो शामन्ती सोचमा रहेका इबराको दाबी थियो । साहित्यमा कोही पनि माथि र तल नहुने, कोही पनि कम वा बढी साहित्यकार नहुने, कोही पनि वरिष्ठ र कनिष्ठ नहुने उनको भनाइ थियो । यस्ता महत्वका सवालमा कसैले विमति राख्ने कुरै थिएन । तर, उनका कुरा कुन प्रसंगमा अमान्य हुन्थे भने,  सोहीबेला उनी ‘लेखक र चिन्तकहरु समाजका दैनिकीहरुसित अल्झिनु नहुने’ विचार पनि राखिहाल्थे । ‘गोर्खाज् इमाजिन्डः’ को विमोचनकै बेला बोल्दा पनि उनले लेखकहरु कोठाभित्रै रहनुपर्ने उर्दी बारम्बार गरेका छन् । कालेबुङका डा. हर्कबहादुर क्षेत्री,  दार्जीलिङका कानून व्यवसायी अनमोल प्रसाद, दोर्जी छिरिङ लेप्चाको अगुवाइ र व्यवस्थापनमा लण्डनका प्रेम पोद्दारले अनुवाद गरेको इबराका आठवटा कथा र दुइ निवन्धहरु समावेश अंग्रेजी पुस्तक हो ‘गोर्खाज् इमाजिन्डः इन्द्रबहादुर राई ईन ट्रान्स्लेशन ।’ यसको प्रकाशनपछि पनि इबराउपर वैचारिक आलोचना गर्नेहरुमा कुनै कमी आएन ।

दान खालिङ सरसित गएर फर्किएपछि पनि इबरासँग मेरो कैयौंपटक भेटघाट भयो । म स्वयंसित पनि इबराका सैद्धान्तिक चेतनामा मतान्तरहरु थिए । इबरा भन्थे,“लेख्नेहरु त कतै नहेरी, कसैको कुरै नसुनी…खुरु खुरु कुनामा पसेर लेखिरहनु पर्छ ।” म खूब विरोध गर्थें…‘जो, कसैको कुरै सुन्दैन, कुनाबाट बाहिर निस्किएर वस्तुस्थिति हेर्नै जान्दैन भने त्यसले के फुइयाँ लेख्छ ? साहित्यलाई समाजको ऐना भन्ने अनि समाजकै जीवनबारे हेर्न र सुन्न नचाहने हो भने त्यो कुरा कसरी साहित्य हुन्छ ?’ वल्लो कुर्सीमा बसेर म उनीसँग मुर्मुरिन्थें…उनी पल्लो कुर्सीमा बसेर साना आँखा झिम्झिम पार्दै, नबोली ठूलो कलाइको मगबाट रातो चिया सुरुप्प पार्थे । विस्तारै हामी सेलाउँथ्यौं अनि म नम्रतापूर्वक विदा मागेर हिँड्थें । अनि उनले गरेका कुराहरुलाई म सिर्जनात्क शैलीमा पत्रिकाहरुमा आलेख-रुपक बनाएर छपाउँथें । हामी जति नै नमिले पनि, जति नै झगडा परे पनि, उनले मप्रति राख्ने स्नेह र मैले उनीप्रति राख्ने श्रद्धाभाव कहिल्यै घट्थेन । जो साहित्यको एक सागर थिए, मैले उनलाई होच्याउने त कल्पनै भएन, उनले पनि मलाई कहिल्यै हेयभाव दर्शाउने शव्द-सम्बोधन गरेको सम्झना छैन । आज पनि मलाई ती भीमकाय चेतनापूञ्जका स्रोत इबरा र उनका हरेक शब्द-आशयहरुको झझल्को आइरहेको छ । म आफैंलाई प्रश्न गर्दैछु यतिबेला-“उतिबेला उनी गलत थिए कि म ?”

साहित्यकार, कवि, कथाकार अथवा तेस्रो आयामदेखि लीलालेखनसम्मका संवाहक इबराले जति लेखे पनि,  साहित्यिक फाँटमा जति नै संवाद चर्चा कमाए पनि आखिर ती सबैको प्रस्थानविन्दु  उनका दुइ कृतिहरु,‘आज रमिता छ’ (उपन्यास), र ‘विपना कतिपय’ (कथा संग्रह)-बाटै आलोकित भएर उठेको थियो । ‘आज रमिता छ’ र ‘विपना कतिपय’ नै सम्पूर्ण भारतीय नेपालीभाषी समुदायको दर्पणका रुपमा देखिएका नेपाली साहित्यमा लेखनधर्मिता सम्हाल्ने भारत तथा नेपालका लगभग सबै स्रष्टाहरुको मन्तव्य रहने गरेको छ ।

आज इबरा तेस्रो आयाम र लीलालेखनको बिउ रोपेर हाम्रो बीचबाट गए । नेपालतिर कृष्ण धराबासी, कृष्ण बराल, रत्नमणि नेपालहरु यस लीलाका उत्तराधिकारी बनेर लीलालेखनलाई हाँकिरहेका छन् । तर, भारततिर उनको यो वैचारिक धारालाई अघि लिएर जाने कोही पनि देखिएका छैनन् । सन् १९९० पछिको समयलाई हेर्दा ‘हस्तक्षेप’ नामबाट वैचारिक अभियानमा जुटेका मेचीपारीका जाँगरिला युवा सर्जकहरु, मनोज बोगटी, राजा पुनियानी, टीका भाइ, रुपेश शर्मा, सुवास सोताङहरु सबै इबराको वैचारिक विपक्षमा उभिएर प्रश्नहरुको थुप्रो लगाउने गर्दथे । उनीहरुका प्रश्नमा इबराले कतिको उत्तर दिन भ्याए, मलाई थाहा छैन । तर, सारै गम्भीर भएर सोच्नुपर्ने कुरो के छ भने, अबको पचास वा सय वर्षपछि के हुन्छ कसलाई के थाहा ? आधुनिक विज्ञानले ठिम्याएको खगोलशास्त्रमा यम (प्लुटो) पनि सदियौंदेखि एउटा ग्रहमा गनिएको थियो । यद्यपि, भर्खरैको एउटा अनुसन्धानपछि अब उसो प्लुटो ग्रहहरुको गणनाबाट हटेको छ । भारतीय साहित्यकार सम्पूर्ण सिंह कालरा (साहित्यमा गुल्जार नामबाट प्रख्यात) ले त प्लुटो ग्रहहरुको गणनाबाट हटेको बारेमा कविता नै लेखिसकेका छन् । जोहन डाल्टनको ‘अटोमिक थियोरी’, म्याक्स प्ल्याङ्कको ‘क्वान्टम मेकानिज्म’ अथवा ‘क्वान्टम फिजिक्स’ र आइन्स्टाइनको ‘रिलेटिभिटी’ सिद्धान्तले फेला पारेका निष्कर्षहरु त शताब्दिको अन्तरमा फेरबदल भइरहेका छन् भने भोलि गएर इबराले राखेका चिन्तनधाराहरु साहित्यमा कसो स्थापित नहोलान् भन्ने मतका पक्षधर साहित्यकारहरु पनि प्रसस्तै छन् ।

यसरी नेपाली साहित्यको वृहत् फाँटमा जताततै इबराको खरो आलोचना र अध्ययन दुवै प्रक्रिया सँगसँगै अघि बढ्दै आएका छन् । नयाँ पुराना सबैले इबराले नै साहित्यको एउटा युग हाँकेको तथ्यलाई सहर्ष स्वीकार गरेकै छन् । इबराको मृत्युसँगै एउटा कालखण्डको अन्त्य भएको कुरामा उनका समर्थक र आलोचक सबै एकमत छन् । उनका लागि संसार ‘लीला थियो’ तर, हाम्रो लागि इबरा ‘लीलामात्र’ थिएनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *