यस्तो नगरोस

एकांकी

नैनसिंह सारूमगर
रोचेष्टर/ न्यूयोर्क, अमेरिका

नाटककार

स्थान :- एउटा अस्पतालभित्र ।

समय :- बिहानको दस बजेको छ ।

(एकजना महिलालाई बोकेर बलेको प्रवेश)

बले : (काउनटरको झ्याल अगाडि पैसा गन्दै) सर नमस्कार ! म बले, रानीलाई लिएर आको । महिना पुग्यो तर नानी पैदा भएन अनि यहाँ आएकाे कति लाग्छ जम्मा खर्च हजुर ?

धने : ( यसो बलेलाई पिलिक्कै हेर्दै ) तँ रानीको लोग्ने हो ?

बले : होइन हजुर ! मेरी दिदी हो । भेना त अमेरिकामा हुनुहुन्छ अरे दिदीले भन्नुभएको ।

धने : बीस हजार लाग्छ ।

बले : (छक्क पर्दै) बीस हजार त छैन हजुर बीस हजार नौसय पचास मात्र छन् । हुन्छ हजुर ?

धने : हुँदैन, बीस हजार मैले घटाएर भनेको हो । तीन पावा मासु जोखेर चार पावाको पैसा लिए जस्तो लाग्यो ? अस्पतालमा त्यस्तो चल्दैन ।

बले : अहिले यति चाहिं समाई राख्नु न पचास रूपैयाँ केही छिन पछि म मिलाई दिन्छु हुन्न र ? दिदीलाई निकै साह्रो पारिसकेको छ तीन दिन भो बिमारले समाएको, पाँच जना ढाकरे दाइहरूलाई एक माउ गाई दिइकन सहयोग मागेर आका हजुर !

धने : हुँदैन चुनाबमा पाटी- पाटी लरे जस्तो होइन । मेरो खुसीले हुँदैन, के मेरो खल्तीबाट पचास चाहिं थपिदिनु भनेको हो तैंले ? भोटमा पो जति खर्च गर्न सक्यो उति आफूलाई फाइदा मिल्छ तर, यो त त्यस्तो होइन त …….

बले : त्यसो भन्न खोजेको होइन हजुर ! छ भने लगाईदिनुहोस म पछि तिर्नेछु, मेरी दिदीको ज्यान के ……पचास रूपैंयाका मात्र हो त हजुर ?

धने : हुँदैन भनेपछि हुँदैन । आजभोलि ज्यानभन्दा पनि पैसा ठूलो भएको छ । मान्छे मार्दा आठ हजार, भाले मार्दा दस हजार बुझिस ( धने झ्याल थुनेर निस्कन्छ )

बले : ( आँखाभरि आँसु पर्दै, दिदीलाई छाम्दै ) दिदी ! दिदी ! ! रानी दिदी !!!

रानी : ( झसंगै भएर ब्यूँझदै ) के अब भित्र जानु भाइ ? सबै मिलाई सक्यो काउनटरमा ?

बले : के भित्र जानु भन्नु हुन्छ दिदी ! पचास रूपैयाँमा कुरा नमिल्दा झ्यालै थुनेर जानुभयो मालिक । भेनालाई फोन गर्नुहोस दिदी ! कतै उठाईपो हाल्नुहुन्छ कि !

रानी : ( रुदै ) भाइ ! मैले कति लगाएं कल उठाउनु भएन । सात महीनासम्म त बेलाबेला गफ हुँदैथ्यो त्यसपछि त ……छैन । चार हजार सकें फोन गर्दा कार्ड किनेर त्यो पनि बाँकी गरेर । भेनाको भाइको नम्वर चाहिं छ मसँग, त्यसमा चाहिं फोन गरेकी छैन । जाने बेलामा मलाई दिनुभएको थियो मेरोमा लागेन भने यसमा गर्नु है भनेर । भेनाकोमा त नलगा भाइ ! खर्च मात्रै हुन्छ होला तर, यो नम्वर चाहिं मेरो भाइको हो भन्नुभएको थियो यसमा चाहिं लगा त कतै भगवान मिलिपो हाल्छ कि ….

बले : खै दिनु त ।

रानी : ई ला त ।

बले : ( नम्वर डायल गर्दै ) ल म कोसिस गर्छु । अँ जाँदैछ कल दिदी !

रानी : ( हर्ष हुँदै ) हो र……..!

बले : हल्लो यो मेचिगन अमेरिका हो ?

क्याभीन : (आँखा मिच्दै ) यो एरिजोना अमेरिका हो । कस्लाई खोज्नुभएको ?

बले : भेनालाई खोजेका हजुर !

क्याभीन : कुन भेना ? फेरि मलाई त्यति राम्रो नेपाली बोल्न पनि आउँदैन ।

बले : मेरी दिदी रानी लाने भेना हजुर !

क्याभीन : मलाई थाहा भएन । भोलि मेरो काम पनि छ त्यसैले म छिटो सुत्नुपर्छ आज ।

बले : किन नेपाली बोल्न आउॅदैन हजुर ?

क्याभीन : बा-आमाले नेपाली नबोल, नेपालीको मार्केट छैन भन्नुभयो अनि बानी लाग्यो ॲग्रेजीतिर । मेरो नाम राकेश हो तर यताको नागरिकतामा परिवर्तन गराएर क्याभीन राखिदिए । घरमा बोल्दा पनि ॲग्रेजी, काममा बोल्दा पनि ॲग्रेजी, आजभोलि त नेपाली विरानो लाग्न थाल्यो ।

बले : भाषा भनेका ठूला साना हुँदैनन् हजुर ! बाबाआमा जस्तै बराबर हुन्छन् कमिलोदेखि हात्तीसम्मका । त्यसैले त्यो कुरा गर्नु ठूलो भूल हो हजुर ! ए,………..ॲ……..भेनाले नेपालबाट अमेरिका आउॅदा यो तपाइॅको नम्वर दिदीलाई दिनुभएको रहेछ हजुर ! अनि कल गरेको नि ! आज मेरी दिदी अस्पतालको पेटीमा छटपट्टिरहनुभएको छ । नानी जन्मिनु नसकेर यहाँ ल्याएका छौं । भेना सम्पर्क विहीनमा हुनुहुन्छ । कसरी हुन्छ सहयोग गरिदिनुहोस हजुर !

क्याभीन : म यहाँको भेना चिन्दिनॅ, फेरि यहाँ आएपछि नाम पनि परिवर्तन, थर पनि परिवर्तन, ठाउॅ पनि परिवर्तन गरेका छन् सबैले । बाँस घारीमा ढुङ्गा हान्दा बाँसलाई लागे जस्तै मेरो नम्वर तपाइॅको भेनालाई परेको हो । मेरो सुत्ने समय पनि भयो केही छन् कि भन्नु सोध्नुपर्ने कुराहरू ?

बले : अनि हजुर ! मेचीगन चाहिॅ कता पर्छ नि ?

क्याभीन : निकै टाढो पर्छ । अनि भेनाको नाम चाहिॅ के हो ?

बले : एक्छिन है म दिदीलाई सोध्नुपर्यो । दिदी ! भेनाको नाम के हो ?

रानी : खै ….. खालि जिस्किनुहुन्थ्यो…. कहिले रामे, कहिले कामे, कहिले दामे, कहिले हर्के, कहिले फर्के, कहिले सर्के भन्नुहुन्थ्यो । म अमेरिका पुगेपछि साँचिक्कै मेरो आइडी कार्ड पठाउॅछु है भन्नुभएको थियो नि …

बले : हेल्लो हजुर !

क्याभीन : अँ, मैले सबै सुने दिदीका कुराहरू । त्यसरी सत्रवटा नाममा अब कुन सठीक भन्ने ? अनि फोन नम्वर छैन अरे भेनाका ?

रानी : छ नि हजुर भाइ ! म हजुरको नम्वरमा ट्याक्स गरिदिन्छु नि ला- अहिले नै ।

क्याभीन : छिटो ला दिदी ! समयले नेटो काटिसक्यो ।

रानी : बले भाइ ! यो नम्बर पठाई दे-दे ।

बले : हुन्छ ….एकछिन है हजुर ! … हेल्लो …आयो हजुर !

क्याभीन : आयो हजुर ! ए…..यो नम्वर त कुनै पनि मोवाइलको होइनन् त ! …… यो त बाटोमा राखेका फोनबाट गरेका रहेछन् मपनि यसमा त सहयोग गर्न सक्दिन । बाटोमा अभर पर्दा फोन नहुनेले केही पैसा छिराएर वा कार्ड नम्वर लगाएर गर्ने गर्छन् त्यहीबाट पो गरेका रहेछन् । अब यो नम्वरबाट कसै गरी पनि भेनालाई भेटाउन सकिदैन है हजुर हो …….., फेरि नाम पनि के हो के हो, फोन राख्नुहोला मपनि सुत्छु अब ।

बले : ए……ए…एक्छिन हजुर ! हेल्लो…..हेल्लो ….फोन राख्नुभएछ अब कसो गरौं दिदी ? रात पर्न लाग्यो । बास कता हो …. अस्पतालमा भर्ना लिएन । हजुरको अवस्था यस्तो छ । नौ तलामाथि कृत्रिम एपल फलाएकै काम गर्नुभएछ तपाइॅले । ए, एकैछिन् है दिदी….बुहारीले कल गरेजस्तो छ । हल्लो…हल्लो…

कुमारी : (झोकिँदै) यता मर्छस् कि, कि त्यहीं गाड्न आउँ…तँलाई….। सुत्नेबेलामा आँखा देखेन तेरो दिदीले अहिले सिनो भएर गाउॅ-गाउॅमा हिड्ने, कि तेरो हो त्यो पापी सुत्लो ? हो भने फर्किनुपर्दैन, होइन भने आज बेलुकासम्ममा आइपुग्नुपर्छ नि ….बुझिस्…….मर्न पछाका चिहाने गधा…….

बले : हल्लो….हल् ..लो……..कस्ता-कस्ता हुन्छन् नि……दसा लागेपछि फूलले पनि झुक्याउॅछन् भन्थे हो रहेछ ….।

रानी : के भन्नुखोज्नु भएको रहेछ बुहारीले भाइ ?

बले : (रातो मुहार पार्दै ) ए……..ॲ……खासै केही होइन रहेछ दिदी ! अनि दिदी यो घटना कसरी घट्यो भन्नुहोस त मलाई नडराईकन, नलुकाइकन ।

रानी : ( पेट मसार्दै, ऐय्या…ऐय्या भन्दै ) गोठालो जाँदाआउॅदा फेसबुक हेर्दै हिडें, केही दिनपछि एकजनासॅग जो आज तेरो भेना, उहाँलाई जोडे फेसबुकमा त्यसपछि कुरा चल्दै गए । महीनौ बितेपछि नेपाल संखुवासभातिर पनि डुल्ने, यता पनि आउने कुरा गर्नुभयो । नभन्दै आउनुभयो । दुईचार महीना बस्नुभयो । तॅ कतारमा थिइस त्यतिखेर । तैलें कराउॅछस् भनेर बुबाआमाले फोन गर्नु दिनुभएन । विवाह गर्नु छिटै आउॅछु अमेरिकामा मेलोमेसो मिलाएर भनेर हिडेका तेरो भेना पुन: फर्केर आउनुभएन । नानी पेटमा आएको खबर सुनाएं, राम्रो हो, नफाल्नु है, पाप लाग्छ भन्नुभयो । छ, सात महीनासम्म त यस्तै खाले फोनहरू आइरहे, गफ गर्दै गयौं तर मैले लगाउॅदा चाहिॅ पटक्कै नलाग्ले त्यतिखेर पनि, के जान्नु र फोनका विधिविधानहरू पनि । बिजी होला भनिठान्थे कामको बेला होला भन्थे । फोन गर्दा उठाउनु हुन्न त भन्दा कामले भन्नुहुन्थ्यो । अरे…..भाइ….! भाइ…! छैन त अघि यहीं थिइस् त …..म त सुनिरहेकै होला भनेर आँखा चिम्म गर्दै बोलिरहे । हे भगवान ! कसैले रातो सट, सेतो प्यान्ट लगाएको पुरूष देख्नुभएन हजुर ? ए हजुर ! हजुर !

मनुमाया : (सफा गर्ने महीला, रिसाउॅदै) ए…..बौलाही आईमाई जा, किन कराईरहेकी ? रात पर्यो । यहाँ राति बस्न मिल्दैन, उठ, म यहाँ सफा गर्ने ।

रानी : ए बहिनी तिमीले एकजना सेतो प्यान्ट, रातो सट लगाएका पुरुष देख्नुभएन ?

मनुमाया : छैन, हेर्न राखेकी थिइस ? उठ् जा यहाँ नबस ।

(घिसार्दै कार पार्किङमा निकाली दिन्छन्)

 

पर्दा खस्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *