वैदिक परम्परा, हिन्दू संस्कृति र सम्प्रदायहरु

Pennsylvania, America

Bhakta Ghimire is one of the editors of Bhutaneseliterature.com.

भक्त घिमिरे
ओहायो, अमेरिका

“…उदारचरितानां तु वसुधैव कुटुम्बकम्”, “सर्वे भवन्तु सुखिन” अथवा “बहुजन हिताय, बहुजन सुखाय”, को सन्देश बोकेर निरन्तर “तमसोमा ज्योतिर्गमयः” को मार्गमा अघि बढेको हाम्रो समाज आज कहाँ पुगेको छ भनेर निर्क्यौल गर्ने बेला भएन र ?

वर्णभेद, जातिभेद, वर्गभेद, सम्प्रदायभेद आदि कुराले हाम्रो समाजलाई आज कहाँ पुऱ्याएको छ भनेर सोच्ने, मूल्यांकन गर्ने, त्यसको निराकरणमा लाग्ने कहिले हो ? “सबै कुराको औषधि समय हो, समय आएपछि आफैं ठीक होला”, भन्दै कुरेर बस्ने कि त्यसतर्फको लक्ष्यमा केही गर्ने पनि ?

उदार हृदय हुनेहरुले यो सम्पूर्ण जगतलाई एउटा परिवार मान्दछन् । सबै सबैलाई सुखै सुख मिलोस् । अथवा एकभन्दा अधिकको हित चिताऊ, एकभन्दा बढीको सुखबारे सोच भन्ने माथिका सन्देशहरुको मर्म जो आज भइरहेको छ, त्यही हो त ? जुनसुकै बहानामा होस्, एउटा मानिसले अर्को मानिसमाथि गर्ने भेद सभ्य समाजको लागि कलङ्क हो । जसको कारण एउटा मान्छे अर्को मान्छेकाप्रति असंवेदनशील, दयाहीन मात्र बनेको छैन कि ऊ शत्रुसमान व्यवहार पनि गर्नथालेको छ । समस्त मानव जाति एउटै ईश्वरको सन्तान हो, धरणीमा जेजे हुँदैछन्, हुनेछन् सबै ईश्वरको निगाहमा हुन्छ भनेर वर्गरहित समाजको सन्देश दिने शास्त्रहरु काखीमा च्यापेर मानव समाजलाई सभ्य र दुष्टको नाममा, धनी र गरीबको नाममा, धर्मात्मा र अधर्मीका नाममा, शिक्षित र अशिक्षितको नाममा,छूत र अछूतका नाममा दिनदिनै फोहोरमा फालिँदैछ । पल पल जलाइँदै छ ।

धेरै समाजविद्वहरुले जातीयभेदको मूल कारण वेद र मनुस्मृतिलाई मानेका छन् । तर, वैदिककालमा जातिवाद थिएन र प्राचीन भारतमा छुवाछूत पनि थिएन भन्ने तथ्यहरु शास्त्रमै समेटिएका छन् । वैदिककालमा जातिभेद र छुवाछूत थिएन भन्ने कुरा पूर्वीय दर्शनका अध्येताबाहेक पश्चिमेलीहरुले पनि गरेका छन् । (Prof. Max Muller ले ‘Chips from a German Workshop’ भन्ने कृतिमा सो विषय प्रष्टै लेखेका छन् । [Vol. 11, P. 837)]  

 वैदिक सनातन परम्पराको बारेमा लेख्ने पश्चिमीहरुमा म्याक्समुलर एक्लै होइनन् । डब्ल्यू डी ब्राउनले पनि ‘वैदिक धर्मको सर्वोपरिता’ मा लेखेका छन्- “वैदिक धर्मले एउटैमात्र परमात्मालाई मान्यता दिन्छ ।” चार्ल्स कोलमैन ‘मिथोलजी अफ् हिन्दूज’ मा लेख्छन् -“आराध्य सत्ताको परिभाषा वेदहरुमा विभिन्न रूपमा व्याख्या गरिएको छ; जसले सबै चीज देख्तछ तर ऊ स्वयम् देखिँदैन, त्यही ब्रह्म हो ।”

दर्शन र सिद्धान्तको मूल्य एकातिर छ तर, हाम्रो समाज जुट्नभन्दा ससाना बहानाहरुमा छुट्न र टुट्नमै व्यस्त छ । छुट्न र फुट्नमा धेरै भन्दा धेरै ‘धर्म’ र ‘जात’ भनिने भ्रमहरुले योगदान गरेका छन् । चलन चल्ती वा संस्कार संस्कृतिको संकुचन र धर्मको विशालताबारे ज्ञान नभएका केही मानिसहरु भयंकर धर्मव्याख्याता बनेर, कोही धार्मिक संगठनका अगुवा बनेर व्यवहारिक रूपमा समाज भाँड्ने अभियानमा व्यस्त छन् । नेपाली समाज धेरै सम्पदाहरुले बनेको बहुसांस्कृतिक बहुधार्मिक र बहुभाषिक परम्पराको धनी समुदाय हो । तर, अन्य धार्मिक मत र सिद्धान्त भन्दा पनि समाजमा अधिकतम क्रियाशील हिन्दू संस्कृति नै देखिएको छ । त्यसकारण अरुको तुलनामा हिन्दूहरुकै कुरा बढी गर्नुपर्ने विवेचक, समीक्षकहरुको बाध्यता पाठकहरुले बुझ्नुहुने आशा लिएको छु ।

हिन्दू संस्कृतिमार्फत सनातन वैदिक परम्परालाई पालन गर्ने समुदायलाई मुख्यतः वर्णाश्रम धर्मी वा वर्णाश्रमको सिद्धान्त मान्ने समूहको रूपमा लिइन्छ । यद्यपि, यहाँ सिद्धान्त र व्यवहारबीच धेरै ठूलो खाडल छ । सिद्धान्तले के भन्छ भने “वर्णाश्रम धर्म अनुसार चार वर्णको शुरुमा शुद्रका रूपमा मानिसको जन्म हुन्छ ।” शुद्रले शुद्ध-आचरणमा रहेर ब्रह्माचर्य धारण गरी शिक्षार्जन गर्नुपर्छ । शिक्षा प्राप्तिपछि ब्रह्माचर्य पूरा हुन्छ । त्यसपश्चात गार्हस्थ वा गृहस्थ आश्रममा प्रवेश गरिन्छ । गृहस्थ भनेको जीविकोपार्जन वा कमाइको अभ्यास हो । जीविकोपार्जन र कमाइ भनेको शास्त्रीय मतमा वैश्यकर्म हो । त्यसपछि वाणप्रस्थ भन्ने आश्रमको शुरुवात हुन्छ । यो भनेको सामाजिक सेवा र राजकाजको परिपालन हो । यसलाई शास्त्रले क्षेत्रीय कर्म भनेको छ । अनि अन्त्यमा सम्पूर्ण जगतको लालन-पालन छोडी सन्यासाश्रममा जीवनले प्रवेश गर्दछ । सन्यासमा मानिसले जीवन र जगतबारे आफूले हासिल गरेको ज्ञान बाँड्दछ । यसलाई ब्राह्मण कर्म भनिन्छ ।

आजको युगिन समाजलाई हेर्ने हो भने यस धराका सम्पूर्ण मानव जातिले यही रोलक्रममा आफ्नो जीवनचर्या चलाएका छन् । सबै मानवजातिले यही विधिमा आफ्नो जीवनलाई परिपालन गरिरहेका छन् । तर, आफैंलाई वर्णाश्रम धर्मको प्रवर्तक मान्ने, वेदलाई आफ्नो मूल मार्गदर्शक शास्त्र ठान्ने समाजले आफूलाई कहिल्यै सम्पूर्ण मानव एक परिवारको रूपमा स्वीकार गरेको देखिएको छैन ।

वैदिककालमा यज्ञोपवीत संस्कार (ब्रतबन्ध) लाई अध्ययनको शुरुवाती समयका रुपमा मानिन्थ्यो । शुरुमा सबैका लागि प्रारम्भिक शिक्षा एकै किसिमको हुन्थ्यो जसमा ‘ब्रह्म’ अथवा आधारभूत चेतनतत्वका बारेको चर्चा पनि समेटिएको हुन्थ्यो । शिक्षार्जनको क्रममा बालबालिकाको गुण जसरी विकसित हुँदै जान्छ, स्वाभाव जसरी प्रस्तुत हुन्छ, सोही अनुसार उसको वर्ण अथवा सामाजिक दर्जाको निर्णय लिने काम उसलाई पढाउने गुरुहरुले नै गर्दथे । त्यसपछिको उसको अध्ययन भनेको निजको वर्ण अर्थात् वृत्ति अनुसारको कर्मशीलता अनुसारको विषयमा केन्द्रित हुने गर्दथ्यो । तर, समयकालमा यो वर्ण अथवा सामाजिक हैसियत वंशाणुगत बन्नपुग्यो, मानवीय वृत्ति र गुण अनुसारको उसको सामाजिक दर्जा तोक्ने औचित्य नै सकियो । त्यसपछि शिक्षाको कुनै तहमा मूल मानव चेतनतत्व र ब्रह्मज्ञानको चर्चा समाप्त भएर गयो । अहिले त शिक्षा होस् कि अन्यकर्म, सबैको  उद्देश्य कि अरुमाथि आफ्नो शासन लाद्ने अथवा कम से कम सहज रूपमा आफ्नो र सन्तान दर सन्तानको समृद्ध (मुनाफामुखी) जीविकोपार्जनको साधनमात्र बनिरहेको छ ।

सबैभन्दा पहिले ब्रह्मबारे जानकार व्यक्तित्वलाई ब्राह्मण भनिन्थ्यो । त्यो भनेको शिक्षित वा अर्कालाई ज्ञान बाँड्न सक्ने ज्ञानी व्यक्ति हो । तर, तेस्रो शताब्दीको गुप्तवंशीय राजपरम्परापछि यो गुणकारी व्यक्तित्व जन्ममा आधारित वंशज उत्तराधिकारीमा परिणत भयो । ज्ञान र योग्यताको प्रसंगै हरायो । यहाँसम्म कि ब्राह्मण शब्द यतिबेला बाहुन बनिसकेको छ तर, ब्राह्मणहरुले यो कसरी भयो भनेर अनुसन्धान गरेका छैनन् । त्यो अनुसन्धान गर्ने उनीहरुको ल्याकत पनि देखिँदैन । कसरी भने, त्यसप्रति उनीहरुको चासो पनि छैन । उहिले  पाध्याय भनेका शिक्षक थिए । पछि यो पदमा ‘उ’ उपसर्ग थपेर उपाध्याय बनाइयो । उ थपिनुको अर्थ पाध्याहरुमध्ये पनि आफू उच्च हुनु हो । अनि अंक गणनाबाट अन्तरीक्ष र धर्तीलाई रेखांकित गर्ने विद्वान ज्योतिषहरु जैसी बने । शासनले लादेको विभेदको बिउ छरिएपछि ठूलो र सानो भन्ने घमण्डको बिरुवा उम्रियो । जैसीले छोएको उपाध्यायले नखाने चलन शुरु भयो । क्षेत्रीभन्दा जैसी ठूलो र जैसीभन्दा उपाध्याय ठूलो भन्ने हावादारी बखान शुरु भयो । एकार्कामा छोइछिटो शुरु भएपछि छोएमा वा छोएको खाएमा जात जाने प्रथा शुरु भयो ।

वास्तवमा यो ठूलो र सानो भन्ने भावनाको विकास माथि भनिएको तेस्रो शताब्दीको गुप्तवंशीय शासन परम्पराबाटै आएको थियो । यसरी शासकहरुको कूटील राजनीतिक चातुर्यको शासनधर्म, कल्याणकारी सामाजिक व्यवस्थाको प्रतिपादक वर्णाश्रम धर्ममा नजाँनिदो पाराले संक्रमित भएको थियो । तर, त्यतिबेलाका कथित विद्वानहरुले त्यो संक्रमणलाई नियन्त्रण गर्नको सट्टा वर्णाश्रम धर्मकै अपव्याख्या गरिदिए । कर्णले द्रोणाचार्यबाट धनुर्विद्या सिक्न नपाउनु, एकलव्यले गुरुदक्षिणाको नाममा दाहिने हातको औंठो गुमाउनु आदि कुरालाई भाडामा पालिएका विद्वानहरुको त्यसबेला के हविगत थियो भन्ने स्थितिको उदाहरणका रूपमा लिन सकिन्छ । भीष्म पितामह र गुरु द्रोणजस्ता महापुरुषहरुले बारम्बार दुर्योधनको नून खाएकाले उसैको सोझो गर्नुपरेको दुखेसो पोखेका छन् । यो सन्दर्भमा विष्णुपुराण र महाभारतमा समेत उल्लेख ऋषि जमदग्नि, उनका पुत्र परशुराम, राजा सहस्त्रार्जुन, त्यसपछिको ‘धर्मसंसद’, ऋषि र राजाहरुबीचको युद्धबयान आदि प्रसंगलाई नमूनाका रूपमा लिन सकिन्छ !  सामान्यतः राजा पक्षलाई क्षेत्री र ऋषिपक्षलाई ब्राह्मण भनिन्थ्यो । तर,त्यस्ता भयानक युद्धको क्रममा को को ब्राह्मण रहे अनि को को क्षेत्री बने भनेर टुंगो गर्न साध्य नै थिएन । कुरो जे भए पनि शास्त्रीय आधारमा यो पद थियो, वंशजसत्ता थिएन ।

शास्त्रीय व्याख्या अनुसार ब्राह्मणका आठवटा तहहरु छन् ।

१. ब्राह्मण जो कुलको आधारमा ब्राह्मण भए पनि कर्मले छैनन् । तिनलाई “मात्र ब्राह्मण” भनिएको छ । कुलमा जन्म लिएको आधारबाट वंशावली पद धारण गर्ने परम्परा राजाको छोरो राजै हुन्छ भन्ने संस्कारबाट विकास भएको हो जसमा योग्यता र गुणको कुनै गुञ्जायस रहँदैन । आजका अधिकांश ब्राह्मणहरु ब्राह्मणोचित संस्कार, वैदिक ज्ञान र शुद्ध धार्मिक आचरणबाट टाढा तर, यशभोग र मुद्रार्जनमा आशक्त भइसकेका छन् । शास्त्रको नीतिगत व्याख्या छोडी छुवाछूत, वर्गभेद, सम्प्रदायभेद जस्ता मानवताविरोधी अभ्यास अपनाएर समाजमा विखण्डन पैदा गराइरहेका छन् । यस्तो गुण भएकाहरु “मात्र ब्राह्मण” अथवा नेपाली बोलीचालीमा ‘बाहुन’ हुनसक्छन् । यस्तो गुणलाई शास्त्रमा “राक्षसी ब्राह्मण गुण” भनिएको छ ।
२. स्त्रोत्रीय ब्राह्मण : स्मृति सिद्धान्त अनुसार कोही पनि व्यक्ति वेदको कुनै एक शाखालाई कल्प र षष्टांगसहित पढेर ब्राह्मणविधि अनुसार षट्कर्म गर्छन्, ती स्त्रोत्रीय ब्राह्मण हुन् ।
३. कुनै पनि व्यक्ति (जात वा वंशको आधारमा नभई अध्ययनको आधारमा) वेद वेदांगको तत्वज्ञान जान्दछ, शुद्धचित्तले श्रेष्ठ मानवीय आचरण गर्दछ, स्त्रोत्रीय विद्यार्थीहरुलाई पढाउने काम गर्दछ र अरु सर्वसाधारणले पनि विद्वान मान्दछन् भने, उसलाई ‘अनुचान’ भनिएको छ ।
४. विशेषणले अनुचान बनेर पनि यज्ञ र स्वाध्यायमै निर्लिप्त हुने इन्द्रिय संयम व्यक्तिलाई ‘भ्रूण’ भनिएको छ ।
५. जुनसुकै व्यक्तिले सबै वेदहरु, स्मृतिग्रन्थहरु अनि लौकिक विषयमा समेत पूर्ण ज्ञान हासिल  गरेर मन र इन्द्रियलाई वशमा राखी आश्रममा सधै ब्रह्मचार्य पालन गरी बस्छ, उसलाई ‘ऋषिकल्प’ भनिएको छ ।
६. जो विद्वान व्यक्ति सम्यक आहार-विहार आदि गर्दै ब्रह्मचारी रहेर सबै शंका-उपशंकाबाट टाढा हुन्छन् अथवा जसको वचन र कार्यमा एकरुपता हुन्छ वा जस्तै आपत-बिपत सामना गर्न पनि समर्थ हुन्छ, यस्ता सत्यप्रतिज्ञ महात्मालाई ‘ऋषि’ भनिएको छ ।
७. जो मानिस निवृत्ति मार्गमा चलेको छ, सम्पूर्ण तत्वहरुको ज्ञान हासिल गरेको छ र ध्यानमा निष्ठ भई इन्द्रिय आकर्षणहरु समेत जितेको छ भने यस्ता सिद्धपुरुषलाई ‘मुनि’ भनिएको छ ।
८.  ईश्वर तत्वमा विश्वास राख्ने, वेदहरुको सांगोपांगो ज्ञान लिएर अरुलाई दिने, ब्रह्मज्ञानको मीमांसा गर्ने, सरल, शान्तिप्रिय, सत्यवादी र दृढ व्यक्तित्वलाई ‘ब्राह्मण’ भनिएको छ । किसिम किसिमका तान्त्रिक विद्या, टुना, जादू, पूजा-पाठ र पौराणिक कर्महरु छोडेर वेदमा उल्लेख विश्वहिताय सत्चरित्रमा जो अडिन्छ त्यही नै ब्राह्मण हो भनिएको छ ।

यस विधि अनुसार मूल्यांकन गर्ने हो भने हाम्रो समाजमा कोचाहिं असल ब्राह्मण होलान्, जोकसैले अनुमान लगाउन सक्छन् । जताततै “मात्र ब्राह्मण” हरुको विगविगी छ समाजमा । समाजको यो हालत हुनुमा ब्राह्मण भनेर औंल्याइएका मानिसहरुको मात्र कमजोरी होइन । यसमा ब्राह्मणको कुलीन हैसियत उपभोग गर्ने वा ब्राह्मण गुण र योग्यतालाई नभएर ‘बाहुनको वंशजलाई’ परम्पराको टेवा बनाउनेहरु समेत दोषभागी छन् ।

खासगरी शास्त्रीय परम्परामा यो पदीय भेद यसरी सिर्जना भएको थियो । वैदिककालको आरम्भमा एउटा वेद पढ्ने ब्राह्मणलाई पाठक भनिन्थ्यो । दुइवटा वेद पढेकालाई द्विवेदी भनियो । धेरै समयपछि त्यही द्विवेदी शब्द दुबे बन्यो । यसरी नै तीनवटा वेद पढेकालाई त्रिवेदी भनियो जो आज भारतमा त्रिपाठी र नेपालमा तिवारी बनेका छन् । यही क्रममा चारवटै वेद पूरा पढेकालाई चतुर्वेदी भनिन्थ्यो जो अहिले भारतमा चौबे थरबाट चिनिन्छन् । यसै गरी शुक्ल यजुर्वेद पढेकालाई शुक्ला भनियो भने चारै वेद, पुराण र उपनिषदका ज्ञातालाई पण्डित भनियो जो समयको अन्तरालमा पाण्डेय, पाँडे, पँडिया हुँदै पाध्याय बन्नपुगे र आज उपाध्याय बनेका छन् ।

त्यतिबेला यसरी निष्कलंकरूपमा विभाजित यो पदीय जिम्मेवारी आज गएर समूल विभेदको साधन बनेको छ । बाहुनभित्रै उपाध्याय र जैसीको भेद कालो बादलझैं समाजमा मडारिएको छ । उपाध्यायले जैसीलाई आफन्तको नाता पनि लाउन मान्दैन । जातबाट झरेको भनेर जैसीले छोएको उपाध्यायले खान हुन्न भन्ने भ्रम पालिएको छ । बाहुन र क्षेत्री (ब्रह्मण र क्षेत्रीय) बीचको विभेद पनि कहाली लाग्दो छ । त्यसबाहेकका अन्य वैश्य र शुद्रका वर्णाश्रमबारे कुरै नगरौं । वर्माश्रम परम्परा समाजलाई क्रियाशील बनाएर उन्नति गर्न लायक भएकोले यसको प्रभावदेखि डराएर वर्णाश्रम मान्नेहरुबीचमै फुट पैदा गराउँदै समाप्त पार्ने र आफ्नो वंशज अवधारणा हाबी गराउने वंशजसत्ताका पक्षधर गुप्तवंशीहरुले लक्ष्य राखेका थिए । करीब करीब ३ सय वर्षको गुप्तवंशीय शासनमा केही स्मृतिग्रन्थ, केही नीति शास्त्रहरुमार्फत त्यही फुट्को बिउ छरियो, आजसम्म त्यही चलेर आएको छ । कुरो यतिसम्म कि बारम्बारका राजपरम्पराहरुको प्रभावले अचेल पाइने वेदका पुस्तकहरुमा पनि अनेकौं संशोधन भइसकेको भनिन्छ ।

त्यस्ता प्रभावहरु संक्रमित भएपछि पौराणिक पदीय हैसियतलाई तथ्यगत, मिहिनरूपमा अध्ययन, अनुसन्धान र समीक्षा नगरी जातीय दर्जामा टुक्रिँदै एउटै समुदायका, एउटै सम्प्रदायभित्र पनि भेद उपभेदहरु पैदा गराएर हिन्दूहरुले आफैंलाई विभिन्न तहमा वर्गीकरण गरिरहेका छन् । एकले अर्काको सत्तोश्राप गरिरहेको छ । एउटा भन्दा अर्को वीर भनेर रडाको मच्चाएको छ । अर्कोभन्दा आफूमात्रै सद्दे धर्मको ज्ञान भएको दाबी गरेको छ । आफ्नो चिन्तनमार्गले मात्र सोझै स्वर्ग लाने र अरुका मार्गले बिचैमा अलपत्र पार्ने, पुग्नैपर्ने वैकुण्ठ धाममा नपुगिने जस्ता विभिन्न अडकलबाजी गरेर समाजलाई इकाई र गुटहरुमा फुटाउँदै लगिएको छ । एउटै श्रीमद्भागतको कथावाचन गरेर पण्डितहरु श्रीवैष्णवलाई वैकुण्ठ धाम, निम्बार्कीलाई गोलोकधाम र प्रणामीहरुलाई परम्धाम पुऱ्याइदिन्छन् । यसरी नै अरु अरु सम्प्रदायका कुरा पनि अघि बढ्दछन् ।

आफ्नै समाजका बारेमा यति खिन्नता अभिव्यक्त गरिसकेपछि धर्म नामका यी सम्प्रदायबारे पनि केही कुरा त राख्नैपऱ्यो । अतः आदरणीय पाठकहरुको अनुमति माग्दै म यहाँ हाम्रो समाजमा चलेका हिन्दूभित्रका मूल मत वा सम्प्रदायहरुको प्रसंग उठाउन चाहन्छु । हिन्दूहरुकै बगालमा अनेकौं मत र पन्थहरु भए पनि हाम्रो समाजका हिन्दूहरुले आफैंलाई मूलरूपमा तीनवटा समूहमा विभाजित गराएका छन् । उनीहरुले आफैंलाई वैष्णव, शैव र शाक्तका रूपमा छुट्याएका छन् । तर, यी मतहरु धार्मिक ज्ञानका आधारमा नभई मुख्यतः जन्ती र मलामी भेला गर्ने माध्यमका रूपमा बढी प्रयोग भइरहेका छन् ।

धार्मिक मत वा सम्प्रदायकै बारेमा कुरा उठिसकेपछि ती मतहरु समाजको अभ्यासमा कसरी आए भन्ने चर्चा पनि जरुरी भइहाल्यो । अब त्यसतर्फ लागौं ।

वैष्णव मतः पुराण पुरुष विष्णुलाई ईश्वरको रूप मानेर पूजन गर्ने सम्प्रदाय । 

विष्णुको सर्वप्रथम उल्लेख ऋगवेदमा पाइएको छ । विष्णुलाई मुख्य देवता मानेर गरिने धार्मिक परम्परालाई भागवद् (भागवत्) अथवा पाँचरात्र धर्म पनि भनिन्थ्यो । भागवद्को उपदेशमा नारायण (विष्णु) वा कृष्णको पूजा गरिन्छ । यस कुराको विस्तारपूर्वक उल्लेख छान्दोग्य उपनिषदमा छ । कृष्णलाई देवकी पुत्र अनि ऋषि अंगिरसको शिष्य बताइएको छ । कृष्णलाई भगवानको रूपमा पुज्न थालिएको प्रसंग पाणिनीकृत “अष्टाध्यायी” मा उल्लेख छ । अष्टाध्यायी नामक सो ग्रन्थमा कृष्णलाई वासुदेव र उनका पूजकहरुलाई वासुदेव पूजक भनेरै सम्बोधन गरिएको छ भने कृष्णलाई विष्णुकै अवतारका रूपमा मानिएको छ ।

ऐतिहासिक तथ्य अनुसार भागवद् धर्म (वैष्णव) को सर्वप्रथम जानकारी –हेलियोडोरसको ‘वेसनगरको गरुड’ नामक स्तम्भ अभिलेखमा पाइएको थियो । वेसनगर भनेको वर्तमान भारतको मध्यपूर्व र नेपालका केही मधेशभागमा फैलिएको क्षेत्र थियो जसलाई पौराणिकालमा विदिशा नामले पनि चिनिन्थ्यो । वेसनगरको गरुड भन्ने स्तम्भ अभिलेखमा भागवतका नौवटा भक्तिधाराको चर्चासमेत संक्षेपमा समेटिएको छ । हेलियोडोरसलाई यूनान (तक्षशिला क्षेत्र) का युक्रेटाइडीज वंशीय सम्राट एण्टीयाल्किडसले आफ्नो राजदूत बनाएर विदिशा राज्यका सुंगवंशीय शासक भागभद्रसमक्ष सन्देश पुऱ्याउन पठाएका थिए ।

सुंगवंशीय राज्यसत्ता मौर्यवंशको समाप्तिपछि स्थापित भएको थियो । विदिशा आएपछि हेलियोडोरस भागभद्रकै दरबारमा धेरै समय रहे । पछि श्रीगुप्तद्वारा गुप्तवंशीय राजपरम्पराको शुरु भएपछि हेलियोडोरस यूनान फिर्ता गएका बताइन्छ । तर, उनी गुप्तवंशीय शासनकालमा पनि बारम्बार विदिशा आउने जाने क्रम जारी रहेको इतिहासले बताएको छ । यसरी आफू विदिशा बस्ताको समयलाई उनले सतातन संस्कृति अथवा भागवत् मतका बारेमा खोज गर्ने अवसरका रूपमा प्रयोग गरेका थिए ! भागवत अन्तर्गत महाभारतमा चक्रव्यूहको अवधारणा हेलियोडोरसको यूनानी विचारबाटै आएको बताइन्छ ।

यही खोजका क्रममा भेटिएको अर्को तथ्य के छ भने; तोषा नामकी एक नारीले मथुरा नजिकै मोरा नामको गाउँमा एउटा कुवाको भित्तामा अभिलेख खिपाएकी थिइन् जसमा पञ्चवृष्णि वीर भनेर पाँचजना ऐतिहासिक पुरुषहरुको नाम उल्लेख गरेकी थिइन् । ती पाँचमा संकर्षण, प्रधानु, अनिरुद्ध, साम्ब र वासुदेव थिए । वासुदेव भनेको कृष्णको अर्को नाम हो ।

श्रीगुप्तले स्थापना गरेको गुप्त वंशको शासनकालमा भागवद् धर्मलाई नै वैष्णवधर्म भन्न थालियो र यो चरमोत्कर्षमा पुग्यो । गुप्तवंशका राजाहरु आफ्नो राजपरम्पराको शुरुदेखि नै भागवत् धर्मानुयायी थिए भने धर्मात्मालाई परम भागवत् भन्ने उपाधि दिइन्थ्यो । गुप्तवंशी शासकहरुको शासकीय चिन्ह गरुड थियो । गुप्तकालमै विष्णु अवतारवादको धारणा पनि प्रसिद्ध भयो । अवतारवादको सो विश्वास अनुसार विष्णुका दशवटा मूल जन्मावतार निश्चित छन् जसमा मत्स्य, कुर्म, वराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्की हुन् । गुप्तकालको मूल शास्त्रमा ऋग्वेद र ईश्वरीय रूपमा वराहलाई प्रमुख रूप मानिएको ऐतिहासिक तथ्य पाइएको छ । शास्त्रीय मान्यता अनुसार दशौं अवतार कल्कीको आउने समय भएको छैन । कल्कीलाई सेतो घोडामा चढेर सवार हुने देवताका रूपमा चिनाइएको छ जसको राजकीय चिन्ह मैत्रेय मानिन्छ । कलियुगको चरमोत्कर्षमा कल्कीको अवतार आउने र उसले सबै ‘पापी’हरुको नाश गरी पुनः सत्ययुग शुरु गराउने गुप्तवंशीय शास्त्रीय मान्यता छ । यसैलाई आजका हिन्दूहरुले पनि सकारेका छन् ।

अब शैव वा शैवी मतका बारे पनि चर्चा गरौं ।  

शैवी धर्मको उदयबारे प्रथम उल्लेख विद्वान् मेगस्थनीज (Megasthenese) को ग्रन्थ ‘इण्डिका’मा भएको छ । ईशापूर्व ३५०- २९० तिर यूनानी सम्राट सेक्युलसले राजदूतको रूपमा मेगस्थनीजलाई पाटलीपुत्र (पटनालगायत वर्तमान भारतको उत्तरी भेग) पाटलीपुत्रका सम्राट चन्द्रगुप्त मौर्य त्यसबेलाका क्षेत्रीय चक्रवर्ती राजा थिए । ‘इण्डिका’मा उनले मूलरूपमा दुइ मुख्य देवताहरु भनेर शिवलाई डायनोसिस र विष्णु वा कृष्णलाई हेराक्लीज नाम दिएका छन् ।

यता पाणिनीको अष्टाध्यायीमा पनि शैव धर्मका चारवटा रुपबारे व्याख्या गरिएको छ जसमा शैव, पाशुपत, कापालिक र कालामुख नाम रहेका छन् । तर, यी चारमध्ये पाशुपत सम्प्रदाय शैवीहरुको सर्वप्राचीन र सर्वाधिक अनुयायी भएको पन्थ मानिन्छ । शैवी मतको पाशुपत सम्प्रदाय स्थापना गरी फैलाउने प्रथम पुरुष लकुलीश थिए जसलाई कुनै शास्त्रले शिवका अठाइसौं र कुनैले चौबिसौं अवतार बताएका छन् । उनको समय दोस्रो शताब्दितिर बताइएको छ । त्यसपछि वर्तमान भारतको केरला राज्यान्तर्गत कलाडीमा जन्मिएका आदि शंकराचार्यले यो मतलाई अघि बढाए । शिवगुरु र अऱ्याम्बा (सुभद्रा पनि भनिएको छ) बाट जन्मिएका शंकराचार्यको समयका बारेमा धेरै मतान्तरहरु रहेका छन् । कसैले उनलाई ५०९ ईशापूर्वमा जन्मिएका बताएका छन् भने कसैले सन् ७८८ बताएका छन् । जे भए पनि उनी जम्मा ३२ वर्षमात्रै यस संसारमा रहे भन्ने कुरामा सबै इतिहासकारहरु एकमत छन् । गोविन्द भागवद्पद नामक गुरुका शिष्य शंकाराचार्यको ३२ वर्षको उमेरमा उत्तराखण्डको केदारनाथमा देहान्त भएको थियो ।

पद्मपद, तोताकाचार्य, हस्तमालक र सर्वेश्वर उनका शिष्य थिए । अद्वैत वेदान्त उनको मूल धार्मिक मत थियो । वास्तवमा आदि शंकराचार्यले तैत्तिरीय उपनिषद र ब्रह्मसूत्रहरुलाई भाष्यमा अनुवाद गरिदिएपछि मात्र वैष्णवहरुले विष्णुलाई शालग्राम (शालीग्राम) को रूपमा पुजन गर्ने चलनले व्यापकता पाएको बताइन्छ । शंकराचार्यको मतअनुसार शालीग्रामका पनि निम्नानुसार धेरैवटा पहिचान भेद छन्।

  • शंख, चक्र, गदा र पद्म-केशव
  • पद्म, गदा, चक्र र शंख-नारायण
  • चक्र, शंख, पद्म र गदा-माधव
  • गदा, पद्म, शंख र चक्र-गोविन्द
  • पद्म, शंख, चक्र र गदा-विष्णु
  • शंख, पद्म, गदा र चक्र-मधुसुदन
  • गदा, चक्र, शंख र पद्म-त्रिविक्रम
  • चक्र, गदा, पद्म र शंख-वामन
  • चक्र, पद्म, शंख र गदा-श्रीधर
  • पद्म, गदा, शंख र चक्र-ऋषिकेश
  • पद्म, चक्र, गदा र शंख-पद्मनाभ
  • शंख, चक्र, गदा र पद्म-दामोदर
  • चक्र, शंख, गदा र पद्म-शंकर्षण
  • शंख, चक्र, पद्म र गदा-प्रद्युम्न
  • गदा, शंख, पद्म र चक्र-अनिरुद्ध
  • पद्म, शंख, गदा र चक्र-पुरुषोत्तम
  • गदा, शंख, चक्र र पद्म-अधोक्षज
  • पद्म, गदा, शंख र चक्र-नरसिंह
  • पद्म, चक्र, शंख र गदा-अच्युत
  • शंख, चक्र, पद्म र गदा-जनार्दन
  • गदा, पद्म, शंख र चक्र-उपेन्द्र
  • चक्र, पद्म, शंख र चक्र-हरि
  • गदा, पद्म, चक्र र शंख-कृष्ण
  • शंख, चक्र, पद्म र गदा-वासुदेव

भारतको उडिस्सास्थित जगन्नाथपुरीको नाम संसारको सबैभन्दा ठूलो र वजनिलो शालीग्राम भएकोमा प्रचलित भने स्कटल्याण्डको ईस्कन मठ (जसलाई करुणाभवन पनि भनिन्छ)-संसारमा सबैभन्दा धेरै शालीग्राम राखिएको मन्दिरका रूपमा प्रचलित छ ।
आदि शंकराचार्यद्वारा स्थापित चार पीठहरु आज पनि धामको रुपमा प्रचलित छन् जसलाई आममानिसहरु चारधाम तीर्थको नाममा चिन्दछन् । ती हुन् ज्योतिर्मठ, गोवर्धन मठ, शृंगेरी शारदा पीठ र द्वारिका पीठ । यी चारै मठमा उत्तराधिकारी मनोनयन गरेर उनले शुरु गरेको निश्चित समयमा चार शंकराचार्य चयन गर्ने परम्परा आज पनि जारी छ ।
साकार र निराकार वा सगुण र निर्गुण दुवै भक्तिधारालाई स्वीकार गर्ने आदि शंकराचार्यले शालीग्राम, शिवलिङ्ग पूजन, अन्य देव-देवी र प्रतिमा पूजन सबैलाई मान्यता दिएका कारण उनलाई समन्वयवादी महात्मा भनिएको छ । उनले अधिकांश उपनिषद र ब्रह्मसूत्रहरुलाई अनुवाद टिकाकरण गरिदिएका छन् जसलाई उनीपछिका सम्प्रदाय चलाउनेहरुले सहजरूपमा व्याख्याको आधार बनाउने गरेका छन् ।

वर्तमान समयमा शिवभक्तिका पनि धेरैवटा उपपरम्परा वा शाखाहरु स्थापित छन् । अघोरी परम्परा, सन्त, नाथ, गुरु आदि नामले ती परम्पराहरु चलेका छन् । एघारौं शताब्दिको हाराहारीतिरका गुरु गोरखनाथदेखि सन्त कबीर र गुरुनानकसम्मका प्रसंगलाई तीमध्ये केही उदाहरणका रूपमा लिन सकिन्छ भने आधुनिक कालमा यस्ता परम्पराका पथप्रदर्शक अग्रज दयानन्द सरस्वतीलाई  मानिएको छ । “सत्यार्थ प्रकाश” नामक हिन्दी भाषामा लेखिएको उनको कृतिले धार्मिक विश्वासमा लादिएका अतिसयोक्तिहरु, अन्धविश्वास र वैदिक शास्त्रहरुको मूल्यवान सन्देश जगजाहेर गरिदिएको छ । स्वराज चेतना र सामाजिक नैतिकता नै धर्म हो भनेर वकालत गर्ने दयानन्द सवस्वतीका गुरु मथुराका बिरजानन्द थिए ।

ब्राह्मणको कथित सर्वश्रेष्ठतालाई खारेज गर्दै सुधारका लागि उनले ‘आर्य समाज’ भन्ने संगठन बनाए र हिन्दू धर्ममा उम्रिएको वंशजसत्ता अथवा जाति परम्परालाई खारेज गरिदिए । उनले जातिवाद र बाल-विवाहको घोर विरोध गरे । अनि नारी शिक्षा तथा विधवा विवाहलाई प्रोत्साहित गरे । उनको मत अनुसार कुनै पनि अहिन्दूलाई हिन्दू संस्कृतिमा सजिलै लिन सकिन्छ । आर्य समाजकै सिद्धान्त बोकेर उदायेका श्री हंशराज पनि सन्त परम्पराका गुरु स्वरुपानन्दका शिष्य थिए । उनका छोरा सत्पालजीले चलाएको सम्प्रदाय मानव धर्मको नामले अहिले पनि व्यापक बनिरहेकै छ । दयानन्द सरस्वतीले जसरी हिन्दू संस्कृतिलाई जात-वर्णभेद र कर्मकाण्डी घेराबाट बाहिर निकाल्ने प्रयत्न गरेका थिए, सत्पालजीले पनि सोही शिक्षालाई अनुसरण गरिरहेका छन् । उनका सचेत शिष्यहरुले वर्ण, जात र कुलवंशको भेद नराखी ज्ञान र परोपकारी भावनालाई नै धर्मको परिभाषा मान्दछन् ।
नाथ परम्पराको ताजा नमूनाका रूपमा नेपालका स्व. योगी नरहरी नाथलाई लिन सकिन्छ भने भारतका लागि गोरखनाथ मठका मठाधिश योगी आदित्यनाथलाई मान्नसकिन्छ जो अहिले एउटा राज्यको मुख्यमन्त्री नै बनेका छन् ।

नेपाली र विशेष गरी भूटानको नेपाली समाजका वैष्णव (श्रीवैष्णवले मात्र होइन) हरुले नाथ, गुरु, शैवी र आर्यसमाजी परम्पराका निर्गुण भक्तिसिद्धान्त, महर्षि दयानन्द सरस्वतीको सत्यार्थ प्रकाश, सत्पालजीको ‘सर्वजातीय मानव एक सम्प्रदाय’ भन्ने विचारलाई मन नपराउनुको मूल कारण जातिभेद र छुवाछूतको प्रथा नै हो । किनकि अधिकतम वैष्णवहरु भक्ति र समर्पणभन्दा बढी आचरण, कुल, वंशनिष्ठा जस्ता उत्तर भारतीय वैष्णव मतबाट प्रभावित छन् । तर, हाम्रो समाजका श्रीवैष्णवहरु आफूले अपनाएको सम्प्रदाय दक्षिण भारतीय वैष्णव मतको एउटा अंग हो भन्ने कुरो बुझ्न खोज्दैनन् जसले जात विशेषता, वंशनिष्ठ र कुलपरम्परा भन्दा भक्तिसमर्पण र परोपकारलाई मूल धर्म मान्दछ । आफ्नो सम्प्रदायको मूल ग्रन्थ नलयिरा दीव्य प्रबन्धको स्थानमा उनीहरुले संस्कृतको वेदलाई खटियामाथि राखेका छन् । तर, व्यवहारमा चाहिं वेदले बताए अनुसार पनि नगरेर, मुगल शासकहरुले भारतमा शासन गर्नलाई सजिलो बनाउने उद्देश्यले समाजमा भाँडभैलो मच्चाउन विद्वानहरुलाई कैदी बनाएर अथवा सत्तासुख र सम्पत्ति दिएर  लेखाएका  अनेक स्मृति ग्रन्थ, नीतिशास्त्रहरुको परिपालन गर्दछन् ।

खासगरी अहिले समाजमा चलेको ‘खस’ चलन ब्राह्मणहरुको ‘स्मर्त’ समूहबाट प्रभावित छ । गुण वा विद्याको आधारमा ब्राह्मणहरुको पहिचान हुने कुरा माथि नै गरिएको छ जसमा आठ भेद प्रस्तुत गरिएका छन् । तर, ब्राह्मणहरु स्वयंले ब्राह्मण मतका आधारमा आफ्नो समूहलाई तीन मूल वर्गमा बाँडेका छन् । तीमध्ये पोहिलो हो स्मर्त समूह । वैदिक माङ्मयका सम्पूर्ण शास्त्रलाई दुई मूल वर्ग ‘श्रुती’ र ‘स्मृति’ मा बाँडिएको छ । ‘स्मर्त’ समूहले वेद वा मूलग्रन्थहरुलाई आधार नमानेर स्मृति र पुराणहरुलाई धर्मको आधार मान्दछन् । अर्को वैष्णव ब्राह्मण र अझ अर्को माधव ब्राह्मण । श्रुतीमा कुन र स्मृतिमा कुन कुन पर्दछन् भनेर बुझ्ने काम पाठकहरु आफैंले गर्नुहुने आशा लिएको छु । वैष्णव ब्राह्मण र माधव ब्राह्मणबारे पछि सम्प्रदायहरुको प्रसंगमा चर्चा गरौंला ।

शाक्त मत वा शक्ति पूजक सम्प्रदायः

सामान्यतः धेरै शास्त्रीय मान्यताले पुरुषलाई आदि शक्ति वा सृष्टिको मूल मान्दछन् तर, शाक्त मतले स्त्रीलाई सृष्टिको मूल मान्दछ । लक्ष्मी, पार्वती, दुर्गा, चण्डी, महाकाली जस्ता देवीस्वरूपाहरुलाई शाक्तहरुले मूल ईश्वरीय गुण मान्दछन् । अन्य सम्प्रदाय झैं शिव र विष्णुसित यी देवीहरुको आपसी सम्बन्ध रहेको शास्त्रीय तथ्यलाई शाक्तहरुले पनि मान्दछन् तर, मूलशक्तिको रूपमा पुरुष नभएर नारी हो भन्ने शाक्त सिद्धान्त हो । देवी महात्म्य, देवी भागवत पुराण, चण्डी, दुर्गा सप्तशती र शाक्त उपनिषदहरु यिनका प्रमुख गन्थहरु हुन् ।  कृष्णको समय ब्रजमा शाक्त संस्कृतिको प्रभाव खूब बढेको पाइन्छ । ब्रजमा योगमाया, महामाया, महाविद्या, करोली, सांचोली आदि प्रख्यात शक्तिपीठहरु छन् । मथुराका राजा कंशले कृष्णको रिसमा जुन यशोदापुत्री कन्याको हत्या प्रयास गरेका थिए, तिनलाई योगमायाको नामबाट कृष्णको प्राणरक्षक देवी भनेर पुजिन्छ । देवीशक्तिको यो मान्यता ब्रजबाट सौराष्ट्रसम्म फैलिएको थियो । सौराष्ट्र भनेको वर्तमान गुजरातमा पर्छ । यसबारे विष्णु पुराणमा उल्लेख छ । तत्कालीन द्वारिका क्षेत्रमा द्वारिकानाथ पर्वतको शिखरमाथि देखिने सिंदुर रंगको आकर्षक देवी प्रतिमालाई कृष्णकै भगिनी (चेली) बताइएको छ । (द्वारिकाको राजधानी वर्तमान गोवा प्रदेशभन्दा पश्चिममा पर्दथ्यो जो आज अरब महासागरको पानीभित्र रहेको भूगर्भ अनुसन्धानले प्रमाणित गरिसकेको छ।) ब्रजमा आजभन्दा सय वर्षअघिसम्म तान्त्रिक र देवीभक्तहरुको मुख्य गढ थियो भनिन्छ । कामसेन नामक राजाको समयमा कामवन क्षेत्र तन्त्रविद्याका लागि मुख्य इलाका थियो । त्यहाँका तान्त्रिक वा देवीपूजकहरु भारत लगायत त्यसबेलाको जम्बूद्विपभरि नै प्रसिद्ध भएको शास्त्रीय मान्यता छ ।

अरु सम्प्रदायमा जस्तै शाक्त मतको उद्देश्य पनि मोक्ष वा मुक्ति नै हो । तर, शक्तिको सञ्चय गरी बलशाली बन, शक्तिको उपासना गर, शक्ति नै जीवन हो । यही नै सत्य पनि हो । शक्ति नै संसारमा सबैतिर व्याप्त छ र यो सबैलाई चाहिएको पनि छ । सबैले यसैलाई भज, यसैलाई पूज भनेर शाक्तहरुको मूल सन्देश रहने गर्दछ । यो शक्ति भनेको नारी वा देवी हो । अलिकति माथि बताइए अनुसार बलवान बन, वीर बन, स्वतन्त्र बन र शक्तिशाली बन भन्ने सन्देशको मर्म वैष्णव र शैवीहरुले पनि बराबर मान्दछन् तर, उनीहरु नारीशक्तिको रूपमा देवीलाई मात्र पूज भन्दैनन् । वैष्णव मतले ऋग्वेदको पुरुष सूक्तमा वर्णित मानव उत्पतिको सन्दर्भ लिएर पुरुषलाई प्रथम शक्ति मान्दछ । तर, शाक्त र शैवी मतमा आंशिक एकरूपता कसरी पाइन्छ भने शैवी मतले पनि अर्धनारीश्वर शिवलाई मानव उत्पतिको मूल प्रेरणा मानेको छ ।

सन्दर्भ कस्तो छ भने ब्रह्माजीलाई आफूले सृष्टि गरेका हरेक चीज आफ्नो आयुसितै समाप्त हुने पीडाभावले सताइएरहेको थियो । उनलाई पृथ्वीको आयुजतिकै दीर्घकालीन निरन्तरता रहने प्रजनन् शक्तिको उपाय सुझीरहेको थिएन । उनी सहयोगको याचना गर्दै ब्रह्माजी शिवजीकहाँ पुगे । त्यहाँ शिवको नारीश्वर रूप देखेपछि ब्रह्माजीलाई मानव उत्पतिको उपाय सुझ्यो । त्यसपछि मानव उत्पतिका लागि ब्रह्माजीले आफ्नो मानसपुत्रका रूपमा कामदेव र पुत्रीका रूपमा रतिलाई जन्माएका शिव पुराणका विभिन्न खण्डमा प्रष्ट गरी बताइएको छ ।  ब्रह्म, नारायण, विष्णु वा विराट् पुरुषलाई उत्पतिको मूल स्रोत मान्ने, शिवलाई मान्ने र शक्तिलाई मान्ने परम्पराका अधारमा हिन्दू सम्प्रदायहरु छुट्टिएका छन् । फरक त्यति नै हो ।

यद्यपि, सबै सम्प्रदायले भुलिएको गम्भीर कुरो के छ भने नारायण, विष्णु वा सर्वेश्वर भनेकै ब्रह्मतत्व हो । अथवा अणुबाट विकसित स्थूल ब्रह्माण्ड हो । शिव भनेको आत्मा हो । अनि शाक्तहरुकी शक्ति भनेको जगत हो जसलाई प्रकृति, पृथ्वी, धरा, संसार वा चराचर जस्ता अनेक नामले पुकारिन्छ । शास्त्रहरुको यो धर्मसारलाई पहिल्याउने भने एउटै प्राण अस्तित्वमा विष्णु, शीव र शाक्तको उपस्थिति भेटिन्छ । आत्मा चेतना, स्थूल उत्पति र त्यसको आधार जगत वा पृथ्वी तत्वबिना मानिसको अस्तित्व नै हुँदैन । यस अर्थमा सबै मानिसहरु वैष्णव, शैवी र शाक्त तिनैवटा मूल सम्प्रदायहरु आफ्नै अत्मा र शरीरमा बोकेर हिँडिरहेका छन् । विभिन्न जात, जाति, वर्ण, वर्ग र सम्प्रदायको बहानामा वर्गीकरण गर्दा मानिसले आफैंलाई टुक्रा टुक्रा बनाइरहेको छ ।  यस्तो प्रवृत्ति शास्त्रहरुको उपदेश पालन होइन, विरोध हो । धर्मशास्त्रहरुको अध्ययनबाट यो चेतनाको आविष्कार भएपछि नै “अहम् ब्रह्मास्मि” को मर्म सार्थक हुनेछ । (यजुर्वेदः, बृहदारण्यकोपनिषद् अध्याय ) ।

यी सबै कुराका ऐतिहासिक तथ्यहरु हुँदा हुँदै पनि हाम्रो नेपाली विशेष हिन्दू समाजमा खासगरी कुनै पनि सैद्धान्तिक शास्त्रीय मतले काम गरेको पाइँदैन । हाम्रो समाजमा शाक्त मत मान्ने परम्पराका मानिसहरु धेरै देखिँदैनन् । तर, सिंहवाहिनी देवी वा दुर्गा मान्ने धामी-झाँक्रीहरु प्रशस्तै छन् । शैवी तान्त्रिकहरु पनि छन् । नजानुन्जेल, नबुझुन्जेल एक सम्प्रदायले सबै सम्प्रदायका चलनचल्तीहरु एकापसमा अपनाएका छन् तर, जानेर कहिल्यै त्यो स्वीकृति प्रदान गर्दैनन् । नजानुन्जेल वैष्णवका घरमा झाँक्री आएको छ । जोगी पनि आएको छ अनि वैष्णव पन्थी पुरोहित, पण्डितहरु झाँक्री वा जोगीको घरमा पनि गएका छन् । एकार्कामा सहयोग र सद्भावना आदान-प्रदान गरेका छन् । तर, यो अर्को पन्थ, मत वा सम्प्रदायको चल्ती हो भनेर जानेका दिन आपसमा कुरा काटेर पिँध पखाल्ने अभियान शुरु गर्दछन् । यहाँसम्म कि अल्पमतमा कुनै सम्प्रदायका अनुयायी परे भने त्यो गाउँ-ठाउँ नै छोडेर हिँड्नुपर्ने बाध्यता भगिरहेका धेरै उदाहरणहरु छन् । भारत-नेपालतिर हिन्दू संस्कृति र वैदिक दर्शनका बारे वाङ्मय मीमांसा गर्नसक्ने धेरै विद्वान् सन्तहरु होलान् । तर, भूटानका हिन्दूहरुमा सम्प्रदायको घेरा नाघेर त्यस्तो दार्शनकि पक्षको उजागर गर्ने खास्सै विद्वानहरु देखिएका छैनन् । ज्ञान र व्यक्तित्वका हिसाबले कोही हुनसक्छन् तर, सम्प्रदायको प्रभावले उनीहरुलाई पनि गाँजिरहेको छ !

हाम्रो समुदायका हिन्दू (वा सनातन पन्थी) हरुमा वैष्णव सम्प्रदायका अनुयायीहरु बहुसंख्यक छन् । वैष्णवमध्ये पनि श्रीवैष्णव सम्प्रदायले हाम्रो समाजलाई लपेटेको छ । त्यसपछि  कम शैवी र अति न्यून शाक्तहरु छन् ।

यसरी धर्मपरम्परा वा सम्प्रदायहरु व्यापक हुन थालेपछि जाति र वर्गीय दर्जाको सैद्धान्तिक आधार अलकति खुकुलो त भएको छ तर, व्यवहारमा भने गुप्तवंशीय परम्पराकै वंशज उत्तराधिकारीको चलन जस्ताको तस्तै छ । कार्तवीर्यका पुत्र, दतात्रेय ऋषिका शिष्य राजा सहस्त्रार्जुन र सम्पूर्ण धर्मसंसदका ऋषिहरुले शुरु गरेको द्वन्दभेद उनीहरुका वंशजले आजसम्म नै समाजमा लिएर आएका छन् । अहिले पनि उपाध्यायहरुले अन्य जजमानका घरमा बराबर खानदान चलाएका छैनन् । जैसीका छोरी बिहे गर्ने छोराका घरमा उपाध्याय बाबु-आमा जान सकेका छैनन् । क्षेत्रीका छोरी बिहे गरेका छोरा वा क्षेत्री ज्वाइँसित बिहे गरेका छोरीलाई आफ्नो नाता सम्बन्धबाटै खारेज गर्ने जैसी आमा बाबु पनि छँदैछन् । अहिले परिवर्तन भयो भनेको कति हो भने, जाति दर्जाबाट त्यो दवाब सम्प्रदायमा सरेको छ । परम्परागत हिसाबमा मागी बोली नभएर आफ्नै खुशीमा भागेर बिहे गरेकाहरुलाई पनि “हाम्रो सम्प्रदाय अपनाएमा” मान्यता दिनेछौं भनिन्छ । यसरी श्रीमतीलाई माइत पुऱ्याउन वा आफू ससुराली जानलाई पनि कतिले आफ्नो विश्वासको मत सम्प्रदायमा हाल्न बाध्य बनेका छन् । यस्तै अवस्था कति बुहारीहरुको पनि छ । घरपटिकाले अपनाएको साम्प्रदायिक मतलाई नमान्ने बुहारीहरुलाई अधर्मी, मुर्ख, मरेपछि स्वर्ग (वैकुण्ठ) जान नपाउने वा पितृ तार्न नसक्ने भनेर कोल्टे आँखाले हेरिन्छ ! जन्ती र मलामीको कुरा पनि छँदैछ । यस्तै यस्तै विषयले अहिले सम्प्रदायहरुको मात्रा बढिरहेको छ तर, धर्मको गुणकारी फड्को मारिएको छैन । कर्मकाण्डी संस्कारलाई धर्म भनेर भ्रम फैलाउँदै समाजलाई अऩ्धकारतर्फ लगिँदैछ । संस्कार भनेको समय समयमा परिमार्जन हुन्छ, हुनुपर्छ । शास्त्रमा ‘देश, काल र परिस्थिति’को कुरा त्यतिकै आएको होइन । तर, यो शास्त्रीय उद्देश्य नै नबुझी धर्मको नाममा संस्कारलाई अझ रुढ बनाउँदै त्यसकै परिपालनमा मस्त हाम्रो समुदायका कुनै पनि सम्प्रदायले आफ्नो सम्प्रदायको उत्पति, प्रवर्तक र सो को सिद्धान्तबारे यथेष्ट ज्ञान प्राप्त गरेका बुझिँदैन । सम्प्रदायहरु कसरी कसले शुरु गरे भन्ने सन्दर्भबारे थोरैमात्र जानकारी भए पनि हाम्रो समाज यसरी विलखबन्दमा पर्दैन थियो कि !
अब गर्नुपर्ने काम अरुले गरेनन्, गर्नै सकेनन् मात्र भनेर आफू पनि नगरी बस्न मिलेन । औंलामा गन्न सकिने शैवी र लगभग अस्तित्वबाटै विलिन भइरहेको शाक्त परम्पराको हाम्रो समाजमा प्रभाव छैन भने पनि हुन्छ । यसर्थ तिनका बारेमा खास गरी कुरा गर्नु आवश्यक ठानिनँ । तर, हाम्रो समाजमा व्यापक बनिरहेको वैष्णव सम्प्रदायको रहस्यबारे यथासम्भव विवेचना गर्नैपर्ने भएको छ !

  • वैष्णव मतको सबैभन्दा पुरानो पन्थ श्रीसम्प्रदाय अथवा श्रीवैष्णव सम्प्रदाय हो । रामानुजाचार्यद्वारा प्रतिस्थापित यस मान्यतामा पौराणिक पुरुष विष्णु र लक्ष्मीको आराधना गरिन्छ भने तिनकै अवतारहरुलाई क्रमश समानरूपमा पूजा गरिन्छ । श्रीसम्प्रदाय अथवा श्रीवैष्णव भनिने यो समूहले “ओम नमो नारायण” अष्टाक्षरी मन्त्र जप गर्दछ ।

वैष्णव सम्प्रदाय समाजमा क्रियाशील हुँदै गर्दाको अन्तरालमा रामानुजाचार्यकै अनुयायीमध्येका १३ औं शताब्दिका एकजना वेदान्तदेशिक (१२६९- १३७०) भन्ने सन्तले वैष्णव पन्थमा केही नयाँ चलनहरु प्रवेश गराए । उनलाई वेंकटानाथको नामले पनि चिनिन्छ । वेदान्तदेशिक अथवा वेंकटनाथको वैचारिक आधार अनुसार ‘पूर्वमीमांसा’ हरुद्वारा प्रतिपादित ‘कर्म’ ईश्वरको कृपाबिना फलदायक हुन सक्तैन । यस्तै प्रकारले ईश्वरप्रति निश्चित आचरण र उपासनामार्फत पूर्णतः समर्पित नभएसम्म केवल वैदिक ज्ञानमात्र पर्याप्त छैन । ‘शतदूषणी’ नामक आफ्नो खण्डन-मण्डनात्मक संस्कृत ग्रंथमा रामानुजकै मतको अनुसरण गर्दा गर्दै पनि वेदान्तदेशिकले अद्वैत वेदान्तको कडा आलोचना गरेका छन् ।

वेदान्त देशिकको यो पहलबाट श्रीवैष्णवहरुबीच खरो मतान्तर सृजना भयो । उनको नयाँ चलनलाई मान्यता दिने कि नदिने विवादमा श्रीवैष्णव सम्प्रदाय नै फुट्यो । यो फुटबाट श्रीवैष्णव सम्प्रदायका दुइवटा अलग अलग संस्थानहरु निर्माण भए जस्तै उत्तरी भारतमा भद्गलाई (भत्कलाई पनि भनिन्छ) र, दक्षिण भारतमा तेङ्गलाई (तेङ्कलाई, थेङ्कलाई आदि पनि भनिन्छ) । दक्षिणी तेङ्गलाईहरुले ‘प्रपट्टि’ अथवा पूर्ण समर्पण नै मोक्षको एकमात्र उपाय मान्दछन् । यस मतमा ईश्वरभक्ति गर्नलाई मानिसको कुनै पनि जाति वा वर्गले फरक पार्दैन । तर उत्तरी भद्गलाईहरु समर्पणलाई एउटा साधनमात्र मान्दछन् ।  उनीहरुको मत अनुसार भक्त भनेको (मर्कटा-न्याय) को परिपालन गर्ने सेवक हो । संस्कृतमा मर्कटन्यायको प्रसंग यसरी अर्थ्याइएको छ । मर्कटन्याय अनुसार भक्त भनेको  बाँदरको बच्चाजस्तै हो जसले आमाको वक्षमा आफैंले समातेर अडिनुपर्दछ । आमा बाँदरले रुख रुखै हाम फाल्दा पनि नछुट्ने योग्यताको शक्तिसञ्चय बाँदरको बच्चा आफैंले गर्नुपर्दछ । यो मान्यतामा भक्तले कठोर निष्ठामा रहेर मात्र भागवत्प्राप्ति अथवा मोक्ष प्राप्त गर्दछ । यसविपरित दक्षिणी तेङ्गलाईहरुको मतमा भक्त भनेको (मार्जला न्याय)को परिपालक हो । मार्जा भनेको बिरालो । यानिकी बिरालोले उसको बच्चालाई मुखमा सरक्कै चेपेर जहाँ पुऱ्याइनुपर्ने हो त्यहाँ पुऱ्याएर मात्र बिसाउँछ । अरु सबै कुरा बिर्सेर आमाले मुखमा चेपेपछि बिरालोको बच्चा छट्पटाउन छोडेजस्तै ईश्वरप्रति पूर्ण समर्पित भइदिएमा मोक्षप्राप्तिका लागि अरु कुनै माध्यम आवश्यक छैन ।

Bhadgalai Shri tika
Bhadgalai Shri tika

अतः उत्तरी भारतका भद्गलाई श्रीवैष्णव पन्थीहरुले अंग्रेजीको यू (U) अक्षरजस्तो आकारमा सेतो धर्का बीचमा पहेंलो चन्दनको ठाडो धर्का बनाएर टीका लगाउँछन् । तर, दक्षिणी भारतका तेङ्गलाई श्रीवैष्णव पन्थीहरुले अंग्रेजीको वाई (Y) जस्तो आकारमा सेतो धर्का र बीचमा रातो ठाडो धर्का टीका ग्रहण गर्दछन् । दुवै पन्थीले दुइतर्फ शंख-चक्र धारणलाई नियमबद्ध चलन बनाएका छन् ।

Tengalai Shri tika
Tengalai Shri tika

केही विद्वानहरुको मत अनुसार वेदान्त देशिकले श्रीवैष्णवहरुको पुरानो सनातन चलनलाई फेरबदल गरी नयाँ मान्यता शुरु गर्नुमा जातीय सवाल नै कारक थियो । ऐतिहासिक अलवर सन्तहरुले फैलाएको सन्त परम्पराबाटै श्रीवैष्णव पन्थको उदय भएकाले यसमा जात वा जातिको कुनै गुञ्जायस नरहने तेङ्गलाईहरुको जोड् थियो भने निश्चित नियम र आचरणमा रहने निश्चित जातका मानिसहरुले मात्र यस पन्थको नेतृत्व गर्ने उत्तरी भद्गलाईहरुको जोड चल्यो । यही मतान्तरमा श्रीवैष्णवका दुइ अलग संस्थानहरु खडा भएका थिए । विद्वानहरुको निर्क्यौल अनुसार जब तेङ्गलाईहरुले जात-जातिको प्रथा त्यागेर जुनसुकै जातिबाट पनि मठहरुको पूजारी बन्नसक्ने पिल्लाई लोकाचार्यद्वारा घोषणा गराए तब त्यही नियुक्तिले धार्मिक मठहरु नै अपवित्र हुने जस्ता अनेकन विमति राख्तै वेदान्तदेशिकले भद्गलाई नामबाट अलग श्रीवैष्णव सम्प्रदाय स्थापना गरेका थिए ।

यस्तै विवाद र मतान्तरको क्रममा श्रीवैष्णवका यी दुइ समूहले आ-आफ्ना छुट्टै सैद्धान्तिक आधारसम्म तय गरिदिए । उत्तरी समूहले वेदलगायका संस्कृत शास्त्रहरुलाई मान्यता दियो भने दक्षिणी समूहले “नलयिरा दीव्य प्रबन्ध” नामक छुट्टै वेदको निर्माण गऱ्यो । तमिल भाषाको “नलयिरा दीव्य प्रबन्ध” मा चार हजार श्लोकहरु रहेका छन् भने यसलाई संस्कृतका वैदिक शास्त्रभन्दा पुरानो भएको दाबीसमेत गरिएको छ ।

यहाँनेर सारै जटिल, महत्वपूर्ण र चाखलाग्दो कुरोचाहिं के छ भने नेपाल, मुख्य गरी भूटानका श्रीवैष्णवहरु, सम्प्रदायका हिसाबमा दक्षिणी तेङ्गलाई पन्थका हुन् तर, सैद्धान्तिक र व्यावहारिक ढंगमा उनीहरु उत्तरी भद्गलाई पन्थको व्यवहार गर्दछन् । किनभने उनीहरुलाई धर्मको सिद्धान्तभन्दा बलियो गरी जातीय दर्जाको कुराले लपेटेको छ । उपाध्याय, जैसी, क्षेत्री र अन्य जातजातिको मोलतोल उनीहरुबीच अधिकतम महत्वका साथ हेरिन्छ । एउटाको घरमा अर्को जाने कि नजाने, छोएको खाने कि नखाने, खाएमा के के कुरा खाने आदि सबै कुरा उनीहरुको जातिदर्जाले तोकिदिएको हुन्छ । यस हिसाबले माथि भनिएजस्तो गुप्तवंशी राजपरम्परा भूटानका हिन्दूहरुमा, प्रमुख रूपले वैष्णवहरुमा आज पनि आदिकालको जस्तै बाँचिरहेको छ । तर, उनीहरुले मानेको श्रीवैष्णव सम्प्रदायको तेङ्गलाई शाखाले भक्तिभावमा जातिदर्जाको कुनै मोल हुँदैन भन्ने मूल मान्यता राख्तछ; यो कुराको उनीहरुलाई ज्ञान नहुन पनि सक्छ । ज्ञान छ भने पनि कतिपयमा उनीहरुको पुर्ख्यौली जमिन्दारी झोंक अझै सकिएको छैन । राम्ररी समाजका केस्राहरु केलाउँ त, हामी सजिलै बुझ्नसक्छौं कि यस्ता पन्थहरु शास्त्रको मूल तत्ववोध भन्दा पनि सम्प्रदाय चलाउने गुरुहरुका ओठेविधानमा बढी भर पर्दछन् ।

कुरो जे भए पनि भूटानमा श्रीवैष्णव सम्प्रदाय प्रवेश गराउने गुरु योगीराज दक्षिण भारतीय श्रीवैष्णव मतका अनुयायी थिए । उनी नेपालमा जन्मिएका भए पनि अयोध्या हुँदै दक्षिण भारतको कांचीपुरम् पुगेर श्रीवैष्णव मतको दीक्षा लिएका थिए । अष्टांग योगका साधक महात्मा योगीराज जाति वा वंशजको आचरणपक्षलाई भन्दा साँच्चै भक्तिपूर्ण आस्थालाई नै सम्प्रदायको स्तम्भ मान्दथे । उनले भूटानमा यो सम्प्रदाय प्रवेश गराउँदा ताका बाहुन, क्षेत्रीमात्र नभई गुरुङ, मगर, राई जस्ता जनजाति समुदायका मानिसहरुलाई पनि आफ्ना शिष्य बनाएका थिए । यहाँसम्म कि दार्जीलिङको एक विशेष क्षेत्रमा आजसम्म समाजले अछूत मानेको विश्वकर्म समुदायको एउटा गाउँ नै  योगीराज गुरुका श्रीवैष्णव अनुयायी थिए भनिन्छ । यद्यपि, अरु धेरै सामाजिक विषयहरुमा दुर्गति भोगिरहेको हाम्रो समाजले धर्मको सवालमा पनि विडम्बना नै भोगिरहेको छ । कुरो के छ भने, सन् १९७० को अन्त्यसम्म भारतमा गएर वैष्णव बनी आएका एकाध गाउँलेहरुलाई “बहुला” को संज्ञा दिने केही भुइँफुट्टा महात्माहरु आजभोलि वैष्णव सम्प्रदायका ‘व्याख्याता’ बनेका छन् ।  कुन्नि कति कति नम्बर छापका ‘स्वामी’ बनेका छन् । धर्मको मत, सम्प्रदायको सिद्धान्त एकातिर छ, सुगा रटान परम्परा र अभ्यासगत व्यवहार समाजलाई कि पेल्ने कि त फुटाउने दिशामा अग्रसर छन् ।

  • अब वैष्णव मतको अर्को पन्थ रामनन्दी वा रमानन्दीबारे कुरा गरौं । सन्त रामानन्द पनि रामानुजकै शिष्य थिए । तर, उत्तरी भारतमा श्रीवैष्णवहरुबीच शुरु भएको मतभेदले गर्दा त्यो झमेलाबाट जोगिनलाई उनले त्यही मतलाई अलिकति परिमार्जन गरी छुट्टै नामबाट अघि बढाए । रामनन्दी सम्प्रदाय शुरु भएपछि श्रीवैष्णवका भद्गलाई र तेङ्गलाई दुवैतर्फबाट अनेकौं सन्तहरुले रामनन्दी मत अपनाएका तथ्यहरु पाइन्छ ।  राम-लक्ष्मण र हनुमानको मुख्य पूजन गर्ने यो समूह चौधौं शताब्दीतिर वनारसबाट फैलिएको बताइएको छ । वैष्णव मतको रमानन्दी पन्थमा कर्मकाण्ड र वंशज परम्पराभन्दा अलग वैरागी साधुहरुको संख्या धेरै रहेको पाइएको छ ।

एक अनुच्छेद अगाडि मैले भारतमा गई वैष्ण दीक्षा ग्रहण गरी आएकालाई ‘बहुला’ भनिएको प्रसंग उठाएको थिएँ । कुरा के भएको थियो भने, सन् १९७० को अन्त्यतिर एकजना गुरुङ बाजे यतिकै परदेशिएर हराए । केही वर्षमा उनी फर्केर भूटान आए । त्यतिबेला उनी हिन्दीमा भजन गाउँथे । हिन्दीका शब्द लहरहरु नबुझ्ने लट्ठक हाम्रो भीड ट्वाल्ल परेर उनलाई हेर्थ्यो ।

यसरी उनी गाउँ गाउँ भजन गाउँदै, एकतारे टुंग्ना बजाउँदै हिँड्ने, मान्छेले उनका कुरा नबुझ्दा रिसाएर कराउने गर्नथाले । यसपछि उनलाई गाउँभरि ‘बहुला’ भनेर चिनियो । मांशाहार त्यागेका उनका घरमा खाने परिकारबारे मतभेद चल्दा उनलाई मण्डलको दलानमा लगी कानूनी कारबाही समेत चलाइयो । यसै यसै पछि उनलाई ‘बहुला’ शब्द छोडेर साधु भन्न थालियो । ती साधु बाजेका छोराहरु अहिले पनि साधु जेठो, साधु माइलो हुँदै कान्छोसम्म यही साधु उपमाले आलंकारिक भइरहेका छन् ।  पछि समाज र धर्मको सवालबारे जिज्ञासा बढ्न थालेपछि मैले अध्ययन गर्दामा उनी वैष्णव मतको रामनन्दी सम्प्रदायमा लागेका रहेछन् । ती गुरुङ बाजे वैष्णव बनेर आउँदा बहुला भन्ने, उनले मंशाहार त्याग्दा घरको झगडामा ज्वलनशील तरल थप्ने, संसारी पूजामा बाख्रा ढाल्ने, देवी पूजामा परेवा नंग्याउने, देवी भगवतीलाई खुशी पार्न एक-दुइवटा हाँसका टाउका चुँडाउनैपर्ने केही ‘महामुनि’ हरु अहिले वैष्णव सम्प्रदायका महानायकसम्म बनिरहेका छन् ।

त्यसो बन्नु नै त उनीहरुको गलत पक्ष होइन । राम्रा कुराका लागि आफैं परिवर्तन हुनु बहुतै भलो कुरा हो । तर, परिवर्तनका नाममा आफूले अपनाएको पथमात्रै सर्वोपरी हो, अरुको केही पनि होइन, आफूलाई सिद्धै विष्णुले बैकुण्ठ धामबाट यमलोकका मनुष्यहरुलाई लिएर आऊ भनी पठाएको सम्झिने अथवा आफूलाई भगवानका छिमेकीसम्म सम्झिनेहरूले समाजलाई भत्काउँदैछन् । त्यस्तै मनुवाहरुबारे मात्र मेरो समालोचना पनि केन्द्रित छ । इन्द्रियाकर्षण नै जितेर तपस्यामा बसेका धर्मात्माहरुको ज्ञान र आचरणबारे मेरो केही पनि गुनासो छैन ।  चाहे उनीहरु जुनसुकै मत वा सम्प्रदायका किन नहुन्, सबैले मानव मूल्य, न्यायदर्शन र परोपकारको महावाणीलाई सर्वोपरी मानून्, वैदिक सनातन भने पनि हिन्दू भने पनि, यो परम्परा विश्वमा अझै पनि एकपटक कहलिने छ ।

  • हामी वैष्णव मतका विभिन्न सम्प्रदायहरुबारे चर्चा गरिरहेका छौं । वल्लभचारी अथवा कृष्ण सम्प्रदाय वैष्णव मतको अर्को शाखा हो । भारतको बम्बई, गुजरात र मध्यप्रदेशतिर यो मतका वैष्णवहरुको निक्कै ठूलो संख्या छ । यस पन्थका प्रवर्तक वल्लभाचारी सन् १४७९ मा चम्पारणको जंगलमा जन्मिएका बताइन्छ । उनलाई कृष्णकै अवतारको रूपमा मानिन्छ । वल्लभाचारीहरुले कृष्णलाई बालगोपालका रूपमा मान्दछन् । कृष्णको बालगोपाल अवस्था भनेको जन्मदेखि एघार वर्ष, ५२ दिनसम्मलाई लिइन्छ । मंगला, शृंगार, ग्वाल, राजभोग, उत्थापन, भोग, सन्ध्या र शयन यिनीहरुको पूजन विधिका आठ चरण हुन् । निधारमा नाकको फेदबाट अर्ध गोलाकार हुँदै उँभो उठेका सेतो रंगका दुइ धर्का जसको बीचमा रातो गोलाकार थोप्ला मिलाएर उनीहरुले पूरा टीका लगाउँदछन् । उनीहरुले तुलसीको डाँठबाट बनाइएको कण्ठी धारण गर्दछन् । वैष्णवको यस सम्प्रदायको आधिकारिकता श्रीमद्-भागवतको ‘सुवोधिनी’ नामक व्याख्या संस्करणद्वारा पुष्टि गरिएको छ । यस पन्थलाई गौडिया वैष्णव लगायत अन्य धेरैवटा नामले पनि चिनिने बताइन्छ ।

श्रीमद् भागवतअन्तर्गत सुबोधिनी टीकाको रासपञ्चाध्यायी ‘फलप्रकरण’मा वल्लभाचार्यले श्रीकृष्णद्वारा रचाइएको ‘रासलिला’ मा गोपिनीहरुको प्रवृत्तिभेद छुट्याएका छन् जसमार्फत तामस, राजस, सात्त्विक तीन गुणको प्रभावबाट जगतका मानिसहरुको जीवन व्यतित हुने दाबी छ । तर, ती गोपिनीमध्ये राधाबारे कुनै उल्लेख छैन । वल्लभाचारी सम्प्रदायको गौडिया मत अन्तर्गत विट्ठलनाथको समयमा राधाको महिमागानले चरमोत्कर्ष पाएको थियो ।

  • चैतन्य पन्थ वैष्णवको अर्को शाखा हो । यो भारतको वंगाल र उडिस्सातिर व्यापक छ । सन् १४८५ मा जन्मिएका चैतन्य महाप्रभू वा गौरंग महाप्रभू यस् पन्थका प्रवर्तक हुन् । उनलाई पनि कृष्णकै अवतारका रूपमा मानिएको छ । चौबिस वर्षको उमेरमा सन्यास धारण गरी उनले जगन्नाथमा गई वैष्णव दर्शनको शिक्षा बाँडेका थिए । चैतन्यको शिक्षा अनुसार श्रीकृष्ण प्रमुख देवता वा ईश्वर हुन् । यस पन्थमा सात्विक गुणकर्मलाई अमुक जातले गर्न नहुने, बोल्न नहुने, छुन नहुने भन्ने कुनै भेद छैन ।  यिनीहरुले नाकको डाँडीबाट धर्का तान्दै लगेर निधारमा ठाडो दुइ धर्के गोपी चन्दनको टीका लगाउँद छन् । यिनीहरुले तुलसीको सानो माला पनि लगाउँछन् ।
  • वैष्णवको अर्को पन्थ निम्बार्कः हो जसलाई यतिबेला निमार्गी वा नियम-मार्गी भनिन्छ । निम्बार्क अथवा निम्बदित्य यस पन्थका प्रवर्तक हुन् । निम्बार्क पन्थका अनुयायीहरुले हंशरूप, शनकादि ऋषि, नारद ऋषि हुँदै गुरु निम्बार्कले दीक्षा ग्रहण गरेका बताउँछन् । सम्प्रदायको आन्तरिक दाबीमा निम्बार्कको जन्म ३०९६ ईशापूर्व भएको हो । यो हिसाबमा आजभन्दा लग्भग पाँच हजार वर्षअघिको अनुमान गरिन्छ । कृष्णका पनाति बज्रनाभ वा परीक्षीतका छोरा जन्मेजयको समयकै हाराहारीमा निम्बार्कको जीवनकाल भएको केही शास्त्रविद्हरुले अनुमान गरेका छन् । त्यो के आधारमा भने श्रीमद्भगवतमा परीक्षीतले भागवतकथा सुन्दा अरुण ऋषिको उपस्थिति देखाइएको छ । अरुण ऋषि नै निम्बार्कका पिता थिए ।

यस अर्थमा निम्बार्कको समय करीब पाँच हजार वर्षअघिकै हुन आउँछ । तर, आधुनिक  इतिहासका शोधकर्ताहरुले भने उनको समय ५ औं देखि १२ औं शताब्दिका बीचमा भएको अनुमान गरेका छन् ।  निम्बार्कको असली नाम भास्कराचार्य थियो पनि भनिएको । उनलाई सूर्यको अवतारका रूपमा मानिन्थ्यो । उनले प्रतिपादन गरेको धार्मिक मत द्वैताद्वैत हो । साकार वा निराकार दुवै ईश्वरीय रूपलाई मान्ने यिनीहरुको अलौकिक गम्तव्य गोलोक धाम बताइन्छ । यस पन्थका अनुयायीहरुले कृष्ण र राधाको संयुक्त रूपलाई प्रमुख रूपमा मान्दछन् भने श्रीमाद्भागवत महापुराणलाई मुख्य ग्रन्थ मान्दछन् । यस पन्थका पालकहरुले गोपीचन्दनको सेता दुइ धर्का निधारको माथिल्लो छेउबाट आँखीभौं नजिक हुँदै नाकको डाँडीमा ल्याएर अल्प गोलाकार बनाइ जोड्दछन् । उनीहरुको यस टीका आकारलाई विष्णु (कृष्ण) को पइताला वा पाइलाको रूपमा लिन्छन् ।

  • माधव अथवा माधवाचारी वैष्णवको अर्को पन्थ हो । यसलाई ‘ब्रह्मा’ सम्प्रदाय पनि भनिएको छ । आनन्द तीर्थ, पूर्ण प्रज्ञा हुँदै माधवाचार्यले प्रतिपादन गरेको मत भएका कारण यस पन्थलाई माधव पन्थ भनिएको हो । माधवाचार्यले आदि शंकराचार्यको अद्वैत प्रणालीको घोर विरोध गरेका थिए । सनातन वैदिक परम्परा भनेर जतिवटा मत, सम्प्रदाय र पन्थहरु चिनिए पनि गुणत्वको हिसाबले सबै दुइवटा भागमा पर्दछन् जसलाई द्वैत र अद्वैत भनिन्छ । द्वैत भनेको ईश्वरको अस्तित्व र जगत तथा प्राणीहरुको अस्तित्वलाई बेग्ला बेग्लै खण्डमा राखेर हेर्ने सिद्धान्त हो । अद्वैत भनेको ईश्वर, जगत र प्राणीको उपस्थितिलाई एकार्कामा अन्तरसम्बन्धित तत्वको रूपमा हेर्ने सिद्धान्त हो ।

सबैभन्दा पहिले शैवी परम्पराका शंकाराचार्यद्वारा स्थापित अद्वैत सिद्धान्त प्रणालीलाई घोर विरोध गर्दै माधवाचार्यले ईश्वरीय शक्ति र जगत तथा प्राणीको उपस्थितिलाई बेग्ला बेग्लै गुणतत्वमा आधारित अथवा द्वैत बताएका थिए । उनकै बेलामा विष्णु र शिवबीच बारम्बार घोर युद्धहरु भएका मिथकहरु, किंवदन्तीहरु जोडेर धेरै पुस्तकहरु लेखिएका  छन् । नारदमुनि र देवराज इन्द्रका बीचमा विष्णु र शिवमा कोचाहिं शक्तिशाली भन्ने विवाद चलेको अनि यिनीहरुकै लहडमा उनीहरुको युद्ध भएको प्रसंग वाल्मिकी रामायणमा पनि छ ।   माधवाचारी पन्थका गुरु-पुरोहितहरुलाई ब्राह्मण वा सन्यासी भनिन्छ । यिनीहरुले स्तन र काँधको बीचमा तातो फलामले डामेर विष्णुको प्रतिमाकार खोपाएका हुन्छन् भनिन्छ । यिनीहरुले पनि अन्य वैष्णवले झैं निधारमा गोपी चन्दनका दुइ सेता धर्कालाई नाकसम्म ल्याएर जोडेका हुन्छन् तर, बीचमा भने अन्यले झैं पहेंलो वा रातो नभई धूपको खाकबाट बनेको कालो खराने रंगको धर्का राख्तछन् अनि त्यसमाथि हल्दीको पहेंलो गोलाकार थोप्ला राखेर टीकालाई पूर्णरूप दिन्छन् । भारतको कर्णाटक राज्यतिर बहुसंख्या भएको यस वैष्णव पन्थमा वैदिकदेखि बौद्ध र जैनसम्मका मतहरुको समिश्रण पाइने बताइन्छ ।

  • राधा बल्लभी वैष्णवको अर्को शाखा हो । राधा वल्लभीहरुले कृष्णलाई मूल इष्टदेव मान्दछन् । यस पन्थका प्रवर्तक हरिवंश थिए । सेवासखी वाणी भन्ने पुस्तकमा यस पन्थको सांगोपांगो विवेचना गरिएको छ ।
  • परिणामी पन्थ वैष्णव मतकै एउटा शाखा सम्प्रदाय मानिन्छ । विष्णुका विभिन्न अवतारमध्ये कुनै एकलाई मान्नेजति सबै वैष्णव हुन्छन् भनेर शास्त्रले गरेको व्याख्या अनुसार परिणामीहरुले कृष्णलाई मान्ने हुँदा उनीहरु पनि वैष्णव नै हुन् । तर यसबेला यो छुट्टै प्रणामी सम्प्रदायको रूपमा परिचित छ । लगभग सबैजसो कुरामा निम्बार्क पन्थी, वल्लभाचारी र राधा वल्लभी पन्थझैं लाग्ने परिणामीहरुको चलन केही कुरामा फरक पनि छ । सर्वप्रथम महात्म देवचन्द्रद्वारा स्थापित यो पन्थलाई महात्मा प्राणनाथले प्रचारमा ल्याएका हुन् । प्राणनाथ परिणामवादी वेदविज्ञ भएकाले उनका शिष्यहरुलाई निश्चित समयमा यो ब्रह्माण्डमा केके हुनेछ भनेर भविष्यको परिणामबारे शिक्षा दिन्थे । यो सम्प्रदाय बहुदेववादी नभई एकेश्वरवादी समूह हो । तारतम सागरको व्याख्या अनुसार कृष्ण ११ वर्ष ५२ दिनको उमेर बीचमा अक्षरातीत ब्रह्म थिए र यसै समयमा उनले गोपी र ग्वालबालहरुसित रासलिला रचेका थिए । त्यसबाहेकको समयमा कृष्ण विष्णुका रूपमा थिए । अर्जुनलाई प्रवचन दिँदा कृष्णको स्थिति परब्रह्म थियो । यसैकारण परिणामी वा प्रणामी सम्प्रदाय कृष्णको त्यो रूपलाई मात्र पूजन गर्दछ भने निजानन्द मन्त्रको जप गर्दछ । निजानन्द भनेको आफूलाई सर्वपक्षबाट आनन्द दिने (निज+आनन्द), वा सन्तुष्टि र समृद्धि दिने ध्यानमार्ग हो ।

यस सम्प्रदायलाई परिणामी भनिनुमा अर्को रहस्य यस्तो पनि छ । खास गरी मुगलहरुको भारत प्रवेशको करिब करिब ८० वर्षको हाराहारीमा अहिलेको पाकिस्तान अन्तर्गत उमरकोट गाउँको भूमिमा यो सम्प्रदायका प्रतिष्ठापक देवचन्द्र जन्मिएका थिए । उनको चेतना हुर्किउन्जेलमा मुगलहरुले तत्कालीन महाभारतका धेरैवटा भागहरुमा आफ्नो कब्जा जमाइसकेका थिए । अचेलका धार्मिक मतहरु नै प्राचीन सभ्यतामा समाजलाई निर्देशन तथा नियन्त्रण गर्ने मुख्य राजनीतिक सीद्धान्त भएको यथार्थलाई हेर्दा कुनै रक्तपात हुन नदिई आक्रामक मुगलहरुलाई आफ्नो भूमिबाट हटाउने मध्यमार्गी सिद्धान्तका रूपमा देवचन्द्रले परिणामी मतको सिर्जना गरेका थिए । यस मतको रणनीति अनुसार देवचन्द्रले वेद,वेदांगसँगै कुरानको पनि अध्ययन गरेका थिए । अतःभारतीय भविष्यको परिणामलाई विचार गरेर स्थापित यो नयाँ सिद्धान्तलाई परिणामी भनिएको थियो । पछि यसैलाई प्रणाम शब्दसित जोडेर प्रणामी भनियो । प्रणाम शब्दमा पनि विनम्रता, आदर, सत्कार जस्ता गुण छन् । प्रण, प्रणत, प्रणति जस्ता संस्कृतका धातुविधानबाट बनेको यो प्रणाम शब्दले समाजमा नतमस्तक भई, गम्भीर बनेर कसरी राष्ट्रियसुरक्षा साथै आफ्नो समूहको हित गर्नसकिन्छ भन्ने चिन्तालाई नै दर्शाएको छ । कतिपय चलनचल्तीमा मुसलमानहरुलाई सहमत गराउनलाई उर्दूभाषाका शब्द, कुरानका कतिपय ‘लफ्ज’हरु प्रणामी सम्प्रदायका नीतिशास्त्रहरुमा देखिँदा के अनुमान गर्नसकिन्छ भने उनीहरु मुगल शासकहरुको प्रभावबाट कसरी भारतीय राष्ट्रियता जोगाउने र त्यसको परिणाम कस्तो होला भन्ने कुरामै चिन्तनशील थिए ।

महात्मा प्राणनाथले आफूलाई मुसलमानहरुका लागि मेहदी, ईसाइहरुका लागि मसीहा र हिन्दुहरुका लागि  कल्कि अवतार भएको बताउँथे । उनले मुसलमानहरुसित कैयौं शास्त्रार्थ तथा वाद-विवाद गरेका थिए । उनको जीवनको प्रमुख लक्ष्य सर्वधर्म समन्वयको भावना जागृत गराउनु रहेको कुरा उनीद्वारा रचित तारतम सागरले संकेत गर्दछ । महात्मा प्राणनाथका अनुयायीहरुले वैष्णव भएर पनि समाजलाई जाति-उपजाति, वर्गभेदबाट जोगाउँदै सकारात्मक परिणामको उद्देश्य बोकेकाले आफैंलाई परिणामी भन्नथाले । सर्वधर्म समन्वय गराई संसारलाई मानव-हितमा एकताबद्ध गर्ने परिणामवादी मत भएकाले यसलाई परिणामी सम्प्रदाय भनियो र पछि यही शब्द अपभ्रंश हुँदै प्रणामी सम्प्रदाय बन्यो ।

प्रणामको महिमा गोपी गीत ७ परिच्छेदमा यसरी व्याख्या गरिएको छः-
“एकोपि कृष्णस्य कृतः
प्रणामो दशाश्वमेधावभृथेन तुल्यः।
दशाश्वमेधी पुनरेति जन्म
कृष्णप्रणामी न पुनर्भवाय।”
(करपात्रीकृत गोपी गीतको पृष्ठ २५८ बाट)

देवचन्द्रका शिष्य महात्मा प्राणनाथ पन्नाको बुंदेलखण्डका वासिन्दा थिए । बुंदेलखण्डका राजा छत्रसाल उनलाई आफ्ना गुरु मान्दथे । राजा छत्रसालको समय कस्तो थियो भने भारतमा मुगलहरुले हिन्दूहरुको संख्या समाप्त गराउने अभियान चलाएका थिए । भनिन्छ कि बाबरका खनाति औरंगजेबले आफ्ना सैनिकलाई दिनमा बहत्तर गाडा हिन्दूका जनै काटेर दरबारमा हाँजिर गराउने आदेश दिएका थिए । त्यसबेला हिन्दू नाम र हिन्दू पहिचान लिएर हिँड्नेहरु कोही मारिन्थे भने कोही मुगलका बन्दी बन्न पुग्थे । त्यो अवस्थामा वैदिक सनातन संस्कृतिका सबै सम्प्रदाय, मठ र मठाधीशहरु लोपप्राय हुनलागे । त्यस्तो अवस्थामा कैयौं हिन्दूहरुले इश्लाम कबुल गरेका तथ्यहरु जताततै छन् । यस सिलसिलामा पश्चिम भारतको मराठा राज्यस्थापनाका लागि संघर्षरत योद्धा छत्रपति शिवाजी (उनको असली नाम शिवाजी राजे भोसले थियो) हिन्दूहरुको सुरक्षार्थ तत्पर थिए भने पूर्वमा बुंदेलखण्डको रक्षामा छत्रसाल तत्पर थिए ।

वेद, उपनिषद र कुरानसमेतका जानकार प्राणनाथका शिष्य बनेर छत्रसालले पनि कुरानको यथेष्ट ज्ञान लिएका थिए । उनी मुसलमानकै भेष धरेर औंरगजेबका सेनालाई छल्दै दरवारसम्म पुगी औरंगजेबसामु कुरानका तर्क राखेर हैरान बनाउँथे । वेद-वेदांग, हिन्दू र हिन्दूहरुको भूमि नै नामेट बनाउन औरंगजेब लागेपछि छत्रसाल बुंदेलखण्डको मात्र सुरक्षा सोचेर बसेनन् । उता छत्रपति शिवाजी मराठाको लागि मात्र चिन्ता गरेर बसेनन् । छत्रसाल र छत्रपतिको गोप्य भेटघाट भयो । त्यसपछि उनीहरुले विशाल भारतीय राष्ट्रियताको सुरक्षार्थ एकताबद्ध युद्ध नै शुरु गरे र औरंगजेबलाई दक्षिणतिर भगाए । यसरी उनीहरुले भारतीय राष्ट्रियताको रक्षा गरेपछि त्यो परिणामबाट हर्षित बनेका सारा हिन्दूहरुले छत्रसाल र उनका सबै अनुयायीहरुलाई परिणामी भनेका थिए । र, फेरि पनि पछि यही परिणामी शब्द अपभ्रंश हुँदै प्रणामी सम्प्रदाय बनेको मत छ ।
भारतको गुजरात, राजस्थान र बुंदेलखण्ड (बिहार र वरिपरि) प्रणामी सम्प्रदायको बाहुल्यता छ भने यो सम्प्रदाय नेपाल, दार्जीलिङ, आसाम र भूटानसम्म फैलिएको छ ।
यी माथि उल्लेख गरिएका वैष्णवका मूल मूल पन्थहरु हुन् । तर उपशाखा-उपपन्थहरु टुक्रिँदै र फिजिँदै गएका छन् जसको तथ्यांक राख्न असम्भव प्राय भइरहेको छ ।  जस्तै चरणदासी, हरि चण्डी, कवीर पन्थी,  खाकी, मलुक दासी, मिरा बाई, माधवी, ॐ शान्ति, रायी दासी, सेनाइस, सखी भव, सदमा पन्थी आदि आदि अनेकौं नामका वैष्णव सम्प्रदाय रहेका तथ्यहरु पाइएको छ ।
जातको घमण्ड, वंशज उत्तराधिकारीको पारिवारिक वर्चस्व र सम्प्रदायको घेरा नाघेर वैदिक शास्त्रहरुको मात्रै मूल्यांकन गर्ने हो भने मानिसहरुको चेतनाको विकास हुन धेरै समय लाग्दैन । ससाना पन्थ र अभिजात वर्गको रखवाला गर्ने स्मृतिग्रन्थ बाहेकका मूल धार्मिक शास्त्रहरुको सन्देश सुन्ने हो भने एउटै सन्देश पाइन्छ । जसले भन्दछन्, “सृष्टिको आदिकालमा सत्य थिएन र असत्य पनि थिएन । न वायु थियो न त आकाश । न मृत्यु थियो न त अमरता । न रात थियो न दिन नै । त्यसबेला पनि आफ्नो उर्जाशक्तिले सास फेर्नसक्ने एउटै जीवतत्व थियो जसलाई ब्रह्म भनियो । ब्रह्मबाट सम्पूर्ण सृष्टि आरोपित भयो । विश्वको उत्पति, स्थिति र विनाशको कारण पनि ब्रह्म नै हो ।” -(ऋग्वेद, उपनिषद)

शुरुमा ब्रह्मबाट आत्मा र आत्माबाट जगतको उत्पत्ति भयो । आत्मालाई अनन्त वा अन्तरयामी पनि भनिन्छ । आत्माको आकारीय सूक्ष्मतालाई अणु भनिएको छ ।  एक केश (रौं) लिएर त्यसको शिराको गोलाईलाई ६० भाग छुट्याइ, फेरि त्यस भागबाट पनि ९९ अंश छुट्याएर, अझ ९९ भागको पनि थप ६० खण्ड बनेपछिको एक भागलाई आत्मको परिमाण बताइएको छ । यो हिसाबमा आत्माको आयतन एक रौंको  ३ करोड, ५२ लाख, ८२ हजार, ६०० औं टुक्रामध्येको एक टुक्रा बराबर छ । तर, आत्मतत्व अन्तरयामी, अदृश्य छ पनि भनिएकोले यसको आयतन नापजाँच  कसरी सम्भव भयो भन्ने जिज्ञासा पनि एकातिर छँदैछ ।  यद्यपि, शास्त्रहरुको वर्णन अनुसार आत्माको रंग सेतो र निलो छ ।  यदि मन (आत्म) मा खराब चिन्तनको प्रभाव पर्न गएमा आत्माले रंग फेरेर बैगुनी बन्ने पनि बताइन्छ । आत्माको स्थिर बस्ने वा अडिने कुनै निश्चित समय र स्थान छैन ।

सबैभन्दा पहिले सिंगो ब्रह्माण्ड नै एउटा अणुझैं विन्दुको रूपमा थियो । महाशून्यस्थित विन्दुमा यो आत्मरुपी स्पन्दन संक्रमित भएपछि त्यसमा वायु प्रकट भयो र त्यहींबाट अग्नि पनि जन्मियो । यसरी क्रमशः अग्निबाट जल र जलबाट धरती प्रकट भयो ।  अग्नि नै आदित्य, सूर्य वा देवता हो । यो नै हाम्रो शरीरमा स्थित छ र हामी जीवित छौं ।

ब्रह्माण्ड, धरती र धरतीमाथि जीवनको उत्पति ध्वनि, स्पंदन र ऊर्जाबाट भएको कुरालाई न वैदिक शास्त्रले नकार्छ न त आधुनिक विज्ञानले नै ! पूरा ब्रह्माण्ड प्राथमिक ध्वनि र स्पंदनको प्रतिफलमै उत्पन्न भएको  बताइन्छ । पदार्थ र प्रतिपदार्थ बीचको सायुज्यनबाट प्रकाश र प्रकाशको गति बनेको छ । यो कुरालाई आधुनिक विज्ञानका अनेकौं अनुसन्धानले पनि पुष्टि गरिसकेका छन् ।

यदि वैदिक शास्त्रको मत अनुसार कालगणना गर्ने हो भने ब्रह्माण्डको आयु १० देखि १५ अरब वर्ष पुगेको मानिन्छ भने धरती वा पृथ्वीको आयु ४ अरब वर्षभन्दा अलिकति माथि मात्रै मानिएको छ । ब्रह्माण्डको उत्पति, धरा वा पृथ्वीको उत्पति र जीवनको उत्पतिका सिलसिला बेग्लाबेग्लै हिसाबले तय भएका छन् । विश्व जुन विन्दूबाट विकसित भयो त्यो अणु थियो र त्यही विश्व निर्माण गर्नसक्ने शक्तिशाली अणु (विश्व+अणु) लाई ‘विष्णु’ र त्यसमाथि प्राणी चराचरको सृष्टि गर्ने पञ्चभूतको स्रोत वा ब्रह्मको अणुलाई ‘ब्रह्माणु’ अथवा ‘ब्रह्माण्ड’ भनिएको अधिकांश शास्त्रहरुको मत छ ।

शास्त्रहरुको एकमुष्ट मत के भने  छ भने शुरुमा ब्रह्मले ‘हरिण्य गर्भ’ मार्फत स्वयंलाई अभिव्यक्त गरे । “समवर्तताग्रे भूतस्य जातः पतिरेक आसिता।।” अर्थात् हिरण्यगर्भ वा धर्ती, सूर्य, चन्द्र, तारागण, आकाश र ब्रह्माण्डको गोलाई आफूभित्र सम्मिलित गरेको एउटा सुनौलो गर्भ उत्पन्न भयो । यसलाई बाहिरबाट दश किसिमका गुणहरुले छोपेर राखेका थिए तर, एकदिन ती गुणहरुलाई पनि वायु (हावा) ले तोडी दियो । (हिरण्यगर्भ सूक्त -ऋगवेद १०.१२१)

हिरण्यगर्भ रूपलाई नै पृथ्वी र देउलोकको आधारका रूपमा सर्वत्र स्वीकार गरिएको छ । यो  हिरण्यगर्भ ब्रह्मबाट पैदा भयो र हिरण्यगर्भबाटै ‘हिरण्य पुरुष’ को जन्म भयो । (ऐतरेयोपनिषदको पहिलो अध्यायको पहिलो खण्डको पहिलो सन्दर्भ, जगत सृष्टिको प्रसंगमा उल्लेख ।) कतिपय शास्त्रहरुले हिरण्यगर्भ र हिरण्यपुरुषको प्रसंगलाई ब्रह्म र ब्रह्माजी भनेर पनि व्याख्या गरेका छन् । ब्रह्म र ब्रह्माजी एउटै विन्दुबाट सृष्टि भएका छन् । ब्रह्मलाई अन्तिम सत्य वा उत्पतिको मूल स्रोत भनिएको छ भने ब्रह्मकै तेजस्वी वैयक्तित्वलाई ब्रह्माजी भनिएको छ ।  यस अर्थमा ब्रह्माजीलाई चतुर्मुखी अथवा चारमुख भएका देखाइनुमा मानवका चारवटा छुट्टाछुट्टै गुणहरुको अवस्था बताइएको छ । जस्तै प्रथम अवस्था सुसुप्ति, दोस्रो स्वरूप, तेस्रो स्वप्न र चौथो अवस्था जागृत ।

साँच्चै भौतिक जगतमा मानवको अस्तित्व शुरुमा भ्रूणको रूपमा सुसुप्त नै हुन्छ । त्यसपछि उसले हरेक इन्द्रियहरुको विकसित रुप ग्रहण गरी मानिसको स्वरूप धारण गर्दछ । त्यसपछि धरतीमा पैदा भएपछि एकचोटि ऊ सपनाहरुका बीचमा हुन्छ र विस्तारै बौरिएर चिच्याउँछ अनि जागृत अवस्थाको जीवनयापन शुरु गर्दछ । क्रमशः जगतको उपस्थितिलाई सत्यम् शिवम् सुन्दरम् मानेर अघि बढे ऊ आर्य (सभ्य) वा देवगुणले युक्त हुन्छ । अन्यथा ऊ अनार्य, दानव, दैंत्य वा राक्षस कहलाउँछ । यसमा वर्णव्यवस्थाको वर्तमान विकृत रूपअन्तर्गत कुल- वंशज परम्पराको कुनै पनि सरोकार छैन । यसै प्रसंगमा अर्को एउटा चाख लाग्दो तथ्य के छ भने वैदिक आध्यात्मिक दर्शनको प्रस्तावनालाई मानेर आधुनिक विज्ञानले पनि आत्माका तीनवटा विभिन्न रूप वा शरीर हुने कुरामा सहमति जनाएको छ । विज्ञानले के भनेको छ भने, “आत्माका तीनवटा अलग स्थिति अथवा तीन शरीर छन् । जसमा सबैभन्दा पहिले स्थूल शरीर, दोस्रो सूक्ष्म शरीर अनि तेस्रो कारण शरीर !” शास्त्रहरुले विज्ञानको यो भनाइलाई यसरी पुष्टि गरिदिएका छन्-“स्थूल शरीरको प्राकृतिक उमेर सरदर १२० देखि १५० वर्ष ठानिएको छ भने सूक्ष्म शरीरको आयु करोडौं वर्ष । यसरी नै कारण शरीर अजर अमर विद्यमान रहने छ ।” यद्यपि यस विषयको वैज्ञानिक खोज अझै जारी छ, टुंगिई सकेको छैन ।

वेदहरुमा उल्लेख आर्य भनेको सभ्यतासित सम्बन्धित विशेषण थियो । वर्तमान वर्णव्यवस्थासित जोडिएको ब्राह्मण परिभाषामा आर्य शब्दले कुनै सामिप्यता राख्तैन । वैदिककालको वर्ण व्यवस्था सामाजिक संरचनामा आधारित थियो । यो व्यवस्था भनेको जसको जस्तो गुण वा कर्म सोही अनुसारको उसको वर्ण ! वर्ण भनेको एक अर्थमा रंग हो भने अर्को अर्थमा गुण पनि हो । ऋग्वेदमा उल्लेख वर्ण शब्दको व्याख्या गर्दै आर्य र दस्यु भन्ने दुई भेदमा आर्य सेता र दस्युहरु काला थिए भन्ने अर्थ पनि धेरै ठाउँमा दिइएको छ । तर, धेरै शास्त्रीय अनुसन्धाताहरु वर्ण शब्दको उत्पति ‘वरण’ बाट भएको बताउँछन् । वरण शब्दमा लिनू, अपनाउनु, स्वीकार्नु, चुन्नु आदि अर्थ लाग्छ । त्यसो हुँदा शुद्रको रूपमा जन्मिएका सबै मानवले यज्ञोपवीत संस्कारको उपनयन विधिमार्फत वर्णाश्रमका चार विभागमध्ये कुन प्रवृत्ति ग्रहण गर्दछन् अथवा कुन गुण अपनाउँछन् त्यसै वर्णाश्रममा तिनको कर्मनिर्धारण गरिदिने चलन विकसित भएको मानिन्छ । तर, समाजको दुर्भाग्य भनौं या अवनतिको बाटो, जब तेस्रो शताब्दिपछि संसारमा भूगोल कब्जा गर्ने अभियान शुरु भयो र वंशज शासनको प्रादुर्भाव हुनथाल्यो, शासन र सम्पत्तिको रक्षार्थ उत्तराधिकारी निश्चित गर्ने उद्देश्यका लागि वर्णाश्रम परम्पराले पनि जातीय वंशजको रूप लियो । जातीय वंशजको रूपमा फैलिएको राजनीतिक महत्वाकांक्षाले विस्तारै सनातन परम्पराबाट चलिआएको सामाजिक व्यवस्था भताभुंग बनाइदियो जसको परिणाम आज नातावाद, परिवारवाद अनि त्यसबाट पनि चोइटिएर भाइ-भतिजावाद हुँदै नितान्त एक्लो व्यक्तिवादमा हामी टुंगिन आइपुगेका छौं ।

 जाति र वर्णका बारेमा प्रसंग उठाइसकेपछि यस विषयको पनि अलिकति चर्चा त गर्नैपऱ्यो । जाति र वर्णमा के अन्तर छ त ? जातिको तात्पर्य के हो भने उत्पतिको आधारमा गरिएको वर्गीकरण । न्यायसूत्रमा उल्लेख (‘समानप्रवात्मिका जातिः’ न्यादर्शन २/२/७१) भए अनुसार जसको प्रसव वा जन्मको मूल समान रूपमा स्थापित छ, अथवा जसको उत्पतिको प्रकार एकै किसिमको छ, ती सबै एक जाति हुन् ।

“आकृतिर्जातिलिङ्गाख्या”- (न्यायदर्शन २/२/६५) । तात्पर्य जसको आकृति (इन्द्रियादि) एक समान छन्, ती सबै एक जाति हुन् ।

यो व्याख्यालाई सूक्ष्म हिसाबले हेर्ने हो भने हरेक जातिविशेषका प्राणीहरुको शरीरका अंगमा कुनै न कुनै किसिमको समानता पाइन्छ । सृष्टिको नियम नै छ कोही पनि एक जाति कहिल्यै पनि अर्को जातिको रूपमा परिवर्तित हुन सक्तैन । अनि भिन्न भिन्न जातिले आपसी संसर्गबाट प्राकृतिक प्रजनन् पनि गर्न सक्तैनन् । यसर्थ, मानव मनुष्यको उत्पति, शारीरिक संरचना, जीवनचर्चा, सन्तान उत्पति आदि समान भएका कारण उनीहरु सबै एक जाति हुन् जसलाई शास्त्रले मनुष्य भनेका छन् । मनुष्य भनेको आदि मानव स्वयंभू मनु र शतरूपका सन्तान हुन् । मनुहरुको शास्त्रीय व्याख्यानअनुसार अहिलेको समय जम्मा १४ औं मनुमध्ये आठौं, सावर्णि नामका मनुको जीवनकाल चलिरहेको छ (श्वेतवराह कल्प) । विक्रमसंवतको प्रयोग शुरु हुनभन्दा पाँच हजार, छ सय तीस (५६३०) वर्ष पहिले सावर्णि मनुको काल प्रारम्भ भएको शास्त्रीय मान्यता छ ।

वर्ण वा वर्णाश्रमलाई आज जसरी अलग वंशज परम्पराका उत्तराधिकारीको जातिसत्ता मानिन्छ, त्यसले त शास्त्रीय मान्यतालाई नै बिटुलो गरिदिएको छ । मनु र शतरूपाका सन्तान, सहोद्दर एक परिवारभित्र कसरी कोही उच्चजाति र कोही निच भए ? जातिप्रथाको यो वर्तमान वंशज-परम्परा विल्कुलै उडन्ते सिद्धान्त हो ।  यो लडाइँ गर्ने युद्धसरदारहरुले विकास गरेको मतबाट प्रभावित भएर शुरु गरिएको सिद्धान्त हो जसमा राजाको छोरो राजा हुन्छ, ब्राह्मणको छोरो स्वतः ब्राह्मण हुन्छ । कर्म र गुणसँग यिनको कुनै सरोकार छैन । नत्र त ब्रह्माजीको  मानसपुत्र दक्षप्रजापति, काश्यप ऋषिको सन्तान हिरण्यकश्येपु र पुलस्त्य ऋषिको नाति अथवा महर्षि विश्रवाको छोरो रावण ‘राक्षस’ भएजस्तो आज पनि कर्म र गुणको निश्चित मानक अनुसार वर्ण वा जात छुट्टिने थियो । यसर्थ आज समाजले गरिरहेको अभ्यासका आधारमा जातीय भेदभाव र छुवाछूतको परम्परा मान्नेहरुलाई साँच्चो हिन्दू वा वैदिक सनातन परम्पराको रक्षक होइन, विनाशक मान्नुपर्छ । शास्त्रहरुको मीमांशा नगरी एकोहोरो पाठमात्र गरेर तिनमा समेटिएका मानवीय मर्महरुलाई अवमूल्यन गर्ने परम्परा वंशजसत्ताका महत्वाकांक्षी र धनका आशक्तहरुबाट मात्र हुनसक्छ । वैदिक सनातनधर्मी वा हिन्दू धर्मका रक्षक महात्माबाट त्यस्तो हुन सक्तैन !

वर्ण चुन्ने आधार गुण र कर्म अथवा स्वाभाव हुनुपर्छ भनेर शास्त्रहरुले दिएको उपदेश काखीमा च्यापेर यसलाई पूर्णरुपले जन्मवंशजको राजसी परम्पराका आधारमा “पूर्वजन्मको कमाइ वा फल” भन्ने को हो ? अब पनि नखोज्ने ? कि समाजमा चलेको धर्म भनिने भ्रमको खेती बन्द गरौं, हाम्रा पूर्वीय दर्शनका शास्त्रहरु खारेज गरौं र आफ्नो स्वत्वबाट विमुख बनौं । कि त हामी सम्पूर्णरूपमा शास्त्रीय दर्शनलाई अंगिकार गरौं र तिनमा भएका मानवमूल्यका कुराहरुलाई सार्वजनिक गरौं । सबै दर्शन शास्त्रहरु मानवीय प्रयोजनका लागि हुन्, जसको उद्देश्य मानिसलाई परस्पर सहयोगी बनाएर विभिन्न कामहरु बाँडेर सहकार्य गराउने, कुनै पनि काम त्यही कामको लागि योग्य वा दक्ष व्यक्तिद्वारा गराउने, सबै मानिसहरुलाई आ-आफ्नो क्षमता अनुसार श्रममा लगाउने र उनीहरुको जीविकोपार्जनको उपाय देखाउने उद्देश्यमा मात्र केन्द्रित थियो वर्ण व्यवस्था ! एउटाले गर्ने पेशा अर्को वर्णले नगर्नु भन्ने कुरा रोजगार प्रत्याभूतिको लक्ष्यमा केन्द्रित थियो । तर आज…!! समाजको अवस्था के छ, बयान गर्नै पर्दैन । सबैलाई थाहा छ !

मानव इतिहासको शुरुमा सबै मानिसहरु एकै वर्ण वा जातका थिए । बृहदारण्यक उपनिषद्, प्रथमोध्याय चतुर्थ ब्राह्मण ११, १२, १३ खण्डिका, महाभारत शान्तिपर्वको मोक्षधर्म अध्याय ४२ श्लोक १०, भागवत स्कन्ध ९ अध्याय १४ श्लोक ४, भविष्य पुराण ब्रह्मपर्वको अध्याय ४० हेर्न सक्नुहुनेछ । यी शास्त्रहरुका अनुसार वर्णाश्रम धर्मको कुनै एक कर्म गर्नु नै मानवीय धर्म हो । यो व्याख्या अनुसार धर्मको नाममा यतिबेला समाजमा देखिएका सम्प्रदायका हाँगाहरु विभिन्न सन्त वा गुरुका पन्थानुयायी मात्र हुन् । सम्प्रदाय हुँदैमा यिनलाई खराब भन्न पनि मिल्दैन । सम्प्रदायको मत भनेको योगसंकायका मार्गहरु हुन् ।

यसर्थ वर्णाश्रम धर्मका अतिरिक्त थप सम्प्रदाय अपनाउनु भनेको सन्यास ग्रहण गर्नु अवा वैराग्य प्रवेश गर्नुसरह हो । सबै किसिमका सांसारिक बन्धनहरुबाट निवृत भएर विभिन्न योगविधि साधन गर्नलाई मात्र कुनै निश्चित गुरुको दीक्षा लिनु शास्त्रीय मान्यतामा आधारित सम्प्रदाय हुन सक्छन् । तर, हामी सम्प्रदायका नाममा गुटहरुको संख्या बढाइरहेका छौं । व्यापारवृद्धिको मुनाफामा आधारित समूहहरुको विकास गर्दै प्रतिस्पर्धाको घमण्ड रोपीरहेका छौं । एकातिर वैराग्य धारणको लागि निर्धारित सम्प्रदाय अपनाइरहेका छौं भने अर्कोतिर वर्णाश्रम धर्मको नाममा कुल-वंशज राजसी वर्चस्वको रक्षा गरिरहेका छौं । धर्मले बन्धन होइन, मुक्ति वा मोक्षको बाटो देखाउँछ भन्ने कुरा सम्प्रदायका टिकटवालाहरुले शायदै बुझेका होलान् ! धर्मले बन्देज लाउँदैन, कसैलाई कैद गर्दैन, स्वतन्त्रताको आभाष दिलाउँदछ भन्ने उनीहरुले शायदै बुझेका होलान् ! ज-जसले  धर्मको नाममा सम्प्रदायमार्फत अनेक मतहरुको प्रचार गरिरहेका छन्, तिनै मध्ये अधिकांशले वास्तविक धर्मको सिद्धान्तलाई लात हानिरहेका छन् ।

सम्प्रदायको विज्ञापन एकातिर, वर्णाश्रम परम्पराको तात्विक अर्थ अर्कातिर अनि समाजको विकासक्रम अझै  अर्कैतिर ! समाजमा चलेका उच-निच, ठूलो र सानोको परिकल्पित विभेद, छुवाछूत जस्ता अभद्र चलनहरु शासकका दरवारियाहरुबाट फैलाइएका थिए । शास्त्रका केही सीमित सिद्धान्तमा मिलाएर शासन-सत्ताको जग नहल्लिने गरी भाडाका विद्वान र शासनका लालचीहरुबाट नीतिहरु लेखिए । स्मृतिहरु, कथाहरु लेखिए । यति हुँदा हुँदै पनि आज चलेको राजसी वंशज परम्परालाई वैदिककालमा सहज रूपमा कसैले पनि स्वीकार गरेको पाइँदैन ।

वैदिक इतिहासमा वर्ण परिवर्तनका अनेक प्रमाणहरु उपस्थित छन्, जस्तैः-

  • ऐतरेय ऋषि दास अथवा अपराधीका छोरा थिए तर, आफ्नो गुणले उच्चकोटिका ब्राह्मण बनेर उनले नै ऐतरेय ब्राह्मण र ऐतरेय उपनिषदको रचना गरे । आज ऋग्वेदलाई राम्रो गरी बुझ्नका लागि ऐतरेय ब्राह्मण नपढी नहुने पुस्तक बनेको छ ।
  • ऐलूष ऋषि दासीका छोरा थिए । उनी जुवाडे थिए, व्यभिचारी पनि थिए । तर, पछि गएर अध्ययन गर्दै ऋग्वेदको अनुसन्धान गरी अनेक आविष्कारहरु गरे । त्यसबेला नामुद ऋषिहरुले उनलाई बोलाएर आचार्य पद प्रदान गरेका थिए (ऐतरेय ब्राह्मण /१९) ।
  • सत्यकाम जाबाल गणिका (बेश्या) का छोरा थिए । तर, उनी ब्राह्मण भए (छान्दोग्य उपनिषद खण्ड/) ।
  • राजा दक्षप्रजापति स्वयम् ब्रह्माजीका छोरा थिए भने गुणले उनी राक्षस बने । उनको छोरो पृषध आफ्नो कर्मको कारण शुद्र बनेका थिए । तर, प्रायश्चितको तपस्या गरेर उनले ब्राह्मणसरह मोक्ष प्राप्त गरे (विष्णु पुराण ४/१/१४) । रामायणमा पछि जोडिएको मिथक अनुसार शुद्रले तपस्या गर्नै नपाउने भए पृषधले कसरी तपस्या गर्नसक्थे ? पृषधकै भाइ प्रह्लादको अर्को प्रसंग पनि यहाँ जोड्न सकिन्छ ।
  • राजा नेदिष्टका छोरा नाभाग वैश्य बने, पुनः उनका केही छोराहरु क्षेत्रीय वर्णका भए (विष्णु पुराण ४/१/१३)।
  • धृष्ट नाभागकै छोरा थिए तर, उनी ब्राह्मण बने र उनका छोराहरु फेरि क्षेत्रीय बने । त्यसको धेरै समयपछि फेरि पनि त्यही वंशका केही ब्राह्मण भए (विष्णु पुराण //) ।
  • भागवतका अनुसार राजपुत्र अग्निवेश्य ब्राह्मण बने ।
  • विष्णुपुराण र भागवत दुवैले बताए अनुसार रथोत्तर क्षेत्रीयबाट ब्राह्मण बनेका थिए ।
  • हरित क्षेत्रीय पुत्र भएर पनि ब्राह्मण बनेका थिए (विष्णुपुराण ४/३/५)
  • क्षेत्रीय कुलमा जन्मिएका शौनकले ब्राह्मणत्व लिए । वायुपुराण, विष्णुपुराण र हरिवंश पुराणमा उल्लेख भए अनुसार शौनक ऋषिका छोराहरु कर्मभेदले ब्राह्मण, क्षेत्रीय, वैश्य र शुद्र चारै वर्णमा बाँडिएका थिए ।
  • मातंग चण्डालपुत्रबाट ब्राह्मण बनेका थिए (महाभारत राजधर्म अध्याय २७ )।
  • ऋषि पुलस्त्यका नाति, महापण्डित विश्रवाको छोरो रावण आफ्नै कर्मको कारण राक्षस बनेका थिए ।
  • देवराज रघुका छोरा प्रवृद्ध राक्षस बनेका थिए ।
  • त्रिशंकु राजा भएरै पनि व्यवहारको कारण चाण्डाल बनेका थिए ।
  • ऋषि विश्वामित्र क्षेत्रीय भएर पछि ब्राह्मण बनेका थिए भने उनका सन्तानले शुद्र वर्ण अपनाएका थिए ।
  • विदुर दासीका छोरा थिए तर, ब्राह्मण बनेर हस्तिनापुर साम्राज्यको मन्त्री पद प्राप्त गरे ।

यस्ता उदाहरणहरुले हामीलाई के बताउँछन् भने वैदिककालीन वर्णाश्रममा वर्ण परिवर्तनको छुट वा प्रबन्ध मिलाइएको थियो । यस अर्थमा जन्मैबाट कोही पनि वर्णमा निर्धारित हुँदैन थियो ।  मनुस्मृतिमा पनि वर्ण परिवर्तनको स्पष्ट आदेश छ (मनुस्मृति १०/६५) ।

ब्राह्मण शुद्र अनि शुद्र ब्राह्मण हुनसक्छ । यसरी नै क्षेत्रीय र वैश्यका सन्तान पनि बदलीन सक्छन् । अथवा चारै वर्णका मानिसहरुले आफ्नो कार्यव्यापार फेरेर आफ्नो वर्ण (वा जात) बदलीन सक्छन् । स्वयम् ब्रह्माजीको कथनको हवाला दिएर महाभारतको दान-धर्म अध्याय १४३/४७-ले बताएको छ,‘शुद्रले पनि जितेन्द्रिय बनेर पवित्र कर्मद्वारा अनुष्ठान गर्दै अन्तस्करणलाई शुद्ध बनाउन सक्तछ र ऊ द्विज वा ब्राह्मणको पदमा आसीन हुन लायक छ ।’

“जन्मना जायते शुद्र: संस्कारों द्विज उच्यते। वेद पाठी भवेद् विप्र: ब्रह्म जानेति ब्राह्मण: ।।” यस्कमुनिको यो भनाइको अर्थ हो,‘जन्ममा सबै मानिस शुद्र हुन्छन् । संस्कारले उनीहरु द्विज हुन्छन् । वेद पढेर विप्र हुन्छन् र ब्रह्मज्ञान प्राप्त गरेपछि ब्राह्मण बन्दछन् ।’ गीता र उपनिषद्हरुमा पनि सोही कुरा बारम्बार उल्लेख गरिएको छ । शुभसंस्कार र अध्ययनले शुद्र ब्राह्मण बन्दछ भने दुराचारी ब्राह्मण शुद्र बन्दछ (ब्रह्म पुराण २२३/४३) ।

जसमा सत्य, परोपकार, सिर्जनात्मक अठोट, क्रोधहीनता, लज्जा, दया र सद्भावजस्तु गुणहरु छन् तिनै गुण ब्राह्मण हुनुका लक्षण हुन् (महाभारत शान्तिपर्व अध्याय ८८/४) ।

वंशले ब्राह्मण पिताको वीर्य र ब्राह्मणी आमाको गर्भबाट उत्पन्न हुनु नै ब्राह्मण हुनुको सिफारिश प्रमाण पत्र होइन, संस्कार, अध्ययन, वेद श्रवण, तत्व ज्ञानमीमांसा र अन्य सदाचारबाट मात्र व्यक्ति ब्राह्मण बन्नसक्छ (महाभारत अनुशासन पर्व १४३/५१) ।

समग्र हिन्दू समुदायमा धेरै उपजातिलाई अछूत मानिए पनि नेपालीविशेष समाजमा कामी, दमाई र सार्कीलाई मात्र अछूत बनाइएको छ । यिनीहरुलाई अछूत बनाइनुको कुनै पनि शास्त्रसम्मत कारण छैन । केवल किंवदन्तीहरुको आड लिएर यसरी एउटा समुदायलाई फुटाउने, विभेद गर्ने काम धर्मले कहिल्यै गर्न सक्तैन । शास्त्र एउटै छ, पूजा विधि एउटै छ, गोत्रेउली एउटै छ । सामाजिक योगदान उतिकै छ । ‘कामी’ शब्दको भावार्थले ‘कर्मी’ र ‘कामुक’ दुइवटा लक्षणा पैदा गर्दछन् । कर्मी भनेको काम गर्ने व्यक्ति हो । कामुक भनेको यौनजन्य लिप्सामा रहेको व्यक्ति हो । यौनजन्यकर्म प्राणीहरु सबैको गुण हो । कामवासनाको प्रभाव नभएका मानिस हामीले ठूल्ठूला मन्दिर र आश्रमहरुमा पनि पाउन सक्तैनौं । यौनक्रीडा भनेको प्रजननसित जोडिएको ऊर्जाशक्तिको नाम हो । परासर ऋषि र मत्स्यगन्धा (सत्यवति) को कथा प्रसंग पढेकाहरुले यो कुरा सजिलै बुझ्न सक्छन् जसबाट महामुनि व्यास जन्मिएका थिए । आज ठूल्ठूला मन्दिर र आश्रहरुमा घटित बलात्कार काण्डमा पक्राउ पर्नेहरु कोही पनि कामी देखिएका छैनन् । त्यसर्थ कर्मी वा कामुक भएको बताएर कसैलाई पनि अछूत राख्नु सामाजिक अपराध हो ।

दमाई दमाहा बजाउनेलाई भनिएको हो । दमाहा बजाउँदैमा उसलाई किन अछूत मान्ने? छालाको दमाहा बजायो भनेर यसो गरिएको भन्ने हो भने ढोलक, मादल, दुकी तबेला सबै छालाबाटै बनेका हुन्छन् । ती बजाउनेहरु सबै दमाई हुन्छन् ?

सार्की भनेको जैन धर्मको श्रावक शब्दबाट पैदा भएको अपभ्रंश शब्दावली मानिएको छ । श्रावक भनेको सेवक, भक्त वा अनुयायी हो । यिनले वंशजपरम्पराको जातिसत्तालाई मान्दैनन् । त्यही भएर जातिसत्ता मान्नेहरुका सामु श्रावकहरु अल्पमतमा परेपछि उनीहरुलाई फोहोर-मैलाको काम, छालाको काम, मरेको सिनो व्यवस्थापन गर्ने आदि काममा लगाइयो । उनीहरु पनि अवसर पाएपछि सभ्य हुनसक्छन्, शिक्षित हुनसक्छन् । सार्कीहरुलाई अछूत मान्नुपर्ने कुनै कारण छैन ।

सार्कीहरुको पूर्वज कुलको खोजी गर्दा यिनलाई आदिकालमा सराक भनिएको पाइन्छ । वर्तमान समयभन्दा करीब ३ हजार वर्ष पहिले भारतको वनारसस्थित राजदरबारमा राजा अश्वसेन र रानी वामाबाट जन्मिएका श्री पार्श्वनाथ नै सराकीहरुका पूर्वज थिए । पार्श्वनाथलाई जैन धर्मका २३ औं तिर्थंकर बताइएको छ । तिर्थंकर भनेको गुरु वा मार्गदर्शक हो । पार्श्वनाथको मूर्ति पुरूलिया जिल्लाईको अनाईजामबाद ग्राममा अहिले पनि खडा छ । जैनहरु शाकाहारी, हिंसा मन नपराउने, कर्मनिष्ठ मानवदर्शनका पक्षपाती हुन्छन् ।

यिनका पूर्वजहरुले जैन मत र देशको रक्षाका लागि आफ्नो सर्वश्व गुमाए तर, कसैका सामु हात पसारेनन् ।  जब अन्य  सांस्कृतिक मतका साम्राज्यहरु भारतमा पस्नथाले, तिनीहरुले सराकहरुलाई आतंकित बनाएर आफ्नो हितमा उपयोग गर्नथाले । जैन मन्दिर र उनीहरुका ग्रन्थसमेत लुकाएर, जलाएर सराकहरुलाई आफूले ताकेको हिंसात्मक काममा त्यसबेलाका शासकहरुले लगाएका लिखित प्रमाणहरु छन् ।

जब राजा, महाराजा, सामन्तहरूले सराकका पूर्वजहरुलाई शिकार गर्न, मद्यपान, मांशभक्षण गर्न बाध्य बनाउनथाले, उनीहरुका छोरी-चेलीलाई विवाहको जालमा जबरजस्ती बन्दी बनाउनथाले, उनीहरु आफ्नो रक्षाका लागि गाउँघर छोडेर अज्ञात जंगलवासतिर लागेका थिए भन्ने जैनसाहित्यमा उल्लेख छ । त्यसपछि सराकीहरु विस्तारै सार्की बनेर गाउँ-घरमा आजसम्म आफ्नो अभिशप्त ‘हिन्दूपौरख’ धानिरहेका छन् ।

जाति उपजातिको गदा-पद्म बोकेर छुवाछूतलाई जीवनदर्शन मान्नेहरुले शिल्प विद्याबारे वेदमा के उल्लेख छ भनेर खोजी गरे हुन्थ्यो ! वेदमा शिल्प विद्या, कर्मी शब्दको प्रयोग भएको छ । वैदिक कालमा शिल्प विद्या सबै वर्णका मानिसले आफ्नो आवश्यकता अनुसार उपयोग गर्दथे । कालान्तरमा जब युद्ध जिजीविषाका कारण समाजमा मालिक र दास वा कमारा-कमारीको उत्पति भयो, त्यसपछि अधिक श्रम लाग्ने शिल्प विद्या केवल शुद्रवर्णमै सीमित गराइयो । युद्धमा हारेका कैदी बन्दीहरुलाई अधिक परिश्रमको काम लगाउने शोषणको साधनका रूपमा शिल्प विद्या परिणत भयो । त्यसपछि श्रम र श्रमिक दुवैलाई नियतवश हेयको दृष्टिले हेर्न थालियो । महर्षि दयानन्दको वेदभाष्यमा यजुर्वेद १९/८० को अंशअन्तर्गत उल्लेख भएअनुसार “जसरी औषधिको प्रयोगमा कुनै वर्ण वा वर्गभेद हुँदैन, त्यसरी नै शिल्पविद्याको उपयोगमा पनि कुनै वर्णभेद हुने छैन ।”

ऋग्वेदमा पनि भनिएको छ,“ए विद्वानहरु हो, जसले वाहन (रथ वा गाडी) बनाएर चलाउने चातुर्यको शिल्प जान्दछन् तिनलाई अंकमाल गर, सत्कार गर अनि त्यो विद्या आफूले पनि ग्रहण गरेर शिल्पविद्याको सकेसम्म उन्नति गर ।” (ऋग्वेद ४/३६/२)

जातिवाद वा राजसी वंशपरम्पराका पोषकहरुले सोच्नु पर्छ कि समाज सुन्दर र समृद्ध बनाउनका लागि सफाई र शिल्प दुई विद्याको आवश्यकता हुन्छ । यसर्थ सफाई र शिल्पको उन्नति गर्ने जनशक्तिलाई घृणा गरेर समाज बन्दैन । सफाई र शिल्पको दक्षता भएका समुदायलाई हेयदृष्टि राख्नु नै सम्पूर्ण मानव जातिको कुभलो चिताउनु हो ।

ब्राह्मणत्व भनेको कहिल्यै पनि जन्मवंशले दिने वीरता होइन । यो गुणकर्मले निर्धारण गर्ने कुरा हो भनेर यसै लेखमा पनि अनेकौंपटक भनिसकिएको छ । थप प्रसंग पनि हेर्नुहोस् ।

अथर्ववेदका रचयिता ऋषि अंगिरस (अंगिरा) को वंशमा पैदा भएका रत्नाकर ब्राह्मणपुत्र थिए । ऋषि काश्यपका नवौं पुत्र प्रचेत अथवा वरुणका दशौं सन्तानको रूपमा जन्मिएका रत्नाकरको अर्को नाम अग्निशर्मा थियो । अग्नि शर्मा नै पछि गएर वाल्मिकी बनेका थिए । वाल्मिकीलाई हिन्दू वाङ्मयमा खगोलशास्त्रीय तथ्यांक र ज्योतिष दर्शनको प्रतिपादन गर्ने ज्ञान-महासागर भृगु ऋषिका दाजु बताइएको छ ।

खराब संगतको कारण सानैदेखि उनी डाका बनेर नाम कमाए । पछि वयस्क बनेपछि उनले बटुवाहरु लुटेर ल्याएको सम्पतिले आफ्ना परिवारको पालन-पोषण नै गर्नथाले ।

यसै क्रममा एकदिन ऋषि नारद बटुवाको रूपमा रत्नाकरको अगाडि आए । नारदलाई पनि रत्नाकरले अरुलाई झैं वर्ताव देखाए । नारदले भने,“हे महाशय, मसँग त त्यस्तो केही पनि छैन जो चीज तिमीलाई दिन सकौं । तर, एउटा प्रश्न गर्छु, नरिसाइ जवाफ देऊ ।”

आफू सामुन्ने पर्नेबित्तिकै थर-थर काम्ने, रुने- विलाप गर्दै विन्ति बिसाउनेहरुको मात्र आदत परिसकेका रत्नाकर, नारदले ठाड्ठाडै यसरी हँसिलो मुद्रामा प्रश्न सोध्न आँट गरेको देखी मनमनै गम खाँदैथिए । लुट्न केही नभेटेपछि नारदले सोधेको प्रश्नको उत्तर पनि दिइहालौं न त भनेर, ‘के सोद्छौ, सोध’ भन्दिए । त्यसपछि नारदले यो चोरी डकैती गर्नु भनेको पाप कर्म हो, यसको फल तिमी एक्लै भोग्छौ कि साथमा अरुले पनि भोग्छन् त? भनेर प्रश्न राखे । रत्नाकरले परिवार पाल्नुपर्ने कारण डकैती गरेको र यो कर्मको फल परिवारका सबैले भोग्नुपर्ने बेलीविस्तार लगाए । यो कर्मको सजायफल भोग्न ती परिवारका सदस्यहरु तयार छन्- छैनन् बुझ्न नारदले सुझाव दिए ।

जंगलको एउटा रुखमा नारदलाई डोरीले बाँधेर आफ्नो घर पुगेका रत्नाकरलाई परिवारका सबैले जसरी कमाएर ल्याए पनि त्यो जिम्मा उसको हो तर, उनको चोरी-डकैती जस्तो दुष्कर्मको फलमा कोही पनि सहभागी नहुने बताइदिए । त्यसपछि रत्नाकर फर्केर ऋषि नारदलाई बन्देजबाट खोल्दै प्रायश्चितको विन्ति बिसाउन थाले । नारदले योगासनमा बसेर ध्यानदृष्टिले ईश्वरको कामना गर्न सुझाव दिएर बाटो लागे । त्यसपछि योगासनमा बसेका रत्नाकरको शरीरमा धमिराले गुँड लाउँन्जेल उनी उठेनन् । यो देखेर उनको वैराग्य देखी खुशी हुँदै ब्रह्माजी स्वयंले नित्य-ध्यानको फलस्वरूप उनलाई नयाँ नाम “वाल्मिक” राखिदिए । वाल्मिकको अर्थ संस्कृतमा एक किसिमको कमिलो वा धमिरा हुनजान्छ । त्यसपछि वाल्मिक नै विस्तारै ऋषि वाल्मिकी बनेका थिए । रामायणको अरण्यक काण्डमा आफ्नो चौधवर्षे वनवासकालमा श्रीराम ऋषि वाल्मिकीको आश्रममा पुगेको प्रसंग उल्लेख छ । वाल्मिकी ऋषिद्वारा रचित संस्कृत रामायणलाई नै आजपर्यन्त असली रामकथा मानिदै आएको छ ।
अतः वाल्मिकीद्वारा रचित रामायणको कविताः
“मा निषाद प्रतिष्ठां त्वमगमः शाश्वतीः समाः।
यत्क्रौंचमिथुनादेकम् अवधीः काममोहितम्॥”

-लाई नै पूर्वीय लेखन साहित्यको प्रथम लिपिवद्ध कविता पनि मानिएको छ । यसैकारण वाल्मिकीलाई संस्कृतका आदिकवि पनि भनिन्छ । प्रेम र हत्यासम्बन्धमा यो श्लोक केन्द्रित छ । भर्खरैको विवाहपछि वनमा शिकार खेली रमाइलो गर्न आएको एक युवा जोडीमध्ये पुरुषले एउटा सारसलाई मारेको प्रसंग छ यहाँ । भाले सारसलाई शिकारीले मारेपछि पोथी सारस चिच्याउँदै वाल्मिकीको छेउमा आएर रक्षाको गुहार मागेको अनुभूतिमा कारुणिक हुँदै उनले सो कविता वा श्लोक रचेका हुन् । यसको अर्थ हुन्छ, “अरे ओ अवारा मान्छे, तैंले यौनमा क्रीडारत क्रौंच (सारस) पक्षीको हत्या गरिस् । जा, तँलाई जीवनमा कहिल्यै पनि प्रेम-विलास र यौनतृप्तिको मौका मिल्ने छैन ।”

खगोलविज्ञान र ज्योतिषशास्त्र समेतका ज्ञाता आदिकवि वाल्मिकीका सन्तान भएकै कारण प्राचीन भारतमा वाल्मिकी उपनामले चिनिने एउटा विशेष समूहका ब्राह्मणहरुलाई उच्चशिक्षित र प्रथम दर्जाका ब्रह्मज्ञानी मानिन्थ्यो । यी माथिल्लो दर्जाका ब्राह्मणहरुलाई नै शिरनत गर्नसकेमा सम्पूर्ण आर्यहरुको शिर गिराइन्छ भन्ने ध्येय लिएर तत्कालीन भारतका मुगल सम्राटहरुले गाउँ-गाउँबाट वाल्मिकी समूहका ब्राह्मणहरुलाई अपहरण गरी ल्याउँदै दरबारका दास-दासी बनाउन थाले । शहरका गन्धगी सफा गर्ने, लाश जलाउने काम आदिजस्ता फोहोर-मैला र कठीन कामहरु गराउन थाले । विस्तारै यस्ता मानिसहरुको शहरीया बसोबास र तल्लो तहको पहिचान स्थापित हुनथाल्यो । उनीहरु आजसम्म चुहरा (चमार), मेहतर, भंगीजस्ता नामबाट पुकारिन्छन् । आज यी सबै नाम तल्लो दर्जाको जातीय गणनामा राखिन्छ र आफूलाई हिन्दू भन्ने समाजले यिनलाई अछूत वा अजात संज्ञा दिने गरेको छ । तर, चुहरा भनेको अरबी शब्दावलीमा राम्रो, सफा, जेहन्दार, इमानदार आदि हुन्छ र यही अभिव्यञ्जनाबाट उर्दूभाषा हुँदै यो हिन्दीमा प्रवेश गरेको भनेर कसैले बुझ्न खोज्दैन ।

मेहतर भनेको अर्काको चर्पी सोहोर्ने गरीब श्रमिकमात्र होइन; फारसी भाषामा मेहतर भनेको राजकुमार वा शासनको नेतृत्व दिने उत्तराधिकारी हो । त्यही शब्द मुगल वंशीय शासकहरुले भारतमा ल्याएर प्रयोग गरेका थिए । वाल्मिकी ब्राह्मणहरुको पहिचान मास्नलाई मुगल सम्राटहरुले यस्तोखाले नयाँ पहिचान दिएका बताइएको छ । यसै गरी भंगी भनेको गाँजा (भांग) को पत्ता टिपेर त्यसलाई झोल बनाएर पिउने भन्ने बुझाउँछ । आधुनिक प्रविधिबाट बनेको उच्चतहको ट्रेडमार्क ब्र्याण्ड रक्सी पिउनेहरुचाहिं उच्चजाति र कच्चापदार्थ गाँजाको झोल पिउनेहरु तल्लो जाति हुने ? होइन यो कदापी हुन सक्तैन ! उसोभए चुहरा, मेहतर र भंगीहरु कसरी अछूत वा तल्लो जाति बने ? भन्दा उनीहरुलाई दरबारमा तल्लो दर्जाको काम लगाइयो र आम सर्वसाधारणमा उनीहरु सबैभन्दा तल्लो जातिको रूपमा चिनाइयो । उनीहरु जस्तै सबैले आ-आफ्नै जातिगत पहिचान बनाएर सोही अनुसार शासकहरुको सेवा गर्नुपर्ने आदेश पनि जारी गरिएकोले त्यसबेला चलेको जातिगत समाज-व्यवस्था पछि थप भ्रमहरु मिसिँदै आजसम्म चलेर आएको छ ।

तत्कालीन राजनीतिक परिवेशले मानिसहरुलाई के के गराएको थियो, शासन र समाजबीचको अन्तरसम्बन्ध कस्ता थिए भन्ने कुराको अध्ययन नगरेका वा गर्नै नसकेका केही अन्ध-धर्मभिरुहरुले जात र जातिको कुरा खुट्याउन पनि सक्तैनन् । अशिक्षित, अज्ञानीहरु धेरै भएको, कुरो बुझ्ने अध्ययनशील मानिसहरु कम भएको समाजमा जात-धर्मको बखेडा, बितण्डा भइरहन्छ । खासमा वर्ण फेरिन्छ तर, जात फेरिँदैन । मानिसको जाति कहिल्यै घोडा जाति वा हात्ती वा बाघ जाति हुन सक्तैन । भैंसी वा गैंडा जाति हुनसक्तैन । मनुष्य जाति मानिस हो र मानिस जाति मनुष्य हो । उसको वर्ण वा पद सहजै परिवर्तन हुन्छ तर, उसको जाति, धर्म परिवर्तन सम्भव छैन, कसैले कुनै हालतमा गर्नै सक्तैन । यो त मानिसको सोचको परिवर्तनमात्र हो । समय र स्थितिले मान्छेलाई सोचमा फेरबदल ल्याइदिन्छ । यो क्रम आजमात्र चलेको हो भनेर बुझ्नु हुँदैन । समाजमा धर्मको आविष्कार, वंश-विस्तार र राजनीतिक सत्ताको अवधारणा सँग-सँगै उत्पन्न भएका हुन् ।

त्यसर्थ, कुनैबेला आफू बाँच्न मुसलमान बनेका, जातिभेदका कारण अलिकति इज्जत पाइन्छ कि भनेर इशाई बनेकाहरु पछि तल्लो जाति समूहलाई विशेषसुविधाको आरक्षण दिने स्वाधीन भारतको संवैधानिक निर्णयपछि फर्किएर हिन्दू बनेका थिए । आज पनि कैयौं कश्मिरी पण्डितहरुले जबरजस्ती इस्लाम ग्रहण गर्नु परिरहेको छ । कति मुसलमानहरु हिन्दू बनेर हाम्रा धार्मिक पूराणमा प्रवचन दिइरहेका छन् । इशाईकरणको कथा पनि समाजमा विभिन्न कारणले भित्रिएको छ । कोही हिन्दूसमाजमा उपेक्षित बनेर अवहेलित नहुनका लागि अनि कोही लाभको लोभले त्यतातिर गएका छन् । हिन्दूहरुले आफ्नो समाजभित्रको फोहोर-मैला गन्धगी सफा गरेर एउटा साँच्चो अर्थमा समाजदर्शन प्रतिपादन गर्नसकेमा ती सबै फर्किएर आउनेछन्, आउनुपर्छ र स्वागत पनि गरिनुपर्छ ।

वास्तवमा प्राचीन मुगल र अरबी तथा गोरा शासकहरुले आर्य (हिन्दू) हरुमामा फूट पैदा नगरी आफूले शासन हाँक्न नसक्ने महसूस गरेर “बाँड, भाँड र राज गर” भन्ने नीति साधेका थिए भन्ने कसैले बुझ्दैन र धेरैले बुझेर पनि बुझ्न खोज्दैनन् किनकि यहाँ जातिभेद र छुवाछूत प्रथामा उपल्ला जाति भनिएकाहरुले आफ्नो शाख बाँचेको देख्छन् । उनीहरुको घमण्डको मेरुदण्ड नै जातिभेद र छुवाछूतमा अडिएको छ । जातिप्रथा मान्नेहरुले आफ्नो  तर्कमा यजुर्वेदको एउटा श्लोकलाई अगाडि राख्तछन् । जुन यसप्रकार छः-

ब्राह्मणोऽस्य मुखमासीद्वाहू राजन्य: कृत:। उरू तदस्य यद्वैश्य: पद्भ:यां शूद्रो अजायत॥ (यजुर्वेद ३२/१२) ।

अर्थात्, “विराट् पुरुषरूप ईश्वरको मुखबाट ब्राह्मण उत्पन्न भए, क्षत्रिय बाहुबाट पैदा भए, वैश्य जांघबाट शूद्र खुट्टा वा चरणबाट पैदा भए ।”

यसको आशय के भने ब्राह्मण सर्वव्यापी भगवानको मुखबाट उत्पन्न भएको नभई खास अर्थमा ब्राह्मण भगवानको मुख बराबर हो, अर्थात् जो भगवानको मुख बराबर काम गर्नसक्छ; त्योमात्र ब्राह्मण हो । यसर्थ, ब्राह्मणहरुले अविराम अध्ययन गरेर ईश्वरतत्वको असल अर्थ बुझुन् अनि जगतकल्याण खातिर ज्ञानको वितरण गरुन् । समाजका हरेक व्यक्तिहरुलाई तलमाथि वा वरपर नगरी हिन्दू र हिन्दूत्व अथवा वैदिक महत्वबारे शिक्षित गराउन् । अथवा जसले यो काम सिद्ध गर्छ त्यो नै ब्राह्मण बन्न योग्य हुन्छ ।

गीताको यो श्लोकले त्यही योग्य कर्म गर्नसक्नेलाई ब्राह्मण भन्न अह्राएको छः- ‘जन्मना जायते शूद्र:, संस्काराद् द्विज उच्यते।’ अर्थात् तात्पर्य के भने मनुष्य शूद्रकै रूपमा जन्मिन्छ र उचित ज्ञान र संस्कारले ऊ पहिले द्विज बन्दछ । त्यसपछि जब उसले ब्रह्मबारे बुझ्दछ तबमात्र ऊ ब्राह्मण बन्दछ । ‘ब्रह्म जानाति ब्राह्मण:’ अर्थात ब्रह्मलाई चिनेपछि मात्र उ ब्राह्मण भनिन योग्य हुन्छ । बाहुबाट क्षेत्री र जांघबाट वैश्य भनिएको तात्पर्य पनि कर्मशक्तिको विभाजनमात्र हो । एउटा मानवरूपमा ती चारै भेद मौजुद हुन्छन् । एउटा सिंगो व्यक्ति बन्न, एउटा सिंगो समाज बन्न यी चारभेद जनित इन्द्रियशक्ति मात्र हुन् जसरी सिंगो शास्त्र बन्न चारवेद र सिंगो सृष्टिकर्ताको रूपमा चतुर्मुखी ब्रह्मालाई मानिएको छ । नभए, साँच्चै ईश्वररूपी विराट पुरुषको पाउ (खुट्टा) बाट शुद्र (तल्लो जाति वा अछूत) उत्पन्न भएका र शुद्र साँच्चै अछूत नै भए किन हामी ईश्वर रूपको मुख वा छात्ति र पेटमा पूजा नगरी पाउ (चरण) कै अर्चना गरेर चरणामृत ग्रहण गर्छौं ? यस मर्मभेदी अर्थलाई पर सारेर आज जन्मकुलकै आधारमा कोही ब्राह्मण बनेको छ र कोही संस्कारले उच्च सभ्यता दर्शाउँदै भए पनि सामाजिक रूपमा अछूत बनिरहेको छ ।

सन्त श्री रविदासले लेखेका नीति-शास्त्रलाई श्लोकभाकामा पढेर खूब आफूले धार्मिक गुणगान गरेको सम्झिने एकजना हिन्दूले सन्त रविदास चमार (चुहरा) वंशका थिए र त्यो वंशलाई म अछूत, घृणित मानिरहेको छु भनेर कहिल्यै सोच्तैन । अतः ज्ञानी जहाँ पनि, जुनसुकै समुदायमा पनि ज्ञानी नै हुन सक्छन् । सत्य र सम्मानको रक्षा गर्नेहरु ज्ञानी हुन् र ज्ञानी नै ब्राह्मण हुन् । जन्मले ब्राह्मण त रावण पनि थिए । अस्पृश्यता र भेद सिर्जना गर्नेहरु राक्षसी मुर्ख हुन् । कुल वा वंशको मात्र रक्षामा ध्यान दिनेहरु वीरता थाम्न तम्सिएका शासकहरु हुन् । शासनको आशक्तिमा दम्भ, घमण्ड र शकुनी जालजस्तो छलकपट हुन्छ । रामले सत्यका लागि वंशको सत्ता त्यागे । कृष्णले यदुकुलको रक्षाभन्दा सत्य र न्यायलाई प्रमुखता ठाने । जात भनेको वंशजसत्ता हो । तिनै राम-कृष्णका भक्तिसाधक बनेर हिन्दूहरुले वंशजको शासन-सत्ता टिकाउनुमा कुनै धार्मिकता छैन । आर्य (सभ्य) हरुले असल हिन्दूत्वको मर्मलाई प्रतिपादन गरी विश्वमा मानवताको रक्षा गर्नुपर्छ । बसुधैव कुटुम्बकमको मर्मलाई यथार्थरूपमा कार्यमा उतार्ने कोशिश गर्नुपर्छ । छुवाछूत प्रथा हटाइदिने र शास्त्रमा भएका वैज्ञानिक ज्ञानसिन्धूलाई सामाजिक शिक्षाको माध्यम बनाउने हो भने निः हिन्दूत्व अझै पनि विश्वशान्तिको एकमात्र साधन बन्नसक्छ ।

उहिले पनि जातिभेदकै कारण समाजले भयानक परिणामहरु भोग्दै आएको थियो र यदि यसरी नै चल्दै गयो भने भविष्यमा पनि समाजले दुष्परिणाम भोग्नु नपर्ला भन्न सकिन्न । जातिभेद मान्ने व्यक्तिले आफ्नो जातिभन्दा बाहिरका कसैप्रति पनि मैत्रीभाव राख्न सक्तैन । त्यस्ता व्यक्तिको सोच जहिल्यै पनि अनुदार नै बनिरहन्छ । यस्तो मानसिकताले समाजलाई संगठित, स्वनिर्भर र स्वतन्त्र बनाउनको सट्टा शत्रुतापूर्ण आपसी फुटलाई बढाउँदै लानेछ ।

समाजलाई जातीय बन्धनमा राख्न चाहनेहरुले यो कुरा बुझ्दैनन्, बुझ्नै चाहँदैनन् कि शास्त्रहरुले मानिसलाई सन्यास, वैराग्य वा मोक्षप्राप्तिको बाटोमात्र नदेखाएर एउटा राज्यको परिकल्पनासहित सबैले बराबर श्रम गरुन् भन्ने सामाजिक समानताको शिक्षा पनि दिएका हुन् । यसर्थ वेदको अध्ययन धर्म गर्नु वा पुण्य कमाउनुमात्र होइन । जीवनवृत्तिका लागि उचित शिक्षा लिनलाई पनि शास्त्रहरुको अध्ययन गर्नु जरुरी छ ।

वैदिक शिक्षाले दिएको ज्ञान अनुसार प्रत्येक मानिस अर्को मानिसको जीवननिर्वाहका लागि पूरक हुन्छ । सबै मानिसहरु परस्परको सहयोगबिना मानवीय मूल्यको जीवन बिताउन सक्तैनन् अथवा कुनै उन्नति पनि गर्न सक्तैनन् । यसर्थ, मानवीय स्वभाव र वैयक्तिक गुण अनुसार जीवन परिचालनका लागि आवश्यक कर्म विभाजन गरी सोही अनुसारको शिक्षा प्रदान गरिनु वर्णाश्रम धर्मको मूल मर्म थियो ।  सबैलाई थाहा छ कार्यको गहनता अनुसारको शिक्षा छैन भने त्यो मानिसले तोकिएको कार्य सम्पन्न गर्नै सक्तैन ।

मानिस एक्लै नबाँचेर समाज निर्माण गर्नुको मूल सिद्धान्त नै समाजमा कोही पनि बेरोजगार नबनोस् र सबैले जीविकाको साधन प्राप्त गरुन् भन्ने धारणाबाट प्रादुर्भाव भएको हो । शरीरको कुनै एक अंगले काम गर्न छोड्यो भने अन्य अंगहरु पनि शिथिल हुन्छन् र सम्पूर्ण शरीर अशक्त हुन्छ भन्ने कुरा विद्वानहरुले जान्दछन् । यसरी नै समाजको कुनै मानिस बेरोजगार भयो भने उसले समाजलाई नै दुःख दिन सक्छ भन्ने पनि विद्वानहरुले जान्नुपर्दछ । यसर्थ, वेदका मर्मज्ञ ऋषिहरु त्यस्ता कुरामा अविज्ञ थिए भन्नसक्ने कुनै आधार छैन । अध्ययनलाई कर्मकाण्डको साधनमात्र हो भन्ने बुझाइ विकास नहुन्जेल वेदको अध्ययनमा कुनै जाति, वर्ग वा निश्चित वंशजको एकल बोलवाला थिएन । जब अध्ययनलाई केवल कर्मकाण्डीय जजमानीको साधनका रूपमा अर्थ्याउन थालियो, तबदेखि नै वर्णलाई जात, अनि जातिलाई विभेदको माध्यम बनाउन शुरु गरियो ।

कर्मकाण्डीहरु यजुर्वेदले वर्णभेदको सीमा राखेर संस्कार विधि चलाउने आदेश दिएको बताउँदछन् । तर, यसको अध्ययन गर्दा कतै पनि त्यस्तो तथ्य भेटिँदैन । यजुषलाई गद्य भाग र यजुर्वेदलाई पद्य भागका रूपमा मानिएको छ । यजुर्वेदलाई कृष्ण र शुक्ल दुई भागमा विभाजन गरिएको छ ।  यजुष शब्दको अर्थ हो यज्ञ अनि यज्ञ भनेको पूजा हो । विष्णुपुराणको एउटा प्रसंगमा भनिएको छ,“यज्ञ भनेको आध्यात्मिक कार्य नभई वैज्ञानिक तथा पर्यावरणीय शुद्धिको कार्य हो ।” यज्ञमा होम गरिन्छ जसले पर्यावरण रहेका हानीकारक जीवाणुहरुलाई हटाएर मानिसको लागि स्वास लिने वायु निर्मल गराइदिन्छ ।

यजुष शब्दबाटै आविर्भाव भएको यजुर्वेद मूलतः कर्मकाण्डको ठेली हो । यसको रचना कुरुक्षेत्रमा भएको बताइन्छ । खास गरी वेदव्यासको जीवनकालपछि शुरु भएको कर्मकाण्डीय युगमा जाति वा वंशको राजसी परम्पराले अघिक्तम प्रश्रय पाएको थियो । कर्मकाण्डको उत्पति प्रसंग यस्तो छ । वेदव्यासका शिष्य वैशम्पायनका आश्रममा २७ जना विद्यार्थीहरु थिए । तिनीहरुमध्ये सबैभन्दा प्रतिभाशाली थिए याज्ञवल्क्य । एक दिन एउटा यज्ञको बेला याज्ञवल्क्य आफ्नै मित्रहरुको अज्ञानताप्रति क्रोधित भए । त्यो क्रोध देखेर वैशम्पायनले आफूले सिकाएको विद्या फिर्ता गर्न याज्ञवल्क्यलाई आदेश दिए ।

गुरुको आदेश र मित्रहरुको अज्ञानताले अति क्रुद्ध बनेका याज्ञवल्क्यले यजुर्वेदको रूपमा वैशम्पायनले सिकाएको विद्या वान्ता गरिदिए । ती ज्ञानका कणहरु कृष्ण वर्ण (कालो रंग) को रगतबाट बनेका थिए । यसैलाई पछि गएर कृष्ण यजुर्वेद भनिएको वर्णन पाइन्छ । याज्ञवल्क्यले वान्ता गरेको यो दशा देखेर उनका शिष्यले तित्तर (तित्रो-एक किसिमको पंक्षी) को रूप लिएर ती रक्तका ज्ञानकणहरु ठुँगेर निल्नथाले । यसैबाट पछि तैत्तिरीय संहिता जन्मिएको बताइन्छ । यजुर्वेद र तैत्तरीय संहिताबाट यज्ञ र यज्ञकै परम्पराबाट पछि कर्मकाण्डको विकास भएको बताइन्छ ।  उवट र महीधर नामका यजुर्वेदका भाष्यकारहरुले यज्ञको महत्व दर्शाएपछि नै कर्मकाण्डको प्रचार शुरु भएको हो । उवट्को समय भनेको ईशवी सन् १०४० थियो भने महीधरको समय १५८८  थियो । त्यसपछि शंकर वा शैवी परम्पराका सन्यासीहरुले यज्ञलाई महत्वका साथ अघि बढाउँदै लगे । तर, विडम्बना ! यो यज्ञकर्म पछि गएर एउटा कुलीनवर्गको आरक्षित जागिरमात्र भइदियो ।

यसर्थ वेदमा गरिएको सामाजिक कार्यविभाजन शिक्षण, सुरक्षा, आर्थिक विनिमय र सामाजिक सेवाका लागि भएको थियो । यजुर्वेद ३०/५ अनुसारको कर्मविभाजनलाई वंशज विभाजनको रूपमा व्याख्या गरिएको कुरा पनि गुप्तवंशीय राजपरम्पराको शुरुवातपछि नै हो भन्ने प्रष्ट हुन्छ ।

कुरो जेसुकै भएपनि वैदिक शास्त्रहरुको मत आधुनिक समाज विज्ञानले खारेज गर्ने खालकै थिए भनेर किटान गर्नसक्ने आधार छैनन् । केही विचारकहरुले ऋग्वेदमा आर्य र दास वा दस्यु भनेर समाजका दुइ भेद देखाइएको बताएका छन् । तर, दास वा दस्यु कसलाई भनियो भनेर खोज्न थाल्नुभन्दा पहिले आर्य कसलाई भनियो भनेर अनुसन्धान गर्नु बढी श्रेयस्कर हुन्छ । महर्षि दयानन्द सरस्वतीको कथनानुसार ब्राह्मणदेखि शुद्रसम्म चारै वर्ण आर्य हुन्  (सत्यार्थ प्रकाश आठौं समुल्लस) । मनुस्मृतिको १०/६३ ले पनि चारै वर्णका मानिसको धर्म एउटै बताएको छ जसमा भनिएको छ, “हिंसा नगर्नु, सत्य बोल्नु, चोरी नगर्नु, पवित्र रहनु र इन्द्रिय निग्रह गर्नु ।” मनुस्मृतिमा शुद्रले धन-सम्पत्ति सञ्चय गर्नुहुँदैन भनेर लेखिएको कुरालाई वर्तमान समयमा जातीय विभेदको आधार ठान्ने वा त्यसै गर्नेहरुले शुद्रलाई तत्कालीन सरकारी कर्मचारी बुझाउने आभूषण शब्दावलीको रूपमा प्रयोग गरिएको बुझेका छैनन् र कसैले नबुझेको भान पारिरहेका हुनसक्छन् ।

त्यति कुरा बुझेदेखि वर्तमान समयमा विभिन्न देशका सरकारी कर्मचारीहरुले अतिरिक्त धनको लोभ गर्दा कति भ्रष्टाचार भइरहेको छ, र त्यो कर्मले देशमा कति आतंक फैलिएको छ भन्ने कुरालाई महसूस गर्ने थिए । यी विषयलाई जातीय विभेदको रुपमा बुझिनुका पछाडिको जड् त वर्ण (पेशा) विभाजनलाई वंशज जातिको तह दिइएको कुरा नै हो नि ! होइन र?  वंशज जातीय परम्परालाई खारेज गर्ने हो भने समाजका मानिसहरु आज ब्रह्मण भए भोलि वैश्य, पर्सी शुद्र बन्नसक्थे । आजका शुद्र भोलि क्षेत्रीय बन्नसक्थे । क्षेत्रीय ब्राह्मण बन्थे र वैश्यहरु क्षेत्री बन्नसक्थे । त्यसो हुँदा कसैले कसैमाथि विभेद गरेको अभियोग पनि ब्योहोर्नु पर्ने थिएन । विभेद हुन्थ्यो त केवल योग्यता र क्षमताको आधारमा हुन्थ्यो । आज पनि एउटा वायुयान चलाउने र सडकमा ट्याम्पो चलाउने चालकहरुका बीचमा दक्षताको विभेद त छँदैछ निः । मनुस्मृतिले नै अनेकौंपटक भनेको छ, “जन्मले ब्राह्मण भएर हुँदैन, गुणकर्मले ऊ शुद्र बन्दछ । र, जन्मले कोही शुद्र भए पनि गुणकर्मले ऊ ब्राह्मण बन्दछ ।” (मनुस्मृति १०.६५)

ऋग्वेदमा आर्य र दस्यु भनेर वर्ण विभेद गरियो रे । ल ठिकै छ । तर, आर्य भनेको कुनै जातिवाचक शब्द नभएर गुणवाचक शब्द हो भन्ने पहिले बुझेर मात्रै विषय प्रवेश गर्नु जरुरी छ । आर्य शब्दको अर्थ हुन्छ ‘श्रेष्ठ’, विद्वान्, बलवान, ईश्वरीय गुणयुक्त, ऐश्वर्यको मालिक,  आदि । प्रगतिशील वा विकासक्रमको सिद्धान्तलाई बुझ्ने व्यक्तित्वलाई आर्य भनिएको थियो । दस्यु भनेको पनि नकारात्मक व्यक्तित्वलाई नै भनिएको हो । दास वा दस्यु व्यक्तिको रुपपक्षलाई होइन, गुणपक्षलाई भनिएको हो । त्यसो हुँदा मनुस्मृतिले भनेको ‘ब्राह्मण शुद्र अनि शुद्र पनि ब्राह्मण बन्नसक्ने’ कुरा र महर्षि दयानन्द सरस्वतीको ‘एउटै परिवारमा आर्य र दस्यु दुवै गुणका मानिस हुन्छन्’ भन्ने कुरामा के फरक रह्यो र ? अनि जन्मिदै आफू भगवानको छिमेकी हुने आरक्षण लिएर आएको सम्झिनेहरुले आफूमा आर्यगुण छ कि दस्यु, ब्राह्मण लक्षण छ कि शुद्र भनेर मूल्यांकन गर्नु पर्दैन ?

वैदिक शास्त्रहरुको मतमा ब्रह्माण्ड सृष्टिको मूलक्रम अनन्तबाट महत, महतबाट अहंकार, अहंकारबाट आकाश, आकाशबाट वायु, वायुबाट अग्नि, अग्निबाट जल र जलबाट पृथ्वीको उत्पति भएको हो । अनन्त भनेको आत्मा हो जसलाई ब्रह्म पनि भनिन्छ । महत् भनेको स्वाभिमान, अहंकार भनेको आफ्नो सत्ताको बोध, आकाश भनेको सीमाहीन महत्वाकांक्षा जसरी आकाशको कुनै सीमा देखिँदैन । यसरी नै वायु भनेको हावा, अग्नि भनेको आगो, जल भनेको पानी र पृथ्वी भनेको यो गोलाकार धरती हो । यति चीजको संयोजन नभई न ब्रह्माण्डको अस्तित्व टिक्न सक्छ न त मानव जीवन नै सम्भव छ ।

शास्त्रीय मान्यताले के भन्छ भने यो ब्रह्माण्ड गोल अथवा अण्डाकार छ । यसलाई पानी, हिउँ र त्यहाँबाट निस्कने वाष्प (बादल) ले घेरेको छ । यसलाई पानीभन्दा पनि दश गुणा बढी अग्नितत्वले प्रभावित बनाएको छ अनि अग्निभन्दा पनि दशगुणा अधिक वायुतत्वले घेरेको छ । यही क्रममा वायुभन्दा दशगुणा बढी आकाशले र त्योभन्दा पनि दशगुणा बढी तामसी अन्धकार (अहंकार) ले ब्रह्माण्ड घेरिएको छ । यसरी नै अहंकारभन्दा दश गुणा अधिक महतले घेरिएको छ भने त्यसभन्दा बाहिर एक असीमित, अपरिमेय अनन्त शक्तिले ब्रह्माण्डलाई आफ्नो वक्षमा चेपेर राखेको छ ।

ब्रह्माण्डलाई घेरेर बसेको त्यो अनन्तबाटै पूर्णता उत्पति हुँदैछ र त्यसैबाट यो ब्रह्माण्डको पालन पनि भइरहेको छ । एक दिन त्यही अनन्त (आत्मा) तत्वमा गएर यो ब्रह्माण्ड पनि विलिन हुनेछ । प्रकृति, शक्ति, धरा, धरणी आदि नामले चिनिएको यो ब्रह्माण्ड ब्रह्ममा गएर लय (विलय, विलिन) हुनुलाई नै प्रलय (प्रकृति+विलय)  भनिएको हो ।

वैदिक शास्त्रको यो वैज्ञानिक मतलाई राम्रो गरी विश्लेषण गर्ने हो भने मानव भएर मानिसजस्तै  सहज, सौहार्द्र, सद्भावपूर्ण कर्म गर्नुबाहेक खोई कहाँनेर भेटिन्छन् जात, वर्ण र सम्प्रदाय वा विभिन्न विभेदकारी मतहरु ?

माथि हामीले शास्त्र र संस्कृतिका कुरा गऱ्यौं । परम्परा र विश्वासका आधारहरु केलायौं । अब अन्त्यमा धर्मका बारेमा पनि केही चर्चा गरिहालौं । धर्म शब्दका परिभाषाहरु अनेक होलान् । यसलाई सम्पूर्ण मुक्ति वा मोक्षको साधन मान्ने, कर्मकाण्डलाई ईश्वर वा भगवानसित जोडेर बुझ्ने, सांस्कृतिक चलनचल्तीको आधारमा मात्रै बुझ्ने आदि आदि । तर, म यहाँ त्यसको परिभाषामा नगएर आम मानिसको बुझाइ र केही शास्त्रीय समीक्षाका कुरा गरिरहेको छु । धेरैले भन्छन् “म धर्म मान्दिनँ ।” यसरी नै “म अमुक धर्म मान्छु”, पनि धेरैले भन्छन् । तर, धर्म मान्ने होस् या नमान्ने, ईश्वरमा विश्वास राख्ने होस् वा नराख्ने, धर्म शब्दमाथि सबैको चासो रहने गर्दछ ।

संसारका धेरै मान्छेले यसबारेमा आफ्नो मत राखेका छन् । मत राख्नेमात्र होइन, आजसम्म आफ्नो धार्मिक मतको रक्षा गर्नलाई मानिसहरुले जति युद्ध गरेका छन्, त्यस्ता युद्धहरु अन्य विषयमा शायदै भएका होलान् !  मेरो धर्म ठूलो, मेरो गुरु विद्वान्, मेरो सम्प्रदाय सभ्य र दूरदर्शी, मैले छानेको दर्शन विशाल र मैले चुनेकै सिद्धान्त सर्वेसर्वा भनेर नै एउटा मान्छेले अर्को मान्छेलाई  दबाउने, शोषण गर्ने, मुर्ख ठान्ने र मार्नेसम्म गरिरहेको छ । आजसम्म संसारमा जति मान्छे युद्ध र हिंसामा मरेका छन् तीमध्ये धर्मकै बहानाबाट धेरै मरेका छन् ।

टाढा जानुपर्दैन, वरिपरि आफ्नै समाजमा हेर्नुसः एउटै परिवारभित्र पनि विभिन्न धार्मिक मतहरु हाबी छन् । एउटाले भनेको अर्कोले सुन्दैन वा सुनेर रिसाउँछ । एकमाथि अर्कोको अविश्वास छ । कथित धर्मकै बहानाले गर्दा एउटै परिवार भएर पनि एकै ठाउँमा बसेर हामी रमाइलो गर्न सक्तैनौं । धर्मको परिभाषा नै यतिबेला थर-गोत्र र साम्प्रदायिक कर्मकाण्डको घेरामा सीमित भइसकेको छ । शास्त्रसम्मत हिसाबले, अझ मानवीय मूल्यका हिसाबले धर्मको परिभाषा बुझाइएको भए संसारमा यत्राविधि विनाशकारी युद्धहरु शायदै हुने थिए । भनिन्छ, यस पृथ्वीमाथि जति मानिसको आँसु बगेको छ, सबैभन्दा धेरै धर्मकै कारणले बगेको छ ।

“धारयति इति धर्म”, अर्थात् जसलाई धारण गर्न योग्य छ । धारण गर्नु भनेको अपनाउनु हो । अतः जसलाई अपनाउन सकिन्छ वा जे काम-कुरा गर्दा मानव सभ्यता र समाजको रक्षा सम्भव छ त्यो नै धर्म हो । यहाँ न हिन्दू, न ईशाइ, न बौद्ध र इस्लाम, न जैन वा अमुक अमुक, कसैको पनि प्रसंग छैन । यी सबै मत वा मानवीय सोचमा आधारित विश्वासहरु हुन् । शास्त्र भनेका दर्शन हुन् । धर्म भनेको सधैं अटल छ, अविचलित छ । न यो शास्त्रको आधारमा फेरिन्छ न त मानिसको सोचका आधारमा नै परिवर्तित हुन्छ । प्रकृतिले गरेजस्तो नित्य मानवहितको कार्य गर्नु नै धर्म हो । प्रकृतिमा सूर्य सधैं झुल्किन्छ । सूर्यले कहिल्यै आज झरी पऱ्यो, आज बादल लाग्यो भन्दैन । पानी हेर्नुस, जति नै उमाल्नुहोस्, बरु सुकेर सकिएला, आगोबाट अलग राख्नेबित्तिकै सेलाउँछ र प्यास मेटाउन तत्पर हुन्छ । वायु सधैं प्राणीहरुको स्वासप्रक्रिया कायम राख्न हाँजीर हुन्छ !

आगोको धर्म ताप दिनु हो । त्यो काम उसले छोडेकै छैन । बहानाबाजी र आफ्नै बढिबढाई गर्ने त मनुष्य जातिमात्र हो । किताबमा होइन, मठ- मन्दिरमा होइन, माला र लिबासमा होइन, धर्म त गुणगत व्यवहारमा हुनुपर्छ । प्रकृतिसित निकट रहेर पर्यावरणको समेत सुरक्षा गर्दै जन्म र मरणबारे शोध गर्नु, मनन गर्नु नै धर्म बताइएको छ । पशुले आहार, मैथुन, भय र निद्रा-चार अवस्थाको जीवन भोग गर्दछ । यतिनै चारवटा अवस्था भोग्नेहरु सबै पशु हुन्छन् । मानिसले भोग्ने अवस्थाहरु कम से कम ५० भन्दा बढी छन् । यदि मानिसले आफैंलाई चिनेर प्रयत्न गरेमा उसका वृत्ति र क्षमताहरु सीमाहीन भएर अनन्त गन्तव्यमा पुग्न सम्भव छ । यो कुरालाई आधुनिक विज्ञानले पनि मानिसकेको छ । स्टेफेन हकिङ्सको मस्तिष्कसम्बन्धी विवेचनामा यहाँले त्यो व्याख्या पाउनुहुनेछ ।

अतः निष्कर्षमा मानिसले बुझ्नैपर्ने कुरा हो, सम्पूर्ण मानव र धर्तीको रक्षा गर्नु नै सबैभन्दा मूल धर्म हो । विभिन्न विरोधाभाषी धार्मिक मतका पर्खाल ठड्याएर समाजमा मानवताको दोहन गर्ने सम्प्रदायीहरुले बुझ्नुपर्छ, सनातन वैदिक संस्कृतिका जतिवटा शास्त्रहरु पढे पनि सारमा “तत्वमसि”,  भनिएको छ । ‘तिमी त्यही हौ’  अर्थात् तपाईं ‘आफू’ भन्ने तत्व के हो त्यसलाई चिन्ने प्रयास गर्नुहोस् । यसरी नै बाइबलको सारमा पनि “Know thyself” भनिएको छ । यसको अर्थ पनि आफैंलाई चिन्नु भन्ने लाग्दछ । बौद्धदर्शन त्रिपिटकको अन्त्यमा दिइएको “अप्प दीपो भव” र कुरानको अन्त्यमा दिइएको “नूर मसिह” भन्ने शब्द-सन्देशहरुले एउटै अर्थ बोकेका छन् जसको तात्पर्य हो,“ज्योतिरूपको प्राणपूञ्ज नै ईश्वर हो, मसिह हो अर्थात् तिमी स्वयम् पनि त्यही हौ । आफूलाई चिन र सोही अनुसारको कर्म गर ।”

जुनसुकै सिद्धान्त वा दर्शनको अध्ययन गरे पनि त्यसको सार बुझ्नु जरुरी हुन्छ । सार नबुझेसम्म मान्छेले धर्मको नाममा जेसुकै गरे पनि आडम्बर, आशक्तिबाहेक केही दिन सक्तैन । जन्मिएर जान्नेभएदेखि मन्दिर धाएको, आयु सिद्धिन लागिसक्यो । तीर्थ, ब्रत, दान, जपतप जे जे गरे पनि अन्तिममा उही फुइयाँ ! मस्जिद र चर्च धाएर बुढो भए, गुम्बजमा माला जप्ता जप्तै बुद्धको मूर्तिजस्तै ठाडो खम्बा हुन लागिसक्यो, चेतनाको धार कहिल्यै फेरिएन । रिस जति उहिले थियो, त्योभन्दा बढ्दै गएको छ । जति इर्ष्या र डाह थियो मनमा त्यसले अझ बढी क्रोध र लोभको रूप लिएको छ । शत्रु पनि अस्ति जति थिए त्योभन्दा बढी नै भएका छन् ! धर्म भनेको त तपाईंको लोभ, इर्ष्या, मोह र डाहहरु घटाउँदै लाने, तपाईंका शत्रु घटाउँदै लाने साधन पो हो ! तपाईंको निर्विकार जुन चेतनरूप हो, त्यसलाई उजागर गर्ने गुण पो धर्म हो ! तपाईंले कतिवटा किताब पढ्नु भो, तपाईंले कतिवटा पुराण लाउनु भो, कतिवटा तीर्थ धाउनु भो आदि कुराले धर्मको वजन जोखिँदैन । त्यो त अहंकार बढाउने साधनमात्रै हो । अर्कोभन्दा आफू धेरै शास्त्र पढेको, अर्कोभन्दा आफू धेरैवटा तीर्थ घुमेको, अर्कोभन्दा आफू धेरै पुराण लगाएको आदिजस्ता कुराले मानिसलाई समाज मात्र होइन, आफ्नै भाइ-बन्धु र परिवारबाट पनि फुटाइदिन्छ । फुटाउने धर्म हुँदैन, धर्मले मानवीय नाताहरु जोड्नुपर्छ । यम, नियम, आसन, प्राणासन… भन्दै महर्षि पतञ्जलीले जीवनको अन्तिम समाधीमा पुग्ने योगका विभिन्न चरणहरु बताइदिएका छन् । योग भनेको जोड्नु वा जोडिनु हो । बाँडिनु, भाँडिनु, फुट्नु, टुक्रिनु, चोइटिनु होइन । आफू ठूलो, गतिलो, महान, विद्वान्, महात्मा बन्नु भनेको उच्चाइको सिंहासन ताक्नु हो ! जहाँ बसेपछि अरुमाथि शासन गर्न सकियोस् भन्ने मनाशयको लक्षणा हो । शक्तिवालाहरुलाई मात्र परमेश्वर मान्नु र अशक्तहरुलाई आफूभन्दा तल ठान्नु, निम्सरो सम्झिनु, कमजोर आँक्नु, दुष्ट मान्नु, फोहोरी, अशुद्ध र असभ्य गन्नु महापाप हो ! आफ्नो हित वा मनोकांक्षा परितृप्तिका लागि अर्कालाई पीडा दिनु नै पाप हो ।

“अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम्। परोपकारः पुण्याय पापायपरपीडनम्।।” अठाह्रवटा पुराण लेखिसकेर व्यासले अन्तिममा दिएका यी दुइ वचनले हामीलाई के बताउँछन् भने,“परोपकार अर्थात् अर्काको हित गर्नु पुण्य हो अनि अरुको कुभलो चिताउनु, अरुलाई कष्ट/पीडा दिनु नै पाप हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *