शरणार्थीको पाहुना
हेम भण्डारी
काठमाडौं
देश दुखेका शब्दहरूमा माटोको माया पोखेर के रहेछ देश ? के रहेछ माटो ? बुझाउनेहरूको ठूलो समूहमा बसेर फर्किएका दिनदेखि आजसम्म त्यही ठाउँ र तिनीहरूकै झझल्को नाचिरहेको छ आँखाभरि । तिनीहरूको अवस्था किताबका पन्नाहरूबाट बुझेजस्तो भएको म, आज एक प्रत्यक्षदर्शी भएर, तिनीहरूलाई राम्ररी बुझेर फर्किएको छु । हिँडेका हरेक पाइलाहरू दुखिरहेको गुनासोमा दिन कटाइरहेकाहरूको माझमा बिताएको समयले बताएको छ मलाई घर नहुनुको पीडा । समय चिप्लिँदै जाँदा घाउ थाकेजस्तो देखिए तापनि अन्यायमा पिल्सिएका पीडाका भारीहरू झुप्राका पेटीभरि बिस्कुन लागेकै छन् र बग्दै छन् घाउहरू– बेदनाको पोखरी, समयको अत्यन्तै निष्ठुरी प्रहार सहेर !
सृष्टिको आदिकालदेखि मानव सभ्यतासम्म दिमाग दौडाएर मानव उत्पत्तिको प्रारम्भिक विन्दु खोजिहेर्छु अनि दिन दुगुना, रात चौगुना बढ्दै गएको मान्छेको भीड सम्झिन्छु जतापटिबाट पनि मनमा सन्तोष जन्मिन सक्तैन । भेदभावका यी चर्का रूपहरू हेरेर आँधीबेहेरी मच्चिन्छ मनभरि । सिमानाले छेकिएका मानिसका आकृतिहरूका बीचैमा सीमा कटाइएका दयालाग्दा अनुहारहरू पढेर मन उथलपुथल हुन छोड्दैन । स्वार्थ सिकेर स्वार्थ फैलिरहेका मानिसका यी रूपहरू, अटाइनअटाइ ओइरिन्छन् आँखाभरि । भोगाइका विविध अनुहारहरू टाँसिएर मनका गरा ढाकिरहन्छन् । पीडाको हरफ पढेर टुक्रिरहन्छु छिनछिनमा ।
२०६४ सालको माघ महिनाका चारवटा दिनहरू झापाको दमकमा बिते मेरा । रेडियो कार्यक्रम उत्पादन र प्रस्तुतिको तालिमका लागि एक प्रशिक्षकका रूपमा मलाई छानेर निम्त्याइएको थियो त्यहाँ । जाडो बिदा मनाउन पौषको दोस्रो सातातिरै इलाम छिरेका थियौं जया र म । उद्घोषण तालिमका आयोजकहरूसँग काठमाडौँबाटै भएको फोनवार्ता र सम्झौताअनुसार दमक छिर्ने कार्यक्रम बनेको थियो हाम्रो । यस पटकको पूर्वको यात्रा हाम्रा लागि ज्यादै मीठो अनुभव सङ्गाल्ने संयोग पनि बन्यो । बिहे भएको साल भएकाले पनि होला यात्रा हामीलाई आवश्यक थियो । यिनै विविध कारणले यात्राको रौनक पनि अर्कै थियो यसपालि ।
गणेश रसिक दाइको भर्खरै खुलेको रेडियो फिक्कलमा दुई घण्टे रात्रीकालीन कार्यक्रमको प्रत्यक्ष शृङ्खलासँग जोडिएर फिक्कलको सुन्दर चियाबारी र आत्मीयता अँगाल्दै कन्यामका चियाबारीका मनै हर्ने पाखाहरू चहारेर हामी दमक ओर्लियौँ । मनभरि रमाइला र बेग्लै प्रकारका अनुभूतिहरू नाचिरहेका थिए । चियाबारीको बीचमा गुलाफको थुँगो जस्तो रेडियो स्टेसनको उत्कृष्ट नमुना सजाएर जीवनको उत्तरार्द्धको यात्रा थाल्नु भएछ रसिक दाइले । सल्लाका काठहरूको कलात्मकतामा सजिएको दाइको नमुना घरमा पाहुना भई बस्न पाउँदाको आनन्द सँगसँगै दमक पुगेर बटुल्ने अर्को मीठो अनुभूतिको सुखद कल्पनामा हराउँदै ओरालिएका थियौं हामी ।
दमक बसाइका सबै दिनहरूको पूरै जिम्मा उद्घोषण तालिमका सञ्चालकहरूले लिएका थिए । हामी पनि त्यसको विकल्पमा थिएनौँ । सोचिएकै थिएन, तर हाम्रो दमक बसाइ एक रेडियो कार्यक्रम संचालकका नाताले, श्रोताहरूसँगै भयो । श्रोताहरूकै भान्छामा पाकेको भात खाएर हामी चार दिनसम्म दमक बस्यौँ । श्रोताहरूले दिएको न्यानो ओडेर, श्रोताहरूकै पलङमा चार दिनसम्म हामी रमाएर सुत्यौं ।
सम्बन्ध अनेक तरिकाले गाँसिन्छ जीवनमा । धेरैसँग आत्मीय भएर यात्राको बाटो छिचोलिन्छ र नयाँ मोडमा पुगिन्छ । सिर्जनाको विकासक्रममा गाँसिने सम्बन्धका रूपहरू थरीथरी हुँदा रहेछन् । सिर्जनासँग जोडिएर बन्ने सम्बन्धको रूप साह्रै आत्मीय र मीठो हुँदो रहेछ । २०६४ को माघ महिनाको दमक बसाइका चार दिनहरू यस्तै सिर्जनाको सम्बन्धमा फक्रिएर अविस्मरणीय बने । नयाँ अनुभूतिका नयाँ गरामा रमाएर हाँस्न पाइयो । अप्ठ्यारामा पनि हाँसिरहेको जीवन पढेर अनुभूतिका पन्नाहरू टिपियो । समय, अवस्था, मान्छे र जीवन देखियो । पीडाका हरफहरूमा भोगाइको पाटो पढियो ।
रेडियोको साहित्यिक शृङ्खलामा गजल र कविताहरू सम्प्रेषण गरेर मसँग जोडिने दमकका साहित्यिक मनहरू धेरै हुनुहुन्छ आजसम्म पनि । दमकसँग छेउछाउका धेरै सिर्जनशील बस्तीहरू जोडिएका छन् । साहित्यिक यात्राको पूर्वपटिको चौतारो भएको छ दमक । हाम्रो देशको पूर्वेली बान्कीहरूको चौतारी मात्र होइन दमक, भुटानी शरणार्थी समस्या थपिएर भुटानबाट नेपाली मूलका भुटानीहरू खेदिएपछि सिङ्गो नेपाली मन, झापा जिल्लाका यिनै पूर्वी साँधसिमाना र रेखापाखामा विवशताका दिनहरू कटाइरहेका छन् । त्यसैले दमकसँग सिङ्गो भुटान जोडिएको छ । भुटानबाट आएको सिङ्गो नेपाली साहित्य र सिर्जना जोडिएको छ । आत्मीयताको सिङ्गो दिनरात जोडिएको छ । अन्यायका विरुद्ध उर्लिने दर्जनौँ क्रान्तिकारी आवाज जोडिएको छ ।
नेपाली मूलका भुटानीहरू खेदिएर झापा जिल्लाका पूर्वी पाटाहरूमा आफूलाई देखाइएको शरणार्थी शिविरमा बस्न थालेपछि आफ्नै भूमिमा वर्षौँपछि फर्किएर बस्न पाएको सुखद अनुभूतिमा रमाएर थन्किएछन् । खानबस्न पाएर, कति खुसीका दिनहरू कटाउन थालेछन् । कतिलाई ज्यान बचाउँन पाएको नै सबैभन्दा ठूलो प्राप्ति लागेछ । कतिलाई भुटानमै छोडिएका आफन्तहरूको पीरले पिरोलेछ । कतिलाई भुटानमा गुमाएका आफन्त मनहरूको यादले गाँजेछ । यस्तै अवस्थामा शिविरको जिन्दगी बाँचिरहेकाहरू रहँदाबस्दा आफ्नो खेतबारी, खेतीपाती र माटो सम्झिएर तड्पिन थालेछन् । शिविरको जीवन क्रमशः साँघुरो बन्दै गएछ । विकल्प खोज्न थाल्नेहरू क्षमताअनुसारको विकल्प खोज्न थालेछन् ।
भुटानबाट आएकाहरूमध्ये खेतीपातीमा रहर भएकाहरू आफूले लुकाएर ल्याएको सम्पति झापाकै कुनै ठाउँमा खेतबारीमा लगाएर आफ्नो छुट्टै घरजमको मेलोमा निस्किएछन् । व्यापारमा रुचि भएकाहरू त्यतै पसेछन् । पढेलेखेकाहरूमा पनि अङ्ग्रेजीमा राम्रो दख्खल भएकाहरू आफ्नो क्षमताअनुसार, नेपालको पूर्वी पहाड तथा पूर्वी तराईका बोर्डिङ स्कुलहरूमा अङ्ग्रेजी पढाउने माष्टरमा नियुक्ति भएछन् । आजसम्म पनि पढाउन हिँड्ने भुटानीहरूको सङ्ख्या उल्लेख्य नै छ । श्रम गर्न सक्नेहरू चलनचल्तीको मूल्यमा आफ्नो श्रम बेच्न विविध दिशातिर भौतारिएछन् । यसरी श्रम गर्न हिँड्नेहरू पहाडतिर सिजनअनुसारको खेतीपातीको काममा प्रशस्तै लाग्दै छन् अझै । अलैँची टिप्ने, काठ काट्ने, आलु खन्ने, घडेरी सम्याउने, घर बनाउने आदि कामहरू सकुशल निर्माण गर्ने नेपाली मूलका भुटानीहरू हाम्रातिर पनि धेरै भेटेको छु मैले ।
यसरी क्षमताअनुसारको काम गरेर शिविरभन्दा बाहिर एउटा पुस्ता अघि बढ्दै थियो । अलिअलि बुढ्यौलीले छुन थालेको तथा बुढ्यौलीले पूरै छोपिसकेको पुस्ता शिविरभित्रै आफ्नो विगत सम्झिएर दुःखका कुराकानी जोडेर थन्किएको थियो । काम गर्न अल्छी मान्ने समूहकाहरू यहाँमात्र होइन भुटानमै पनि विनाकामका कुराकानीमा समय बिताउने वर्गकै थियो । यस्तो समूह धेरैजसो तास नारेर र कहिलेकाहीँ पुरानो पुस्ताको कुराकानीमा सही थपेर अलमलिएको थियो । मसिना बालबच्चाहरू आफूलाई पढ्न भनी छुट्याइएका टहराहरूमा निर्धारण गरिएको पाठ्यपुस्तकमा जसोतसो सर्दै थिएछन् ।
मेरो दमक बसाइको पहिलो दिन यिनै कुराहरू सुनाउने एक प्रतिभावान भाइ प्रकाश धमलाकहाँ भयो । तीन–चार वर्षको कलिलो अवस्थामा उनी त्यहाँबाट लखेटिएका रहेछन् । झापाको बेलडाँगी शिविरमा आफ्नो प्रारम्भिक शिक्षा पूरा गरी त्यसै शिविरबाट प्रवेशिका परीक्षासमेत उत्तीर्ण गरी मसँग भेट भएका बेला दमक बहुमुखी क्याक्पसमा स्नातक दोश्रो वर्षका अङ्ग्रेजी विषयका विद्यार्थी बन्न पुगेका रहेछन् उनी । बेलडाँगीको शरणार्थी छाप्राबाट उठेका प्रकाश जस्तै धेरै प्रतिभाका सिर्जनासँग म, रेडियो र कार्यक्रम संचालनमा जोडिएदेखि नै परिचित थिएँ । त्यसमध्ये पनि आज प्रकाशलाई भेटेर शरणार्थी शिविरको छाप्रामा फक्रिएको चोखो गुराँस उनलाई बुझ्दा हर्षले छछल्किएँ म ।
प्रकाश शिविरको छाप्रो छोडेर दमक बजारको उत्तरपटि एउटा ठूलो र सुन्दर कोठा लिएर बसेका छन् । आफूसँगसँगै भुटानबाट लखेटिएकी साबित्रीसँग उनको बिहे भएको छ । प्रकाशदम्पती विश्व खाद्यको मानो छाप्रामा परिवारका अन्य सदस्यलाई छोडिदिएर आफ्नै कमाइ खाई रमाएका छन् । अङ्ग्रेजी विषयका विद्यार्थी प्रकाश, बिहान र बेलुकीको समय अङ्ग्रेजी तथा गणितको ट्युसनमा खट्छन् । दिनभरिको समय प्रकाशले निजी स्रोतबाट सञ्चालित दमककै एउटा अङ्ग्रेजी विद्यालयलाई दिएका छन् । साबित्री बिहानीसेवामा सञ्चालित क्याक्पसकी छात्रा र दिनभरिकी गृहिणी हुन् । अध्यापनको समयबाट बचाएको समय प्रकाश अध्ययन, साहित्य सिर्जना र रेडियो कार्यक्रम सञ्चालनमा खर्चिन्छन् । दमकको स्थानीय रेडियो पाथीभरा एफ.एम.मा सञ्चालित साहित्यिक शृङ्खलाहरूका राम्रा सञ्चालक हुन् प्रकाश ।
दिनभरिको व्यस्त जीवन सम्हालेर प्रकाश, ट्युसनबाट रु.३,०००, विद्यालयबाट रु.६,००० र साहित्यिक रेडियो कार्यक्रम संचालनबाट रु.१,५०० गरी एक महिनामा रु.१०,५०० आर्जन गर्छन् । मासिक आर्जनको केही अंश विश्व खाद्यको मानामा मिसाउन बाआमालाई बेलडाँगी छाप्रामा पठाउँछन् । बाँकी, अध्ययन–अनुसन्धान, घुमफिर, घरभाडा र दुई प्राणीको चुलो बाल्न खर्च हुन्छ । यसरी प्रकाशकोे वर्तमान बाँच्ने अभ्यास सुखी र खुसी छ दमकमा ।
त्यस रात जया र मलाई पाहुनाका रूपमा स्वीकार्ने प्रकाशको निकै दिन अघिदेखिको निर्णय रहेछ । हामी फिक्कलबाट दमक पुग्दा उनी हामीलाई पर्खिरहेका थिए । म आफूले संचालन गर्ने गरेको रेडियो कार्यक्रमको अत्यन्तै असल र नियमित श्रोताका रूपमा अघिपछि थुपै्र फोनवार्ता भएको थियो प्रकाशसँग मेरो तर, त्यस मितिसम्म सशरीर भेटघाट भने थिएन हाम्रो । हामीलाई दमक बोलाउने साथीहरूका माध्यमबाट प्रकाश र मेरो औपचारिक चिनजान भयो । चिनजानपछि एकै छिन बस्यौँ हामी दमक बजारमा त्यसपछि त प्रकाशले डो-याइहाले हामीलाई उनकै निजी निवासतिर ।
प्रकाशलाई भेटेर निकै खुसी भयौँ जया र म । उनका रसिला कुरामा डुबेर हिँडिरह्यौँ पछिपछि । रेडियोले गाँसिदिएको हाम्रो साइनोको कथा निकै मीठो थियो । प्रकाश बोलिरहेका थिए त्यसैको आदिदेखि अन्त्य । रेडियो कान्तिपुरको साहित्यिक शृङ्खला स्पन्दन मेरा साथमा हिँड्न थाल्दादेखिकै उनी एक अत्यन्तै सक्रिय र नियमित श्रोता रहेछन् । करिब दुई सयको सङ्ख्यामा रेकर्ड गरी सङ्ग्रह गरिएका स्पन्दनका शृङ्खलाहरू देखाएर यसको राम्रो प्रमाण पेश गरे प्रकाशले । उनको निवासमा पुगेपछि जया र म उनले देखाएका यस्ता, हामीलाई छक्कै पार्ने कुराहरू हेरेर तथा सुनेर आश्चर्यमा डुबिरह्यौँ । साबित्री यी सबैमा सही थप्दै परिकारको मेलोमा व्यस्त रहिन् ।
साबित्री र प्रकाशको भुटान छोडाइको बाल अनुभव उस्तैउस्तै रहेछ । नेपाल भित्रिएपछिका कथाहरू र बुझ्ने भैसकेपछि खपेका डरलाग्दा चोटहरू थपिरहे हामीलाई पालैपालो उनीहरूले । प्रकाश र साबित्रीका पाहुना जया र म उनीहरूको स्वागत, सत्कार र आत्मीयताको अतुलनीय न्यानो ओढेर हराइरह्यौँ कहाँकहाँ ! भुटान, भारत, नेपाल, षड्यन्त्र, राजनीति……. आदिहरूमा निस्सासिएर निस्किरह्यौँ प्रकाशको त्यो कोठामा । त्यो कोठाको आनन्द र शान्ति पढेर ब्युँझिरह्यौँ प्रकाश र साबित्रीसँग !
प्रकाशको सिर्जनशील क्षमता, बाँच्ने परिबन्द मिलाउन सक्षम छ दमकमा । साबित्री पनि खुसी छिन् । प्रकाश झनै खुसी देखिन्छन् । हामी सर्सर्ती यस्तै देख्छौँ र बुझ्छौँ उनीहरूलाई तर भित्री पीड त कसरी बुझ्न सक्छौँ र हामी ? समयको चोट कसरी पढ्न सक्छौँ र हामी ? पीडाका हरफहरूमा सहमति जनाएर सान्त्वनाका केही वचन छर्किनुबाहेक हाम्रो अर्को विकल्प नै पो के छ र ? शिविरमा पसेर फर्किँदै गरेका पाइलाहरूसँग मस्तिष्क जोत्दै छु घरीघरी !
प्रकाशको पाहुना बनेका भोलिपल्ट भुटान गजल मञ्चको गजल सम्मान ग्रहण गर्न जया र म बेलडाँगी शरणार्थी क्याम्प पुगेका थियौँ– प्रकाश, साबित्री, खल्तीपीडित, याम थुलुङ र अन्य सक्रिय साहित्यिक मनहरूको साथ लागेर । दमककी अग्रज स्रष्टा सुमित्रा बाङ्देल ‘चेली’ दिदीका हातबाट मैले भुटान गजल मञ्च गजल सम्मान ग्रहण गरेँ । भुटानका धेरै अनुहारहरूका माझमा कार्यक्रम भैरहँदा सुनिएका शक्तिशाली कविता तथा गजलका हरफहरूले मलाई भुटान पु-याइरह्यो । भुटानभित्र बसेर गरिएको कुनै एक कार्यक्रमको नमुना रूप थियो त्यो । भावनामा बहकिएर तुरुन्त भुटान पुग्ने र फर्किने गर्दै मेरो मन नाचिरह्यो । सबै नेपाली अनुहारका नेपाली मनहरू, सबै नेपाली संस्कृतिका नेपाली पनहरू हेरेर हाम्राहरूलाई बुझिरहेँ मैले, आफ्नाहरूलाई देखिरहेँ मैले । आफ्नै घरभित्र आफ्नो पाहुना अनुहार मेरो मन, मस्तिष्क र नसानसामा अप्ठ्यारो र लाजमर्दो उत्रिरह्यो । बाध्यताहरू डुबुल्की मारिरहेँ । आफ्नै घरभित्र पाहुना बन्ने रहर पालेर हिँड्ने हाम्रो घिनलाग्दो स्वभावमा चोबलिएर चोइटा–चोइटा टुक्रिरहेँ । आफ्नै घरभित्र आफैँले आफ्नै पराई अनुहार उभ्याएर बाँच्नुपर्ने विवश अनुहारहरू पढेर छियाछिया मन दौडिरहेँ, टाढा–टाढा कतै !
त्यस दिनको शरणार्थी क्याम्पको ठूलो पाहुना म, त्यसैले माला लगाएँ, खादा भिरेँ, भाषण गरेँ, सम्मान थापेँ, माटाको महिमा फलाकेर आफ्नो स्थानबाट औपचारिकता टुङ्ग्याइदिएँ । ‘चेली’ दिदीले मलाई र भुटान गजल मञ्चलाई सम्बोधन गर्नु भयो, बधाई दिनुभयो, नारीवादी गजल वाचन गर्नुभयो र आफ्नो औपचारिकता टुङ्ग्याउनुभयो । दर्शकका रूपमा उपस्थित दर्जनौँ सर्जकका रचनाहरू वाचन भए र पछि रेडियो कान्तिपुरबाट पनि वाचन हुने उद्घोषसहित मेरा हातमा थमाइयो त्यहाँ वाचन भएका सबै रचनाहरू । खल्तीपीडित र याम थुलुङहरूले गजल वाचन गर्नुभयो र क्रान्तिकारी शब्दका झटाराहरू पस्किनुभयो । जयालाई पनि उद्घोषक भाइ प्रकाशले मञ्चमा बोलाए । उनले पनि शरणार्थीका पीडा पोखिन् र तिनै पीडामा सुटुक्क तयार पारेको शार्दूलविक्रीडितको एक श्लोक पस्किदिइन् । उनका अन्य हरफहरू बिर्सिए पनि अन्तिम हरफ मेरो मस्तिष्कले कहिल्यै बिर्सने छैन–
पैतालामुनि एउटै छ धरती को-यौ सिमाना किन ?
जयाको श्लोकले निकै सचेत र गम्भीर सन्देश दिएको तथ्यलाई जान्नेबुझ्ने सबैले औँल्याए । कार्यक्रम समापनपछि खानाको कार्यक्रममा सामेल भई दमक फर्किएर जया र म त्यसै दिनको रात्रीसेवाबाट काठमाडौँ फर्कियौँ । काठमाडौँ आएर हेर्दा जयाका झोलामा साबित्रीले लुकाएर राखिदिएको विश्व खाद्यले उनीहरूलाई दिने गरेको दालको एक पोको थियो । फागुनको अन्तिम सातासम्म पनि काठमाडौँमा, त्यसै दालको आत्मीय स्वादसँग मुछेर हामीले भात खाएका थियौँ ।
काठमाडौँ आएपछि पनि सम्पर्क पहिले जस्तै नै भैरह्यो भुटानी सर्जकहरूसँग मेरो । आफ्नो अवस्थाअनुसार खुसी भएर बाँच्नुपर्छ भन्नेहरू, बेलडाँगी र दमकको आवतजावत, गोलधाप र विर्तामोडको हाटबजार, खुदुनाबारी र शनिश्चरेको हिँडडुललाई नै रुचाइरहेका थिए । काठमाडौँको बसाइमा धेरै सोचेँ मैले तिनीहरूलाई, धेरै सम्झेँ तिनीहरूलाई । दिक्दार भएको अनुहार पनि सम्झेँ, आशावादी नजर पनि सम्झेँ, नयाँ सम्भावनाको खबरले फुरुक्क जिउडाल पनि सम्झेँ । सम्झी–सम्झी अवस्था र राननीतिको हिसाबकिताब बुझ्ने प्रयत्नमा घुमाइरहेँ आफूलाई वरिपरि जतासुकै !
राम सिवाकोटी भन्दै थिए, म त हामीलाई तेस्रो मुलुकमा व्यवस्थापन गर्ने कुराले साह्रै खुसी छु । प्रक्रिया मिल्दै छ । म त अब चाँडै अमेरिका जान्छु । मलाई त भुटानबाट खेदिएको नै ठीक लाग्यो अब । भुटानमा नै रहिरहेको भए अमेरिका जीवनमा कहिल्यै पाइलो हाल्न पाइने थिएन, राम्रो हुने भयो । अमेरिका जान पाइने भयो, सबै सपना पूरा हुने भयो । खल्तीपीडित र याम थुलुङहरू जसरी पनि घरै फर्किने तर अर्काका देशमा नजाने मनस्थितिमा थिए । प्रकाश र साबित्रीलाई पनि त्यस्तै बुझेको थिएँ मैले ।
पछि बिस्तारै थाहा पाउँदै गएँ, राम सिवाकोटी अमेरिका पुगेछन् । राम्रो आवाजका गायक नन्दीकिशोर अमेरिकामा नै छन् रे ! प्रकाश र साबित्रीको अष्ट्रेलिया जाने अन्तिम प्रक्रिया मिलेर तयारी पनि भैसक्यो रे ! खल्तीपीडित पनि अमेरिका जाने भए रे ! र अरूहरू तोकिएको तेस्रो मुलुकको खुसी हाँस्दै उड्दै छन् रे ! अनि लाग्यो, घर फर्किन नपाएपछि जहाँबाट जे–जस्तो नियम बन्छ त्यसलाई त पच्छ्याउनै प-यो नि ! आफ्नो स्वार्थका लागि हजारौँलाई लखेटेर भोज खानेहरूको खुसीका लागि तिनले चलाएका जाँतामा हामी नपिसिए अरू को पिसिएलान् र ?
आफ्नै अवस्था पच्छ्याइरहँदा हिजोआज पनि बेलाबेला शरणार्थी शब्दले झड्का दिइरहन्छ मस्तिष्कमा । यस्तो बेला २०६४ को माघ महिना, प्रकाश र साबित्री, भुटान, पाहुना र स्रष्टाहरू सम्झिन पुग्छु । प्रकाशले सुनाएको गजलको शेर आइरहन्छ मनभरि—
सिमानाले किन पराइ हुनुपर्छ नेपालीले ?
जिते हारे जे गरे नि, रुनुपर्छ नेपालीले ।
हो त नि, आफ्नै माटो समाएर पनि पराइ भूमि बोल्न बाध्य प्रकाशहरू हारेर रुँदै छन्, जितेर रुँदै छन् । नौ डाँडापारि बिरानो आकाश हेरेर समयको गति कुद्दै छन् । जीवन, छरिएको आयतन भेला पारेर आफ्नो भविष्य नापजाँच गर्दै छन् । जताबाट जता गए पनि रोएर बाँचेका नेपालीहरूको उही कथाको निरन्तरता हिँडिरहेका छन् प्रकाशहरू ।
२०६० सालमा पहिलोपल्ट मैले कृष्ण धरावासीको शरणार्थी उपन्यास पढेपछि नेपाली जातिको शरणार्थी अवस्था बुझेँ । प्रकाशहरूलाई भेटेर उनीहरूको कथाव्यथा सुनेँ । विश्वका विकराल शरणार्थी अवस्थाको परिचय पाएँ । आफ्नै देशमा देश गुमाएर थुप्रिएका आफ्नै जातिका आफन्त अनुहारहरूको अवस्था राम्ररी नियाल्ने मौका पाएँ । बेलडाँगीमा प्रकाशले पढेको गजलका हरफहरूले धेरै दिनसम्म दुखाइरह्यो मलाई । फेरि शरणार्थी उपन्यासमा छिरेर कथाव्यथा पढ्ने मन भयो । शरणार्थीका लेखकले छेत्री सरका मुखबाट निकालेका शब्दहरूमा डुलिरहेँ धेरैपल्ट म–
के गर्ने नेपालीहरूको दशा जहाँ पनि उस्तै छ । एउटा सङ्घर्षशील, बहादुर र परिश्रमी जाति भएर पनि नेपालीले कहीँ पुगेर सुख पाउन सकेका छैनन् । विश्वभरि छरिएका नेपालीहरू जहाँ पनि असहाय भएर उभिन बाध्य छन् । यी सोझा जाति एकोहोरो मेहनत र परिश्रम गर्छन् तर त्यसको फल खान भने कहिल्यै पाउँदैनन् ।
आज परिश्रमी र सिर्जनशील ती हातहरू सोचेर अरब, मरुभूमि, पाताल र मलेसिया दुखिरहेछ पसिनाका थोपा–थोपामा ! एउटा अन्त्यहीन शरणार्थी अनुहार रोइरहेछ समस्याको थुप्रो टेकेर ! म विचारको धरहरा खस्दै छु स्वार्थका साङ्लीले कसिएर, राजनीतिका फोहोरी डङ्गुरहरूमा !
म शरणार्थीको मेजमान खाएर फर्किएको शरणार्थीको पाहुना, समस्याहरूमा पोको पर्दै खस्दै छु । छिर्दै जाँदा विचारका पन्नाहरू, फेरि धरावासीको शरणार्थीमा ठोक्किएको छु । हाम्रो जित पनि सधैँ हारमा टुङ्गिने सिलसिला बन्दा, रोएका प्रकाशलाई जबाफ फर्काउँदै त्यहाँ धरावासी बोल्दै छन्– हामीले जित्न त सिङ्गो विश्वबाटै परायापनको हार हुनुपर्छ । जातीयताका काला दागहरू मेटिनुपर्छ । सारा संसार एउटै मानवजातिको घर नभएसम्म हामी पात्रहरूको जित असम्भव छ ।
दाइ खुसि लाग्यो. अति राम्रो लेख..
नन्दीकिशोर, अमेरिका