शरणार्थी शिविरतिर फर्किएर हेर्दा (सम्पादकीय)
भुटानीहरूको विस्थापन र राज्यविहीनताको कहानी एक उत्तरजीविता र सहनको कथा हो । यसभित्र जति मानवीय विपत्ति र त्रासदीका अकल्पनीय घटना–परिघटनाहरू छन् त्यति नै सङ्घर्ष र साहसका फेहरिस्त पनि छन् । विगतका ती घटनाहरू कति इतिहास भइसके, कति अभिघातका रूपमा हाम्रो जीवनमा रहिरहेका छन् । यसपालिको अङ्कमा हामीले तिनै विस्थापनका कठिनाइ, सङ्घर्षपूर्ण जीवन, पीडा र आक्रोशका अनुभूतिहरूलाई पस्किने प्रयत्न गरेका छौँ । परबाट देखेर लेख्नेले भन्दा भोक्ता स्वयमले लेखेको बढी यथार्थिक र जीवन्त हुनसक्छ भन्ने कुराबाट उत्प्रेरित भएर नै हामीले यसो गरेका हौँ ।
भुटानबाट विस्थापित भएर नेपाल प्रवेश गरेपछि भुटानीहरूको जीवनमा एउटा अध्याय थपियो घरबारहीनताको, राज्यविहीनताकको, परिचयहीनताको, अनिश्चित भविताको । आरम्भिक दिनमा भुटानीहरूको पहिलो बसाइ माईधारको बगरमा थियो । ती दिनहरू अन्योलपूर्ण, कहालीलाग्दा र कष्टकर थिए । त्यहाँ न बसोबास, न खानपान, न अन्य कुनै कुराको प्रबन्ध थियो । त्यहाँको भोक, अभाव र रोगले धेरैको जीवन चुँडालेर लग्यो; उनीहरू त्यहीँको माटोमा सधैँका लागि अस्ताए । त्यसपछिका दिनहरूमा शरणार्थीसम्बन्धी राष्ट्र सङ्घीय संस्था (युएन्एचसिआर) र नेपाल सरकार संलग्न भएपछि केही आधारभूत कुराहरू प्राप्त भए ।
माईधारको बसाइ विपत्तिको पहिलो चरण थियो । त्यो अवस्था जति त्रासद र निर्दयी थियो त्यसपछिको अवस्था धेरै सहज मान्नु पर्दछ । शनिश्चरे, बेलडाँगी, गोलधाप, टिमाइ र खुदुनाबारीमा शिविर स्थापनापछि परिस्थितिमा केही सहजता आयो । यो सहजतामा पनि अनेक कठिनाइ, अप्ठ्यारा र अभावका डङ्गुरहरू थिए । गाँस र बास खोसिएका मानिसका लागि खाने, बस्ने र स्वास्थ्योपचार व्यवस्था हुनु पनि ठुलो कुरा थियो । तर ती सबै बाँच्नका लागि न्यूनतम आवश्यकताका कुरा थिए ।
शरणार्थी शिविरको समाज र जीवनका विविध पक्ष छन् । तिनको सम्बन्ध शिक्षा, चेतना र जागृतिसँग छ, अभाव र जोखिमपूर्ण अवस्थासँग छ, राजनीतिसँग छ, इतिहाससँग छ, मानवीय सम्वेदनशीलतासँग छ । शरणार्थी शिविरको प्रबन्ध अस्थायी र आपत्कालीन समयका लागि थियो । शरणार्थी समस्याको राजनीतिक निकास नआएपछि समस्या झन् जटिल र अन्योलपूर्ण बन्दै गयो । पहिलो कुरा त जीवनका आधारभूत आवश्यकता बसोबास, पौष्टिक आहार, पानी, लुगा कपडाको अपुगबाट जीवन सङ्कटग्रस्त थियो । त्यसले गर्दा त्यहाँ बालबालिका, सुत्केरी, महिला र वृद्धहरूको जीवन सबभन्दा बढी जोखिमपूर्ण थियो ।
रोजगारी गर्ने अवसरको अभाव र नेपालको शरणार्थी सम्बन्धमा कानुनको अस्पष्टताले गर्दा आर्थिक उपार्जन गर्ने बाटो कठिन थियो । आधारभूत शिक्षा शिविरमा प्राप्त गरे पनि, उच्च शिक्षा हासिल गर्न ठुलो चुनौती थियो । कतिपय अवस्थामा स्थानीयसँगको सम्बन्ध पनि तिक्ततायुक्त र तनावपूर्ण हुने गरेको थियो । पुनर्वासमा जानु पूर्व (झन्डै दुई दशकमा) एउटा सिङ्गै पुस्ताको ऊर्जाशील जीवन, उद्यमशीलता उसै खेर गएको थियो । सम्पूर्ण समाज नै अन्योल र अनिश्चयमा बाँच्न विवश थियो ।
पुनर्वासको प्रक्रिया राजनीतिक रूपमा सही समाधान नभए त्यसले मानिसहरूलाई रोजगार, बसोबास र राष्ट्रियताको नयाँ प्रतिमान दियो । परिणाम स्वरूप अहिले हामी ठुलो सङ्ख्या विश्वका विभिन्न मुलुकमा बसोबास गरिरहेका छौँ । केही हजार अझै पनि शिविरमै बसोबास गरिरहेका छन् । ठुलो सङ्ख्यामा पुनर्वास भइसकेपछि शिविरमा रहनेहरूको अवस्था झन् दर्दनाक छ । तथापि समय क्रममा हामी जहाँ जहाँ पुगे पनि हामीसँग साझा इतिहास छ, साझा मूल्यमान्यता छन्, सद्भाव र प्रेमका सम्बन्धहरू छन् ।
शिविरमा एक हिसाबले जीवन निराशा र अन्योलमा रुमलिएको थियो । यस्तो अवस्थामा पनि शिक्षाप्रतिको चासो र विश्वास समाजमा घनीभूत थियो । समाजमा शिक्षाप्रतिको भोक थियो, जागरूकता थियो र लगाव थियो । कुनै दिन घरदेशमै फर्की जाने उद्देश्यले थालिएको शैक्षिक कार्यक्रम अन्ततः गन्तव्य फेरिएर पश्चिमी मुलुकहरूमा आइपुग्दा पनि उपयोगी नै रह्यो । त्यस कारण शिक्षाको महत्त्वलाई समाजले अझै जोड दिइरहनु पर्दछ ।
शरणार्थी शिविरमा धेरै बिघ्न-बाधाहरू थिए, वाध्यता र विवशताहरू थिए । तथापि त्यहाँबाट समाजले धेरै जीवन उपयोगी अनुभव र ज्ञान सिकेर आएको पनि छ । खास गरेर शरणार्थी शिविरको बसाइले परस्पर सौहार्द सम्बन्ध कायम गरेर बस्न सिकायो, अभावमा बाँच्न सिकायो, दुःख पर्दा सरसहयोग गर्न सिकायो, उदासिनता र निराशाको समयमा धैर्य गर्नु पर्दछ भन्ने पाठ पढायो । देश, पहिचान र राष्ट्रियताको मूल्य सिकायो । सबै भन्दा बढी कठिन समयमा पारिवारिक एकता, आपसी सद्भाव र वैयक्तिक जिम्मेवारी बोध गर्न सिकायो ।
शरणार्थी शिविरका यस्ता दुःखसुखका, पीडाका र चुनौतीहरूका संस्मरणहरू लेखिनु पर्छ । तिनै लेखनहरूबाट हाम्रो सामाजिक इतिहासको अभिलेखीकरण हुन जान्छ र भावी पुस्ताले पनि अघिल्लो पुस्तको पीडादायी जीवन र सङ्घर्षमय कथा पढेर उत्प्रेरित हुने मौका प्राप्त गर्न सक्दछ ।