शरणार्थी

हेम गुरागाईँ
नेपाल

कसैको रहर कसैको कहर हारेको इतिहास
भोग्नेले भन्ला दुखेको छ कि निकाला उठिबास
हुनेले खान खोजेछ भाग यी सर्वहाराको
शरणको मरण यो चिर हरण निमुखा साराको ।।
कसैको…

घर्-घरै आँखा अगाडि छोरी-बुहारी लुटिन्थे
स्कुलमा ब्यारेक सरेर आउँथे मानिस कुटिन्थे
खोलामा रातो शहीदको तातो त्यो खुन मिसेर
बनको बाटो बगरको तातो पसिना सिँचेर।।
कसैको…

नरक झैँ गन्ध उसिना चामल भिक्षा झैँ थापेर
त्यो आधा पेट खाएर बाँच्नु बट्टाले नापेर
झुकेको शिर दुखेको पिर स्वाभिमान लिलामी
मिचेर मुटु जानुको पीडा आफ्नै त्यो मलामी।।
कसैको…

पालको बास अर्काको आस पानी र असिना
चर्खाको धुलो बगरको गिट्टी सस्तोमा पसिना
त्यसरी हुन्छ शरणार्थी मान्छे, किनेर हुँदैन
आइडी-फोटो दुखीको गाँस छिनेर हुँदैन।।
कसैको…

पश्चिमा हुरी चलेर आयो सपना उडायो
जेलमा छोरो, दूर देशमा आमा वियोगी बनायो
कसैको रहर कसैको कहर हारेको इतिहास
भोग्नेले भन्ला दुखेको छ कि निकाला उठीबास।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *