शीर्षकविनाको कथा

नैनसिङ मगर
न्यूयोर्क, अमेरिका

ज्यामिरे गाउँमा फुपू साह्रै बिरामी थिइन् । बेलुका चिन्ता राख्ने कुरो सुनेपछि घरको काम सकेर म फुपूको घरमा पुगेँ । फुपाले बाहिर सिकुवामा थान बनाउँदै थिए । एकैछिनमा झाँक्री काका हात, खुट्टा, मुख धोएर जामा पगरी लगाउँदै थान अगाडि थालमा मालाहरू थुपारे । मलाई धूप लगाउन धुपौरे बस भने, मैले पनि केही नभनी स्विकारें।

चिन्ताको मेलो सुरु भयो, थाल ढ्याङ्ग्रो बजेर कोही बोलेकै सुन्नै छाडे, म पनि धूप लगाउनमा तल्लीन भएँ । दुई र्याम चिन्ता बसी सकेपछि झाँक्री काकाले जङ्गलीको मेलो गर्नुपर्छ भने । जङ्गलीको मेलो कालो पोथीबाट मात्र संभाव हुने भएकाले, फुपाले मलाई खोरबाट ठुलो कालो पोथी जसले चाहि फुल पारेको हुनुभएन माउ होइन त्यही समाएर ले भने । मैले खोरबाट सोही अनुरूप छानेर कालो पोथी समाएर ल्याएँ । त्यसपछि झाँक्री काकाले जङ्गलीको मेलो गर्न थाले । मुन्धुम सकिएपछि काकाले पोथीलाई पर खोल्सो कटाएर आउनु अथवा बाहिर ॲागनमा ढोकोले छोपेर राख्ने अनि बिहान भएपछि लगेर मन्साउॅदा पनि हुन्छ भने। कुराकै आवाजलाई टुङ्गिनु नदिईकन भित्रबाट फुपूले “त्यो पोथीलाई अहिले कतै बाहिरतिर छोपेर राख्नु अनि भोलि ठुले भदैलाई पठाए हुन्छ ।” म मनमनै हर्षित भएँ, बाहिर लगेर उनीहरूले भने झैँ छोपेर राखेँ । चार र्याम बसेर गर्नुपर्ने कार्यहरू सबै गरेर झाँक्री लगायत सबै सुते ।

अरू उठेकै थिएनन्, बिहानै म त्यो कालो पोथी बोकेर घर पुगेँ । केही महिनापछि पोथीले दसवटा चल्ला निकाले । केटाकेटीको मन त हो, ती चल्लाहरू बेचेर के-के नै गर्ने सोच निर्माण गर्न थालेँ । चल्लाहरू हुर्किँदै गए तर दिनमा एउटा लोप हुने । क्रमशः सात दिनमा सातवटै चल्लाहरू पलायन भए त्यसपछि रिसले आगो भएर म कतै नगईकन घरमै त्यही चल्लाहरू परीक्षण गरेर बसेँ ।

समय त्यही एघार बजेको थियो होला, एक बेसारो उडेर आयो अनि अमलाको बोटमा बस्यो । मैले हेरिरहेँ लुकेर, बेसारोले सबैतिर अवलोकन गर्‍यो अनि बेगिएर चल्लालाई आक्रमण गर्न आयो मैले हा हा हा भने । नटिपीकन फर्केर गयो त्यसपछि एउटा चल्लोलाई समाएर धरापभित्र राखे खुल्ला बारीमा । केही छिनमा पुनः त्यही बेसारो आयो, म झ्यासघारीभित्र बसेर हेरिरहेको थिएँ । बेसारो अघि झैँ झम्टेर आउँदा धरापमा पर्‍यो । बिचरा ! के उम्किन सक्थ्यो नि …..डल्लो परेर बसिरह्यो मलाई हेर्दै । मलाई झ्वाँक त कति उठेको थियो बयान म के गरौँ ? निमोठेर आधा मरो बनाउँदा बेसारोले बोल्यो । “दाइ ! मेरा नानीहरू अर्नेदोभानको चाँपको रूखमा भोकाइरहेका छन्, मलाई खाऊ या मार केही छैन तर ती नानीहरूलाई के गर्नुहुन्छ हजुरकै मर्जी ! हजुर जस्तै हलो कोदालो गरेर खाएको थिएँ भने मैले किन चल्लो बोक्नुपर्थ्यो र….. ! हजुर त हलो कोदालो गरेर पनि मासुको भोगी हुनुहुन्छ ! मैले त मासु बाहेक अरू के नै दिन सकौँ नानीहरूलाई आज ……….!”

आधा मरो बेसारो के बाच्थ्यो र …., समय पर्खेर मर्‍यो । त्यसपछि बेसारोको वाणीलाई अनुसरण गरेर अर्नेदोभानमा पुगेँ, यसो चाँपको रूखमाथि हेरेँ गुँड जस्तै देखेँ । चढेर गुँडमा पुगेँ । दुईवटा रहेछन् भर्खर ॲाखा खुलेका बचेराहरू । मलाई देखेर ॲा ॲा ॲा गरे चिॅ चिॅ चिॅ गरे । त्यतिखेर मायाले होकि डरले हो, झन्डै खसेँ तर पनि तिनीहरूलाई लिएर घर आएँ अनि मासु त के मैले खाएकै खाना दिएर हुर्काएँ ।

उड्न सक्नेसम्म बनाएँ त्यसपछि अमलाको बोटमा पुर्‍याएर छोडिदिएँ उनीहरू उतै उडेर गए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *