शुभकामना

साहित्य समाजको बिम्ब मात्र होइन समाजको ऐना पनि । स्रष्टाको व्यक्तिगत ज्ञानको आयतन र वैचारिक क्षमताको कलात्मक प्रदर्शन पनि साहित्य हो । कुनै पनि जातिको सामाजिक, सांस्कृतिक  र सभ्यताको अविच्छिन्न परिचय पनि अन्ततः साहित्य-सृजना नै हो । सृजना विनाको व्यक्ति र समाज विनाको साहित्य हुनै सक्दैन । साहित्य समाजबाटै जन्मन्छ, समाज मै हुर्किन्छ,बढ्छ र  विश्वमा फैलन्छ । विकसित र समृद्ध साहित्यको धर्म नै गतिशीलता हो । तर पुनर्वास पछि हाम्रो साहित्य समाजका लागि भन्दा पनि  सीमित लेखक र स्रष्टाहरूको समूहभित्र घुमिरहेको छ ।  समाजमा कसरी सृजनाहरूको पहुँच बढाउने र समाजलाई कसरी त्यसमा सहभागी बनाउने भन्ने थुप्रै चुनौती र समस्याहरू पनि छन् । त्यति मात्र होइन, पुनर्वासमा भाषा कसरी बचाउने भन्ने प्रश्न पनि त्यतिकै जटिल भएको छ । भाषा चाहिन्छ र त्यसलाई कसरी पुस्तान्तरण गर्ने भन्ने बारेमा कसैको चासो र चिन्ता पनि देखिँदैन । यस्तो जटिल र संवेदनशील स्थितिमा उभिएका छौँ हामी आज । यो सृजनाको महान् यात्रा न हामी छोड्न सक्छौँ न समाइरहन पनि । तर पनि सृजनाको बाँझो खेतमा विचारको खेती गर्ने यस महान् कार्यमा हामीले धेरै समय र श्रम खर्चिइसकेका छौँ । यो हाम्रा लागि हैन नयाँ पुस्ताका लागि हो भन्ने सुझ्नुपर्छ । नेपाली भाषाको माध्यमबाट नभए पनि अङ्ग्रेजी भाषाकै माध्यमबाट लेख्नेहरूका लागि पनि  यो अभियान निरन्तर गतिशील हुनुपर्छ । स्रष्टाहरूका लागि  नयाँ वर्ष २०२२ सृजनशील र ऊर्जाशील बनोस् । भाषा-साहित्यलाई माया गर्ने तमाम पाठक तथा लेखकहरूलाई नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

धन्यवाद

गंगा लामिटारे
अध्यक्ष साहित्य परिषद् भुटान

Leave a Reply

Your email address will not be published. Required fields are marked *