सक्लुसन् रुम
डिल्लीराम रेग्मी
ओहायो, अमेरिका
मलाई पिङ औधी मन पर्छ
जसरी श्मशानलाई रात औधी मन पर्छ।
मलाई सधैँ पिङ मै मच्चिरहूँ जस्तो लागिरहन्छ
मलाई भोलि नभए हुन्थ्यो जस्तो लागिरहन्छ
भोली ले आस जगाउँछ
मलाई केही आशा गर्नु छैन,
किन कि
मेरा खुट्टाका कल्ली, जसले मलाई अपाङ्ग भनाएको छ
भोलि नहुँदो हो त, खोलिने थिए होला
म आज पिङमा भए कसैले कल्ली लगाउने थिएन।
मलाई घामदेखि पनि डर लाग्छ थाहा छैन किन
मैले सोधेको थिएँ आमालाई एक पटक सानो हुँदा
आमा यो घाम रातभरि कहाँ जान्छ?
आमा भन्नू हुन्थ्यो कि
तिम्रो र तिमी जस्ता अरू धेरैलाई
निदाउन सजिलो होस भनेर
उ प….रको रुख पछाडि लुकेको छ
भोलि फेरि आउँछ ।
यति भन्दै मेरो ढाडमा ढप ढप पार्दै मलाई निदाउनु हुन्थ्यो।
सूर्यलाई झुल्केपछि
पृथ्वीमा आफ्ना किरण पुर्याउन लगभग आठ मिनेट लाग्छ
वर्तमानमा देखेर पनि अतीतलाई देखिरहेका हुन्छौ हामी
मेरी आमा अतीत हुनुभयो तर म अझै देखिरहेको छु।
उहाँ आउनुहुन्न आजकाल
मेरो ढाडमा ढप – ढप, ढप – ढप गरी
मलाई सुताउन आउनुहुन्न
त्यसैले मलाई आजकाल डर लागिरहन्छ
पिङमा मच्चिउ जस्तो लागिरहन्छ।
मलाई घामको डर लागिरहन्छ
भोलि नहुनु जस्तो लागिरहन्छ।
यो सक्लुसन् रुमको एक कुनामा मेरा हात
लामो चेनले बाँधिएका छन्
म हस्टायल छु अरे – उनीहरू यसै भन्छन्
त्यसैले होला सायद मेरा खुट्टामा कल्ली लगाएका छन्।
तपाईँलाई पनि त्यस्तै लाग्छ आमा?
भन्नु न!
म आक्रामक छु अरे – हो?
यो सानु सिसाको झ्यालबाट म बाहिर चिहाउने गर्छु
अनि एउटै प्रश्न आफैँलाई गरिरहन्छु
कि,
यी धेरै पढेकाहरूले कैले देखि पडेको व्यवहार गर्छन् आमा?
मेरो चिच्याहट यो बाहिरको अन्धो दुनियाँलाई कसरी देखाउने?
कि यिनीहरूले जे-जति पढेका छन्
मेरो निधारमा प्रस्टै छ।
आमा तपाईं नभएर म खाली भएको छु, खोक्रो भएको छु
मभित्र खालि ठाउँ धेरै छ।
उहिल्यै परीक्षामा “तलका खालि ठाउँ भर” भन्ने प्रश्न हुन्थ्यो
अहिले आएर थाहा भयो कि
खालि ठाउँ त नभरिँदो रहेछ।
आजकाल म यो सक्लुसन् रुमसँग
घण्टौँ बात गर्ने गर्छु
मसँग खेल्छ, हाँस्छ,रमाइलो गर्छ
यी भित्ताले मलाई पडेजस्तै लाग्छ
त्यसैले म यही भित्र खुसी छु
अनि यस खुसीमा म पिङ मच्चिन चाहन्छु
कमसेकम यो रुमले कसो नमच्चाउला,
अनि आमा तपाईँले चैँ मलाई स्पर्श मात्रै दिए पुग्छ
म माथि भएको बेला
धेरै टाढाबाट मधुरो आवाजमा
बिस्तारै कानमा गुन्जिएको एक मधुर सङ्गीत जस्तो
तपाईँको स्पर्श, मेरो देहले
टाढा धेरै टाढाबाट पनि महसुस गर्ने गर्छु
म त्यस बेला टाढा गइसकेको हुन्छु
मच्चिँदै पिङमा…………..