सामाजिक सद्भाव र मानवता
हिजो हामी स्वतन्त्र थिएनौँ, स्वतन्त्रता खोज्दै भूटानबाट नेपाल अनि नेपालबाट संसारका धेरै देशहरूमा छरिइसकेका छौँ । हाम्रो समाज अत्यन्तै अविकसितबाट अति विकसित ठाउँमा आइपुगेको छ । यसलाई हामीले ठूलो उपलब्धि मान्नुपर्दछ । हिजो जे भयो त्यसबाट पाठ सिक्दै, आफ्नो इतिहासलाई सुनौलो अक्षरमा लेख्दै भविष्यको बारेमा सोच्नुपर्ने समय आएको छ । बृकेटको धुवाँमा पिसोल्टिएर निगुराको झोल र फर्सीको तरकारी डकार्दै शरीरलाई रोगहरूको बास स्थान बनाउनुको विकल्प थिएन हामीसँग । तर अहिले समय फेरिएको छ । हामी न निगुराको झोल पिउन बाध्य छौँ न त कुहिएको उसिनाको चामल । अहिले हामीसँग पैसा छ, छानाछानी खान लाउन पाउने अवस्था छ । यो भन्दा पर हामीसँग स्वतन्त्रता छ । स्वतन्त्र हुनुको मजा कस्तो हुन्छ भन्ने हामीलाई पूर्ण रूपमा थाहा भैसकेको छ । तर स्वतन्त्रताको नाममा अति स्वतन्त्र छु भनेर सोच्नु गलत हुन जान्छ । अरूलाई असर पुर्याउने कार्य गर्नु अरूको स्वतन्त्रतामाथिको धावा भन्ने बुझिन्छ । सबैभन्दा पहिला म के गर्दैछु भनेर सोच्न जरुरी छ । मैले अरूलाई कस्तो असर पार्दैछु कि छैन भनेर सोच्न पर्ने भएको छ । यहाँ म मात्रै छैन, मेरो मात्र संस्कार अनि संस्कृति छैन । मैले मेरोलाई संरक्षण गर्दै अरूकोलाई सम्मान गर्न सक्नुपर्छ भन्ने भावना उत्पन्न हुन जरुरी छ । स्वतन्त्रताका नाममा अरूकोलाई होच्याउँदै आफ्नोलाई पहाड बनाउने खेती जजसले गरिरहेका छन्, उनीहरूले यस्तो प्रवृत्ति तुरुन्त रोक्न आवश्यक छ ।
साम्प्रदायिक फुट, धार्मिक असनशीलता, सामाजिक कट्टरवाद, अराजकता सबै कुराहरू निर्मूल भएर जानुको विकल्प छैन । जतिबेलासम्म हामी अरूलाई सम्मान गर्न सक्दैनौ, तबसम्म हाम्रो समाज फुटी नै रहन्छ । म सही छु अनि अरू पनि गलत छैनन् भन्ने कुरालाई मनन गर्दै सामाजिक सद्भाव कायम गर्न जरुरी छ ।
को हिन्दु, को मुस्लिम, को क्रिस्चियन अनि को बुद्धिस्ट। हामी सबै मानव हौ । सबैभन्दा पहिला मानव हुन सिकौँ । त्यसपछि मात्र आफ्नो धर्म अनि जातियताको कुरा गरौँ । स्वतन्त्र मानव भएर बाँची हेरौँ, त्यो जति आनन्द कहीँ पनि आउने छैन । जति बेला हामी मानवीय समवेदनासँग हातेमालो गर्दछौँ, त्यति बेला मात्र हाम्रो जीवन सफल हुन जान्छ न कि कुनै धर्म र जातिको भएर बाँच्दा । अन्त्यमा आउनुहोस्, सबै मिलौँ अनि स्वतन्त्र मानव भएर बाँचौँ । म त्यो सम्प्रदायको, म यो धर्मको या म यो समूहको भन्नुभन्दा पनि, म सबैको हुँ, म एक विशुद्ध मानव हुँ भन्ने भावना लिएर सच्चा मानव भएर बाँचौँ ।
धर्मेन्द्र तिम्सिना ‘क्षितिज”
मातृभाषा संम्रक्षण समूह
ओहायो, अमेरिका