साहित्य परिषद् भूटानका अध्यक्षकाे दशैँ शुभकामना सन्देश

आदरणीय महानुभावहरू,

ढिलो छिटो नेपालीहरूको महान् चाड दसैँ हाम्रा घर आँगनमा आइपुगेको छ र हामी पनि दशैका नजिक पुगेका छौँ ! २०२०को प्रारम्भसँगै वैश्विक महामारीकारूपमा फैलिएको कोविड १९ले विश्वमा १० लाखभन्दा बढी मानिसहरूको ज्यान लिइसकेको छ र १० औँ लाख मानिस यस महामारीसँग जीवन- मृत्युको युद्ध लडिरहेका छन् ! मानव सभ्यताकै विरुद्ध यस महामारीले आक्रमण र प्रत्याक्रमण गरिरहेका बेला सानु खुसी लिएर दसैँ र तिहार हामीमाझ आइपुगेका छन् ! दशैं मान्यजनका हातबाट टीका ग्रहण गर्ने र स्वास्थ्य, दीर्घायु समृद्धिको आशीर्वाद थाप्ने हाम्रो युगौँदेखिको परम्परा हो, यो ! मेरा ९० वर्षका बाबा- आमा हुनुहुन्छ ! म अहिले दोधारमा छु ! आमाबाबाबाट दशैंको आशीर्वाद थाप्न जाऊँ कि नजाऔँ ! जाऊँ भने विश्व स्वास्थ्य सङ्गठन भन्छ,कुनै पनि मानिसका नजिक नजाऔँ ! सामाजिक दुरीको पालना गरौँ ! नजाऊँ भने ९० वर्षका आमाबाबा ! उहाँहरूले मलाई अर्को दसैँसम्म पर्खन्छन् कि पर्खँदैनन् ! ज़बर्जस्ती गरे बाबाआमाबाट आशीषको रूपमा कोरोना नै थापिने हो कि भन्ने त्रास त छँदैछ त्योभन्दा पनि भयङ्कर खतरा कतै उहाँहरूलाई कोरोनाकोढोकरूपी उपहार दिएर आइने त होइन भन्ने अन्योल र त्रास पनि त्यतिकै ! मानिस नै मानिसका लागि मृत्यु भएर घुमिरहेको बेला आएको विजयादशमी र दीपावली पर्वले सानु उमङ्ग थपिदिएको छ ! नेपालीहरूमा हिम्मत, साहस र हौसला पनि थपिदिएको छ !यस महापर्वले मानव जातिलाई अँध्यारोबाट उज्यालोतर्फ, अज्ञानताबाट ज्ञानतिर,गरिबीबाट समृद्धितर्फ,अस्वास्थ्यबाट स्वास्थ्यतर्फ,अशान्तिदेखि शान्तितर्फ र अनेकताबाट एकतातर्फ ढोर्याओस् कामना गर्दछु ! सबै नेपालीहरूमा बडादशैं र दीपावलीको एकमुष्ट शुभकामना पनि व्यक्त गर्न चाहन्छु ।

गङ्गा लामिटारे
अध्यक्ष
साहित्य परिषद् भूटान

Leave a Reply

Your email address will not be published. Required fields are marked *