सुरधन राई

लेखक
लेखक

अम्बिका प्रसाद दुलाल
एड्लेड, अस्ट्रलिया

याबा; गाउँ परिचय:- दक्षिण भुटानको सामची जिल्ला, सिब्सु सब-डिभिजन र लहरेनी ब्लक अन्तरगतमा पर्ने ‘याबा’ शुरु देखिनै पूर्ण रुपले नेपाली भाषीहरुले बसोबास गर्दै आएको एउटा विकट तर ठूलो गाउँ हो। चिङ्गा, तागे, दुङसे, बीबी, फेगाप, याबा, च्यामा र चिबी आदि सबै सेरो फेरो गाउँहरुको समष्टि नाम हो याबा। यो गाउँको उत्तरमा पश्चिम-उत्तरबाट पूर्व-दक्षिणहुँदै तुर्सा नदि बग्दछ। तिब्बत-चीनमा मुहान रहेको यो नदि भुटानमा हा जिल्लाबाट पसेर दोरोखा-देन्चुका आदि गाउँहरु भएर फुन्चोलिङ शहर छेउहुँदै भारतको पश्चिम बङ्गाल राज्यतर्फ बगेको छ।

याबाका मानिसहरुले हालसम्म पनि धेरै कष्टकासाथ जीवन यापन गरिरहनु परेको छ। त्यहाँ मोटर सडक अझसम्म पनि पुगेको छैन। हाट बजारको निम्ति एकोहोरो तीन दिनसम्म हिमाली पाखा पखेरो, बन-जङ्गल हिँडेर सिब्सुको गोला बजार पुग्नु पर्छ। त्यँहा पनि आफूलाई आवश्यक पर्ने उपभोग्य सामानहरु नपाइएको खण्डमा भारतको झोलुङ, मटेउली, मालबजार, थालझोडा, नगरकट्टा आदि बजारहरुमा पुग्नु पर्दछ। यसैगरी तुर्सा पारीका हा जिल्लाका डुक्पा गाउँ बस्तीहरु जस्तै सिबी, नाखा, नाकी, सम्बेखा, गेरेखा, चाउँले, च्याबा, चेबी इत्यादि गाउँका मानिसहरु पनि याबाकै बाटो भएर सिब्सु तिरै हाट बजारकालागि धाउने गर्छन्। उनीहरुलाई बजार सौदाकोलागि तीन चार दिनको एकोहोरो उकालो हिमाली बाटो तय गरेर हा जानु भन्दा मधेश तिरै झर्नु सजिलो पर्दछ।

गोठालाहरुको हेपाइ र काजीको शिर तोक

द्रष्टव्य:   यो लेख वर्ष ८८का सुरधन राई बाट जुलाई २००५ मा प्रश्न राख्दै सान्दर्भिक उत्तर टिपोट गर्दै तयार पारिएको हो।

शान्ती संघर्ष वर्ष १, अङ्क ५, सितम्बर २००५ बाट साभार तथा परिमार्जित।

हा जिल्लाका गाउँहरु र याबा गाउँको बिचबाट बग्ने तुर्सा नदिमा दुवैतर्फका गाउँलेहरु मिलेर प्रतिवर्ष एउटा साँघु थाप्नु पर्दथ्यो। त्यो साँघु अर्थात पुल बनाउनका लागि हामी याबाका बासिन्दाहरुले बेत काटेर लानु पर्दथ्यो। त्यो पुल हरेक वर्षको चैत या वैसाख महिनामा हालनु पर्दथ्यो। पुल बनाउने तोक गरिएको दिन दुवैतर्फका गाउँहरुका हरेक घरबाट एक-एकजना तगडासित काम गर्न सक्ने मरद जुनैहालतमा पनि जुट्नु पर्ने अनिवार्यता थियो। हामी बेत दिन्थ्यौँ, डुक्पा दाजुभाईहरुले झोलुङ्गो बुन्ने काम गर्थे र बेतको झोलुङ्गे पुल तयार पार्थ्यौँ। पछि सन् १९८५ मा सरकारबाट फलामे रड-तारको झोलुङ्गे पुल निर्माण गरिएपछि मात्र गाउँलेहरु त्यो झन्झटबाट मुक्त भएका थिए।

भौगोलिक दृष्टिकोणले पनि विकट क्षेत्रमा पर्ने यी याबाका गाउँलेहरु शुरुदेखिनै धेरै दु:ख कष्टले जीवन धानीरहेका छन्। हा जिल्लासित सिमाना जोडिएको यी गाउँका नेपाली भाषीहरुले हा जिल्लाका डुक्पा जातिहरुबाट धेरै थिचोमिचो, अन्याय, अत्याचार सहन गर्दै आएका थिए। आफैँले सानै उमेरदेखि भोग्दै आएको दुर्व्यवहार संझिदा आज पनि आँखा रसाएर आउँछ। हा का बासिन्दाहरुले वर्षेनी तुर्सा तारेर याबाका गाउँहरुको बिच बाटो हुँदै याबा गाउँहरुदेखि केहि वरपरका डाँडा-पाखाका जङ्गलहरुमा गाई गोठ ल्याउने गर्दथे। ती गोठहरु हरेक वर्षको कार्तिक महिनामा ल्याउने र चैत-वैसाख महिनामा फिर्ता लैजाने गर्दथे।

ती गाई-गोरुको हन्जा ल्याउनु लानुमा त हाम्रो मन दुखाइ केहि थिएन। तर गोठ ल्याउँदा पाक्ने बेला भएका वर्ष भरी खाने अन्न धान बालीमा जबर्जस्ति जथाभावि ती गाई-गोरुहरु लघारेर ख्वाइदिन्थे। ती गोठालाहरुले आफूलाई महाराजा या महारानीको गोठाला भएको दावी गर्दथे। ती गोठालाहरु “नोपेन” नामले चिनिन्थे। नोपेनहरु हाम्रा घरहरुमा जबर्जस्ति पसेर पकाएका खानाहरू सोरसार पारेर खाइदिन्थे। उनिहरुलाई मिठो लाग्यो भने र अघाउन्जेल खएर उब्रियो भने कसै-कसैले भाँडो सहितै उठाएर लगिदिन्थे त कोहिले चैँ उनिहरुकै भाँडोमा हालेर अथवा रुमालमा पोको पारेर लान्थे। यदि ती खानाहरू उनिहरुलाई भनेजस्तो गरि मिठो लागेन भने भाँडानै घोप्टाएर, “किन मिठो नबनाको?” भनी उल्टै हामीलाईनै गाली बकेर रीसले फनफनिँदै जान्थे। बारीमा पाकेका फलफुलहरु पनि आफैँ टिपेर खाइदिन्थे। यो जग्गा तिमी पहाडेहरुको होइन, हाम्रो जग्गामा फलेको तुलफुल हामी खान्छौँ भनि हेपेर बोल्थे।

गोठहरु फिर्ता लैजाँदा पनि नोपेनहरुले यस्तै उपद्रो गर्दै फर्किन्थे। त्यसबेला खेतबारीमा लहलह भएर मौलाएका मकैका बोटहरु कुनै माया दया नराखी गाई-गोरुलाई खुवाउँदै र माड्दै लैजान्थे। गोठालाहरुबाट हुने गरेका ती दुर्व्यवहार उपर प्रतिकार गर्ने आँट हामी कसैमा पनि हुँदैन थियो। तिनीहरुमाथि जाइलाग्दा पनि साम्बेखा कोठीका काजीले मारमा परेका हामी गाउँलेहरु माथिनै दण्ड सजाय भोगाउँथे। याबा बासीहरुलाई यस किसिमको मिचाहा प्रवृत्ति सालमा एकचोटि भै परी आउने दैवी प्रकोप जस्तै लाग्दथ्यो। आँशु पिएर भएपनि सहनुनै पर्ने नियति जस्तै थियो त्यो दुर्व्यवहार।

याबाको बीबी गाउँदेखि एक दिनको बाटो पर तुर्सा नदि पारी हा जिल्लाको साम्बेखा गाउँमा एउटा सरकारी घर थियो जसलाई “साम्बेखा कोठी” भन्ने नामले चिनिन्थ्यो। त्यहाँ हा प्रशासकद्वारा “काजी” नामको पद दिएर एकजना व्यक्ति नियुक्ति गरिएको हुन्थ्यो। साम्बेखा कोठीमा नियुक्ति भएर आउने काजीहरु तीन-तीन वर्षको अवधिमा फेरिन्थे। अहिले मलाई दुइजना काजीहरुको मात्र नाम थाहा छ, ती हुन् ओला ख्याप काजी र कुम तेन्जी काजी। हा का डुक्पा भाषी र याबाका नेपाली भाषीहरुबिच हुने झै-झगडा र मन मुटाव सम्बन्धी मामला मिलाउनका लागि भनेर त्यहाँ काजीको नियुक्ति गरिएको हो भन्ने जनश्रुति चेँ हामीले सुन्दै आएको हो तर वास्तविकता के थियो हामीले थाहा पाउन सकेनौ।

साम्बेखा कोठीका काजीलाई याबाका गाउँबासीले हरेक वर्ष “काजीको शिर तोक” भन्ने नाममा आफ्नो बारीमा फलेका न्वाँगी स्वरुप दिनु पर्ने फसलहरु मध्ये सिमि, काक्रा, अदुवा, खोर्सानी र मकै एक-एक सेर तौलेर दिनु पर्दथ्यो। यी फसलहरु मध्ये कुनै फसल आफ्नो बारीमा छैन भने गाउँमा कसकोमा छ किनेर भएपनि अनिवार्य सबैचिज जुटाएर बुझाउनु पर्दथ्यो। विशेष गरी हरेक वर्षको भदौ महिनामा यी फसलहरु मण्डलद्वारा घर-घरमा उर्दी गरेर एक-दुई दिन भित्रमै उठाइन्थ्यो बस्तिका मानिसहरुलाई बोकाएर काजी कोठीमा पुर्याउने चलन थियो।

तुर्सा वारीको याबा गाउँकै हाराहारीमा दुइवटा डुक्पा गाउँहरु छन् जसको प्रशासन अझसम्म पनि हा जिल्लाबाटै चल्ने गर्दछ। ती माछु गाउँ र कौखा गाउँका डुक्पाहरुले भने ‘काजीको शिर तोक’ को न्वाँगीका लागि जङ्गलका फ्याक्रेका टुसा जम्मा गरेर बुझाउनु पर्दथ्यो।

साम्बेखा कोठी सम्बन्धमा यहाँ मननै अमीलो हुने कुरा के पर्छ भने हामीले पालेका गाई-गोरु, बाछा-बाछी जे मर्यो भने पनि साम्बेखा कोठीमा तुरुन्त खबर गर्नु पर्दथ्यो। त्यहाँबाट मानिसहरु आएर त्यो मृत पशु काटकुट पारेर मासुको लागि भनी लिएर जान्थे। ती पशुहरु धेरै दिन विरामी परेर थलिएर मरेको छ भने अथवा कोठीमा खबर पुग्नु ढिलो भएर अथवा उनीहरु अइपुग्नै ढिलो भएको कारणबाट सडेर सिनु गनाउनु थाल्यो भने त्यसको साटोमा अर्को जिउँदो दिनु पर्दथ्यो। गनाउनुको कारण बताउन थाल्यो भने बिनबिच्चैमा निहूँ खोजेर आफुमाथिनै जाइलाग्नु बेर लाउँदैनथे। साटोमा अर्को जिउँदो दिनु पर्थ्यो चैँ खै कसरी भनू र , उनीहरु आफैँनै गोठको रोज्जा छानेर तानेर लान्थे। त्यसमा के लैनु गाई के हलको गोरु केहि विवेक नराखी उनिहरुलाई जुन मन पर्यो त्यहि लिएर जान्थे। उनिहरुले त्यो वस्तु लगेको टुलुटुलु हेर्नु, सुकिसकेको थुक सकिनसकि घुटुक्क-घुटुक्क निलेर आँखाबाट बररर आँशु झार्नु बाहेक हामीसित अरु केहि गर्न सक्ने हविगत हुन्नथ्यो।

हाम्रो परम्परा अनुसार मृत पशु खाल्डो खनेर पुर्ने चलन छ। आफुले दूध खाएको गाई अथवा जोतेको गोरु मरयो भने ती मृत जन्तु खाल्डोभित्र हालेपछि एक माना चामल र एउटा ढक्की पैसा नयाँ कपडामा पोको पारेर राखिदिए पछि, “ल है गौ माता अथवा गौ राजा तिमी जिउँदो छउन्जेल हामीले दूध खायौँ अथवा कमाई खायौँ; धेरै दु:ख दियौँ; हामीलाई त्यसको भार नलागोस्; तिमी आफ्नो सद्गतिमा प्राप्त होऊ,” आदि कुराले मृत आत्मा प्रति क्षमा माग्दै नमस्कार गरेर मट्टि दिने चलन छ। त्यो साम्बेखा कोठी रहून्जेल हामीले यो विधि कहिल्यै पुरा गर्न पाएनौ। यसमा हाम्रो मन सधैँ दुखी रहन्थ्यो।

सन् १९५७ को अन्तमा सरभाङमा दक्षिण भुटानका गाउँ-गाउँका प्रमुख व्यक्तिहरु बोलाएर एउटा बृहत सभा राखिएको थियो। त्यस सभामा दक्षिण भुटानका बासिन्दाहरु माथि उत्तर भुटानका बासिन्दाहरु द्वारा व्यवहारिक थिचोमिचोको सम्बन्धमा व्यापक चर्चा चलेको थियो। त्यसको केहि वर्ष पछि देखि नोपेनहरुबाट हुने गरेका अत्याचारका शिलशिला हटेर गयो। गाई गोठको ओहोर दोहोरको क्रमनै बन्द भयो। महाराजा वा महारानीका नामबाट गरिने गोठको ओसार पसार बन्द भएको भएतापनि याबादेखि सोझै पारीका डुक्पा भाषी गाउँलेहरुले भने उनिहरुको गोठ ल्याउने लाने काम गरीनै रहेका छन्। यिनीहरुबाट चैँ खासै कुनै हेपाइ खेप्नु पर्दैन तर उनिहरुले गोठ ल्याउँदा लाँदा भने आफ्नो अन्नबालीको आफैँ सुरक्षा गरेर उनिहरुका गाई वस्तु बाटै बाटो डोरयाइदिनु भने पर्दछ।

यसरीनै सरभाङमा सम्पन्न मिटिङको केही वर्ष पछि सम्बेखा कोठी काजीको नियुक्ति हुनु छोड्यो र काजीको शिर तोक सहित मरेको गाईबस्तु दिनु पर्ने नियमबाट हामीले मुक्ति पायौँ। यस्ता दुष्ट नीतिहरु याबाका गाउँलेहरुमाथि कहिलेदेखि भोगाइँदै थियो भन्ने कुरा म किटान गरेर भन्नु त सक्दिन। मैले थाहा पाउने उमेर भन्दा धेरै पहिले देखिनै यी दुर्व्यवहारको श्रृंखला चलिरहेको थियो। म आफैँले धेरै वर्षसम्म खेपेको आन्तरिक वेदनाको कथा हो यो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *