स्मृतिका छालहरु
छबिलाल अधिकारी
बिक्रम सम्बत् २०१४ मा कमिश्नर झुलेन्द्र प्रधान (नेउली बाउ) ले थिम्पू जानु पर्दा अर्दलीको रुपमा बिश्वासिलो मान्छेको खोजि गरे। रोजाइमा छबिलाल अधिकारी परे। थिम्पूबाट फर्किए पछि उनले छबिलाललाई छोडेनन्। चपरासीको पदमा नियुक्ति दिए। अहिले चपरासीलाई फोरेस्ट गार्ड भनिन्छ। चपरासीले पुलिसको जस्तो काम गर्नु पर्थ्यो। त्यसबेला पुलिस थिएन। कतै जानु पर्दा उनलाई प्रधानले साथमा लिएर जान्थे। चपरासी भएतापनि उनले प्रायः जसो प्रधानको अर्दलीकै काम गरे। कतिपय काम विशेषमा नेउली बाउ जानु नसक्दा भने छबिलाललाई अह्राएर पठाउँथे।
अहिलेको साम्ड्रुपजोङखर जिल्लालाई त्यसबेला न्याउली भनिन्थ्यो। त्यस क्षेत्रको सम्पुर्ण प्रशासनिक भार कालिम्पोङका राजा एस.टी. दोर्जीका जेठा छोरा जिग्मे पाल्देन दोर्जी (कुमार साहेब भनेर चिनिन्थ्यो) बाट उनको जिम्मामा दिइएको थियो। यसो हुँदा कमिश्नर झुलेन्द्र प्रधान “नेउली बाउ” को नामले प्रख्यात चिनिन्थे।
भुटान त्यागेर भारतमा बसाइँ हिँडेका टासी गाउँका पाँच सय घर मानिसलाई आ-आफनै थात थलोमा पुनर्वास गराउन सक्षम साहसिक योद्धा हुन छबिलाल अधिकारी। तर विडम्बना! सन् १९९१ मा उनी आफैँ देशबाट लखेटिए। पूर्वी नेपालको टिमाइ शरणार्थी शिविरमा धेरै वर्ष बिताए। शिविरमा छउन्जेल स्वदेशमै फर्किहाल्ने मानवीय तर्कनाको नाम्ले साँघु बुनिरहे।
भुटान फर्केर आफ्नै घर घडेरीमा बस्ने उनको लालसा कहिल्यै सफल भएन। सन् १९९६ को “भुटान तर्फको शान्ति पद यात्रा,” अपील आन्दोलन मा उनि पहिलो लहरको पद-यात्री भएर हिँडे। प्रसाशनिक हस्तक्षेपले उनलाई जन्म थलोमा पुग्नु दिएन। फेरि सन् २००५ को, “बृद्ध शरणार्थी सत्याग्रह समिति,” अन्तर्गत स्वदेश यात्राको लागि आफ्नो नाम दर्ता गराए। यो यात्राले शिविरबाट निस्किने मितिनै निकालेन। उनको स्वदेश रमाना हुने मोह त्यतिकै छताछुल्ल भयो। उनले आफ्नो घरको ढोकामा पुर्याइदिने कुशल योद्धानै भेटेनन्। उमेरले ८७ बसन्त पार गरेका हताश छबिलाल अधिकारी, अहिले अमेरिकाको ग्रयान्ड र्यापिड, मिसिगनमा पुनर्स्थापित भई उत्तरार्ध जीवन बिताइरहेछन्। प्रस्तुत संस्मरण उनकै शब्दमाः –
बेगारको तोक टन्टा बेसि भो
म चपरासी पदमा नियुक्ति भएकै साल अर्थात बि.सं. २०१४ मा पुर्वी भुटान टासीगाउँ निवासी ५०० घर मानिसहरु आफ्नो घर जग्गा त्यागेर मुलुक छोड्नका लागि निस्किएछन्। अरुणाचल प्रदेशको बोर्डर नजिकै केरेन आलाबारी भन्ने ठाउँको भुटानकै घना जङ्गलमा डेरा हालेर उनीहरु बस्न थालेका रहेछन्।
ती मध्ये एकजना मन्डल सहित तीनजना प्रमुख ब्यक्तिहरु (अहिले मन्डलको नाम मैले भुलेँ) आसाम राज्यको शिलाङमा गएर भारतमा बसोबास गर्न पाउँ भनि जमीन माँग गरेछन्। भुटानमै जमीन मनग्गे छ, यहाँ किन बसाईँ आउँछौ? भनि उनीहरुलाई सोधिएछ। जवाफमा उनीहरुले, भुटानमा बेगारको तोक टन्टा बेसि भो, खट्न सकेनौँ, भनेछन। यस्तो उत्तर पाएपछि शिलाङका कमीश्नरले; भुटानको कमीश्नर म चिन्छु, उनलाई चिठी लेखिदिन्छु, तिमीहरु उहिँ जानु भनि सम्झाएछन। ती मानिसहरुले फेरि, त्यस्तो चिठी नलेखिदिनु, हामी यतै भारतमै बस्छौँ भनेर जिकीर गरेछन। शिलाङ कमीश्नरले; हामीसित जमीन छैन, बन विभागमा गएर कुरा गर्नु भनि त्यहाँबाट पठाएछन्। बन विभागमा बिन्ती बिसाउँदा पोलिटिकल फारस अफिसरले; बस्ती बसाउने हाम्रो हक छैन भनी फर्काइदिएछन्।
शिलाङ कमीश्नरले चैँ भुटान कमीश्नरलाई लेखिदिए। सो चिठी बारे नेउली बाउले महाराज जिग्मी दोर्जी वाङचुकलाई जानकारी गराए। मौसुफबाट ती मानिसलाई जसरी हुन्छ फर्काइ ल्याएर आ-आफ्नै ठाउँमा बसाउने आज्ञा भएछ।
सो मुताबिक नेउली बाउले ती मानिस को को हुन्, कहाँ छन अनि कसरि बस्दैछन आदि जम्मै कुरो बुझ्न मलाई पठाए। मैले शिलाङ गएर तिनीहरु बसेको ठाउँ ठेगाना पत्ता लगाई फर्केर बेलि बिस्तार टक्र्याएँ। अनि नेउली बाउबाट म एक्लैलाई ती तीन जना मानिस पक्रेर ल्याउने आदेश भयो।
म फेरि शिलाङ पगेँ। मलाई घरि घरि देख्दा शंका लागेछ क्यार उनिहरु म देखि छलिँदै भाग्नु थाले। पछ्याउँदै रंगिया, नलबारी आदि ठाउँमा त फेला पारेँ तर एक्लै थिएँ पक्रिने चाँजो मिलाउनु सकेको थिइँन। अन्तमा सो कामका लागि खटिएर अरु एकजना आर्मी हवल्दार सहित दुइ जना चपरासी आइपुगे। ती देश छोड्ने तीन जना मानिसहरु तामुलपूर पुलिस थाना अन्तर्गत कुम्रिकाटा बजारमा बस्नु थालेको पत्ता लाए पछि तामुलपूर पुलिस ओ.सी.लाई हाम्रो विषय बतायौँ। त्यहाँका पुलिसले ती मानिस पक्रेर, आफ्नो मान्छे आफ्नो घरमा लानु पाइन्छ, सोधपुछ गर्नु, कुटपीट नगर्नु, राम्ररी राख्नु भनि हामीलाई जिम्मा दिए।
उनीहरुलाई साम्ड्रुपजोङखरमा ल्याई एक रात थुनामा राखियो। भोलीपल्ट नेउली बाउले उनीहरु एक-एकलाई सोधपुछ गरे। बयानमा उनीहरुले, सबै दिन सरकारको बिना हाँजिरा बेगार तिर्नु पर्ने, आफ्नो घर खेतिको काम गर्नु नभ्याइने भएको बताए। सदा दिन यस्तो दुःख सहन गर्नु भन्दा बेगार प्रथा नभा’को देश भारतमा हामी सञ्चले आफ्नो गरी खान पाउँथ्यौँ भनेर गा’को भन्ने गाथा सुनाए।
नेउली बाउले, तिमीहरुको अरु मान्छे बसेको ठाउँमा हामीसँग जानु पर्छ, नभाग्नु, नडराउनु भनि सम्झाएर थुनुवाबाट फुका गरिदिए। तेस्रो दिन कमीश्नर साहेब (नेउली बाउ), एस.डी.ओ. गालिङपा साहेब, म अनि अरु दुइजना चपरासीहरु ती मानिससित आलाबारी जङगलमा गयौँ। त्यहाँ डेरा गरि बसेका सबैजनालाई अर्को दिन भेला हुने आदेश गरी रात बितायौँ।
घर छोडी हिँडेका ती सबैले; हामीले सरकारको केहि बिजाइँ गरेका छैनौँ, जमीन त्यसै छोडेर हिँडेका छौँ। हाम्रो दुःख पीडा भनेको, सधैँको सरकारको बेठी-बेगार तिर्न नसकेर हो, आफ्नो कमाई खेति लाउने समय नपाएर हामी हिँडेका हौँ भनि व्यथा पोखे।
कमीश्नर साहेबले उनीहरुलाई; अब उसो तिमीहरुले बिना पैसाको काम गर्नु पर्दैन। सरकारी बेगार चैँ गर्नै पर्छ तर हाँजिरा पाउँछौ। यो डी.सी. थिम्पेनले तिमीहरुलाई सारै सताएको रहेछ भन्ने कुरो पनि बुझियो। यसलाई अन्तै पठाइदिन्छौँ। तिमीहरुको पीर-मर्का हामीले बुझ्यौँ। तिमीहरुको दुःखेसो मैले महाराजालई चढाएँ। फेरिपनि तिमीहरुको आपत्ति मौसुफलाई सुनाइदिन्छु भनी आस्वस्त पार्नु भयो।
अझ उहाँले; तिमीहरु यसरी देश छोडेर हिँड्नु आँटेको कुरा मैले शिलाङका कमीश्नरले लेखेको चिठीबाट मात्र थाहा पाएँ। तिमीहरु आ-आफ्नो भाँडा-कुँडा, लुगा-कपडा, सुँगुर, कुखुरा, कुकुर, बिरालो लिएर आ-आफ्नै ठाउँमा गएर बस्नु भनेर आदेश दिए।
अझ थप उहाँले; महाराजबाट हुकुम छ, तिमीहरुलाई कसैले दुःख नदेओस। अरु गाउँ-घरका छर-छिमेकले हेला-होचो गर्यो भने सिधै मेरोमा आएर रिपोर्ट गर्नु। मलाई सोझै भेट्नु गाह्रो भयो भने यो तिमीहरुलाई पक्रिने मान्छे (म तिर औल्याउँदै) सबैले चिन्छौ। उसलाई भन्नु, उसले मेरोमा सबै खबर ल्याइ पुर्याउँछ, भनी समझाए पछि अब तिमीहरु तुरुन्तै घर फर्किहाल भनी आदेश दिनु भयो। बाटोमा खाजा चिया खाने खर्च रु.५००।- दिनु भयो र उहाँ फर्किनु भयो। मैले भने ती मानिसहरु घर फर्किएको हेरेर मात्र फिर्ता हुने अनुमति पाएको थिएँ।
सो घटना पछि भुटानमा घर लौरी बेगार चैँ तिर्नु पर्ने तर हाँजिरा स्वरुप केहि रकम पाउने नियम बसालिएको हो।
त्यसपछिको नेशनल एसेम्ब्लीमा देशबाट बाहिर जाने र फर्केर आउने मानिसलाई पुरा दण्ड सजायँ भोगाउनु पर्छ भन्ने कुरा उठ्यो। त्यसमा स्वयं महाराजाबाट, आफ्नो देश सम्झेर आउने मान्छेलाई कसैबाट पनि हेला होचो हुनु हुँदैन। आफ्नो देशमा उनीहरु अरु देशबासी सरह बराबर हिँडडुल गर्न पाउँछन। तिनीहरु पनि यहिँ बसिरहने देशबासीनै हुन। अन्य मुलुकमा मानिस बसाइँ गए भने आफ्नो देशको पोल खुल्छ। पछि सम्म आफ्नो देशले बदनामीको सामना गरिरहनु पर्छ। कोहि पनि मानिस बाहिर मुलुक जान चाहन्छ भने उसको खास असुविधाको कारण बुझेर सुविधा दिलाई स्वदेशमै राख्ने काम गर्नुपर्छ भन्ने हुकुम बकस भएको थियो।
नोटः – बृद्धहरुको स्मरणमा रहेका ऐतिहासिक तथ्यहरु खोजि गर्ने क्रममा छबिलाल अधिकारीबाट सन्. २००५ मा सन्दर्भलाई समेटेर प्रश्नोत्तर गर्दै तयार पारिएको। “शान्ति संघर्ष”, वर्ष १ अंक ३ मा प्रकासित, ‘मानिस बिदेश बसाइँ गए भने आफ्नै मुलुकको बदनाम हुन्छ,” लेखलाई यहाँ केहि परिमार्जित गरि शिर्षक फेरेर प्रस्तुत गरिएको लेख हो यो।
संकलन तथा प्रस्तुतिः – अम्बिका प्रसाद दुलाल